सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

अवैध संरचनामा शंखरापुर नगरपालिकाले डोजर चलायो (तस्बिरहरु)

शनिबार, ०३ चैत २०८०, १२ : ४४
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले स्वीकृति नलिई मापदण्ड विपरीतका सम्पदा क्षेत्रमा व्यक्तिगत लगानीमा बाटो बनाएको भन्दै डोजर चलाएको छ । शनिवार नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, साँखु प्रहरी प्रभाग, नगर प्रहरी सहितको टोलीले शंखरापुर नगरपालिका–७,  देवचाः स्थित अवैध संरचनामा डोजर चलाइएको हो ।

साँखुको ऐतिहासिक सम्पदा बज्रयोगिनी मन्दिर मुनी अवैध ढंगले व्यक्तिगत लगानीमा सडक संरचना बनाएको पाइएपछि नगरपालिकाले एक्सन लिएको नगरप्रमुख रमेश नापितले जानकारी दिए ।

dojar 01

मन्दिरबाट हरेक वर्ष बज्रयोगिनी माईलाई साँखु बजार परिक्रमा गर्न ल्याउने परम्परागत सडक, पानीको खोल्सो समेत मासेर त्यसमा ह्युम पाइप राखी सडक बनाएको पाइएको उनले बताए । स्थानीयलाई बाटो सहज पार्ने नाममा जग्गा प्लटिङ गरेको क्षेत्रका लागि पहुँच मार्ग स्थापित गर्ने गरी बिना स्वीकृति, बिना मापदण्ड व्यक्तिगत तवरबाट भइरहेको सडक निर्माणको काम रोक्का गरेको र खोल्सो अतिक्रमण गरिएको ह्युम पाइप निकालिएको उनले बताए ।

साँखुको ऐतिहासिक मन्दिर बज्रयोगिनीभन्दा ठिक मुनि रहेको सो ठाउँको बाटो हुँदै हरेक वर्ष चैत शुक्ल पूर्णिमामा मन्दिरबाट बज्रयोगिनी माईलाई साँखु नगर परिक्रमाका लागि ल्याउने गरिन्छ । जुन साँखुको मुख्य पर्वको रूपमा समेत रहेको छ ।  

Dojar 1

बज्रयोगिनी माईलाई साँखु बजारमा ल्याउने परम्परागत बाटो भएकोले त्यो क्षेत्रमा सवारी साधन गुड्ने गरी स्थायी संरचना बनाउन नहुने भन्दै स्थानीय सम्पदाप्रेमीहरुले विरोध गर्दै आइरहेका थिए । सो अवैध बाटोको संरचना हटाउँदा स्थानीयलाई के कस्तो समस्या पर्छ र त्यसको समाधानका विकल्प के हुन सक्छ भन्ने बारेमा छिट्टै नगरपालिकाले छलफल गरी आवश्यक कदम चाल्ने नगरप्रमुख नापितले बताए ।

Dojar 2

कानुनी परिधिभित्र बसेर जनतालाई सडक लगायतका अन्य सेवा सुविधा दिने बताउँदै कानुनी प्रक्रिया पूरा नगरी कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने उनले बताए । साथै हाल बनाइएको बाटोभन्दा मुनि घर रहेका स्थानीयहरूले पनि खोल्सालाई ह्युम पाइपभित्र छिराएर बगाउँदा बर्षातका बेला बाढीले असर गर्ने भन्दै नगरपालिकामा गुनासो गरेको नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

Dojar 3

नगरपालिकासँग छलफल नगरी आफू खुसी बाटो बनाएका कारण समस्या निस्किएको बताउँदै छलफलबाट नै समस्याको समाधान गरिने प्रवक्ता श्रेष्ठले बताए । यता स्थानीयवासीले सडक आवश्यक परेका कारण सार्वजनिक जग्गामा सडक बनाएको बताएका छन् । सो अवैध संरचना भत्काउन नदिन स्थानीयले अवरोध समेत गरेका थिए ।

dojar 4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप