शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विराटलाई विश्वकप टोलीमा समावेश गर्न बीसीसीआईलाई रोहित शर्माको सुझाव

मङ्गलबार, १८ वैशाख २०८१, १३ : १२
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखमा सुरु हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखभित्र टोलीको घोषणा गर्नुपर्ने समय तोकेको छ ।

तर, हालसम्म न्युजिल्यान्डले मात्र विश्वकपका लागि टोलीको घोषणा गरेको छ । भारतले पनि मंगलबार टी–२० विश्वकपका लागि टोलीको घोषणा गर्ने सम्भावना छ । यसका लागि हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बैठक बस्दैछ । 

बैठकअघि कप्तान रोहित शर्माले बीसीसीआईलाई आफ्नो सुझाव दिएका छन् । उनले विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिनु पर्ने सुझाव बीसीसीआईलाई दिएका हुन् । पछिल्लो समय विराटलाई टोलीमा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा बीसीसीआई दोधारमा देखिएको छ ।

विराटलाई टोलीमा समावेश गर्दा विश्वकपमा भारतको ब्याटिङ पक्ष बलियो हुने कप्तान रोहितको सुझाव छ । यसका अतिरिक्त विराट सिनियर र अनुभवी खेलाडी भएकाले त्यसको सकारात्मक प्रभाव पनि टोलीमा पर्ने रोहितको बुझाई छ ।

कप्तान रोहितको सुझावपछि विराट विश्वकप टोलीमा पर्ने लगभग निश्चित देखिएको छ । रोहित र विराटका अतिरिक्त केएल राहुल र सूर्यकुमार यादब पनि टोलीमा पर्ने निश्चित देखिएको छ । 

खासगरी जारी इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका शिवम दुबे र रिंकु सिंहजस्ता खेलाडीको विषयलाई लिएर बीसीसीआई दबाबमा परेको छ । पछिल्लो समय मोहम्मद सामी घाइते भएकाले बीसीसीआईलाई तिब्रगतिका बलरको चिन्ताले पनि सताएको छ । 

तिब्रगतिको बलिङमा जसप्रित बुमराहलाई कसले साथ दिने भन्ने विषयमा बीसीसीआई अन्यौलमा देखिएको छ । यस्तो अवस्थामा अर्शदीप सिंहलाई टोलीमा समावेश गर्न सकिने सम्भावना देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप