बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

डढेलोले कसरी पुर्‍याउँछ स्वास्थ्यमा असर ?

आइतबार, ११ चैत २०८०, १२ : ५७
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेपालमा वायुको गुणस्तर बेला–बेलामा खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । वायुको गुणस्तर बिग्रिँदा मानिसमा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने चिकित्सकहरू बताउँछन् ।

स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी ‘आइक्यू एयर’को २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीमा नेपाल आठौँ स्थानमा छ ।  

सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले मात्रै नभइ जङ्गलमा लाग्ने डढेलोबाट उत्सर्जन हुने धुँवाले पनि वायु प्रदुषण हुने गरेको छ ।

जङ्गलमा लागेको डढेलोको धुँवाले वायु प्रदुषण बढाउने वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दिपक ज्ञवालीले बताए । ‘गर्मी बढेसँगै वनजङ्गलमा डढेलो लाग्छ, डढेलोका कारण जनधनको क्षति हुन्छ नै,’ उनले भने, ‘त्यसका साथसाथै वायु प्रदूषण पनि हुन्छ ।’

ज्ञवालीका अनुसार डढेलोको धुँवामा विभिन्न किसिमका ग्यास हुन्छन् । यसले वायु प्रदूषण बढाउने र मानव स्वास्थ्यमा असर पुर्‍याउने उनको भनाइ छ ।

वातावरण विभागले विगत ७ दिनको अवधिमा देशका विभिन्न १८० स्थानमा आगलागीका घटना भएको जनाएको छ । हालैका दिनमा विशेषतः काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहर, कोशी प्रदेशको तराई लगायत देशभरको पहाडी क्षेत्रमा डढेलोले वायु प्रदूषण बढाएको पाइएको छ । वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत वातावरण विभागले आग्रह गरेको छ ।

चालु आर्थिक वर्षमा सात सय स्थानमा डढेलो लागिसकेको वन तथा भू–संरक्षण विभागका उप महानिर्देशक दिपक ज्ञवालीले बताए । ‘यो वर्ष करिब ७ सय स्थानमा डढेलो लागेको छ,’ उनले भने, ‘धुँवाले कार्बन उत्सर्जन हुने भएकाले काठमाडौँ उपत्यकामै सास फेर्न गाह्रो हुने समस्या बेहोरेका छौँ ।’

वायु प्रदूषणले कसरी गर्छ स्वास्थ्यमा असर ?

वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या देखिएर नेपालमा वार्षिक रुपमा झण्डै १० हजार जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपालमा वार्षिक रुपमा ९ हजार ९४३ जनाको मृत्यु वायु प्रदूषणका कारण उत्पन्न हुने रोगबाट हुने गरेको पाइएको छ ।

वायु प्रदूषणले प्रत्यक्ष रुपमा श्वासनली र फोक्सोका साना–साना नालीमा असर गर्ने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । उनका अनुसार हावामा भएको प्रदूषण फोक्सोको प्राकृतिक सुरक्षा प्रणालीलाई छलेर फोक्सोभित्र छिर्दछ । नाकको रौं, सिँगान र सिलिया भनिने कोषिकाहरूले धुँवा धुलोलाई रोकेर फोक्सोलाई सुरक्षित राख्दछन् ।

२.५ पीएम (पार्टिकुलेट म्याटर) भनिने सुक्ष्म कणहरू मानिसको कपालभन्दा २० गुणा पातलो हुन्छ । यिनीहरूले फोक्सोको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई छलेर फोक्सोमार्फत रक्त नलीहरूमा पनि असर पुर्‍याउने डा. बमले उल्लेख गरे ।

‘२.५ पीएमभन्दा साना कण, वायुमा रहेका हानिकारक पदार्थ रक्तनलीमा प्रवेश गर्दछन्, रक्तनलीहरू साँघुरो गराएर दीर्घाकालीन रुपमा उच्च रक्तचाप बढ्छ, हृदयघात, पक्षघातजस्ता समस्या हुन्छ,’ उनले भने, ‘अल्पकालीन रुपमा श्वास नलीमा एलर्जी गरेर श्वास नली साँघुरो हुने र श्वास प्रवाहमा समस्या आएर दम रोगको सुरुवात हुन्छ, रुघाखोकी लाग्नेजस्ता समस्या आउँछन् ।’

डब्लुएचओका अनुसार दीर्घकालीन फोक्सोको रोग (सीओपीडी) नेपालमा मृत्युको सबैभन्दा ठुलो कारणका रुपमा देखिएको छ । नेपालमा सीओपीडीबाट हुने मृत्युमध्ये ६६ प्रतिशत वायु प्रदूषणका कारण हुने गरेको छ । यस्तै नेपालमा फोक्सोको क्यान्सरबाट हुने मृत्युमध्ये ३४ प्रतिशत वायु प्रदूषणका कारण भएको पाइएको छ । तल्लो श्वासप्रश्वास प्रणालीको सङ्क्रमण (एलआरआई) नेपालमा मृत्युको चौथो ठुलो कारण मानिएको छ । नेपालमा एलआरआइबाट हुने मृत्युमध्ये ३४ प्रतिशत वायु प्रदूषणका कारण हुन्छ । उच्च वायु प्रदूषण भएका दिनहरूमा दम रोगका कारण अस्पताल भर्ना हुने क्रम बढेको पाइन्छ ।

कसरी जोगिने ?

वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ । यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न डा. बमले सुझाए । लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखिएमा स्वास्थ्य संस्थामा जाँच गराउन र नियमित रुपमा व्यक्तिगत सरसफाइमा ध्यान दिन डा.बमको सुझाव छ ।

फोहोर बाल्ने, कृषिजन्य अवशेषहरू बाल्ने लगायतका क्रियाकलाप नगर्न समेत वातावरण विभागले आग्रह गरेको छ ।

जङ्गलमा लाग्ने डढेलोमा ९० प्रतिशत मानवीय कारण रहने पाइएको वन तथा भू–संरक्षण विभागका उप महानिर्देशक दिपक ज्ञवालीले बताए । व्यक्ति स्वयंले डढेलो लाग्न नदिन सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

वायु प्रदूषणमा निर्माण कार्यको योगदान ४८ प्रतिशत रहने गरेको सरकारी तथ्याङ्क छ । सवारी साधनले २८ प्रतिशत, कृषि क्षेत्रले ९ प्रतिशत, इँटा भट्टाले ८ प्रतिशत, आगोको चुलोले ५ प्रतिशत, अन्य उद्योग र फोहोर चलाउनाले १÷१ प्रतिशत वायु प्रदूषण हुने गरेको सरकारी तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप