मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएलाई मूल उद्देश्यतिर लैजान सर्वोच्चले बाटो खोलिदियो : आरके शर्मा

बुधबार, २१ चैत २०८०, २३ : १२
बुधबार, २१ चैत २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले संघबारे सर्वोच्च अदालतको फैसलापछि आफ्नो प्रतिक्रिया दिएका छन् । बुधबार राति रातोपाटीसँग कुराकानी गर्दै शर्माले सर्वोच्च अदालतको फैसलाले एनआरएनएलाई फेरि मूल उद्देश्यतिर लैजाने ढोका खुला भएको बताए । 

‘ अब सबैले दम्भ त्यागेर गैरआवासीय नेपालीको हकहितको लागि काम गर्नुपर्ने समय आएको छ’, उनले भने, ‘संघलाई मूल उद्देश्यतिर लैजने बाटो सर्वोच्च अदालतले खोलिदिएको महसुस भएको छ । सबैले आ–आफ्नो दम्भ छोडेर र पुराना गल्तीहरूलाई सुधारेर अघि बढ्नुको विकल्प छैन ।’

आफू निरन्तर संस्थाको सुधारमा लागिपरेको बताउँदै शर्माले संस्थामा रहेको विवादले सच्चा एनआरएनएहरुमा परेको असुविधाप्रति आफ्नोतर्फबाट क्षमा माग्ने पनि बताए ।  

नेतृत्वका केही लोभी अभियन्ताहरुको जिद्दीले गर्दा संस्था खराब ठाउँमा पुगेको जिकिर गर्दै उनले भने, ‘अब फेरि एक ठाउँमा उभिनका लागि सर्वोच्चले सबै गैरआवासीय नेपालीको भावनाको सम्मान गरेको छ ।  यो भावनालाई आत्मसाथ गर्दै एकताको महाधिवेशन गरेर संघलाई पुरानै इज्जतमा फर्काउन सबै जना लाग्नुपर्छ ।’ 

बुधबार सर्वोच्च अदालतले १० औँ र ११ औँ महाधिवेशनबाट अध्यक्ष बनेकाहरूलाई अवैध ठहर गर्दै २०७८ माघ १ को बिन्दुबाट प्रक्रिया सुरु गर्न आदेश दिएको छ । जसअनुसार पूर्वअध्यक्ष शेष घलेके नेतृत्वमा ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्ने भएको छ । 

एनआरएनएको १० औँ महाधिवेशनबाट एकताको नाममा बद्री केसी, कुल आचार्य र रविना थापा अध्यक्ष चयन भएका थिए भने पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा पनि महाधिवेशन भएर विनोद कुँवरलाई अध्यक्ष बनाइएको थियो । यस्तै ११ औँ महाधिवेशनमा विवादका बीच एक समूहले बद्री केसीलाई अध्यक्ष घोषित गरेको भने बद्री केसीले धाँधली गरेको भन्दै आरके शर्माको नेतृत्वमा असन्तुष्ट समूहले समानान्तर कमिटी घोषणा गरेको थियो । यसरी तीन चिरा विभाजित एनआरएनएका सबै नेतृत्वलाई अदालतले अवैध ठहर गर्दै एकताको पक्षमा फैसला गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप