आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला दिवस

प्रहरीको उच्च तहमा महिला अधिकृत

जवानदेखि एआईजीसम्म ८ हजार ९०५ महिला प्रहरी
शुक्रबार, २५ फागुन २०८०, ०७ : ०३
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । नेपाल प्रहरीमा अहिले ३ जना महिला अधिकृत उच्च तहमा कार्यरत छन् । प्रहरी अस्पताल प्रमुखमा छिन्, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह । डा. आशा प्राविधिक हुन् । 

जनपदतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक दर्जामा मिरा चौधरी र किरण बज्राचार्य कार्यरत छन् । मिरा चौधरी प्रशासन विभाग प्रमुख हुन् । किरण बज्राचार्य केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्वमा छिन् । किरण र मिरा ‘ब्याचमेट’ पनि हुन् । उनीहरू २०५१ मा प्रहरीमा भर्ना भएका थिए । 

पूजा सिंह जनपदतर्फ उच्च तहमा पुग्ने पहिलो महिला एआईजी हुन् । उनी २०७९ फागुन ३ मा सेवा निवृत्त भइन् । ५६ वर्षीय उमेर हदका कारण उनी अवकाशमा गएकी हुन् । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएकी थिइन् । 

प्राविधिकतर्फ उच्च तहमा पुग्ने अर्की महिला अधिकृत हुन्, डा. दुर्गा थापा । प्रहरी अतिरिक्त महानिरीक्षकबाट अवकाश पाएकी डा.दुर्गाले पनि नेपाल प्रहरी अस्पतालको नेतृत्व गरिन् । 

नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पुग्ने पहिलो महिला अधिकृत हुन्, पार्वती थापा मगर । उनले डीआईजीबाट नै अवकाश पाइन् । विमला थापाले पनि डीआईजीमा अवकाश पाएकी हुन् । 

जनपद तर्फ दुर्गा सिंह र किरण राणा अहिले डीआईजी पदमा कार्यरत छन् । उनीहरू दुवैजना ५ चैत २०५१ मा प्रहरी सेवामा आएका हुन् । प्राविधिक तर्फ सूचना प्रविधि निर्देशनालयको प्रमुख (डीआईजी) सम्म भइन्, शिला कंशाकार । कंशाकार अहिले सेवा निवृत्त भइसकेकी छन् ।

प्राविधिक तर्फ प्रहरी अस्पतालमा अहिले डा. सञ्जिता घिमिरे दाहाल, डा. दिवा शर्मा र डा. संज्ञा मल्ल प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत छन् । 

नेपाल प्रहरीमा कुल ८ हजार ९ सय ५ जना महिला कर्मचारी छन् । अफिसर दर्जामा १ हजार ६६ जना कार्यरत छन् । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) जुनियर अफिसरमा पर्छन् । इन्स्पेक्टर भन्दा माथि सिनियर अधिकृत हुन् । प्रहरीमा ११ दशमलव ६७ प्रतिशत महिला कार्यरत रहेको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले रातोपाटीलाई बताए ।

पहिलो महिला प्रहरी चैतमाया

प्रथम महिला प्रहरी हुन, चैतमाया डंगोल । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलमा जन्मेहुर्केकी चैतमायाले प्रहरी सहाय निरीक्षक (असई)बाट सेवा निवृत्त भइन् । ११ असार २००८ मा प्रहरी जवानमा भर्ना भएर उनले ३१ वर्ष ७ महिना प्रहरीमा सेवा गरिन् ।

chaitmaya

प्रहरीमा प्रवेश गरेर उनले गौरवशाली इतिहास रचेको प्रहरी अधिकृतहरू बताउँछन् । २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रहरी प्रधान कार्यालयमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गरेका थिए । ६६ औँ प्रहरी दिवसमा उनलाई सम्मान गरिएको हो । 

‘गर्व लाग्छ, जिम्मेवारीमा चुकिनँ’

अतिरिक्त महानिरीक्षक मिरा चौधरी थारु समुदायबाट आएकी हुन् । मिराको पुर्ख्यौली थातथलो पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१३ मा पर्छ । बालापन र क्याम्पस जीवन उनले वीरगन्जमा बिताइन् । 

स्कुल तहको शिक्षा उनले वीरगन्जको राष्ट्रिय विद्यापीठ व्यावसायिक माविबाट पुरा गरिन् । स्नातक तह हरिखेतान बहुमुखी क्याम्पस र स्नातकोत्तर तह ठाकुरराम क्याम्पसबाट पुरा गरिन् । स्कुल र क्याम्पस पढ्दा मिरा फुटबल खेल्थिन् । 

फुटबल खेल्दाखेल्दै प्रहरीमा प्रवेश गरेकी उनले २०५१ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएपछि प्रहरीमा महिला फुटबल टिम बनाइन् । नेपाल प्रहरीको टिम क्याप्टेन हुँदै राष्ट्रिय टिमको कप्तान भएर मिराले फुटबलबाट संन्यास लिइन् ।

अब, प्रहरी संगठनबाट पनि उनी अवकाशमा जाँदैछिन् । २०८१ वैशाखमा उनी सेवा निवृत्त हुन लागेकी हुन् । प्रहरी प्रवेश गरेर एआईजीसम्म पुग्दा ‘गर्वको अनुभूति’ भएको बताउँछिन् मिरा । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्–‘गाउँको मान्छे आएर यहाँसम्म पुगेँ, गर्वको अनुभूति हुन्छ ।’ 

अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय)मा डीएसपी हुँदा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गर्ने टिममा थिइन् मिरा । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा उनले उल्लेखनीय काम गरिन् । 

मिरा उनको परिवारकी पहिलो सन्तान हुन् । त्यसैले उनको परिवारप्रति अभिभावकीय दायित्व हुनु स्वाभाविक हो । परिवारप्रतिको दायित्व पुरा गर्दै उनले प्रहरी अधिकृतको रूपमा आफ्नो जिम्मेवारी पुरा गरिन् । उनी भन्छिन्–‘प्रहरीको रूपमा जे जिम्मेवारी थियो पुरा गरेँ, कहीँ कहिल्यै पनि चुकिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप