शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीतिमा तरङ्ग

टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !

बिहीबार, १५ चैत २०८०, १९ : ५६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्नका साथै प्रदेशहरूमा मुख्यमन्त्रीको भागबण्डा मिलाउन सत्ताघटक राजनीतिक दलहरूलाई सकस भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको भेटवार्ताले राजनीतिक तरङ्ग फैलिएको छ ।

त्यसमाथि उथलपुथल भइरहन्छ भन्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री प्रचण्डले सोमबार फेरि त्यही कुरा दोहोर्याएर राजनीतिक वृत्तमा तरङ्ग बढाएका छन् ।

‘हुन त समीकरण चेन्जलाई हाम्रो गण्डकीको मुख्यमन्त्रीजीले उथलपुथलकारी कदम भन्दिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । साँच्चै यी कुनै पनि काम अघि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन’, बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले ठट्यौली शैलीमा भने, ‘त्यो मैले अरूलाई भनेको होइन है ! मेरै लागि भनेको हो ।’

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवार तय गर्ने सत्तारुढ घटकको प्रयास असफल भएसँगै वाम पृष्ठभूमि भएका नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् । सत्ता साझेदार एमाले, रास्वपा र एकीकृत समाजवादीले त उम्मेदवारको टुङ्गो नै लगाइसकेका छन् भने नेकपा माओवादी केन्द्र पनि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छ । यदि एमाले, माओवादी र एकीकृत समाजवादीले इलाम र बझाङमा तथा रास्वपाले इलाममा छुट्टाछुट्टै उम्मेदवार कायम राखेर चुनावी मैदानमा गए सत्ता गठबन्धनकै उम्मेदवारबिच समेत प्रतिस्पर्धा हुने देखिएको छ ।

यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्ता साझेदार दलका उम्मेदवार र उनीहरूको अवस्था हेरेर आफ्नो रणनीति र उम्मेदवार उठाउने तयारीमा छ । राष्ट्रिय सभा निर्वाचन परिणामले तोडिएको कांग्रेससँगको गठबन्धन उपनिर्वाचन परिणामसम्म पुग्दा फेरि सोही नियतिमा पुग्ने त होइन भन्ने आशङ्का समेत गर्न थालिएको छ । 

एकातिर उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्न नसक्नु र अर्कोतिर मुख्यमन्त्रीको भागबण्डा पेचिलो बन्दै गर्दा सत्ता समीकरणको भविष्यबारे विभिन्न टिप्पणी भइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड बिचको भेटवार्ताले आशङ्का गर्नेहरूलाई थप बल पुर्याएको छ ।

कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि देउवा– प्रचण्डबिच पहिलो पटक मङ्गलबार राति भेटवार्ता भएको थियो । सो भेटवार्ताको ४८ घण्टा नबित्दै उनीहरूबिच बिहीबार बिहान पुनः भेटवार्ता भएको हो ।

यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने संसदमा विचाराधीन विधेयक र संसद्को अवरोध हटाउने लगायतका विषयमा दुई नेताबिच छलफल केन्द्रित रहेको दाबी गरेको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेकाले सो सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गरिरहेको छ ।

यता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक दलहरूबिच एकरुपता नहुँदा अघि बढ्न सकेको छैन ।

यसअघि कांग्रेस नेतृत्वको सत्ता समीकरणका बेला पनि प्रधानमन्त्री प्रचण्ड र तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच पटकपटक भएका भेटवार्तामा टीआरसीबारे छलफल भएको बताउने गरिएको थियो । तर उनीहरूबिचको भेटवार्ताले टीआरसी निष्कर्षमा पुग्नुको साटो सत्ता समीकरण नै फेरबदल हुन पुगेको थियो । जसले गर्दा अहिले प्रधानमन्त्री प्रचण्ड र देउवाबिचको भेटवार्तालाई पनि सोही कोणबाट समेत हेर्न थालिएको छ ।

‘प्रेडिक्सन’ गर्न सक्ने अवस्था छैन’

वरिष्ठ पत्रकारसमेत रहेका विश्लेषक पुरुषोत्तम दाहाल प्रदेश भागबण्डा र आसन्न उपनिर्वाचनमा साझा उम्मेदवारका सवालमा सत्ता साझेदार दलहरू एकमत नभएका बेला दुई नेताबिचको भेटले स्वाभाविक रूपमा आशङ्का उब्जन पुगेको बताउँछन् । यद्यपि त्यसलाई लिएर त्यति धेरै अर्थ लगाइराख्नुपर्ने अवस्था नभए पनि नेपाली राजनीतिको ‘प्रेडिक्सन’ नै गर्न सक्ने अवस्था नरहेको दाहालको विश्लेषण छ ।

‘कुन बेलामा के हुन्छ भनेर हाम्रो नेपाली राजनीतिको प्रेडिक्सन नै गर्न नसक्ने अवस्था छ’, दाहालले रातोपाटीसँग भने, ‘मौसमविज्ञहरू जसरी नेपालको आकाशको व्याख्या गर्न गाह्रो भइसक्यो भन्छन्, ठ्याक्कै नेपालको राजनीतिमा पनि त्यस्तै छ ।’

उनले नेपाली राजनीतिको चरित्र अवसरवादी भएको भन्दै यो चरित्रमा कुन बेला कोसँग कसको भेट हुन्छ भन्ने कुरा नै मूल्यहीन हुन थालेको बताए । प्रधानमन्त्री प्रचण्डमा अहिले जता गए पनि अवसरको उपयोग गर्ने नीति रहेको महसुस गरिएको भन्दै उनले एकातिरबाट प्रेसर हुँदा अर्कोतिर हात पसार्ने काम भइरहेको बताए ।

उनले कांग्रेससँग जस्तो सजिलो समीकरण एमालेसँग नभएको अवस्थामा देउवासँग हात बढाएर एमालेलाई ‘साइज’मा राख्ने प्रचण्डको रणनीति हुनसक्ने समेत बताए । साथै उनले कुनै इस्यु आइरहेको तर त्यसबारे हामी कसैलाई थाहा नभएको अवस्थामा उनीहरूबिच लय मिल्ने भएकाले पनि भेटवार्ता भएको हुनसक्ने तर्क गरे । तेस्रो कारण पनि दाहालले खुलाए । ‘अहिले नेपालमा धेरैवटा मुद्दा उठिरहेका छन् । सुन प्रकरणदेखि अन्य भ्रष्टाचारका मुद्दा जटिल छन्’, दाहालले भने, ‘प्रमुख कुरा प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलको नेताबिचको भेटवार्तालाई धेरै अर्थ लगाइरहनु पर्दैन ।’

उनले कांग्रेससँग जस्तो एमालेसँगको सत्ता समीकरण प्रचण्डलाई सहज नहुने समेत बताए ।

‘एउटा भन्ने, अर्कै गर्ने नेताहरूको बानी’

नागरिक समाजका अभियन्ता तथा बाम बुद्धिजीवी श्याम श्रेष्ठ पनि दाहालको भनाइसँग लगभग सहमत देखिन्छन् । श्रेष्ठ नेपालका नेताहरू एउटा भन्ने र अर्को गर्ने खालका भएकाले उनीहरूबिचको भेटलाई लिएर राजनीतिक घटनाक्रमबारे अनुमान र विश्लेषण गर्न सहज नुहने बताउँछन् ।

‘उहाँहरू भित्र एउटा कुरा गर्ने बाहिर अर्को बोल्ने र मोड्ने गर्नुहुन्छ’, श्रेष्ठले भने । अहिले नै एमालेसँगको गठबन्धन तोडिएला भन्ने आफूलाई नलागेको उनले बताए । एमालेले सत्ता साझेदारीमा न्यूनतम कुराहरू मात्रै लिएको अवस्थामा गठबन्धन तलमाथि परिहाल्ला भन्न सक्ने अवस्था नरहे पनि नेपालका नेताहरू कहिले कहाँ र कहिले कहाँ गएर मिल्छन् भन्ने ठेगान नभएकाले यसै भन्न नसकिने श्रेष्ठको भनाइ छ ।

प्रचण्ड–देउवा भेट स्वाभाविक : ज्ञवाली

तर नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबिचको भेटवार्तालाई स्वाभाविक मान्नुपर्नेे बताउँछन् । उनले दुई नेताबिचको भेटले अहिले नै सत्ता समीकरण तलमाथि वा फेरवदल होला भन्ने आफूलाई विश्वास नलागेको बताए ।

‘अहिले प्रधानमन्त्री प्रचण्डले कुनै समीकरण गर्नुहोला भनेर कल्पना र अनुमान पनि गर्न सकिँदैन’, ज्ञवालीले रातोपाटीसँग भने, ‘टीआरसी विधेयक र संसद् चलाउने कुरामा उहाँहरूबिच छलफल हुनु स्वाभाविक हो । त्यसलाई धेरै शङ्का, उपशङ्का गर्न जरुरी छैन ।’

उनले एमाले र माओवादी पार्टी अलगअलग भएको भन्दै सरकार चलाउन मात्र समीकरण भएकाले उपचुनावलाई जोडेर समीकरणमाथि प्रश्न गरिहाल्न उचित नहुने पनि बताए । ‘हामी अलगअलग पार्टी भएकाले मिल्न सक्ने कतिपय ठाउँमा चुनावमा मिल्न पनि सकिएला, नसक्ने ठाउँमा प्रतिस्पर्धा पनि होला’, उनले भने, ‘सरकार चलाउने कुरामा दलहरूबिच न्यूनतम साझा कार्यक्रम बनिसकेको अवस्थामा अब पनि यिनै दलहरू मिलेरै सरकार चलाउने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप