आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बोधी दिवस र ओशो ज्ञानको महिमा

बिहीबार, ०८ चैत २०८०, २० : ५६
बिहीबार, ०८ चैत २०८०

२१ मार्च, ओशोले ‘सम्बोधी’ प्राप्त गरेको दिन । संसारभरका समस्त ओशोप्रेमीहरू आजको दिनलाई ‘सम्बोधी दिवस’का रूपमा मनाइरहेका छन् । 

२१ मार्चको दिन ओशोले २१ वर्षको उमेर (सन् १९५३)मा ‘सम्बोधी’ प्राप्त गरेका थिए । निर्विचार अवस्था नै सम्बोधी हो । यसलाई योगमा सम्प्रज्ञात समाधिको प्रथम स्तर भनिन्छ । यो दशामा व्यक्तिको चित्त स्थिर हुन्छ । शरीरबाट उसको सबै सम्बन्ध टुट्छ तर ऊ आफ्नो इच्छाअनुसार शरीरमै भइरहेको हुन्छ । यसलाई कैवल्य, मोक्ष या निर्वाणभन्दा पूर्वको अवस्था मानिन्छ । 

यो पूर्ण जागरणको अवस्था हो । सम्बोधीले विचार र भावरहित भएर शुद्ध चेतनाको अनुभव हुनुलाई जनाउँछ । जब चेतना पूर्णरूपले खाली हुन्छ तब आफूभित्र विस्फोट जस्तो हुन्छ र भित्रको आकाशमा यस्तो प्रकाश फैलिन्छ कि जसको कुनै स्रोत, कुनै कारण हुँदैन । 

जब व्यक्तिभित्र एकचोटि यो घट्छ, कहिले पनि यसले छाड्दैन । जब हामी निदाएका हुन्छौँ, त्यसबेला पनि त्यो प्रकाश भित्र रहिरहन्छ । त्यसपछि हरेक वस्तुलाई हामी नयाँ दृष्टिले हेर्न थाल्नेछौँ । लगातार श्वास–प्रश्वासमा ध्यान दिनाले वा साक्षी भावमा रहनाले यो अवस्था घटित हुन्छ । 

सम्बोधी प्राप्त गर्दा ओशो भारतको जवलपुरमा रहेको योगेश भवनमा बस्थे । उनलाई रातको १ बजे केही अनौठो महसुस भयो, शरीर हल्का भएजस्तो । उनी त्यहाँबाट निक्लेर जवलपुरको भवरताल पार्कमा रहेको मौलश्रीको रुखमुनि गएर बसे । उनलाई मौलश्रीको वृक्षले ज्यादै आकर्षित ग¥यो– यसैले उनी त्यहाँ गएर बसेका थिए । लगभग ४ बजेसम्म उनी त्यहाँ बसिरहे । उनलाई आफू ज्योतिर्मयस्वरूप र पातहरू एउटा प्रकाश पुञ्जजस्तो लागिरहेको थियो । पातहरूमा प्रकाशपुञ्ज देखिरहेका थिए । 

उनले आफ्नो यो सम्बोधी प्राप्तिको वर्णन आफैँले गरेका छन् । ओशो आफ्नो सम्बोधीका सम्बन्धमा भन्थे, ‘यो अरु केही होइन, बस तिमी प्रकाश बन्दै छौ, तिम्रो अन्तर्मन प्रकाशमान हुन्छ । फेरि बिस्तारै–बिस्तारै सबै कुरा शान्त हुन्छ । अनि कैयौँ जन्मको तिम्रो खोज समाप्त हुन्छ ।’

सम्बोधी शब्द ‘बौद्ध’ धर्मको हो । यसलाई बुद्धत्व (इन्लाइटेन्मेन्ट) पनि भनिन्छ । सरसर्ती हे¥यो भने, यो मोक्ष या मुक्तिको सुरुवात पनि हो । अन्तिम आनन्द या मुक्ति शरीर छुटेपछि मात्र मिल्छ । जबकि संसारमा यस्ता कैयौँ योगी छन्, जसले सबै कुरा शरीरमा रहेरै पाएका छन् । यसैले होसपूर्ण केवल शुद्ध प्रकाशमा रहनु धेरै ठूलो घटना हो । यसरी प्रकाशित हुँदा सबै कुरा जान्न र बुझ्न सकिन्छ ।

आजको दिनमा उनको व्यक्तित्वको चर्चा नगरी बस्न सकिँदैन । ओशोलाई मैले धेरै पढेकी, सुनेकी छैन । एउटा ओशो सन्यासिनीको नाताले आफ्नो फुर्सदको समयमा मैले उनलाई केही पढेकी छु । उनलाई सुनेको र पढेको भरमा म यति अवश्य भन्न सक्छु— ओशो विशाल व्यक्तित्वका धनी थिए । ‘ओशो’ शब्द सुन्नेबित्तिकै मेरो दिमागमा एउटा यस्तो व्यक्तित्वको छवि आउँछ, जसले ज्ञान, संस्कृति, परम्परा र आजको समाजलाई बुझेको छ, जो विचारहरूको अथाह–गहन समुद्र हो । जसको भाषा र वाणीमा हिन्दी र अंग्रेजीको विशिष्टता छ । यसबाट स्पष्ट थाहा हुन्छ कि उनले धेरै अध्ययन गरेका छन्, जसलाई उनले आफ्नो तरिकाले पूरा विश्वमा व्याख्यान्वित गरे । त्यसैले प्रायः सबै देशका मानिस आज उनीसँग जोडिएका छन् ।

जसरी उनले विश्वका विभिन्न देशका मानिसलाई आफूतिर आकर्षित गरे, यसले यो बताउँछ कि उनीमा ज्ञानसँगै कुनै पनि विषयमा गहिरो जानकारी पनि थियो । साथै उनको व्याख्यान तथा विवेचना यति अद्भुत थियो, जसलाई धेरै मानिसले कपी गर्ने कोसिस गरे । 

आज हामीबिच यस्ता कैयौँ तथाकथित साधु–सन्त, बाबा छन्, जो अदालतबाट प्रमाणित भइसकेका छन् कि उनीहरू बाबा होइनन्, पाखण्डी, अपराधी हुन् । यस्ता कैयौँ बाबाले ओशो बन्ने कोसिस गरे, तर ओशो एक थिए र एक नै रहिरहनेछन् । 

ओशोले यो जगत्मा त्यो समय आफ्नो ठाउँ बनाए, जुन समय ठाउँ बनाउन धेरै नै कठिन थियो । ती चुनौतीलाई उनले सजिलै पार गरे र आज विश्वभर उनको एउटा बेग्लै विशिष्ट स्थान छ ।

जीवनमा दुई तथ्य छन्– एउटा सम्भोग अर्को समाधि । यी दुईलाई उनले जोड दिए । सम्भोग जुन हाम्रो मूल आवश्यकता हो, जुन हाम्रो मूलाधार हो, त्यसलाई उनले समाधि यानी सहस्त्रार चक्रसँग जोडेर एक गरे । कसैले सोच्न पनि सक्दैन कि ‘सम्भोग से समाधि’जस्तो गम्भीर र गुप्त विषयमा कोही यसरी सविस्तार तथा अधिकारले बोल्न सक्छ । यो उनको विविधताको पहलु हो । यसैले त उनी विश्वभरि फैलिन सफल पनि भए ।

ओशोको योगदानलाई केही मानिस सकारात्मक ढङ्गले हेर्छन् भने केही मानिस नकारात्मक ढङ्गले पनि हेर्छन् । उनीहरूको विचारमा– ओशो भ्रमित गर्छन् र उनी एक मृगमरिचिका बनाउँछन् । यो सही पनि होइन । किनकि, ओशोले जीवनको सत्यलाई एउटा विधि वा प्रक्रियाले सम्झाएका छन् । 

अध्यात्म जगत्को चर्चा ओशोबिना अधुरो हुन्छ । ओशो एक यस्तो सम्बुद्ध सद्गुरु हुन्, जसले मानवीय चेतनालाई धर्मको रुढीवादी धारणाबाट मुक्त गरे । ओशोले कुनै नवीन धर्म वा पन्थलाई प्रतिपादित मात्र गरेनन्, अपितु उनले जनमानसको वास्तविक धर्मसँग साक्षात्कार गराए । उनी भविष्यको मनुष्यलाई ‘जोरबा द बुद्ध’को रूपमा गणना गर्न चाहन्थे । ‘जोरबा द बुद्ध’ अर्थात् एक यस्तो मनुष्य जो नाच्न सकोस्, गाउन सकोस् र ध्यानको उचाइलाई पनि छुन समर्थ होस् । 

ओशोले नकारात्मकता र दमनको स्थानबाट हाँस्दै–हाँस्दै सकारात्मकता र ध्यानमा जान जोड दिन्थे । उनी केवल एकै कुरालाई आफ्नो प्रवचनमा जोड दिन्थे; त्यो हो– ध्यान । केवल–ध्यान ।

ओशोको सारा दर्शन प्रेम र ध्यानमा आधारित छ । उनी प्रेम र ध्यानको माध्यमबाट मात्र परमात्माको साक्षात्कार पाउन सकिन्छ भन्नेमा विश्वास राख्थे । प्रेम हराएको आजको संसारमा उनी प्रेमिल बन्न घचघच्याउँथे । यसैले उनका हरेक प्रवचन प्रेममा आधारित छन् । प्रेम के हो ? कसरी प्रेम गर्ने ? किन गर्ने ? उनी रोचक प्रसङ्ग जोडेर प्रमाणसहित व्याख्या गर्थे । ओशोले प्रेमको बीज संसारमा छरेका छन् ।

आजका मनुष्य हामी विचार र भावनाको जञ्जालमा हराएका छौँ । हाम्रो आत्मामा इन्द्रियको क्रिया–प्रतिक्रियाको धुवाँ छाएको छ । हामी जति–जति मुर्छित हुँदै जान्छौँ, उति–उति यान्त्रिक बन्दै जाँदै छौँ । यसैले संकल्पपूर्वक हामीले आफूलाई स्मरण गर्नुपर्छ; मुर्छित अवस्थाबाट ब्युँझेर होसमा बाँच्नुपर्छ । यही नै सम्पूर्ण धर्मको, ज्ञानको सार हो । होसपूर्वक बाँच्नु नै सम्बोधीको द्वार हो । होस याने साक्षीको भाव ।

होसले हाम्रो सम्बोधिको द्वार खुल्छ;  मनलाई शान्त गरेर निर्विचारमा पु¥याउँछ; स्वयंभित्रको स्वयंलाई परिचय गराउँछ । सबै ध्यान विधिहरू स्वयंलाई याने होसलाई जगाउने उपाय मात्र हुन् । जीवनको सत्य जान्ने हाम्रो आकांक्षा पबवल भयो भने हामीमा प्यास जाग्छ र त्यही प्यास एक दिन प्राप्ति बन्छ । केवल हामीभित्र गहन अभीप्सा हुनुपर्छ किनकि सत्य हामीभित्रै छ । 

अतः ओशोको सम्बोधी दिवसले हामीलाई यही पाठ सिकाउँछ; स्वयंलाई चिन्ने प्रेरणा दिन्छ; प्रेम र ध्यानको मार्ग पहिल्याउन जगाउँछ; बुद्धको झैँ मौनको आवाज दिन्छ; मीराझैँ पागल भएर नाच्न सिकाउँछ; स्वयंभित्र पस्न उत्प्रेरणा दिन्छ; शून्यमा रमाउन जागरुकता ल्याउँछ । होसपूर्वक बाँच्नु नै सही अर्थमा सत्यको एक मात्र मार्ग हो, दोस्रो अरु कुनै माध्यम छैन, यही नै सम्बोधीको सार हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप