शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजस्व सङ्कलन

निकासी महसुलमा सरकारलाई धक्का

झण्डै १० प्रतिशतले राजस्व वृद्धि हुँदा निर्यात शुल्क ४३.३१ प्रतिशतले घट्यो
आइतबार, १८ चैत २०८०, १९ : २९
आइतबार, १८ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा राजस्व सङ्कलनमा झण्डै १० प्रतिशत वृद्धि भएको छ । राजस्व विभागका अनुसार फागुन मसान्तसम्म सरकारले कर तथा गैरकर गरी कुल ६ खर्ब ३९ अर्ब ४ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

२२ अर्ब २ करोड ८८ लाख रुपैयाँ अन्य प्राप्तिसहित सरकारले यस अवधिमा कुल ६ खर्ब ६१ अर्ब ७ करोड ४९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा सरकारले सबै कर तथा गैरकर गरी कुल ६ खर्ब १७ अर्ब ९७ करोड ९१ लाख रुपैयाँ सङ्कलन गरेको थियो । तुलनात्मक रूपमा यस वर्ष सरकारले ४३ अर्ब ९ करोड ५८ लाख रुपैयाँ बढी राजस्व उठाउन सफल भएको हो ।

चालु आर्थिक वर्ष (२०८०/०८१) का लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा सरकारले फागुन मसान्तसम्म ८ खर्ब ६४ अर्ब ५ करोड ५२ लाख रुपैयाँ सङ्कलन गरिसक्ने लक्ष्य राखेको थियो । तर, समीक्षा अवधिसम्ममा सरकारलाई लक्ष्यको ७६.५१ प्रतिशतको मात्र सफलता मिलेको हो ।

कर सङ्कलनको बाह्य तथा आन्तरिक स्थिति के छ ?

खासगरी आयात केन्द्रित मुलुकको अर्थतन्त्रमा राजस्वको ठुलो हिस्सा भन्सारले नै धानिरहेको छ । उत्पादन केन्द्रित राजस्व वृद्धिको बल गरिरहेको सरकारले यसपटक आन्तरिक र बाह्य दुवैतर्फको राजस्व वृद्धिमा केही सफलता हात पारेको छ ।

कर र गैरकरको रूपमा दुई सेग्मेन्टमा छुट्याइएको राजस्व सङ्कलनको स्थिति हेर्दा फागुन मसान्तसम्म सरकारले करतर्फ ५ खर्ब ७८ अर्ब ६७ करोड सङ्कलन गरेको छ भने गैरकरतर्फ समीक्षा अवधिमा ६० अर्ब ३७ करोड रुपैयाँ सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

भन्सार महसुल

प्राप्त तथ्याङ्क अनुसार फागुन मसान्तसम्म भन्सार महसुल (भन्सार कर) २ खर्ब ८ अर्ब ४५ करोड रुपैयाँ उठेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ११.१६ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म भन्सार महसुल बापत १ खर्ब १४ अर्ब ६८ करोड उठेको थियो । तर तुलनात्मक रूपमा यो वर्ष अर्थतन्त्रको आन्तरिकसँगै बाह्य क्षेत्रमा केही सुधार आएसँगै भन्सार राजस्वमा ९३ अर्ब ७७ करोड बढीको सुधार आएको हो ।

समीक्षा अवधिमा पैठारी (आयात) राजस्व १३.५० प्रतिशतले वृद्धि भएको छ । यसै अवधिमा निर्यात घट्दा निकासी राजस्वमा भने यो वर्ष ४३.३१ प्रतिशतको सङ्कुचन आएको छ ।

भन्सार शुल्ककै आधारमा उठाइने पूर्वाधार कर, सडक मर्मत तथा सुधार दस्तुर र सडक निर्माण तथा सम्भार दस्तुर वृद्धि भएको छ भने यस अवधिमा कृषि सुधार शुल्कसँगै भन्सारको अन्य आय घटेको अवस्था छ ।

b

मूल्य अभिवृद्धि कर/अन्तःशुल्क कर/शिक्षा सेवा शुल्क/आयकर

यसैगरी समीक्षा अवधिमा आन्तरिक राजस्वका क्षेत्र मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्कसँगै आयकर समेत केही वृद्धि भएको छ ।

समीक्षा अवधिमा उत्पादन, बिक्री तथा सेवातर्फको मूल्य अभिवृद्धि कर ९.४९ प्रतिशतले र पैठारी (आयात) तर्फको मूल्य अभिवृद्धि कर ७.३३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

यसैगरी समीक्षा अवधिमा अन्तःशुल्क ०.८० प्रतिशतले वृद्धि हुँदै ९१ अर्ब ४ करोड ७८ लाख रुपैयाँ उठेको छ भने शिक्षा सेवा शुल्क ९५.२१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ७ करोड ७१ हजार पुगेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म शिक्षा सेवा शुल्क जम्मा १ अर्ब ६ करोड ४१ लाखमात्र उठेको थियो ।

व्यक्तिगत तथा संस्थागत आयकरतर्फ समीक्षा अवधिमा १६.१४ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ६७ अर्ब ३३ करोड ९० लाख उठेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आयकर १ खर्ब ४४ अर्ब ८ करोड ७० लाख रुपैयाँ उठेको थियो ।

समीक्षा अवधिमा वास्तविक आयकर १ खर्ब ४० अर्ब ३२ करोड १२ लाख रुपैयाँ उठेको छ भने ब्याज कर २७ अर्ब १ करोड ६८ लाख रुपैयाँ उठेको राजस्व विभागले जनाएको छ ।

आन्तरिक करको स्थिति (अङ्क लाखमा)

a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप