मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बाँदर आतङ्क

बाँदरको हैरानीले काठमाडौँमै शङ्ख र थाल बजाउँछन् किसान

सिमला मोडेलमा होला त नियन्त्रण ?
बिहीबार, २९ चैत २०८०, १९ : ३५
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । खेतमा गहुँ झुलेको छ, बारीमा मकै छर्ने बेला भएको छ । तर किसानहरूको मुहारमा खुसी छैन । बथानका बथान बाँदर आएर गहुँ बाली नष्ट गर्ने, मकै छरेको बारीमा खोस्रिएर मकैको बिउ नै खाइदिएर हैरान भएका उनीहरू कृषिकर्मबाट निराश छन् ।

खेतमा गहुँ पाक्न थालेको छ । काठमाडौँस्थित शंखरापुर नगरपालिकाको दुर्गम भेग नाङ्ले भारे र पटापका स्थानीयहरू हरेक दिन खेतमा बाँदर धपाउन धाइरहेका छन् । बारीमा मकै छर्ने समय भयो तर रोपेको बिउ समेत खोस्रिएर खाइदिने भएपछि उनीहरू बाँदरबाट आजित छन् ।

पटापका बासिन्दा लालाचन्द्र लामिछाने बाँदरले खेतबारीको अन्नबाली मात्रै नभएर करेसाबारीको तरकारी समेत नष्ट गरिदिएपछि हैरान भएको बताउँछन् ।

रातोपाटीसँग उनले भने, ‘बाँदरले खाने कुरा कहीँ कतै केही बाँकी राखेको छैन । करेसाबारीमा तरकारी छ भनेपछि कुन बेला आइपुग्छ, काउली, मुला, आलु, फर्सी केही बाँकी राख्दैन । घरमा कोही बसेन भने वरिपरि रहेको अलिकति तरकारी पनि बाँकी राख्दैन ।’ बाँदर र बँदेलले दिनसम्म दुःख दिएको उनले सुनाए । ‘आलु, सखरखण्ड, मकै, गहुँ केही देख्नै हुँदैन,’ उनले भने, ‘बाँदरले नखाने भनेको पिँडालु र खुर्सानी हो, अरु केही बाँकी राख्दैन ।’

लामिछानेका अनुसार कसै गरी पनि बाँदर, बँदेललाई नियन्त्रण गर्न सकिएको छैन । ‘बाँदर, बँदेल मारौँ भने एउटाले कुरा लगाइदेला ! कानुन लाग्ने डर पनि छ । सरकारले पनि मार्न नपाइने भनेको छ,’ उनले भने, ‘बाँदर तर्साउने बन्दुक पड्काउँदा पनि एक दिनपछि आइहाल्छ । एकदुई जना धपाउन जाँदा त कुट्नै आउँछ ।’

पटापकै देवीप्रसाद लामिछाने ७३ वर्षका भए । आफू युवावस्थामा हुँदा बाँदरको यस्तो प्रकोप भोग्नु नपरेको उनी स्मरण गर्छन् ।

उनले भने, ‘बाँदरले मकै खान्छ, धान भुत्ल्याउँछ । यो–ऊ भन्ने नै छैन, सबै बिगार गर्छ । सय, दुई सय, तीन सय सङ्ख्यामा फौज आउँछ । मकै छरेपछि तीनचार महिना त्यसकै गोठालो लाग्नुपर्छ ।’

यस्तै सीता लामिछाने लम्सालले बाँदर धपाउनका लागि दैनिक शङ्ख–थाल बजाउनुपर्ने बाध्यता सुनाइन् । बँदेल धपाउन राति पनि किसानहरू खेतमा जान बाध्य भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘बाँदर घर–घर नै आउँछ, घरमा भएको पनि झिकेर लैजान्छ । कतिपयले त खेती गर्नै छोडिसके । यो विषयमा कसैले चासो दिएका छैनन् । बाली रोपेको बेलादेखि फल्ने बेलासम्म कुर्नुपर्छ । बाँदर, बँदेल धपाउन शङ्ख बजाउने, आगो बाल्ने, राति पनि खेतबारीमा कुर्न जानुपर्ने अवस्था छ ।’

बाँदर, बँदेललाई मार्न पनि नहुने कानुनी व्यवस्था रहेको जिकिर गर्दै उनले भनिन्, ‘दिनभरि बाँदर धपायो, राति आएर बँदेलले सखाप पार्छ ।’

पटापकै कर्मी तामाङले पनि बाँदर र बँदेलबाट सास्ती पाएको सुनाए । ‘मकै पाक्यो भने बारीभित्र पसेर सबै सखाप पारिदिन्छन्,’ उनले भने ।

बाँदरबाट गहुँ जोगाउन हरेक दिन दिउँसो श्रीमती खेतमा कुर्न जाने गरेको मानबहादुर तामाङले बताए । उनले भने, ‘बाँदरले यहाँ बस्नसक्ने अवस्था नै छैन । कुनै वर्ष खेतबाट गहुँ घर ल्याउन पाइँदैन । अहिले ३ रोपनी खेतमा गहुँ लगाएको छु । श्रीमतीलाई कुर्न पठाएको छु ।’

गाउँको बिचमा हुने बारीमा बाँदरले असर नगरे पनि गाउँघरको छेउछाउमा रहेका खेतबारीमा अन्नबाली लगाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

पटापकै कृष्णबहादुर लामाले प्रश्न गरे, ‘बाँदरले सबैको बाली नोक्सान गरिरहेको छ, अन्नबाली बचाउने कसरी ? खाउँला भनेर दुःख गरेर अन्नबाली लगायो, बाँदर, बँदेल, मृग आएर खाइदिन्छ । बचाउने कसरी ?’

बाँदरको फौजलाई धपाउँदा–धपाउँदा हैरान भएका तीर्थबहादुर तामाङ नेपालको कानुनका कारण पनि समस्या भएको बताउँछन् । उनले भने, ‘बिहान जुरुक्क उठ्ने बित्तिकै बाँदर खेद्न हिँड्नुपरेको छ । बँदेल, बाँदर मृगले दुःख दिइरहेको छ । गहुँ पाक्ने बेला भएको छ, सबै अहिले खेतमा गहुँ कुर्न गएका छन् ।’

बाँदर, बँदेलजस्ता जनावरलाई मार्दा कानुन लाग्ने भएकाले नियन्त्रणमा निकै चुनौती बढेको उनले सुनाए । ‘लखेट्यो भने एकदुई दिन जान्छ, फेरि फर्केर जहाँ पाकेको छ, त्यहीँ आउँछ । यताबाट लखेट्यो उताको गाउँमा जान्छ । उताबाट लखेट्छन्, फेरि यता आउँछ । यताकोले उता लखेट्ने, उताको यता लखेट्ने काम भइरहेको छ ।’

यस्तै शंखरापुर वडा नम्बर १ नाङ्लेभारे, ढकालगाउँका पुरुषोत्तम ढकालबाँदर, बँदेल र मृगले हैरान गरेको बताउँछन् । बाँदर र बँदेलको प्रकोपका कारण किसान भोकमरीमा पुग्ने अवस्थामा रहेको उनले बताए ।

काठमाडौँ जिल्लाकै किसानले बाँदर बँदेलबाट पाएको यो हैरानी देशभरका किसानले भोगेको साझा समस्या हो । बाँदर बँदेलबाट किसानले हैरानी पाएको संसद् र सरकारलाई पनि थाहा नभएको हैन तर नियन्त्रणका लागि ठोस प्रयास सुरु भने भएको छैन ।

WhatsApp Image 2024-04-11 at 15.09.14

के सिमलाको बाँदर बन्ध्याकरण मोडेल सम्भव छ ?

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको पहलमा गत चैतको पहिलो साता १० जना पशु चिकित्सक र ५ वटा राष्ट्रिय निकुञ्जका ५ जना रेञ्जरहरू भारतको सिमला पुगेका थिए । त्यहाँ उनीहरूले चैत ७ गतेदेखि ११ गतेसम्म ५ दिन बाँदर बन्ध्याकरणको तालिम लिएका थिए ।

सो तालिममा चितवनको भेटेनरी हस्पिटल तथा एनिमल सर्भिस एक्सपर्ट सेन्टरका डा.बब्लु ठाकुर पनि सहभागी थिए । रातोपाटीसँगको कुराकानीमा पशु चिकित्सक ठाकुरले सिमलामा बाँदर नियन्त्रणका लागि गरिएको काम नेपालमा पनि सम्भव रहेको बताए । तर त्यसका लागि नेपालको कानुन, खर्च व्यवस्थापन र बन्ध्याकरणका लागि लागि उपकरण व्यवस्थापन चुनौतीको रुपमा रहेको उनको भनाइ छ । के भारतले अपनाएको बाँदर नियन्त्रण गर्ने विधि नेपालका लागि उपयुक्त छ त ? डा.गुप्ताकै शब्दमा उनको अनुभव :

सिमलामा ५ वर्षमा १ लाख ८६ हजार बाँदरको बन्ध्याकरण

WhatsApp Image 2024-04-11 at 15.09.16 (1)

भारतको सिमला र नेपालको पहाडी भूभाग, हावापानी एउटै किसिमको रहेछ । त्यहाँ बाँदरले धेरै सताएपछि एक जना सरदारले उच्च अदालतमा बाँदरबाट बालीनाली जोगाइ पाउँ भन्दै मुद्दा हालेका रहेछन् ।

अदालतले सरकारका ६ वटा निकायलाई बाँदर नियन्त्रणका लागि भनेर आदेश दिएको रहेछ । त्यसपछि सिमलामा बाँदर बन्ध्याकरण कार्यक्रम अघि बढेको रहेछ । उनीहरूले ५ वर्षमा १ लाख ८६ हजार बाँदरको बन्ध्याकरण गरेका रहेछन् । त्यसका लागि उनीहरूले ५ वटा बाँदर बन्ध्याकरण केन्द्र स्थापना गरेका रहेछन् ।

उनीहरूले अपनाएको प्रविधि ल्याप्रेस्कोपी ट्युवेकटोमी रहेछ, जुन दुर्बिनको सहायताले अप्रेसन गर्ने विधि हो । यो प्रविधि मान्छेमा भइरहेको सर्जरी जस्तै हो । पेटको तल्लो भागमा प्लाल पारेर एउटा प्वालबाट दुर्बिन छिराइन्छ, अर्को प्वालबाट काट्ने र डाम्ने उपकरण छिराइन्छ । पोथी बाँदरमा इलेक्ट्रो सर्जिकल विधि अपनाइएको रहेछ । भाले बाँदरलाई भ्यासेक्टोमी गरिँदो रहेछ ।

उनीहरूले एक वर्षमा १० हजार बाँदरलाई बन्ध्याकरण गर्ने लक्ष्य राखेर सो कार्यक्रम गरेका रहेछन् । यो विधिबाट धेरै मात्रामा बाँदरको जनसङ्ख्या नियन्त्रण भएको उनीहरूको अध्ययनले देखाएको छ ।

यदि यो कार्यक्रम अघि नबढाएको भए बाँदरको सङ्ख्या सयौँ गुणा हुने उनीहरूको अध्ययनले देखाएको छ । उनीहरूले सो कार्यक्रम सफल भएको हामीलाई बताएका थिए ।

यद्यपि त्यो अवस्थामा पनि हामी सिमलाको सडकमा हिँड्दा जहीँतहीँ बाँदर देखिएको थियो । उनीहरूको भनाइ के छ भने यदि यस्तो कार्यक्रम अघि नबढाएको भए बाँदरको सङ्ख्या अझै धेरै हुन्थ्यो ।

सिमलाको सहरमा हेर्ने हो भने घरको माथिल्लो भागमा पानी ट्याङ्कीसमेत काँडे तारबार गरेर राखिएको छ । मान्छेको घरहरूलाई पनि बाँदर पस्न नसकोस् भनेर तारबार गरेर राखिएको रहेछ ।

एक मिनेटभित्रै एउटा बाँदरको बन्ध्याकरण

बाँदरलाई अप्रेसन गर्न त्यस्तो जटिल हुँदैन, सामान्य घाउमात्रै बनाइन्छ । सर्जरीका लागि समय पनि लाग्दैन । उनीहरूले १ मिनेटमै पोथीको बन्ध्याकरण गर्छन् भने ४०–५० सेकेन्डमा भालेको अप्रेसन गर्छन् ।

सुरुमा बाँदर समातेर ल्याइन्छ । पेटमा दुईवटा प्वाल बनाइन्छ । एउटा प्वालबाट दुर्बिन क्यामेरा छिराइन्छ, अर्को प्वालबाट कटर छिराइन्छ । एकैछिनमा अप्रेसन हुन्छ । बन्ध्याकरण गरिएका बाँदरलाई ३ दिन निगरानीमा राखिन्छ । त्यसपछि जुन ठाउँबाट समातेर ल्याएको हो, त्यही ठाउँमा लगेर छोडिन्छ । बाँदरको सङ्ख्या नियन्त्रण गर्नका लागि भाले र पोथी दुवैको बन्ध्याकरण गरिएको पाइयो । बाँदरहरूको एउटा फौजमा रहेका ८० देखि ९० प्रतिशतको बन्ध्याकरण गर्नुपर्ने उनीहरूको मान्यता रहेछ । यदि यो मात्रामा बन्ध्याकरण नगर्ने हो भने बाँदर नियन्त्रण सफल हुँदैन भन्ने उनीहरूको मान्यता छ ।

भारतको मोडेल अपनाउन सकिन्छ तर चुनौती छन्

WhatsApp Image 2024-04-11 at 15.09.17

नेपालमा सम्भव नै नभएको होइन, सम्भव छ तर हामीसँग केही चुनौती पनि छन् । बाँदरले धेरै दुःख दिन थालेपछि त्यहाँको उच्च अदालतले सरकारलाई बाँदरलाई समात्न र मार्नसम्मको आदेश दिएको रहेछ । त्यही अनुसार त्यहाँको सरकारले कानुन बनाएको रहेछ । तर अहिले त्यो व्यवस्था हटाएर बन्ध्याकरणको व्यवस्था गरेको रहेछ ।

हाम्रोमा पनि बाँदर लगायतका वन्यजन्तु नियन्त्रण गर्न कानुनी व्यवस्था चुनौतीका रुपमा छ । हाम्रो वन ऐनले घरपालुवा बाहेक सबै जीवजन्तुलाई वन्यजन्तुको परिभाषाभित्र राखेको छ । वन्यजन्तु भएपछि तिनीहरूलाई समाउन, अप्रेसन गर्न कानुनले मिल्दैन ।

भारतले अपनाएको मोडल प्रयोग गर्न हाम्रो कानुन संशोधन गर्न मिल्दैन । कानुनी आधारविना त्यसलाई समाउने कसरी ? अप्रेसन गर्दा प्रश्न उठ्यो भने के गर्ने ? हाम्रोमा यसका लागि कानुनी आधार प्रस्ट छैन ।

हामीले सिकेर आएका छौँ, सुरुमा हामीलाई काम गर्न अलि समय लाग्ला तर त्यसका लागि आवश्यक पर्ने उपकरण पनि हामीसँग छैन । भेटेनरीमा हाम्रोमा त्यो किसिमको अप्रेसन अहिलेसम्म भएको छैन । मान्छेमा त्यस्तो खालको ल्याप्रेस्कोपी सर्जरी भए पनि जनावरमा भएको छैन । त्यस्तो खालको मेसिन नभएकाले त्यसको पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।

अर्को कुरा, हाम्रोजस्तो देशका लागि आर्थिक रुपमा अलि महँगो पनि पर्ने हुन्छ । हामीले त्यहाँ देखेको, एउटा बाँदर समातेबापत समात्ने मान्छेलाई ७ सय रुपैयाँ भारु दिने गरिँदो रहेछ । बाँदर समात्ने काममा हाम्रै देशबाट गएका दाजुभाइ खटिँदा रहेछन् । त्यो समात्ने काम पनि खर्चिलो छ ।

अप्रेसन गरेपछि बाँदरलाई ३ दिन निगरानी गर्नुपर्दो रहेछ । त्यसका लागि चना, केरा लगायतका फलफूल खुवाएर राख्नुपर्छ । त्यसका लागि पनि धेरै खर्च लाग्ने गर्छ । उपकरणहरू, ट्रकको व्यवस्था लगायत व्यवस्थित ढङ्गले त्यो काम गर्नका लागि अलि महँगो नै छ ।

यदि सरकारले सोच बनायो र परियोजनाकै रुपमा काम गर्ने हो भने आजको भोलि नै बाँदर नियन्त्रण नभए पनि आगामी १० वर्षपछि सङ्ख्या नियन्त्रण गर्ने हिसाबले काम गर्ने हो, नियन्त्रण हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप