शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. विमल कोइरालाका तीन कविता

शनिबार, २४ चैत २०८०, १२ : ५७
शनिबार, २४ चैत २०८०

१) माधवजी ! तपाईं...

पाइताला चाट्नुदेखि लिएर
यौनका प्रज्वलित आँखा, र
अश्लील ठट्टाहरू मुखभरि बोकेर
आफ्नो काँट न छाँटको स्वरुपलाई 
मालिकको हाउभाउ अनुसार बंग्याएर
कागे जिउमा मयुरका प्वाँखहरू
सिउरेर
तपाईं नाच्न सक्नुहुन्छ
माधवजी ! विचित्रको लीला छ तपाईंको
आफ्नो स्वार्थका खातिर
नाक भुइँमा घोट्नुहुन्छ
तपाईं त औधी धुर्त हुनुहुन्छ ।

कसले लेख्न सक्ने कथा
तपाईंको चाटुकारिताको 
कसले भन्न सक्ने कथा
तपाईंको निर्लज्ज चरित्रको
यो अन्धभक्त अपरम्पार छ
अर्काको खातिर
बलात्कारी समेत कहलाउन रुचाउने
होश गर्नुहोला
कुनै दिन तपाईं, भड्खालामा जाकिनुहोला,
हुन त तपाईं जस्ताकै ‘मनोबल’ बढेको छ— खै, के भन्नु ?
आफ्नो गधा शरीरलाई तपाईं
‘निर्लज्जता’ बेस्सरी बोक्न सक्नुहुन्छ 
माधवजी ! तपाईं धुर्त हुनुहुन्छ, र
औधी धुर्त हुनुहुन्छ ।
(२०४१)

२) आमा

जसका गहिरा आँखाभित्रको
सौम्य सागरमा
असंख्य युद्ध पचाउने शक्ति छ
जहाँ कचेरा पग्लिएर रगत बन्छ
जहाँ धर्मसङ्कट पर्दा लुक्न पाइन्छ 
जसको आँखा आस्थाको द्वीप हो,
जसका पाखुरीमा
निस्सहाय हुँदा झुत्ती खेल्न पाइन्छ
जसको आँचलमा 
भूमिगत हुँदा पनि आश्रय पाइन्छ
जसका गोडाको गति लिएर
रणक्षेत्रसम्म पुग्न पाइन्छ
जसको हातले फगत विजयको आशीर्वाद दिन्छ
ऊ आमा हो ।

मुक्ति संग्रामका योद्धाहरू
स्याहार्न ऊ व्यस्त छे
कसैलाई लुगाफाटो 
कसैलाई खानेकुरो
बाँड्नु बनाउनुमै ऊ मस्त छे,
कठोर पीडामा पनि 
ऊ बोल्दिन
उसले आफ्नो सुस्केराले पनि
सन्तानमा पलायन जन्माउँछ भन्ठानेर
सुस्केरा हालेकी छैन
ऊ फगत दिन्छे/लिन्न
ऊ सहन्छे/प्र्रतिरोध गर्दिनँ
उसको अनाशक्त अनुहारमा 
सधैँ खुसीको चहक हुन्छ
उसको ढल्न लागेको शरीरमा पनि
यौवनावस्थाकै जोश हुन्छ
ऊ आमा हो ।

कतै युद्धमा शत्रुसँग खेल्दै गरेको बेला
हराएको छोरा खोज्दै आउने
शत्रुको गोलीले
मुटु छेडे पनि, वा
कायल गराउन 
नाङ्गो ढाडमा 
धमाधम कोर्रा बर्साए पनि
ऊ थाक्दिन/ ऊ मरे कायल हुन्न,
बरु आफ्नो पीर लुकाएर घायल सन्तानलाई 
सुमसुम्याउन थाल्छे, अनि
भोलि फेरि भाले बास्न नपाउँदै
आशीर्वादका साथ
रणक्षेत्रमा जाने प्रेरणा दिन्छे,
ऊ आत्मसुखका निम्ति
लोभमा कहिल्यै फस्दिन
ऊ आमा हो ।

उसको छातीमा बारुद पड्काउन खोजे
ऊ इस्पात हुन्छे
उसका आँखा झिरले रोप्न खोजे
चम्किने संगमरमर हुन्छे
यातना दिन थाले
उसका तीखा आँखा तरबार हुन्छन् 
ऊ स्वयं ढाल हुन्छे
कोही महिषासुर आयो भने
ऊ काली हुन्छे
ज्यादै शक्तिशाली हुन्छे,
विजयको घोषणा लिएर
फर्केर नआउन्जेल
उसका सन्तानहरू
ऊ किल्लामै हुन्छे 
ऊ आमा हो ।

ऊ आमा हो ।
त्यसैले ऊ आफ्नो मातृत्व बिर्सन्न
कृष्णकी हो भने 
ऊ देवकी हो
लुसीकी भए
एन्नो वेल्लों हो ऊ,
जसको भए पनि एउटै हो
आमा एउटै हुन्छ ।
(२०३६)

३) कुकुरहरू

कुकुरहरू स्वामीभक्त हुन्छन्
तीखा दाँत र विषालु नङ्ग्रा भए पनि
मालिकको आदेशविना आक्रामक हुँदैनन
हिजोआज रेबीज बोकेका
र्‍याले कुकुरहरूको जमात बढेको छ 
टोलटोलमा/गाउँगाउँमा 

घर र अफिसमा– त्यसबाहेक अन्यत्र पनि
मान्छेको बस्तीमा/इलाकामा
छ्यास्छ्यास्ती यी भुस्याहाहरूको जमात बढेको छ
मालिकको स्वीकृतिमा पुच्छर हल्लाउने र 
अस्वीकृतिमा भुक्ने बाघको छाला ओढ्ने 
स्यालहरूको जनसङ्ख्या बढेको छ ।

मान्छे र कुकुरमा फरक यो पनि छ
कुकुरसँग जस्तो भाषा प्रयोग गरे पनि हुन्छ
चाहिँदा पाल्यो 
नचाहिँदा नगर पञ्चायतको ट्र्याक्टरमा खसाले पनि हुन्छ
सेवा दिउन्जेल मायालु भइदियो
सेवा दिन छाडेपछि बैगुनी हुँदा पनि हुन्छ,
मान्छेभन्दा कुकुर रुचाउने हैकमीहरूको सेवामा
तल्लीन छन् अचेल 
कुकुरहरू ।

कुकुरहरू— जसका आँखा निर्लज्ज छन् र चिन्न आतुर छन्
कुकुरहरू— जसका दाँत विषाक्त छन् र टोक्न आतुर छन् ।
(२०३६)

(कोइरालाको पहिलो कविता सङ्ग्रह ‘मौन शिविरबाट २०४३’ बाट)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विमल कोइराला
डा. विमल कोइराला
लेखकबाट थप