सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने

बिहीबार, ०८ चैत २०८०, १८ : ३१
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने संयोजक डा. शितलकाजी श्रेष्ठले बिहीबार अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौडने छन् । पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी हुने छन् । कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा ह्वीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन् । सबै विधामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशि १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ ।

हाफ म्याराथनको पुरुष÷महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोमिटर दौडमा पहिलोदेखि पाँचौँ स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् । कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेस्रो संस्करण हो । प्रोटिन रनको विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष राफेल लागुइनले अवलोकन गर्ने छन् ।

पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, संयोजक श्रेष्ठलगायतले प्रोटिन रनको टिर्सट पनि सार्वजनिक गरेका थिए । दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई पुनः दशरथ रङ्गशालामै आएर टुङ्गिने छ ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने दौड पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरूको विशेष सहयोगमा हुन लागेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप