शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय
रङ्गभेद तथा जातिभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवस

जब खगेन्द्र संग्रौलाले आमाबाट कुटाइ खाए...

सङ्ग्रामबहादुर सार्कीलाई भुइँबाट बेन्चमा बढुवा गरियो
बिहीबार, ०८ चैत २०८०

२०१२ सालतिर, खगेन्द्र संग्रौलाले पढ्ने स्कुलको दैलोमा एकजना सार्कीका छोराले पाइला राखे । बाहुन, क्षत्री, राई–लिम्बु आदि कथित ठुला जातजातिले भरिएको स्कुलको टहरोमा सानो भनिने सार्कीका बच्चाले पाइला राख्नु ठुलै हलचल थियो । यसरी बुझौँ— सात सालको ठुलो परिवर्तनले ल्याएको चेतनाको एक उपज थियो त्यो परिदृश्य । 

इलामतिरका शिक्षक लीला सिवाकोटी खगेन्द्र संग्रौलाको गाउँ (पाँचथरको गुरुङछाप)मा पढाउन आएका थिए । अलि क्रान्तिकारी चेतका उनी गाउँलेका घरघरमा गएर सामाजिक न्यायका बारेमा बुझाउँथे । नारी–पुरुष बराबर हुनुपर्छ; महिलाले घरबाट बाहिर निस्कन र पढ्न जान पाउनुपर्छ; छोराछोरी र विभिन्न जातजातिबिच भेदभाव हुनुहुँदैन— उनको सालाखाला मत वा सिद्धान्त यस्तै थियो ।

यसै क्रममा उनी त्यसै गाउँका एक सार्की परिवारमा गएर भनेछन्— छोराछोरीलाई पढाउनुपर्छ । पढेपछि आँखा खुल्छ, बुद्धि बढ्छ, आँट बढ्छ र हेप्नेहरूका विरुद्धमा लड्न सकिन्छ । 

भोलिपल्ट ती सार्कीले छोरालाई लिएर स्कुलमा आए । 

‘नाम के हो छोराको ?’ भर्ना गर्नका लागि रजिस्टर लिएर बसेका लीलासरले सोधे । 

‘बिस्ट ! हामी साना जातको के नाम हुनु ! घरमा त सिँगाने भन्छौँ,’ यस्तै जवाफ आयो । 

लीलासरले उसको नाम सङ्ग्रामबहादुर सार्की लेखिदिए । जसको शाब्दिक अर्थ हुन्छ— युद्ध, रण र लडाइँ । यस्तो विद्रोही नाम किन राखियो ? लीलासर नै जानून् ।

कक्षा कोठामा अरुलाई बेन्चमा बस्ने अधिकार थियो; सङ्ग्रामबहादुर भने भुइँमा बोरा ओछ्याएर ढोकैको छेउमा बस्थे । सार्की भएकाले उनलाई बेन्चमा बस्ने अधिकार अन्य विद्यार्थीले दिएका थिएनन् । एक दिन पानी पर्दा स्कुलको टहरो चुहियो; भुइँ भिज्यो; क्रमशः सङ्ग्रामबहादुर बसेको बोरा भिज्यो । उनले हातले यताउता पानी पन्साउने कोसिस पनि गरे । 

मुखिया खान्दानका बच्चाहरूले पुरानै कुरा दोहोर्‍याए— यो गन्दे हामीसँग बस्ने ? 

यो दृश्य देखेर पग्लेका लीलासरले अरु विद्यार्थीलाई भने, ‘यसले दुःख पायो, यसलाई पनि बेन्चीमा बस्न दिनुपर्‍यो । तिम्रो जति हक, यसको पनि त्यति नै हक; तिमीहरू जस्तो मान्छे, यो पनि त्यस्तै मान्छे ।’ 

मुखिया खान्दानका दुई–तीनजना केटाले तत्काल विरोध गरे— हामी यो गन्देसँग बस्ने होइन, (सार्कीलाई हेपेर गन्दे भनिन्थ्यो) । 

त्यो दिन लीलासरले केही गरेनन् । भोलिपल्ट बिहान स्कुल लाग्नेबित्तिकै उनले कुरा राखे— सङ्ग्रामलाई बेन्चमा बस्न नदिने हो भने म यो स्कुलमा पढाउँदिनँ । मान्छे–मान्छेबिच यस्तो अत्याचार र विभेद हुनुहुँदैन । यो जात भनेको मान्छेले बनाएको हो, कोही ठूलो–सानो हुँदैन । त्यसैले सङ्ग्रामले बेन्चीमा बस्न पाउनुपर्छ ।

मुखिया खान्दानका बच्चाहरूले पुरानै कुरा दोहोर्‍याए— यो गन्दे हामीसँग बस्ने ? 

khagendra sangraula (3)

त्यसपछि लीलासरले उनीहरूलाई केही बेन्चमा कोचेर बसाएर, एउटा बेन्च खाली भयो । खगेन्द्रको भाषामा— एउटा सिङ्गो बेन्चमा सङ्ग्रामबहादुरको बढुवा भयो । 

भोलिपल्ट एकजना खान्दानी मुखिया घोडा चढेर स्कुलको प्राङ्गणमा झुल्किए । घोडाबाटै तिनले हुकुमी शैलीमा लीलासरलाई मनुस्मृतिको स्मरण गराए— मनु महाराजले के भनेका छन् थाहा छ मास्टर ? मनु महाराजले जातपातको कुरा गरेका छन् । ब्रह्माजीको शरीरमध्ये को–कहाँबाट जन्म्यो भनी भनेका छन् । यो सार्की ब्रह्माजीको पैतालाबाट जन्मेको हो; पैतालाको धुलो हो यो । हामी भनेका ब्रह्माजीको शिरबाट जन्मेका; चोखा–पवित्र । हामीसँग यो सँगै बस्न हुन्छ ? 

लीलासर पनि कम थिएनन्, उनले भने— मुखिया ! मनु महाराजका कुरा पुराना भए । नयाँ जमानामा बेग्लै परिपाटी छ । मेरो नजरमा यी सबै केटाहरू मान्छे हुन् । कुनै फरक छैन ।

मास्टरले आफ्ना कुरा नसुनेपछि मुखियाले निर्णायक हुकुम सुनाए — त्यसलाई बेन्चीबाट तल झार; होइन भने मैले मेरो छोरालाई झिकेर लान्छु । 

स्वाभिमानी र न्यायप्रेमी मास्टरले पनि व्यक्तिगत अडान र सिद्धान्त राखे— म यहाँ मागी खान आएको होइन; त्यो केटोलाई बेन्चीबाट तल झारिन्छ भने मैले नै स्कुल छाडेर जान्छु । 

सङ्ग्रामबहादुरले पढ्दै थिए । एक दिन, स्कुलनजिकैको ढुङ्गेधारामा अञ्जुली थापेर पानी पिइरहेका बेला कुनै मुखिया भनाउँदाका छोराले सङ्ग्रामबहादुरको घुच्चुकमा हिर्काए । सार्कीको छोराले धारामा मुखै जोडेर पानी पिएको उनलाई सैह्य भएन ।

भोलिपल्ट मुखियाको आह्वानमा कचहरी बस्यो, गाउँका हुनेखाने सबै उपस्थित थिए । भोलिको हुनुहुनामी बुझेर लीलासरले राति नै चाल चाले । मान्छेको मन र बुद्धि न हो, केही घुसिहाल्छ कि ! घरघरमा गई उनले सम्झाए— मैले गरेको यत्ति हो, एउटा सार्कीको छोरोलाई बेन्चीमा बस्न दिएँ । मैले उसलाई कुनै जात दिएको होइन; कुनै पगरी गुथाएको पनि होइन; कसैका टाउकोमा राखेको होइन । मैले अर्घेल्याइँ केही गरेको छैन । त्यसैले मैले यहाँ बसेर पढाइरहने हो भने उसलाई बेन्चीबाट झार्न मिल्दैन । त्यसो गरे म यहाँ बस्दिनँ । 

रातभरि गुनेर भोलिपल्ट कचहरीमा उपस्थित भएका केही मानिसको मन–बुद्धि फेरिएछ । कचहरीमा मत विभाजित भयो— मुखियापट्टि केही मानिस भए, अलि धेरै मान्छे सङ्ग्रामको पक्षमा आए । त्यो दिन कुनै अप्रिय र अन्यायपूर्ण फैसला भएन । 

सङ्ग्रामबहादुरले पढ्दै थिए । एक दिन, स्कुलनजिकैको ढुङ्गेधारामा अञ्जुली थापेर पानी पिइरहेका बेला कुनै मुखिया भनाउँदाका छोराले सङ्ग्रामबहादुरको घुच्चुकमा हिर्काए । सार्कीको छोराले धारामा मुखै जोडेर पानी पिएको उनलाई सैह्य भएन । ढुङ्गेधारामा ठोकिएर सङ्ग्रामको मुखबाट रगत बग्न थाल्यो । त्यसपछि उनले दौडेर गएर आफूलाई कुट्नेमाथि लात्ती बजारे । लात्ती खाने नराम्रोसँग भुइँमा ढले । त्यसपछि भागेका सङ्ग्रामबहादुर भोलिपल्टदेखि स्कुल आएनन् । 

५–६ महिनापछि यही मुद्दामा लीलासरले गाउँ छाडेर जानुपर्‍यो; अर्थात् उनलाई एक किसिमले गाउँबाट लखेटियो; खासमा मुखियाको जित भएको थियो । 

यही विषयलाई भ्रूण बनाएर खगेन्द्रले २०५२ सालमा कथा लेखे— सङ्ग्रामबहादुर सार्की । यो उनको सातौँ कथा हो । खगेन्द्रले दलितका आवाज र उत्पीडनलाई उनेर आठवटा कथा लेखेका छन् । यी आठ कथाको सङ्ग्रहलाई ‘सङ्गामबहादुर सार्की’ नाम दिएर पछिल्लो समय ‘बेला पब्लिकेसन’ले बजारमा ल्याएको छ । 

मुखिया खान्दानमा जन्मेका खगेन्द्र दलित र उत्पीडित वर्गका आवाज हुन् । विभेदकारी व्यवस्थाका एक विद्रोह हुन्, जसले आफ्नै घरको दैलोबाट दलितमाथि हुने विभेदलाई नजिकबाट नियालेका थिए ।

  • दलितसँग खगेन्द्र

खगेन्द्रको आँगनमा जाने नाम गरेकी दमिनी लुगा टाल्न आउँथिन् । जाने दमिनीको हात परेपछि च्यातिएर कुरूप र काम नलाग्ने भएका लुगाले क्षणभरमै रूप पाउँथ्यो, काम दिने बन्थ्यो । उनले औँलाहरूमा सियो खेलाएको, एउटै दूरीको डोबमा सिधा पारेर रहरलाग्दो गरी सिलाएको बालक खगेन्द्रले नजिकै बसेर हेरिरहन्थे । उनको सिउने शिल्पले खगेन्द्रलाई लोभ्याउँथ्यो । 

५५ हाराहारीमा हिँड्दै गरेकी जाने दमिनीका दृष्टि कमजोर भइसकेका थिए, उनलाई सियोमा धागो उन्न हम्मे पर्थ्यो । आँगनको पल्लोछेउमा बसेर लुगा टाल्दै गरेकी जानेले खगेन्द्रलाई बोलाउँथिन्, ‘ए बिस्ट ! यता आऊ त; ल त यो उन्देऊ–उन्देऊ ।’

‘मैले सियोमा धागो उनिदिन्थेँ,’ आफूले जात बुझेको पहिलो घटना सुनाउँछन् खगेन्द्र, ‘पहिलोपटक धागो उनेपछि मैले मेरी आमाका हातबाट कुटाइ खाएँ । मेरी आमा निरक्षर र सोझी मान्छे । उहाँले भन्नुभयो— यसरी दमिनीको हात छुने हो ! दमिनीको सियोमा धागो उनिदिने हो ! आफ्नो त जात गयो गयो, हामीलाई पनि अप्ठेरोमा पार्लास् ।’

त्यसपछि आमाले खगेन्द्रलाई खरानीपानीले हात धुन लगाइन् र सुनपानीले छर्किन् । अनि मात्र खगेन्द्रले आफ्नो घरभित्र पस्न पाए, अर्थात् बिटुला खगेन्द्र चोखा भए । 

उनको घरमा जाने दमिनीलाई आँगनको पल्लो छेउमा राखिन्थ्यो । कदाचित् पानी पर्‍यो भने तिनलाई पिँढीको डिलसम्म आउने छुट थियो । केटाकेटीले गिजोलेर बाँकी रहेको; भाँडाको पिँधमा जमेको माम्री, बासी आदि तिनलाई दिइन्थ्यो । कलिलै उमेरमा आफ्ना मनमा उब्जेका प्रश्न सुनाउँछन् खगेन्द्र, ‘मेरी आमाजस्तै जाने दमिनी घर बाहिर किन ? आँगनको पल्लो छेउमा किन ? तिनलाई मैले छुँदा मेरो जात कसरी जान्छ ? जात भनेको के हो ? त्यो कहाँबाट आउँछ र कहाँ जान्छ ? बाल्यकालमा ममा यस्ता थुप्रै अबोध प्रश्न उब्जेका थिए ।’

उनको घरमा नयाँ लुगा सिलाउन अर्का एकजना माम्रे दमाई आउँथे । यिनलाई भात–ढिँडो आदिको माम्री खुब मन पर्ने; त्यसैले खगेन्द्रको परिवारले उनको नामै माम्रे दमाई राखिदिएको थियो । 

खगेन्द्रलाई गरिबी के हो भन्ने थाहा थिएन । उनलाई लाग्थ्यो— यी कामीदाइले के भनेको होला ! 

सानैदेखि घरमा खगेन्द्रको भागमा पर्ने काम दलितहरूसँग जोडिएको थियो । लुगा टाल्नु वा सिलाउनुपर्‍यो भने उनी जाने दमिनी र माम्रे दमाईलाई डाक्न जान्थे । अर्जाप्नका लागि कोदालो, हँसिया, खुकुरी, बन्चरो लगायत सामान कामीदाइकहाँ पुर्‍याउने र लिन जाने काम उनकै भागमा पर्थ्यो । कामीदाइले खलाँती चलाएको, फलामलाई रातो बनाएको, त्यसलाई ठोकेर आकार दिएको हेरेर बस्न खगेन्द्रलाई खुब मन पर्थ्यो ।

ती कामीदाइले खगेन्द्रसँग गुनासो गरिरहन्थे— बिस्ट ! सधैँ काम मात्रै लिएर आउँछौ । कहिलेकाहीँ केही खानेकुरा लिएर आउँदा हुन्छ । घरमा सागसाग होला, चोरेरै ल्याऊ न । हामीकहाँ तरकारी छैन, तिमीहरूकहाँ साग होला, अरु तरकारी होला । 

खगेन्द्रलाई गरिबी के हो भन्ने थाहा थिएन । उनलाई लाग्थ्यो— यी कामीदाइले के भनेको होला ! 

खगेन्द्रको घरदेखि करिब ४५ मिनेट उकालो पैदलयात्रा दूरीमा एउटा दमाईको घर थियो, तिनले पहिलोपटक कल (सिलाउने मेसिन) ल्याए । कल ल्याएपछि उनको इज्जत अलि बढ्यो । गाउँका सबै मुखिया जाने दमिनी, माम्रे दमाईजस्ता हातैले सिउनेलाई छाडेर कलतिर लागे । सबैले उनलाई कलवाले दमाई भन्थे, कल ल्याएकैले समाजमा उनको केही इज्जत बढेको थियो । 

उनको गाउँमा एकजना जिते सार्की भन्ने थिए । हल्लुँड (नारा) छिन्न लाग्यो भने त्यसलाई बनाउन, बाको काने जुत्ता च्यातियो भने सिलाउन— इत्यादि काम लिएर खगेन्द्र जितेकहाँ गइरहन्थे ।

जुन दलितहरूलाई बिस्टहरूले मान्छेको दर्जा दिइँदैनथे, तिनै दलितविना बिस्टहरूको घरधन्दा चल्दैनथ्यो ।

एकपटक खगेन्द्रको घरमा गोरु मर्‍यो । मरेको गोरुको छाला काढ्न र मासु लैजान जिते आए । खगेन्द्रका बाले मरेको गोरुबापत केही खेताला तिर्नुपर्ने कुरा गरे । मरेको गोरुको सट्टामा दिनका लागि जितेले छालाका एक जोर नयाँ जुत्ता लिएर गएका थिए । ती टिलिक्क टल्कने जुत्तामा खगेन्द्रका बाले आँखै लगाएनन्, केही खेतालामै अडान लिए । 

मरेको गोरुको सट्टा खेताला आउन नसकिने भन्दै जिते रिसाएर हिँडे र घरमा गएर एउटा सुँगुरको पाठो काटेर खाए । यही वास्तविक घटनालाई लिएर खगेन्द्रले ‘खरानीमुनिको आगो’ शीर्षकको कथा लेखेका छन् । जसमा जिते सार्की जितमान सार्की भएका छन् । 

जुन दलितहरूलाई बिस्टहरूले मान्छेको दर्जा दिइँदैनथे, तिनै दलितविना बिस्टहरूको घरधन्दा चल्दैनथ्यो । वर्षभरि सेवा दिएर दलितहरू एकपटक बिस्टकहाँ बाली उठाउन जान्थे । ‘बालीका रूपमा उनीहरूलाई भुससहितको कोदो, भुससहितको धान, सड्न लागेको मकै प्रायः यस्तै दिइन्थ्यो,’ खगेन्द्र भन्छन्, ‘सबै मुखियाले त्यस्तो गर्दैनथे तर मैले आफ्नो घरमा यही देखेँ । हाम्रो घरमा पनि सधैँ त्यस्तो गर्दैनथे, तर प्रायः गरिन्थ्यो । दलितका छोरीचेलीमाथि बिस्ट–बराजुले गरेका यौन हिंसाका अनेक कथा पनि सुनिन्थ्यो । ती कथा सार्वजनिक विवाद र मुद्दा बनेर कहिल्यै आउँदैनथे । यत्रो अपमान गर्दा, ठग्दा पनि अल्पसंख्यक भएकाले होला कसैले कुनै विवाद गर्दैनथे । तर मेरा बासँग जिते सार्की रिसाउनु र सङ्ग्रामबहादुरले प्रतिकार गर्नु ठुलै विद्रोह थियो ।’ 

  • जागेका र प्रतिभाशाली दलितसँग खगेन्द्र

खगेन्द्रको गाउँमा हाइस्कुल थिएन । गाउँमा कक्षा ७ सम्म पढेर हाइस्कुल पढ्न उनले तमोर तरे । आठराईमा रहेको शारदा हाइस्कुलमा पढ्दै गर्दा उनले एकजना दलित विद्यार्थीको सम्मानजनक चर्चा सुने । उनले पढ्ने स्कुलनजिकै मूलपानीमा रहेको त्रिमोहन हाईस्कुलमा एकजना रसाइली (विश्वकर्मा) थरका विद्यार्थी थिए । फुटबल किपरका रूपमा यिनको आठराईभरि नाम चलेको थियो । रसाइली किपर भनेपछि विपक्षी टिम डराउँथ्यो, हारिने हो कि भनेर । उनले भकुन्डोलाई चुम्बक जसरी समाउँछन्; भकुन्डो त उनको औँलामै आएर टाँसिन्छ रे; उनी पाँच हात उफ्रेर भकुन्डो समाउँछन् रे— खगेन्द्रहरूले यस्तै सुनेका थिए । 

एकपटक खगेन्द्रको स्कुलमा खेल्न त्रिमोहन स्कुलको टिम आयो । त्यतिबेला खगेन्द्र लगायत विद्यार्थी रसाइलीलाई हेर्न लाइन लागेर उभिएका थिए । ती रसाइलीको पढाइमा भन्दा खेलमै बढी ध्यान थियो । त्यसैले आफ्नो स्कुललाई जिताउन पनि एउटै कक्षामा उनलाई केही वर्ष राखिएको थियो । 

khagendra sangraula (2)

अलि माथिल्लो कक्षामा पढेको र आफ्नो सीपका कारणले समाजमा प्रतिष्ठा कमाएको दलितलाई देखेको खगेन्द्रले उनैलाई हो । काठमाडौँ आएपछि भने उनको संगत राष्ट्रिय रूपमा ख्याति कमाएका अग्रज दलित आन्दोलनकर्मीसँग भयो । उनले पढ्ने त्रिचन्द्र कलेज नजिकै ‘मातृभूमि प्रेस’ भन्ने थियो, जहाँबाट ‘मातृभूमि’ भन्ने साप्ताहिक पत्रिका निस्कन्थ्यो, जसमा राजनीति र पत्रकारितामा ख्याति कमाइसकेको टीआर विश्वकर्मा पनि संलग्न थिए । टीआर, गोविन्द भट्ट, शान्तदास, भवानी घिमिरे लगायत त्यो बेलाका वामपन्थी लेखकको जमघट हुन्थ्यो त्यहाँ । साहित्यतिर रुचि र वामपन्थतिर झुकाव भएकाले खगेन्द्र टीआर विश्वकर्माको सम्पर्कमा पुगे । टीआरले उनलाई पत्रिकाका लागि चिठी लेख्न प्रेरित गर्थे— एउटा स्तर भएन भने लेखै छाप्न गाह्रो हुन्छ, चिठी लेख्नुस् । यसबाट पनि अलिकति नाम हुन्छ, शिर ठाडो हुन्छ । 

त्यतिबेला टीआरका दाइ हिरालाल विश्वकर्मा पञ्चायतमा लागेका थिए । कहिलेकाहीँ हिरालालहरूले केही दलित जुटाएर सानातिना सभा गर्थे । टीआरको पछि लागेर खगेन्द्र ती भेलाहरूमा पुग्थे । 

काठमाडौँमा पढेपछि खगेन्द्र मास्टर भएर लमजुङको खुदी हुँदै २०२७ सालमा तनहुँको चुँदीमा पुगे । त्यहाँको चन्द्रावती हाइस्कुलमा पढाउँदा उनले आफ्नो कथा ‘खरानीमुनिको आगो’लाई नाटकमा रूपान्तरण गरेर देखाए । यस कथामा रहेको सार्की पात्रको भूमिका खगेन्द्र आफैँले निभाएका थिए, यो नाटक हेरेपछि त्यहाँको समाजले प्रश्न गर्‍यो— दलितलाई नायके बनाएर हाम्रो बेइज्जती गर्ने ? 

उनीहरूले सीडीओलाई पोल लगाए— यी पूर्वेली अङ्ग्रेजी मास्टरले के के न देखाउलान् भनेर हेर्न आइयो । आफैँ सार्की भएर हाम्रो बेइज्जती गरे । त्यसपछि सीडीओ, त्यहाँका इन्स्पेक्टर, शिक्षा अधिकारी जम्मै स्कुलमा आएर खगेन्द्रलाई केरकार गरे । यस प्रकार खगेन्द्रको साहित्यिक कर्मले त्यहाँ ठुलै हलचल ल्यायो । खगेन्द्रले यसलाई आफ्नो जीवनको एक महत्त्वपूर्ण घटनाका रूपमा सम्झन्छन् । 

त्यसपछि उनी मास्टरी नै गर्न चितवन गए । चितवनमा रूपलाल विश्वकर्माहरूको व्यापक गतिविधि थियो । खासगरी उनको नेतृत्वमा भएको जुगेडी सङ्घर्षले देशै हल्लेको थियो । 

यस घटना भएलगत्तै खगेन्द्र चितवन पुगेका थिए । खगेन्द्रको बुझाइमा— यो सङ्घर्ष एक थरीका निम्ति ठुलो त्रास र अर्को थरीका लागि ठुलो आस र ढाडस थियो । खगेन्द्र भन्छन्, ‘दन्त्य कथाका पात्रजस्ता थिए रूपलाल ।

नारायणगढ बजारदेखि नजिकै रहेको जुगेडी बजारमा साहु धर्मराज मुल्मीले खाद्यान्न र कपडाको पसल राख्दै आएका थिए । गरिब जनताले आफूसँग भएका भाँडाकुँडादेखि गरगहना धरौटी राखेर धर्मराजको पसलबाट खाद्यान्न, नुन, कपडा आदि लैजाने गर्थे । ती साहुले धरौटी कौडीको भाउमा लिन्थे भने महँगोमा सामान दिएर पनि चर्को ब्याज लिन्थे । यसबाहेक उनले अनेक किसिमको ब्याज (तोरी ब्याज, आनेब्याज, मानेब्याज, धानेब्याज, सुकेब्याज, बोकेब्याज, नुनेब्याज, सुने ब्याज, उधारो ब्याज आदि) लिने गर्थे ।

तिनै साहुको पसल कब्जा गरी गरिबहरूलाई लत्ताकपडा, खाद्यान्न तथा धरौटीमा राखिएका भाँडाकुँडा बाँड्न भनी २०३४ असार ६ गते कम्युनिस्ट कार्यकर्ता र किसानसहित सयौँको समूह जुगेडी बजार पुग्यो । किसानले धर्मराजको घर तथा पसलबाट धमाधम अन्नपात, लत्ताकपडा लगायत धन झिकेर बाटो लागे । 

यस घटना भएलगत्तै खगेन्द्र चितवन पुगेका थिए । खगेन्द्रको बुझाइमा— यो सङ्घर्ष एक थरीका निम्ति ठुलो त्रास र अर्को थरीका लागि ठुलो आस र ढाडस थियो । खगेन्द्र भन्छन्, ‘दन्त्य कथाका पात्रजस्ता थिए रूपलाल; उनको नाममा विभिन्न कथाहरू जोडिएका र बुनिएका थिए— रूपलाल भन्ने एउटा कामी छ, बडा बाठो छ त्यो । त्यो गाउँगाउँमा घुम्छ, हेर्दाखेरी मान्छे बाहुन–बाहुनजस्तो छ; स्वर पनि मसिनो छ, गज्जबले गीत गाउँछ । त्यसले लुङ्गी लाउँछ बाहुनले जस्तो । त्यसले बाहुन भएको अभिनय गरेर धरो फेरेर बाहुनको चुलोमा खान्छ । त्यसले चितवनका बाहुन जति बर्बाद गर्‍यो ।’ 

खगेन्द्रले रणेन्द्र बरालीमार्फत रूपलाललाई भेटेका हुन् । रणेन्द्र रूपलालका खास कार्यकर्ता थिए । त्यतिबेला सोनाम साथीको नेतृत्वमा सर्वहारावादी कम्युनिस्ट लिग (सकलि) बनेको थियो । एउटा वामपन्थी लेखक चाहिन्छ भनेर खगेन्द्रको नाम पनि त्यसमा राखियो र पोलिटब्युरो सदस्य बनाइयो । शिक्षक आन्दोलनमा खगेन्द्र जेल परे । यहीबेला सकलि र रूपलालको पार्टीबिच एकता गर्ने वातावरण बन्यो । एकता गर्ने वा नगर्ने भनी सकलिमा मत बाँडियो— पाँच  सदस्यमध्ये एक मत (खगेन्द्र) जेलमा थियो । बाँकी दुईजना एकता गर्ने पक्षमा र दुईजना नगर्ने पक्षमा थिए । सोनाम साथीले खगेन्द्रलाई चिठी पठाए — कमरेड भेना ! (सोनामले खगेन्द्रलाई भेना भन्थे) रूपलालले नेतृत्व गरेको मजदुर किसान पार्टीसँग सकलिको एकता गर्ने प्रसङ्ग उठ्यो । मचाहिँ यसको पक्षमा भएँ । हामीबिच मत विभाजन भयो । तपाईंले निर्णायक मत दिनुपर्‍यो ।

उनले मेरो पक्षमा मत देऊ त भनेका थिएनन् । खगेन्द्रले चिठी पठाएपछि एकीकरण हुने भयो । पछि जेलबाट छुटेर खगेन्द्र चितवन गए, एकीकरणको सभामा उनी पनि उपस्थित थिए । उनले भने— मेरो स्वभावले पनि राजनीति गर्दैन, पेसाले म शिक्षक हुँ । बाँकी आफ्नो निष्ठा, प्रतिबद्धता र कर्मले म लेखक र अनुवादक हुँ । म आफ्नै काम गर्छु । 

टीआर, हिरालाल, रूपलाल, रणेन्द्रपछि खगेन्द्रले भेटेका दलित समुदायका अर्का जागरुक व्यक्ति हुन् आहुति । त्यतिबेला खगेन्द्रहरूले ‘उत्साह’ भन्ने एउटा पत्रिका चलाउँथे ।

०३९ सालदेखि त्यहाँ मण्डलेहरूले खगेन्द्रलाई दुःख दिन थाले । त्यतिबेलासम्म खगेन्द्रले देखिने गरी कुनै गतिविधि गरेका थिएनन् । उनी भाषण गर्थे, साहित्यिक गोष्ठी वा विद्यार्थीहरूका गोष्ठीमा गएर । कुन प्रभावले हो थाहा छैन, प्रशासनले उनलाई पञ्चायत विरोधी बाघै ठानेको रहेछ । रामकृष्ण पन्त भन्ने सीडीओले अफिसमा डाकेर भित्तामा टाँसिएको राजारानीको तस्बिर देखाउँदै भने— विष्णुका विरोधीहरूमाथि म एक्सन लिन्छु । 

बन्दुकका मालिक (सीडीओ)ले त्यसो भनेपछि डराउनैपर्‍यो । त्यसपछि उनी काठमाडौँ आए । 

टीआर, हिरालाल, रूपलाल, रणेन्द्रपछि खगेन्द्रले भेटेका दलित समुदायका अर्का जागरुक व्यक्ति हुन् आहुति । त्यतिबेला खगेन्द्रहरूले ‘उत्साह’ भन्ने एउटा पत्रिका चलाउँथे । जसमा पारिजात, रमेश विकल, आनन्ददेव भट्ट, खगेन्द्र लगायत पाँच–सात जना सम्पादक थिए । त्यसमा विधागत जिम्मेवारी दिइएको थियो । खगेन्द्रको विधामा कथा पर्थ्यो । त्यतिबेला उनले एउटा कथा छापे, लेखकको नाम थियो आहुति । त्यही कथाका माध्यमबाट उनी आहुतिसँग जोडिए । 

  • दलित आन्दोलन

भौगोलिक विकटता र छरिएर रहेका कारण दलितहरू सङ्गठित र एकताबद्ध हुन सहज छैन । यो अवस्थामा दलितहरूबिच मोर्चाबन्दी हुनैपर्छ तर यसो हुन नसक्नुमा दलितभित्रै ब्राह्मणवाद प्रवृत्ति हाबी भएको खगेन्द्रको बुझाइ छ ।

राजनीतिक स्तरमा दलित सङ्गठनहरू जति छन्, तिनले आफ्नो छातामुनिका कार्यकर्ताका जागरणका निम्ति व्यापक रूपमा सांस्कृतिक अभियान चलाउनुपर्ने उनको सुझाव छ ।

‘क्षत्रीय, भौगोलिक र सम्पर्कका हिसाबले ठाउँठाउँमा दलितका सङ्गठन बने होलान् । सङ्गठनात्मक रूपमा एकताबद्ध नभए पनि कमसे कम मोर्चा बन्नुपर्ने हो, त्यो पनि बन्दैन । यस्तो किन भयो ? यो आफैँमा ब्राह्मणवाद हो । ब्राह्मणवादको विरोध गर्दागर्दै पनि आफ्नै प्रवृत्तिमा, अभिव्यक्तिमा, सम्पर्कमा, उठबसमा ब्राह्मणवाद देखिन्छ,’ खगेन्द्र भन्छन्, ‘बाहिरको ब्राह्मणवादविरुद्ध लड्नुपर्छ, त्यो बाहिरको ब्राह्मणवाद जो दलितहरूको बिचमा संक्रमित भएको छ, त्यसको विरुद्धमा पनि लड्नुपर्छ । आन्तरिक ब्राह्मणवादको विरुद्धमा लडिएन भने; कामी, दमाई, सार्कीबिचको तहगत छुवाछुतको विरुद्धमा लडिएन भने; हाम्रो सङ्गठन बलियो हुँदैन ।’

khagendra sangraula (1)

कम्युनिस्ट पार्टी गरिब, दलित र सर्वहाराका मुक्तिदाता हुन् भन्नु गलत भएको खगेन्द्रको बुझाइ छ । उनको अनुभवमा— कोही कसैको मुक्तिदाता हुँदैन । कुनै पनि उत्पीडित जातिले आफैँ ब्युझिँएर वा आफैँ संगठित भएर; आफैँ नेतृत्व लिएर; अरु सबैको सहयोग लिएर उसले आफूलाई र आफ्नो जातिलाई मुक्त गर्छ; कि त कहिल्यै पनि मुक्त हुँदैन । ‘बलिदानका लागि थारु, दलित, मगर, उत्पीडित जातिहरू चाहिए तर सत्तासीन हुने बेलामा; पद, पदोन्नति र सम्मानको वितरणमा दलितहरूले कहिल्यै ठाउँ पाएनन्,’ खगेन्द्र भन्छन्, ‘अहिले कम्युनिस्टहरूको सरकार छ, यत्रो भिडमा एउटा सहायक मन्त्री दलित छैन ।’ 

राजनीतिक स्तरमा दलित सङ्गठनहरू जति छन्, तिनले आफ्नो छातामुनिका कार्यकर्ताका जागरणका निम्ति व्यापक रूपमा सांस्कृतिक अभियान चलाउनुपर्ने उनको सुझाव छ । ‘नवराज विकको हत्याबाट हामीले के देख्यौँ भने समाजका जात भन्ने मनोरोग यति गहिरो गरी गाडिएको छ, सानोतिनो संघर्ष, सांस्कृतिक जागरण र धक्काबाट त्यो नामेट हुने देखिएन,’ खगेन्द्र भन्छन्, ‘त्यसलाई मास्नका निम्ति त्यतिकै बलियो शक्ति चाहिने रहेछ ।’ 

गीत, नाटक, कविता, प्रवचन र सडकका नाराका माध्यमबाट निरन्तरको सांस्कृतिक जागरण अभियान चलाउनुपर्ने खगेन्द्रको सुझाव छ । दलित समुदाय संगठित भएको सङ्गठन बलियो हुन्छ, जसले आफ्नो मुक्तिको नेतृत्व आफैँ गर्छ,’ उनी भन्छन्, ‘अन्यथा कुनै कम्युनिस्ट पार्टीले मुक्ति गर्दैन । कम्युनिस्ट पार्टी दलितको आन्दोलनमा साथी र सहयोगी हुन सक्छ तर मुक्तिदाता हुँदैन ।’

(रङ्गभेद तथा जातिभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर हामीले ‘दैलोमा दलित’ शृङ्खला प्रकाशन गर्नेछौँ । जसमा समाजमा स्थापित व्यक्तित्वदेखि आम पाठक तथा सर्वसाधारणले देखेको दलितमाथिको विभेद र विद्रोहलाई ल्याउनेछौँ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया