आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
महराको ओरालो यात्रा

साढे चार वर्षमा महरा दोस्रो पटक पक्राउ, २०७६ मा १३३ दिन थुनामा बसेका थिए

सोमबार, ०५ चैत २०८०, १७ : ४१
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका छन् । उनी फरक फरक मुद्दामा यो अवधिमा पक्राउ परेका हुन् । पहिलो पटक पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए ।

पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक उनी सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् । महरालाई सोमबार नै भैरहवाबाट काठमाडौँ ल्याएर अनुसन्धन प्रक्रिया अघि बढाइएको छ ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ महराले यसअघि अनुसन्धान अधिकृतहरुसँग बताएका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको भने स्विकारेका थिए । यसैगरी  सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । 

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुगेपछि महरा पक्राउ परेका हुन् । जुन प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।  नेता महराका छोरा राहुल पनि सोही प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।

के भएको थियो चार वर्षअघि ?

साढे चार वर्षअघि महरा प्रतिनिधि सभाको सभामुख थिए । तर उनीमाथि २०७६ साल असोज १२ मा गते संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लाग्यो । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान् छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको ती महिलाले बताएकी थिइन् । 

असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो । सुरुमा ती महिलाको आरोप अस्वीकार गरेका महरामाथि प्रहरीले गरेको अनुसन्धानमा महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट त्यो दिन उनी सुविधानगरस्थित महिलाको घरमा पुगेको ठहर गरेको थियो । सभामुख समेत रहेका महरामाथि चौतर्फी राजीनामा दिनुपर्ने दबाब बढेको थियो । लगत्तै असोज १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएपछि उनले सभामुख पदबाट राजीनामा दिए । बलात्कार मुद्दामा पक्राउ परेका महरालाई २०७६ फागुन ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको थियो ।

माओवादका ‘गच्छदार’ !

२०६३ सालको अन्तरिम सरकारका पालामा महरा सूचना तथा सञ्चार मन्त्री बनेका थिए । त्यसपछि २०६५ सालमा बनेको माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा पनि सूचना तथा सञ्चार मन्त्री बनेका थिए । त्यसपछि २०७६ सालमा एमाले नेता झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । त्यसपछि २०७३ सालमा कांग्रेस माओवादी नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थमन्त्री बनेका महरा त्यसको एक वर्षपछि २०७४ सालमा बनेको देउवा सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका थिए । २०७४ को निर्वाचनपछि नेकपा कालमा महरा प्रतिनिधि सभाको सभामुख बनेका थिए ।

महराले राजनीतिमा अवसरसँगै पटक पटक गम्भीर प्रकारका घटनामा मुछिँदा समेत उन्मुक्ति पाउने गरेको आरोप लाग्दै आएको छ ।

रोल्पाको लिवाङमा जन्मिएका कृष्णबहादुर महरा राजनीतिमा आउनुअघि शिक्षक थिए ।  शिक्षण पेसा छाडेर राजनीतिमा सक्रिय भएका उनी २०४८ सालको निर्वाचनमा ३२ वर्षको उमेरमा नेकपा (मशाल)बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा २०५८ र २०६० सालमा माओवादी र सरकारबिच दुई पटक भएका वार्तामा नेता महरा सहभागी थिए ।

 पहिलो पटक वार्ता टोलीका संयोजक र दोस्रो पटक वार्ता टोलीका सदस्यको भूमिका महराले निभाएका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीबाट सबैभन्दा धेरै लाभ लिने नेता मध्येमा पर्थे । ६ पटक मन्त्री भएका महराले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए । चार पटक सांसद भएका महरा आफ्नो पदीय मर्यादा कायम गर्न नसक्दा एकपछि अर्को विवादमा मुछिन छाडेनन् ।

सञ्चार मन्त्री हुँदा मोबाइल सेवाको लाइसेन्स वितरणदेखि चिनियाँ व्यापारीसँग सरकार निर्माण गर्न सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन ५० करोड रकम मागेको अडिओ टेप प्रकरणमा समेत मुछिएका थिए । राजनीतिक उचाइमा पुगेका महरा पटक पटक विवादमा परेको उदाहरणले एउटा राजनीतिक व्यक्तिको करियर कसरी तहसनहस हुन्छ भन्ने पटाक्षेप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप