आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलमा २४ सै घन्टा व्यापार सञ्चालन गर्न कार्यविधि बन्यो

व्यवसायी भन्छन्– रात्रीकालीन व्यवसाय सञ्चालन आए नेपालकै नमुना पर्यटकीय नगरी बन्छ
शुक्रबार, २३ चैत २०८०, १८ : ५६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल भएको छ ।  शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा सरोकारवाला निकायहरूसँग छलफल भएका भएको हो । 

छलफलमा २४ सै घन्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि समेत बनाएको छ । कार्यविधिको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफलमा जानकारी गराए । उनले कार्यविधिमा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनि नियन्त्रण ‘साउण्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने बताए । उनले कार्यविधिमा बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको बताए । उनले जसमा श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन नपाइने बताए । 

सीडियो बस्नेतले कार्यविधि अनुसार सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गरिएको बताए । उनले बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको बताए । उनले अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमुलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा सजगतापूर्वक स्वस्थ मनोरञ्जन दिनेगरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।

छलफलमा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यावसायिक उद्देश्यले आउने गरेको दाबी गरिन् । उपप्रमुख डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौँ बनाउने अभियान असफल भएको उल्लेख गरिन् । उनले चौबिसै घन्टा बजार खुला गर्ने निर्णय ठिकै भएपनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताइन् । न्युरोड जस्तो ठाउँमा दिउँसै सुरक्षा दिन सकस भइरहेका बेला रातिको सुरक्षाबारे सरकारले सोच्नुपर्नेमा उनले जोड दिइन् । उनले ठमेलमा घरधनीहरू पनि बस्ने भएकाले ध्वनि प्रदुषणलाई  (साउण्ड प्रुफ) बाध्यकारी बनाउन आवश्यक रहेको बताइन् ।

छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुला गर्ने काम सुरु गर्न आवश्यक रहेको बताए । उनले ठमेल र दरबारमार्गका व्यापार व्यवसायको लागि ध्वनि प्रदुषण सतप्रतिशत कम गरेर वा अन्य सबै नियमन सतशत प्रतिशत गरेर गर्नसक्ने अवस्था नभएको बताए । उनले सरकारले बनाएको रात्रिकालीन व्यवसाय सञ्चालन कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्नु जरुरी रहेको बताए । उनले विदेशबाट आउने पर्यटकहरुले नेपालमा १० बजे नै सबै होटल,रेष्टुरेण्टहरु बन्द हुने नकारात्मक सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको बताए ।

अध्यक्षले व्यवसायीहरुलाई प्रोत्साहन दिएर व्यवसायीक वातावरण बनाउन आवश्यक रहेको बताए । उनले रात्रिकालीन व्यवसाय पहिला नै सुरु गर्नुपर्ने भएपनि अहिलेसम्म गर्न नसक्दा धेरै ढिला भएको भन्दै तत्काल सुरु गर्न आग्रह गरे ।

छलफलमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले समय पर्खिने भन्दा पनि तत्काल व्यवसाय सञ्चालनको लागि अनुमति दिन आवश्यक रहेको बताए । उनले आगामी नेपाली नववर्षको अवसर पारेर वैशाख १ गतदेखि पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले ट्याक्सीको व्यवस्थापन भाडाको विषयमा यातायात व्यवस्था कार्यालयले टुङ्गो लगाउनुपर्ने बताए । उनले रात्रिकालीन बस सञ्चालनको लागि भाडा व्यवस्थापन गर्न नसक्दा महानगरले सुरु गरेको बस सञ्चालन गर्न नसकिएको बताए । उनले रातिमा सबै उद्योग कलकारखाना र व्यापार व्यवसाय सञ्चालन भएर २४ सै घन्टा सार्वजनिक यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाए । यातायात सञ्चालनको लागि वातावरण बन्न आवश्यक रहेको उनको भनाई थियो ।

ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माले नेपालमा आउने करिब ८० प्रतिशत पर्यटक ठमेलमा घुम्न,बस्न र खाना आउने गरेको बताए । उनले त्यसबाट करिब ६० हजारलाई स्वरोजगार बनाएको दाबी गरे । 

अध्यक्ष शर्माले व्यवसायीहरूको करिब २० प्रतिशत स्थानीय बासिन्दा भएकाले उनीलाई सहज तरिकाले बस्न पाउने अधिकारलाई सुनिश्चित गरी व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले ठमेल पर्यटकीय क्षेत्रलाई २४ सै घन्टा व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा गुरुयोजनालाई शुक्रबारदेखि नै कार्यान्वयन गर्न जरुरी रहेको बताए । उनले ठमेलमा केही व्यवसाय सञ्चालनमा भएपनि कुनै मापदण्ड कायम गरी नियमित अनुगमन गर्न आवश्यक रहेको बताए । उनले व्यवसायी सञ्चालनको लागि बनाएको कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्न सके ठमेल र दरबारमार्ग नेपालकै नमुना पर्यटकीय नगरी बन्नसक्ने दाबी गरे ।

छलफलमा स्थानीयवासी तथा व्यवसायीहरूले सरकारले सहज रूपमा बस्न पाउने अधिकार हनन नहुने र सहज रूपमा व्यवसाय वातावरण बनाउने र शान्ति सुरक्षा मजबुत हुनेगरी व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छन् । उनीहरुले माथिको सटरमा क्लब सहज रूपमा सञ्चालन गर्ने दिने तर तलको सटरमा चिया बेच्न नपाउने वातावरण राज्यले बनाउन नहुने उनीहरूको सुझाव थियो । 

उपभोक्ताकर्मीहरुले उपभोक्ताको हकहितमा व्यवसाय सञ्चालन गर्ने कुराको स्वागत गरे । उनीहरुले उपभोक्तालाई गुणस्तरहिन र मूल्यमा ठगिनुपर्ने वातावरणको अन्त्य सरकारले गर्न सुझाव दिए । यता सरकारले श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पु¥याउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन÷शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोसाक परिवर्तन गर्ने कोठामा सिसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ । व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । नाबालिक तथा नाबालिकलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ ।  

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप