शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जडीबुटी नै कर्णाली समृद्धिको आधार

सोमबार, १२ चैत २०८०, ०९ : १४
सोमबार, १२ चैत २०८०

नेपालको सबैभन्दा ठुलो प्रदेश कर्णालीमा ४७ प्रतिशत भन्दा धेरै भूभाग ४ हजार मिटर भन्दा माथिको उचाइमा अवस्थित छ । यस प्रदेशमा वन क्षेत्र करिब ३७ प्रतिशत छ । भौगोलिक र जलवायुको विविधताका कारणले कर्णाली जैविक वनस्पतिको हिसाबले उन्नत प्रदेश मानिन्छ । विविध एवम् विषम भूवनोट र हावापानीको कारण वनस्पतिहरू अत्यधिक विषम परिस्थितिमा हुर्कने हुनाले यस्ता वनस्पतिमा विशेष किसिमका रासायनिक तत्त्व उत्पादन गर्दछन् । र, यिनै तत्त्वका कारण वनस्पतिलाई विषम अवस्थामा हुर्कन र बढ्न मद्दत गर्दछन् । जति जति उचाइ बढ्दै जान्छ, सोही किसिमका अमूल्य गुणहरू भएका वनस्पतिहरू हुर्किँदै जान्छन् । त्यसैले कर्णाली प्रदेशमा संसारकै दुर्लभ र महँगा जडीबुटीहरूको वासस्थान रहेको छ । 

नेपालमा व्यापार हुने जडीबुटीहरूको कुल परिणामको ४७ प्रतिशत यस प्रदेशबाट हुने गरेको छ । उच्च हिमाली भूभागका उपल्लो डोल्पा, हुम्लाको लिमी लगायतका क्षेत्रको भूवनोट र हावापानी विशेष किसिमको छ । र, यही क्षेत्रमा अमूल्य जडीबुटीहरुः यार्सागुम्बा, पाँचऔँले, जटामसी, घुच्ची च्याउ, वनलसुन, सतुवा, सुगन्धवल रहेका छन् । हाल श्रम गर्ने उमेर भएका युवायुवतीहरू कर्णालीको ग्रामीण बस्तीबाट ठुला सहरमा र वैदेशिक रोजगारमा बाहिरिइरहेका हुनाले ग्रामीण कृषि महिला, वृद्धवृद्धा र बालबच्चाले धानिरहेका छन् । कर्णालीको गरिबीसँग प्रत्यक्ष वा अप्रत्यक्ष जडीबुटीको सम्बन्ध छ । कर्णालीमा न्यून मात्रामा कृषियोग्य जमिन भएकोले परापूर्वकालदेखिनै यहाँका बासिन्दाहरूको आयस्रोतको मुख्य पेसा जडीबुटी सङ्कलन तथा बेचबिखन रहेको छ । कुल गृहस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४ प्रतिशत मात्रै रहेको छ । कृषि र उद्योगको क्षेत्रमा पछि रहेको कर्णालीमा जडीबुटी एउटा ठुलो सम्भावना बोकेको क्षेत्र भएतापनि स्पष्ट रूपमा सरकारको जडीबुटी सम्बन्धी नीति नहुँदा र केन्द्रको यस तर्फ खासै ध्यान नहुँदा कर्णाली विकासमा पछि परेको छ । 

विश्वमा प्रायः धेरै जस्तो चिकित्सा प्रणालीहरू जस्तै आयुर्वेद, युनानी, होमियोप्याथ, आम्ची, एलोप्याथ, जापानी, कोरियन, चाइनिज यी सबै चिकित्सा पद्धति आंशिक वा पूर्ण रूपमा जडीबुटीको प्रयोग भइरहेको छ । जडीबुटी जड र बुटी दुई शब्दले बनेको छ । जड भन्नाले जरा र बुटी भन्नाले गोली (औषधि) भन्ने बुझिन्छ । वनस्पतिका फुलन, पात, फल, डाँठ, बोक्रा, जरा, चोप वा काठजन्य भागलाई धुलो, रस वा लेप बनाएर औषधिका रूपमा प्रयोग गरिन्छ । आधुनिक चिकित्सा प्रणाली (एलोप्याथ) को प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै वनस्पति आधारित जडीबुटी चिकित्सा उपलब्ध हुँदै आइरहेको थियो । विश्व स्वास्थ्य संगठन समेत राष्ट्रिय स्वास्थ्य सुधार कार्यक्रममा वनस्पतिजन्य औषधिलाई सर्वसुलभ र समय सापेक्ष औषधिको रूपमा प्रयोग गर्न प्रवर्द्धन गरेको छ । 

जडीबुटीजन्य औषधि उद्योगलाई मुख्यतया चार वटा प्रमुख क्षेत्रमा बाँडिएको छ । 

१) वनस्पति औषधिमा आधारित, जसले आयुर्वेद, युनानी र चिकित्सा प्रणालीलाई जोडेको छ ।

२) वनस्पतिजन्य सारतत्व–खाद्य पूरक र पोषण पूरक

३) सुगन्धित तेल

४) फाइटो –फार्मासेटिकल्स 

विद्यमान समयमा जैविक एवम् हरित जीवनशैलीसँग जोडिनेहरूको सङ्ख्या निरन्तर बढिरहेको हुनाले वनस्पतिजन्य उत्पादनहरूलाई खाद्यपूरक, शृङ्गार परम्परागत चिकित्सा, जडीबुटी चिकित्सा आदिमा निरन्तर वृद्धि भइरहेको छ । विश्वमा कोभिड–१९ पछि आरोग्य र पर्यावरण पर्यटन निकै बढेको छ । विदेशी पर्यटकहरू घुम्ने र जडीबुटीको अवलोकन गर्दै आनन्द लिने ‘हर्व वाक’ (जडीबुटी यात्रा) विश्वमा निकै प्रचलित भइरहेको छ । लाखौँ पर्यटकहरू फ्रान्सको ग्रास सहर र भारतको कन्नोज सहर, दुई सहर सुगन्धित अत्तरको सुगन्धको आनन्द लिने गर्दछन् । यहाँ विभिन्न सुगन्धित फुल र वनस्पतिबाट सुगन्धित तेल निकालेर परम्परागत विधिबाट अत्तर बनाउने हुनाले यसको ज्ञान लिन र रमाउन पर्यटकहरू त्यहाँ जाने गर्दछन् । र, यसले गर्दा अर्बौँको राजश्व देशलाई प्राप्त हुन्छ । 

  • कर्णाली प्रदेशमा सुगन्धित जडीबुटीको अवस्था एवम् सम्भाव्यता

कर्णाली प्रदेशमा मात्रै पाइने करिब ६१ वनस्पति प्रजातिहरूको अभिलेख भएको छ । यो प्रदेश वनस्पति सम्पदामा सम्पन्न प्रदेश हो, कर्णाली आफैँमा जडीबुटीको भण्डारको रूपमा परिचित छ । यहाँका प्राकृतिक वनजङ्गलमा पाइने बहुमूल्य जडीबुटीहरू नै यो प्रदेशलाई समृद्ध बनाउने बलियो आधार हुन् । हाल तीव्र बसाइसराइका कारण कर्णालीका ग्रामीण बस्तीहरू रित्तिँदै, उजाड हुँदै गइरहेका छन् ।  कठिन भौगोलिक विकटताका कारण थोरै मात्र सिँचाई गर्न मिल्ने खेतीयोग्य जमिन छ । यस प्रदेशमा भएको अन्नबाली पनि जङ्गली जनावरहरू बाँदर, दुम्सी, बँदेल, मृग आदिको कारण किसानहरू मर्कामा छन् । यति मात्र होइन गहुँ, मकै, कोदो, जौ, धानजस्ता परम्परागत बालीहरू कम उब्जनी हुने, भएका पनि जङ्गली जनावरहरूले नाश गर्दिने, सिचाइको सुविधा पर्याप्त नहुने, उत्पादित बस्तु महँगो भएका कारण बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने, यी सबै कारणले पहाडी भेगमा बस्ने कर्णालीका किसानहरू मर्कामा छन् । धेरैजसो परम्परागत कृषि बालीमा निकै प्रतिस्पर्धा हुँदै गइरहेको छ । र, उत्पादित वस्तुहरु पनि सजिलै बिक्री नहुने समस्या पनि छ । हाल कर्णालीका किसानहरू परम्परागत बालीको विकल्पको पनि खोजी गरिरहेका छन् । पछिल्लो समयमा सुगन्धित एवम् औषधीय जडीबुटी खेतीयोग्य एउटा राम्रो विकल्प बन्न सक्छ । अझ राम्रो सिँचाई नहुने कठिन भूगोल, पानी कम पर्ने, जङ्गली जनवरहरूले दुख दिने ठाउँहरूमा सुगन्धित जडीबुटी खेती राम्रो आम्दानीको स्रोत बन्न सक्छ । सुगन्धित जडीबुटी बास्ना, स्वाद, सुगन्धित तेल, सुगन्धित चिकित्सा, उद्योग तथा वाणिज्य क्षेत्रमा उपयोगी हुन्छ ।  कृत्रिम रसायनबाट निर्मित स्वाद र सुगन्धले स्वास्थ्यमा पार्ने नकारात्मक असरले र विभिन्न वैज्ञानिक अनुसन्धानका रिपोर्टले बिस्तारै विश्व वनस्पतिजन्य यस्ता बस्तुहरूको प्रयोगमा क्रमिक अघि बढिरहेको छ । कोभिड–१९ पछि यो दर अझ तीव्र रूपमा बढेको देखिन्छ ।

 सुगन्धित जडीबुटीको महत्त्व :

१) सुगन्धित जडीबुटीमा आधारित उद्योगहरूलाई निरन्तर, सहज रूपमा कच्चा पदार्थ उपलब्ध हुनु ।

२) किसानलाई उच्च आम्दानी हुनु ।

३) प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्दा आम्दानी बढ्ने । 

४) बाँझो र उत्पादन नहुने जमिनको सजिलै सदुपयोग हुने ।

५) निर्यातमा राम्रो अवसर भएकाले राज्यलाई विदेशी मुद्रा आर्जन हुने ।

सुगन्धित जडीबुटीलाई प्रशोधन गरेर मूल्यवान् सुगन्धित तेल निकाल्न सकिन्छ । सुगन्धित तेलका मुख्य स्रोतहरुः 

१) बोक्रा : दालचिनी

२) पातः लेमनग्राँस

३) फलः जैथुन, सुगन्ध कोकिल

४) फूलः गुलाफ, सयपत्री

५) बीउः डोलेचुफेको बियाँ, ओखर

६) काठ: चन्दन, देवदार

७) राइजोमः सुगन्धवाल, अदुवा, भुत्ले आदि

युरोप, अमेरिका, जापान, क्यानडा, अस्ट्रेलिया, कोरिया, सिंगापुर, दुवै, हङकङ लगायतका देशहरूले सुगन्धित जडीबुटीबाट विभिन्न बस्तुहरू उत्पादन गरिरहेका छन् । सुगन्धित जडीबुटीबाट आएको सुगन्धित तेलहरू मुख्यतया निम्न क्षेत्रमा प्रयोग भइरहेको छन्: 

१) खाद्य उद्योगलाई स्वादको रुपमाः  ५५—६० %

२) अत्तर र शृङ्गारजन्य उत्पादन: १५—२० %

३) बास्नादार रसायन उत्पादन गर्न : १०—२० %

४) औषधि उत्पादन उद्योग : १०—१५ %

५) अन्य प्राकृतिक उत्पादन:  ५—२० %

यति मात्र नभएर हाल सुगन्धित तेललाई सुगन्ध चिकित्साको रूपमा निर्मलीकरण गर्न, एन्टिअक्सिडेन्टको रूपमा दुखाई कम गर्न, तनाव र चिन्ताको व्यवस्थापन गर्न, निन्द्रा नलाग्ने समस्या र थकान कम गर्न वनस्पतिजन्य सुगन्धित तेलहरूको व्यापक भइरहेको छ । चीन, भारत, इण्डोनेशिया, ब्राजिल, भियतनाम, फिलिपिन्स, ग्रीस, मलेसिया जस्ता देशहरू सुगन्धित जडीबुटीको खेतीमा तीव्र रूपमा अघि बढिरहेका छन् । उच्च मूल्य र न्यून आयतन भएको बस्तु भएकाले सुगन्धित तेल समुद्रको पहुँच नभएको देशलाई ढुवानी लागत बढी पर्ने हाम्रो जस्तो मुलुकलाई उपयुक्त हुन्छ । हाल कर्णालीको उच्च पहाडी र हिमाली भूभागमा धेरै जसो बासिन्दाहरू यस किसिमका जडीबुटीमा निर्भर रहेका छन् । सरकारले यस्ता किसानलाई सुगन्धित जडीबुटी खेतीतर्फ आकर्षित गर्न सक्छ । जसले गर्दा वनजङ्गलमा भएका यस किसिमका जडीबुटी ननासिने र उद्योगलाई निरन्तर कच्चा पदार्थ प्राप्त भइरहने हुन्छ । यसको लागि कर्णाली प्रदेशमा जडीबुटी अनुसन्धान केन्द्र र अन्तर्राष्ट्रिय गुणस्तरको प्रयोगशालाको आवश्यकता छ । प्रायः सुगन्धित जडीबुटीहरूलाई जङ्गली जनावरलाई असर नगर्ने, कम उब्जनी हुने सजिलै हुर्किने, सिचाइको आवश्यकता नपर्ने हुनाले परम्परागत कृषिको एउटा राम्रो विकल्प बन्न सक्छ । प्रायः बहुमूल्य सुगन्धित तेलहरू उच्च भूभागमा हुर्किने भएकाले उच्च भूभाग र विषम हावापानी भएको हाम्रो जस्तो प्रदेशलाई उपयुक्त हुन सक्छ ।

बिस्तारै हाम्रो देश औद्योगीकरणतर्फ उन्मुख भइरहेकोले उद्योगलाई सहजै चाहिने कच्चा पदार्थ कर्णालीले सहजै उपलब्ध गराउन सक्छ । यति मात्र नभएर हाल विश्वमा सुगन्ध–पर्यटन, एउटा नयाँ पर्यटन क्षेत्रको रूपमा अघि बढिरहेको सन्दर्भमा विविध सुगन्धित जडीबुटी उत्पादन हुन सक्ने कर्णालीमा ‘सुगन्ध पर्यटन’ (एरोमा टुरिजम) को राम्रो सम्भावना रहन्छ । यति मात्र नभएर कर्णालीमा हिमाली रैथाने जडीबुटीमा मूल्यवान् र नौलो किसिमका रासायनिक सक्रिय औषधि तत्त्वहरू प्राप्त हुने हुनाले आधुनिक चिकित्सा विज्ञानमा ठुलो उपलब्धि हुन सक्छ । कर्णालीमा नवीनतम प्रविधि जस्तै: जडीबुटीको जिन बैङ्किङ, केमिकल फिगर प्रिन्टिङ, जेनेटिक इन्जिनियरिङ, सुपर क्रिटिकल एक्ट्रयाक्सन, मलिक्युलर जिनोमिक्स आदिजस्ता क्षेत्रहरू भित्र्याएर उच्च हिमाली भेगमा हुने सुगन्धित एवम् औषधीय जडीबुटीहरूको प्रमाणीकरण र दर्ता प्रक्रिया गर्न सकेमा प्रदेशले ठुलो फड्को मार्न सक्छ । परिमाणमा थोरै तर आर्थिक हिसाबले महँगो मूल्यमा बिक्री हुने कर्णालीका उच्च हिमाली भेगका जडीबुटीलाई प्रशोधन गरेर बहुउपयोगी सुगन्धित तेल एक्सट्रयाक्ट सक्रिय तत्त्वहरू आदिबाट बढी मुनाफा लिन सकिन्छ । विश्वलाई औषधिजन्य Active Pharwaceutical ingredients (API) हुनबाट अन्तर्राष्ट्रिय बजारमा हाम्रा उत्पादनले बढी नाफा दिन सक्छन् । अब बोरामा भइरहेको निर्यातलाई प्याकेजिङ र बोटलिङ गरेर निर्यात गर्न सकेमा कर्णालीले आर्थिक फड्को मार्न सक्छ । 

विष्ट कर्णालीको जडीबुटीको विषयमा खोज र अनुसन्धानमा सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र विष्ट
राजेन्द्र विष्ट
लेखकबाट थप