मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
इलाम उपनिर्वाचन

पराजित भए पनि पहिचानवादी उत्साहित

जनताले हामीलाई इज्जत दिए, हामीलाई सम्मान गरे : कुमार लिङ्देन
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३०
मङ्गलबार, १८ वैशाख २०८१

विराटनगर । ‘इलाम गएँ भने म एक पैसा पनि खर्च गर्दिनँ, पानी पनि बरू बोकेर जान्छु.... म इलामे भनेपछि नाम लिन्न,’ राप्रपाका कार्यकर्ता पर्शु सुवेदीले इलामको उपनिर्वाचन लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् ।

गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्ने, राजा ल्याउने र सङ्घीयता खारेज गर्ने एजेण्डा बोकेको राप्रपालाई इलाम र बझाङको उपनिर्वाचनले उल्टो सन्देश दिएको छ । किनकि इलाममा पहिचानवादीले १६.५३ प्रतिशत मत ल्याउँदा राप्रपाले १ प्रतिशत पनि कटाउन सकेन ।

यस्तै प्रदेशप्रति अनुदार देखिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाममा ‘थ्रेस होल्ड’ पनि कटाउन सकेन । पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह लिम्बू (थेगिम), रास्वपाका मिलन योङहाङ (लिम्बू) र राप्रपाका लक्ष्मी गुरुङले पाएको मत हेर्ने हो भने इलामले पहिचानवादीलाई सम्मानजनक मत दिएको छ । रास्वपाको अनपेक्षित र राप्रपाको भने लज्जास्पद मत परिणाम आएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचानवादीका थेगिमले ११ हजार ४५७ मत ल्याउँदा रास्वपाका लिम्बूले ५ हजार ५० मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनका  मनिबहादुर लिम्बूले ८१६ मत ल्याउँदा राप्रपाका गुरुङले जम्मा ४०८ मतमात्रै ल्याए ।

यो मत परिणामले पहिचानको पक्षमा सकारात्मक सन्देश दिएको राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन् । ‘रास्वपाले राष्ट्रिय राजनीतिमा जुन प्रभाव देखाउन खोजेको थियो, त्यो पूरा भएन । चितवन र तनहुँमा देखाएजस्तो प्रभाव इलाममा देखिएन,’ खतिवडाले भने, ‘पहिचानवादीहरूले राम्रो भोट ल्याए । त्यहाँ पहिचानवादीले ल्याएको भोट भनेको १६.५३ प्रतिशत हो । त्यो भनेको धेरै भोट हो ।’ जबकि माओवादीले ११ प्रतिशत र रास्वपाले १० प्रतिशतमात्रै मत ल्याएको उनको भनाइ छ ।

खतिवडाका अनुसार राजावादीहरूले भोट ल्याउन नसक्ने पनि देखियो ।

इलामकै हिसाबले देशव्यापी पहिचानवादीको मत १७ प्रतिशत हाराहारीमा छ भन्ने मान्ने हो र त्यो एक ठाउँमा हुने भने त्यो त ठुलो राजनीतिक पार्टी बन्ने उनको दाबी छ । ‘अहिले गणितमा उनीहरूले हारे पनि राजनीतिमा पहिचानवादीले जितेजस्तो लागेको छ । कोशीमा पहिचानवादीहरू उत्साहित हुने देखियो,’ खतिवडाले भने ।

खतिवडाका अनुसार राजावादीहरूले भोट ल्याउन नसक्ने पनि देखियो । ‘राजावादीहरूले त १ प्रतिशत पनि मत ल्याएनन् । यसले सङ्घीयता खारेज गर्ने र राजतन्त्र फिर्ता ल्याउने भन्ने एजेण्डाले काम गर्छ जस्तो लाग्दैन । बझाङ र इलामको उपनिर्वाचनले चाहिँ राप्रपाको हालत एउटै प्रकारको देखिएको छ,’ उनले भने ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले पनि यो निर्वाचनले एमालेलाई हौसला मिलेको बताए । ‘यो निर्वाचनले एमालेलाई हौसला दियो । आगामी निर्वाचनमा एक्लै लड्छौँ भन्ने कांग्रेस नेता शेखर कोइराला, गगन थापाको सोचलाई यो निर्वाचनले नराम्रोसँग झट्का दियो । बझाङमा त उनीहरूले सिट नै गुमाए,’ पोखरेलले भने ।

उनले उपनिर्वाचनले पहिचान पक्षधरहरूमा राम्रो सन्देश गएको बताए । ‘पहिचान पक्षधरहरूको पक्षमा राम्रो सन्देश दियो । पहिचान पक्षधरहरू एक भएर पार्टी बनाएर आए भने कोशी प्रदेशमा राप्रपाभन्दा बढी मतका साथ आउने देखियो,’ पोखरेलले भने, ‘रास्वपालाई नराम्रोसँग झट्का लाग्यो । नागरिकता र पासपोर्टसम्मको इस्युलाई जनताले गम्भीर रुपले लिएनन् । तर, सहकारीको इस्यु भने जनताले गम्भीर रुपमा लिएको देखियो । उक्त पार्टीको आगामी यात्रा झनै चुनौतीपूर्ण देखियो ।’

राप्रपा अघिल्लो निर्वाचनमा पनि जमानत जफत भएको पार्टी भएको भन्दै पोखरेलले बाहिर हो–हल्ला गरेरमात्रै नहुने बताए । ‘राप्रपाको मत एक हजार पनि नपुग्नु भनेको नराम्रो हार हो,’ उनले भने ।

पहिचानवादी नेता सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले उपनिर्वाचनले आफूहलाई नयाँ शिक्षा दिएको बताए । ‘पहिचानवादीहरू एकताबद्ध भए जनताले भोट दिँदारहेछन् भन्ने शिक्षा भयो । आगामी दिनमा हामी पहिले स्थानीय तह निर्वाचनमा प्रयोग गर्ने र त्यसपछि केन्द्र र प्रदेशको निर्वाचनमा प्रयोग गर्ने भन्नेतिर गयौँ,’ लिङ्देनले भने, ‘यो मत सम्मानजनक हो । जनतालाई हामीले धेरै धन्यवाद दिन्छौँ ।’

‘पहिचान पक्षधरहरूको पक्षमा राम्रो सन्देश दियो । पहिचान पक्षधरहरू एक भएर पार्टी बनाएर आए भने कोशी प्रदेशमा राप्रपाभन्दा बढी मतका साथ आउने देखियो ।

पहिलो चरणमा, कम समयमा १० हजारभन्दा बढी भोट दिनु भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि आफूहरूलाई ठुलो सम्मान र इज्जत दिएको उनको भनाइ छ । उनले भने, ‘अब एकताबद्ध र मोर्चाबन्दी भएर हामी जान्छौँ । हामीलाई उत्साहित बनाएको छ ।’

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिका संयोजक समेत रहेका उपनिर्वाचनका उम्मेदवार थेगिमले पनि उपनिर्वाचनको परिणामलाई आफूले सकारात्मक ढङ्गले लिएको बताए ।

‘यसलाई मैले एकदमै सकारात्मक रुपले लिएको छु । पहिचानको मुद्दा स्थापित भएको छ । ६०–७० वर्ष पुराना पार्टीसँग प्रतिस्पर्धा गर्दै तेस्रो स्थान ल्याउनु भनेको ठुलो कुरा हो । त्यो पनि १५ दिनको तयारीमा हामी लडेका हौँ,’ थेगिमले भने, ‘हामी यसलाई उत्साहपूर्ण ढङ्गले एउटा पाठका रुपमा लिएर अगाडि बढ्छौँ ।’

आगामी दिनमा समीक्षा गर्दै अझै मत बढाउने ढङ्गले अगाडि बढ्ने उनले बताए । ‘हामी राष्ट्रियस्तरको पार्टी निर्माणको दिशामा अगाडि बढ्छौँ । पहिचानको विषय पूर्वदेखि पश्चिमसम्मै छ । त्यहाँका पहिचानवादीहरूलाई समेटेर हामी नयाँ पार्टी निर्माणको दिशातर्फ जाने प्रयास गर्नेछौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप