शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश सरकार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्री र एक राज्यमन्त्री

शनिबार, १० चैत २०८०, १७ : ३५
शनिबार, १० चैत २०८०

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेलाई सरकारमा समावेश गराउँदै मुख्यमन्त्री यादवले शनिवार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री यादवले एमालेबाट ३ मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शत्रुघन सिंह र शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी प्रमोद कुमार जयसवाल पाएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र जितेका प्रदेश सांसद जयसवाल आजै एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि एमाले कोटामा उनी मन्त्रीको शपथग्रहण लिएका हुन् । यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्रीमा केशव रायले शपथ लिएको मधेस प्रदेश सरकार सचिवालयको जनाएको छ । 

नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुख सुमित्रा भण्डारीले खुवाएकी थिइन् भने राज्य मन्त्री रायलाई मुख्यमन्त्री यादवले शपथ खुवाएका थिए । यही ५ चैतमा एमालेबाट संसदीय दलका नेता सरोज यादव भौतिक मन्त्रीमा शपथ खाँदै सरकारमा प्रवेश गरेका थिए । उनीसँगै मधेस प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्री बनेका छन् ।

मधेस प्रदेश सरकारले ९ जना मन्त्री र ३ जना राज्यमन्त्री गरी १४ सदस्यीय मन्त्रीमण्डल बनाएको छ । केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मधेस प्रदेशमा त्यही समीकरण अनुसार नयाँ सरकार गठन भएको हो । जसपाका मुख्यमन्त्री यादवकै नेतृत्वमा एमालेसहितको नयाँ सरकार गठन भएको हो भने यसअघि सरकारमा रहेका काँग्रेस सत्ता बाहिर भएको थियो । 

नयाँ समीकरण अनुसार मधेस प्रदेश सरकारमा जसपा, एमाले, माओवादी, लोसपा र नेकपा एस अहिलेसम्म सरकारमा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप