सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
अवकाश आँखा

डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म

बिहीबार, ०६ वैशाख २०८१

नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइराला र वरिष्ठ रङ््गकर्मी अशेष मल्ल कुनै समय ‘क्लासमेट’ थिए । त्यतिबेला (तीसको दशकको पूर्वाद्र्धमा) काठमाडौंमा खाना पकाउने दाउराको अभाव थियो, दाउरा पाउन घुस खुवाउनुपथ्र्यो । 

यही समसामयिक सन्दर्भलाई लिएर विमल र अशेषले एउटा ‘प्रहसन’ तयार गरे, जसलाई कीर्तिपुरकै सभाकक्षमा देखाइयो । प्रहसन चलिरहँदा दर्शकबाट ताली बर्सिरहेको थियो । ठिक त्यही बेला पर्दा खस्यो । पर्दा खस्नु मण्डलेहरूको चाल थियो । पर्दा खसाएर अँध्यारो पारी मञ्चमा प्रवेश गरेका उनीहरूले कलाकारलाई नराम्रोसँग कुटपिट गरे, पञ्चायतको विरोध गर्छस् भन्दै । दर्शकले ठाने, पर्दा खस्नु प्रहसनकै भाग हो । रङ्गकर्मी मल्लले ६ वर्षअघि यस पङ्क्तिकारलाई सुनाएको प्रसङ्ग हो यो, (२०७४ जेठ २७ गते नागरिक दैनिकमा प्रकाशित ‘बालकृष्णसम्म मेरो पहिलो दर्शक’ सामग्रीबाट) ।

यसको केही समयपछि विमलले सरकारी अधिकृतमा नाम निकाले । 

‘तिमीचाहिँ भूतले खाजा खाने बेलामा आयौ; प्रशासन बिग्रँदै गयो,’ २०३५ सालमा पहिलो पदस्थापनाको नियुक्तिपत्र बुझ्दा विमलले तत्कालीन सचिवबाट यस्तै सुन्नुपरेको थियो । आफूलाई यसो भन्ने तत्कालीन सचिवको नाम लिन चाहन्नन् विमल, खोइ किन हो ! 

निजामती क्षेत्र बिग्रिरहेका बेला २३ वर्षको उमेरमा अधिकृतबाट प्रवेश गरी निजामती सेवाकै सर्वोच्च पद मुख्यसचिव भएर अवकाश लिएका विमलको अर्को विराट् परिचय छ, कवि तथा गीतकार । 

२०२८ सालमा ‘देशप्रेम’ शीर्षकको कविता ‘मातृभूमि’ साप्ताहिकमा छपाएर आफूलाई कविको पङ्क्तिमा उभ्याएका विमललाई बुझ्न उनका कवितामा आएका शब्दशक्ति, विम्ब र प्रतीकलाई पछ्याउनुपर्छ । 

निजामती सेवामा प्रवेश गरेको आठ वर्षपछि (२०४३ सालमा) उनको कविता सङ्ग्रह ‘मौन शिविरबाट’ प्रकाशित भयो । यस सङ्ग्रहमा उनले राजनीतिक र प्रशासनिक क्षेत्रका विकृति र प्रवृत्तिलाई साहित्यिक ढङ्गले पस्केका छन् । 

जागिर खाएको वर्ष दिनभित्र (२०३६ सालमा) लेखेको ‘कुकुरहरू’ शीर्षकको उनको कविताले विम्ब र प्रतीकका माध्यमबाट तत्कालीन राजनीतिक र प्रशासनिक क्षेत्रमा विद्यमान विकृतिलाई व्यङ्ग्य गरेको आभास हुन्छ ।

कुकुरहरू स्वामीभक्त हुन्छन्

तीखा दाँत र विषालु नङ्ग्रा भए पनि

मालिकको आदेशविना आक्रामक हुँदैनन्

हिजोआज रेबिज बोकेका

र्‍याले कुकुरहरूको जमात बढेको छ 

टोलटोलमा/गाउँगाउँमा 

घर र अफिसमा– त्यसबाहेक अन्यत्र पनि

मान्छेको बस्तीमा/इलाकामा

छ्यास्छ्यास्ती यी भुस्याहाहरूको जमात बढेको छ

मालिकको स्वीकृतिमा पुच्छर हल्लाउने र 

अस्वीकृतिमा भुक्ने 

बाघको छाला ओढ्ने स्यालहरूको जनसङ्ख्या बढेको छ ।

(‘मौन शिविरबाट’ सङ्ग्रहबाट ।)

‘यो कविता कर्मचारीको प्रवृत्तिसँग पनि मेल खान्छ, तर मैले तात्कालिक पञ्चायतकालीन राजनीतिलाई लक्षित गरेर लेखेको हुँ,’ विमल भन्छन्, ‘त्यतिबेला जागिरमा केही अप्ठेरा थिए नै । त्यसमाथि म सडक कविता क्रान्तिमा लागेको थिएँ । बहुदलको पक्षमा लागेकाले मैले स्पष्टीकरण दिनुपरेको थियो ।’ 

राजा वीरेन्द्रले २०३६ सालमा पञ्चायती व्यवस्थाको सुधारिएको रूप वा बहुदल रोज्नका लागि जनमतको घोषणा गरे । त्यसलगत्तै बहुदलका पक्षमा भवानी घिमिरेको नेतृत्वमा ‘सडक कविता क्रान्ति’ अभियान चल्यो । त्यस अभियानमा हरिभक्त कटुवाल, मोहन कोइराला, अशेष मल्ल, विमल कोइराला, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, ओममणि शर्मा लगायत थुप्रै कवि–लेखक सक्रिय थिए । 

‘तिमीचाहिँ भूतले खाजा खाने बेलामा आयौ; प्रशासन बिग्रँदै गयो,’ २०३५ सालमा पहिलो पदस्थापनाको नियुक्तिपत्र बुझ्दा विमलले तत्कालीन सचिवबाट यस्तै सुन्नुपरेको थियो ।

त्यस अभियानमा लागेकाले विमलले तत्कालीन सरकारका मानिसलाई स्पष्टीकरण दिनुपरेको थियो । सायद स्पष्टीकरण पेसागत मर्यादामा बाँधिने हुँदा उनले बाँकी कुरा भन्न कविताको सहारा लिए । उनी भन्छन्, ‘मेरा रचना सङ्केतात्मक विद्रोही छन् ।’  

शासकले कविता पढ्थे र बुझ्थे भने उनले भन्नलाई केही बाँकी राखेनन् । पहिलो सङ्ग्रहमा उनले २०४१ सालमा लेखेको ‘माधवजी ! तपाईं...’ शीर्षकको कविता छ । 

पाइताला चाट्नुदेखि लिएर

यौनका प्रज्वलित आँखा, र

अश्लील ठट्टाहरू मुखभरि बोकेर

आफ्नो काँट न छाँटको स्वरूपलाई 

मालिकको हाउभाउ अनुसार बंग्याएर

कागे जिउमा मयुरका प्वाँखहरू

सिउरेर

तपाईं नाच्न सक्नुहुन्छ

माधवजी ! विचित्रको लीला छ तपाईंको

आफ्नो स्वार्थका खातिर

नाक भुइँमा घोट्नुहुन्छ

तपाईं त औधी धुर्त हुनुहुन्छ ।

 

कसले लेख्न सक्ने कथा

तपाईंको चाटुकारिताको 

कसले भन्न सक्ने कथा

तपाईंको निर्लज्ज चरित्रको

यो अन्धभक्त अपरम्पार छ

अर्काको खातिर

बलात्कारी समेत कहलाउन रुचाउने... ।

यस कवितामा आएका तीन शब्द धुर्त, चाटुकारिता र निर्लज्जता हाम्रो प्रशासनिक क्षेत्रको पर्याय थियो र केही हदसम्म अझै छ । 

विमलले पहिलो पदस्थापनाको नियुक्ति बुझ्दा सुन्नुपरेको ‘भूतले खाजा खाने बेला’ वाक्यांश नेपाली समाज, साहित्य र राजनीतिमा प्रयोग भइरहेको पाइन्छ । यद्यपि यो वाक्यांश एक मिथक हो, लोकविश्वास हो र एक त्रास हो । विमलले जागिर सुरु गर्ने बेला प्रशासनिक क्षेत्रमा यस वाक्यांशको प्रयोग हुनुले खास देश, काल र परिस्थितिलाई सङ्केत गथ्र्यो । बीसको दशकको उत्तराद्र्ध र तीसको पूर्वाद्र्धमा नेपाली समाज र राजनीति विभिन्न ‘भूत’बाट प्रभावित थिए ।

त्यतिबेला एकातिर सहर–बजार र स्कुल–कलेज स्तरमा मण्डले (पञ्चायती व्यवस्थाको प्रवद्र्धनका लागि २०२५ मा खुलेको ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’, जसलाई गुन्डागर्दीको पर्यायका रूपमा मण्डले भनिन्थ्यो)को जगजगी थियो; अर्कोतिर पञ्चायतविरुद्ध दलहरूको आन्दोलन एउटा उत्कर्षमा पुगेको थियो । काङ्ग्रेसले गरेको असफल सशस्त्र सङ्घर्ष (२०३०/३१) र कम्युनिस्टका विभिन्न घटकबाट भएका विद्रोहहरू (झापा विद्रोह– २०२८, हर्रेबर्रे– २०३०, जुगेडी– २०३४ आदि) कतिका लागि ‘भूत’ र कतिका लागि ‘भविष्य’ थिए । 

  • अध्ययन र जागिर

विमलको जन्म भोजपुरको पोखरेमा भएको हो, मध्यम वर्गीय कृषक परिवारमा । छोराछोरीलाई पढाउनकै लागि उनका बुवा विराटनगरमा बसाइँ सरे । 

चारभाइ र दुई बहिनीमध्ये माहिला विमलको शिक्षारम्भ विराटनगरबाटै भयो । पछि त्रिचन्द्र कलेज हुँदै कीर्तिपुरबाट उनले प्राणीशास्त्रमा स्नातकोत्तर गरे र सरकारी सेवामा आए । सरकारी सेवामा रहँदै खुला छात्रवृत्तिमा नाम निकालेर वातावरण विज्ञानमा अमेरिकाबाट मास्टर्स गरे; त्यसपछि पनि जागिरमा रहँदै अमेरिकाबाटै आर्थिक नीतिमा मास्टर्स र जर्मनीबाट पीएचडी गरे ।

उनको पहिलो पदस्थापना वन मन्त्रालयबाट भएको थियो । सेवा सुरु गरेको १० वर्षमै उनले आन्तरिक परीक्षाबाट उपसचिव र सहसचिव भई प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सम्हाल्न पाए । प्रजिअ भएर अलि लामो समय (०४५ वैशाखदेखि ०४६ को माघसम्म) सिन्धुपाल्चोकमा बिताए, त्यसअघि २०४३ सालमा आठ–नौ महिना उनले जिल्ला विकास अधिकारी बाराको जिम्मेवारी सम्हालेका थिए ।

सडक कविता क्रान्ति अभियानमा लागेकाले विमलले तत्कालीन सरकारका मानिसलाई स्पष्टीकरण दिनुपरेको थियो । सायद स्पष्टीकरण पेसागत मर्यादामा बाँधिने हुँदा उनले बाँकी कुरा भन्न कविताको सहारा लिए । शासकले कविता पढ्थे र बुझ्थे भने उनले भन्नलाई केही बाँकी राखेनन् ।

उनले सेवा सुरु गर्दा ‘हार्डलाइनर’ (दलहरूलाई निषेध गर्ने समूह) र ‘सफ्टलाइनर’ (दलहरूप्रति केही नरम समूह) पञ्चहरूको बिगबिगी थियो । विमल भने ‘हार्ड’ र ‘सफ्ट’ शब्दको प्रयोग गर्न चाहन्नन्, विभिन्न पक्ष भन्न रुचाउँछन् । 

सीडीओको जिम्मेवारी शान्ति–सुरक्षासँग सम्बन्धित हुन्छ र शान्ति–सुरक्षासँग विकास गाँसिएको हुन्छ । यसर्थ उनलाई तत्कालीन समयमा काम गर्न राजनीतिक रुपमा सहज भने थिएन । 

‘सूर्यबहादुर थापाले नेतृत्व गरेको एउटा पक्ष, लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको अर्को पक्ष, गाउँ फर्क राष्ट्रिय अभियान आदि थिए । यीभित्र विवाद नभएका होइनन् तर कुनै एउटा समूहमा प्रवेश नगरी बिचमा रहेर काम गर्न सीडीओलाई समस्या थिएन,’ विमल तत्कालीन परिस्थिति सम्झन्छन्, ‘निष्पक्ष तवरले निष्ठापूर्वक र इमानदारीपूर्वक काम गर्‍यो भने गाह्रो हुँदैन भन्ने सिन्धुपाल्चोकमा सीडीओ भएपछि अनुभव गरेको थिएँ । त्यहाँ मलाई केही गाह्रो भएन । जनताको निकै माया पाएको थिएँ ।’ 

२०४६ सालको परिवर्तनपछि फेरि उनी एक वर्ष अमेरिका पढ्न गए र सार्वजनिक नीति र आर्थिक नीतिमा स्नातकोत्तर गरे । यो विषय उनको सेवासँग सोझै सरोकार राख्ने विषय थियो । अमेरिकाबाट फर्केपछि उनी सहसचिव भएर ६ वर्ष उद्योग मन्त्रालयमा रहे । त्यसपछि विशेष–सचिव भएर अर्थ मन्त्रालयमा गए, त्यहीँ सचिव भए । 

  • प्रशासक हुँदा...

सहसचिवसम्म उनी लिखित परीक्षाअन्तर्गत बढुवा भएका थिए र उनलाई बढुवामा हुने चलखेल थाहा भएन । सचिव र मुख्यसचिव बन्दा पनि उनी विवादित भएनन् अर्थात् उनको विरोध भएन ।

आफूसँगैका सहसचिवमध्ये सबभन्दा पछाडि उनले सचिव हुने अवसर पाएका थिए । यसरी सबैभन्दा सिनियर भएर सचिव भएकाले अरुले खिन्न हुनुपरेन अर्थात् विवाद भएन । मुख्यसचिव हुने बेला भने एउटै ब्याचका तीनजना थिए । ‘त्यतिबेला कतिपयले जुनियरलाई ल्यायो पनि भनेका थिए । म जुनियर थिइनँ, हाम्रो एकै दिनको नियुक्ति थियो, विशेष श्रेणीमा तर सहसचिवमा उनीहरू सिनियर थिए,’ विमल भन्छन्, ‘सहसचिवको ज्येष्ठता हेर्ने निजामती सेवा ऐनमा प्रावधान थिएन । ऐन अनुसार सचिवमा ज्येष्ठता हेर्दा हामी सचिव एकै दिन भएका थियौँ तर तीन जनामध्ये मन्त्री परिषद्ले मलाई छान्यो ।’ 

खासगरी सचिव हुँदा मन्त्रीसँग टकराब पर्छ भनिन्छ । स्पष्टवक्ता भएका कारण कुनै मन्त्रीसँग उनको त्यस्तो उल्लेखनीय टकराब परेन । ‘धेरै कुरामा विमति हुन्थ्यो, मैले आफ्नो मत प्रस्ट राख्थेँ । कतिपय अवस्थामा मन्त्रीज्यूले सहर्ष स्विकार्नुहुन्थ्यो, नस्विकारेको अवस्थामा मध्यमार्गी बाटो खोजिन्थ्यो,’ विमल आफ्नो कौशलता व्यक्त गर्छन् । 

सचिव हुँदा चार वर्षको बजेट बनाउनमा उनको विशेष भूमिका रह्यो । सन् २००२ मा उनकै पहलमा वैदेशिक सहायताका लागि दाताहरूको सम्मेलन नेपालमा भएको थियो । ‘वैदेशिक सहायतालाई नेपालको बजेटभित्र पार्ने काम पनि हामीले गर्‍यौँ । वित्त सन्तुलन कायम गर्न जथाभावी राजनीतिक प्रकृतिका परियोजनाहरू नराख्ने, त्यसलाई अध्ययन गरेर मात्रै राख्ने बनायौँ । खर्च विनियोजन भएका परियोजनामा खर्चको सुनिश्चितता, लगानीको सुनिश्चितता कायम गर्न मध्यकालीन खर्च संरचनाहरूको निर्माण गर्‍यौँ,’ उनी आफू सचिव हुँदा भएका काम–कारबाही सम्झन्छन्, ‘यस्ता धेरै निर्णय भए । त्यसले दूरगामी प्रभाव पारिरहेको छ । अहिलेसम्म ती निर्णय खारेज भएका छैनन् ।’ 

  • स्मरणीय 

सेवावधिमा उनका लागि स्मरणीय क्षण त्यति छैनन्, भए पनि कति त उनले बिर्से । जागिर नै छाडौँ छाडौँ लागेको एउटा घटना भने उनले बिर्सेका छैनन्, जुन घटना उनी नेपाल सरकारको मुख्यसचिव हुँदाको हो, जसलाई उनले प्रायः अन्तर्वार्तामा बताउने गर्छन् ।

त्यतिबेला उनलाई नदेखाईकन ऐन ल्याउन खोजिएको थियो । ऐनका कतिपय प्रावधानप्रति उनको चित्त बुझेको थिएन ।

विमल २०५९ सालमा मुख्यसचिव भएका हुन् । २०६०/६१ मा निजामती विधेयक अध्यादेशबाट ल्याउने जबर्जस्ती प्रयास भएको थियो । यसका विरुद्ध उनले सङ्घर्ष गर्नुपर्‍यो । 

त्यतिबेला उनलाई नदेखाईकन ऐन ल्याउन खोजिएको थियो । ऐनका कतिपय प्रावधानप्रति उनको चित्त बुझेको थिएन । खासगरी ‘२० वर्ष पुगेको कर्मचारीले कुनै गल्ती गर्दा स्पष्टीकरणको मौका नदिईकन सेवाबाट बर्खास्त गर्ने’ भन्ने प्रावधानप्रति उनको विमति थियो । उनले प्रश्न गरे— कुनै कर्मचारीले स्पष्टीकरण नै दिन नपाउने कस्तो अधिनायकवादी व्यवस्था हो ? म निजामती कर्मचारीको प्रमुख (मुख्य सचिव)ले नै थाहा नपाएर निजामती ऐन आउँछ ? मैले समर्थन नगरेको ऐन पास कसको निम्ति गर्ने हो ?

‘मैले मन्त्री परिषद्मा भन्नुपर्‍यो— यस्तो ऐन ल्याउनुहुन्छ भने कि म नरहनुपर्‍यो, होइन भने म हुन्जेलसम्म यो आउन दिन्नँ । मैले यसो भन्नु अलि अपच हुने खालको थियो,’ विमल भन्छन्, ‘यस्ता क्षणहरू भए, त्यसलाई पनि मैले सुल्झाएँ । एउटा परिस्थिति निर्माण भयो ।’ 

यद्यपि त्यो ऐन अहिलेसम्म आउन सकेको छैन । यतिखेर ‘निजामती सेवासम्बन्धी विधेयक–२०८०’ छलफलमा छ । 

  • आदर्श कर्मचारी !

हरेक क्षेत्रमा आदर्श व्यक्तित्वहरू हुन्छन् । यस्तो हुनुपर्छ सचिव र मुख्यसचिव भनेर उनले नाम सुनेका पहिलेका मुख्यसचिवमा पर्छन्— कुलशेखर शर्मा (२०२२–२०२५), प्रद्युम्नलाल राजभण्डारी (२०३०–२०३४)हरू । 

उदाहरणीय व्यक्तित्वका रूपमा उनले निकै सुनेका नाम हुन्— देवेन्द्रराज पाण्डे, वीरबहादुर शाही । पाण्डेसँग उनले सँगै काम गर्ने अवसर पाएनन्, वीरबहादुर शाहीसँग उनले सँगै काम गरेका थिए ।

उनी आफू हाकिम हुँदा उनलाई राम्रा लागेका सहकर्मीको भने उनी नाम लिन चाहन्नन् । ‘म अर्थ मन्त्रालयमा हुँदा मेरा सहसचिवहरू, मेरा डीजी (डाइरेक्टर जनरल)हरू सबै काबिल थिए,’ कसैको चित्त नदुखाउने र कसैलाई नफुक्र्याउने गरी विमल भन्छन्, ‘सबै एकसे एक थिए । मलाई नै सल्लाह दिन्थे । त्यसमा मैले उनीहरूबाट कहिल्यै दुःख पाइनँ ।’

  • अवकाश जीवन

५८ वर्षमा अवकाश लिनुपर्ने व्यवस्था छ, तर उनले ५० वर्ष नपुग्दै माथिल्ला सबै मुख्य पदावधि पूरा गरे । पदावधिका हिसाबले सचिव पाँच वर्ष र मुख्यसचिव तीन वर्ष पूरा गरेपछि उनले २०६२ सालमा अवकाश लिएका हुन् ।

अवकाशप्राप्त व्यक्तिमा निराशा छाउँछ भनिन्छ, विमलको हकमा के होला ? ‘निराशा भनेको आफूले पाल्ने कुरा हो । मैले केही पनि देखिनँ । मैले वर्तमानमा पनि केही गर्न सकिनँ ।

२७ वर्ष एक महिना निजामती सेवामा बिताएका उनी यतिबेला अध्ययन, लेखपढ र सामाजिक सभा–समारोहमा व्यस्त छन् । ‘म सरकारी सेवाबाट अवकाश प्राप्त हुँ तर मेरो आफ्नो जीवनबाट अवकाश प्राप्त होइन,’ उनी भन्छन्, ‘मभित्र भएको ऊर्जालाई प्रयोग गर्छु । आफूले जानेका कुराहरू सामाजिक वा अन्य क्षेत्रलाई बाँडिरहेको छु । लेख्छु–पढ्छु, म निष्क्रिय बसेको छैन । दिनभरि व्यस्त छु ।’ 

उनका आधा दर्जनभन्दा पढी पुस्तक प्रकाशित छन्— ‘मौन शिविरबाट’, ‘उत्सव मनाउने तयारीमा’, ‘विमल कोइरालाका कविता र गीतहरू’, ‘विमल कोइरालाका कविता र वार्ताहरू’ आदि । यो अवकाश जीवनमा उनको कुनै किताब आउने सम्भावना त छैन ? ‘मलाई मेरो मनले अह्रायो भने पुस्तक आउन सक्छ । मनले अहिलेसम्म अह्राइरहेको छैन । तिमी जुटाऊ अहिले, अहिले तिम्रो जुटाउने समय हो । तिमी भए भरका सामग्री जुटाऊ भन्या छ मनले र मैले अहिले सामग्री जुटाइरहेको छु,’ उनले भने, ‘म बढ्ता व्यावसायिक लेखन गर्छु अर्थात् आर्थिक विकास, शासन व्यवस्थामै लेख्छु । तर मेरो केही समय कविता लेखनमा जान्छ ।’

अवकाशप्राप्त व्यक्तिमा निराशा छाउँछ भनिन्छ, विमलको हकमा के होला ? ‘निराशा भनेको आफूले पाल्ने कुरा हो । मैले केही पनि देखिनँ । मैले वर्तमानमा पनि केही गर्न सकिनँ । विगतमा रमाउने अवधि पनि सकिइसक्यो भन्ने हो भने निराशा आउँछ होला । ममा निराशा छैन,’ विमल आशावादी जवाफ दिन्छन्, ‘म त अझै पनि आशाको ज्योति देखिरहेको छु । म आशावादी मान्छे हुँ । ममा आशा छ अझै पनि, यद्यपि मुलुकको परिस्थिति राम्रो छैन ।’

उनको दृष्टिमा मुलुकको अर्थतन्त्र गहिरो सङ्कटमा त छैन, तर सङ्कटमा छ । उनका अनुसार, हाम्रा बाह्य परिसूचक (विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, हाम्रो चालु खाता आदि)को अवस्था राम्रै छ ।
  • सुझाव 

यतिबेला मुलुकको अर्थतन्त्र सङ्कटमा छ, यसबाट मुक्ति पाउन उनको कस्तो सुझाव रहला ? ‘अहिले मुलुकमा धेरै कुरामा सुधारको खाँचो छ । सबैभन्दा पहिले त हाम्रो अर्थतन्त्रमा संरचनागत खोट छ,’ उनी भन्छन्, ‘त्यसैले यसमा संरचनागत सुधार नै गर्नुपर्छ । अर्थतन्त्र एक अर्कासँग गाँसिएर संरचनागत बनेको हुन्छ ।’

उनको दृष्टिमा मुलुकको अर्थतन्त्र गहिरो सङ्कटमा त छैन, तर सङ्कटमा छ । उनका अनुसार, हाम्रा बाह्य परिसूचक (विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, हाम्रो चालु खाता आदि)को अवस्था राम्रै छ । यद्यपि रोजगार छैन, विकासका योजनाहरू समयमा सम्पादन हुँदैनन् । सरकारले पुँजीगत खर्च गर्न सक्दैन । जनताले त्यो उपलब्धिबाट लाभ लिन सकेका छैनन् । ‘यो परिस्थितिले गर्दा अर्थतन्त्र के (अङ्ग्रेजी अक्षर) आकारको भयो, अब यो अर्थतन्त्रलाई भगीरथ प्रयत्न गरेर ‘भी’ आकारको बनाउनुपर्छ,’ उनी भन्छन्, ‘रोजगारी सिर्जना गरी जनतालाई बाहिर जान नचाहने वा देशभित्रै बस्न सक्ने बनाउनुपर्छ । हाम्रा कुनै पनि लगानी खेर नजाओस् भनेर काम गर्नुपर्‍यो । यसको निम्ति शासन व्यवस्था पनि सुधार्नुपर्‍यो ।’

उनले लेखेको एउटा गीत छ, शिशिर योगीको आवाज र शक्ति वल्लभको सङ्गीतमा । जुन गीतले देश कसरी बन्छ भन्ने सरल सुझाव दिएको छ—    

भोकभोकै काम गर्ने कान्छा दाइलाई, 

किताबकापी नभएका नानीहरुलाई,

न्याय नपाई छटपटिएका दुःखीजनलाई,

सेवा गर्नु धर्म ठाने देश बन्दछ ।

(रातोपाटीले ‘अवकाश–आँखा’ स्तम्भ प्रकाशन गर्दै जानेछ, यस स्तम्भमा हामीले विभिन्न क्षेत्रबाट अवकाश लिएका व्यक्तिका अनुभव र सङ्घर्षलाई पस्कनेछौँ— सम्पादक) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया