शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अब कसरी अघि बढ्छ महराविरुद्धको अनुसन्धान ?

प्रहरीले ६० दिन थुनामा राख्न सक्छ
सोमबार, ०५ चैत २०८०, १४ : १०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले रुपन्देहीमा पक्राउ गरेर काठमाडौँमा ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि अनुसन्धान सुरु गरेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरामाथि अनुसन्धान गरेर ‘पूरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

भेप प्रकरणमा थप अनुसन्धान गर्न प्रहरीले सोमबार नै महरालाई अदालत उपस्थित गराउँदै छ । हिरासतमा राखेर अनुसन्धान गर्नका लागी म्याद लिन काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । बोगटीले भने, ‘आज म्याद लिएर अनुसन्धान अघि बढाउँछौं ।’

प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीविरुद्ध अदालतमा पूरक अभियोग पत्र दायर गर्न सक्ने कानुनी व्यवस्था छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्ण बहादुर महराको ‘कनेक्सन’ देखिएको छ । भेप प्रकरणमा यसअघि प्रहरीले सङ्गठित सुन तस्करी गरेको कसुरमा अनुसन्धान गरेको थियो । सो मुद्दामा महरालाई पनि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

२०७९ पुस १० मा चिनियाँ नागरिक ल हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन ल्याएका हुन् । हासोङले दुबईबाट ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् ।

सुन ल्याउने समूहसँग कृष्ण बहादुर महराको कनेक्सन देखिएको छ  । सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख कृष्ण बहादुर महरालाई गुहारेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।  अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको पनि  ‘कनेक्सन’ देखिएको छ ।

भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ तीनैजना फरार छन् ।

भेपमा सुन भएको थाहा पाएपछि विमानस्थलका नासु रेवन्त खड्काले अर्को समूहसँग मिलेर गोदामबाट चोरेर बेचे । भेप प्रकरणबारे महरा र उनका छोराले अनावश्यक चासो राखेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले त्यसबारे प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागी सीआईबीलाई पत्राचार गरेका थिए ।

भेप प्रकरणमा सीआईबीले जीवन कुमार गुरुङसँग बयान लिएको थियो । गुरुङ प्लाटिनम कलेजका सीई हुन् । दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न छन् । वाङसँगको कनेक्सनको आधारमा उनीविरुद्ध ६० किलो सुनमा पनि अनुसन्धान गर्न सकिने आधार भएको सीआईबीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप