बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल

शुक्रबार, ०७ वैशाख २०८१, १४ : ५३
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाएर एक सय २३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

nepal uae

अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । यसपटक भने आगामी आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी प्रिमियर कप पनि टी–२० ढाँचामा खेलाइएको हो ।

जारी प्रतियोगितामा अब नेपाली टालीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनल खेलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । तेस्रो स्थानको खेल शनिबार खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ ।   

पहिलो सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले निराशाजनक प्रदर्शन ग¥यो । खासगरी नेपालको ब्याटिङ निकै फितलो देखियो । सन्दीप जोरावाहेक नेपाली टोलीका अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे ।

Sundeep Jora

करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा दुई छक्का प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ललित राजवंशी दुई र अविनाश बोहरा एक रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अर्का ओपनर आसिफ शेख पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान रोहित पौडेल पाँच रनमै आउट भए । कुशल मल्ल तीन र दीपेन्द्रसिंह ऐरी पाँच रनमै पेभेलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । यूएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले दुई–दुई विकेट लिएका थिए । ओमिद सफिक रहमान, आयान अफजल खान र मुहम्मद फारुकले पनि एक–एक विकेट हात पारेका थिए ।

rohit

सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको यूएईलाई महत्त्वपूर्ण जित दिलाउन ओपनर एलिसन सराफुले अर्धशतकीय पाली खेले । उनले अविजित ५५ रन बनाए । उनले ४१ बलमा दुई छक्का र चार चौका पनि प्रहार गरे ।

यूएईका लागि विष्णु सुकुमारनले पनि टोलीको खातामा २८ रन थपे । सइद हैदरले १४ र कप्तान मुहम्मद वसिमले ११ रन बनाए । आसिफ खानले पनि १० रन जोडे । आयान अफजल खान तीन रनमा अपराजित रहे । नेपाली टोलीका बलर गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो ।

अर्कोतिर, यूएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो ।

यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने यूएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यूएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो ।

uae

शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएईको पहिलो विकेट सोमपाल कामीले लिएका थिए । उनले यूएईका कप्तान मुहम्मद वसिमलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि ओपनर मुहम्मद वसिमले सात बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा उनी आउट हुँदा यूएईले १२ रन बनाएको थियो ।

यूएईको दोस्रो विकेट गुलसन झाले लिएका थिए । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान विष्णु सुकुमारनलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले उत्कृष्ट क्याच लिएका थिए । आउट हुनुअघि विष्णुले २८ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन बटुलेका थिए । ७.५ ओभरमा उनी आउट हुँदा यूएईले ५४ रन बनाएको थियो ।

यूएईको तेस्रो विकेट पनि गुलसन झाले नै लिएका थिए । उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान आसिफ खानलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । गुलसनले लिएको यो दोस्रो विकेट थियो । पेभेलियन फर्किनुअघि आसिफ खानले ६ बलमा एक छक्काको मद्दतले १० रन बनाएका थिए । ९.४ ओभरमा उनी आउट हुँदा यूएईले ७० रन बनाइसकेको थियो ।

यूएईको चौथो विकेट ललित राजवंशीले लिएका थिए । उनले यूएईका विकेटकिपर ब्याट्सम्यान सइद हैदरलाई १४ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १४.१ ओभरमा हैदर आउट हुँदा यूएईले ९७ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । पहिलो ओभरको पहिलो बलमै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए ।

uae nepal

नेपालले दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान असिफ शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका थिए । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए । सातौँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर बासिल हमिदले बोल्ड गरेका हुन् । ९.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र आठ बलमा पाँच रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर आयान अफजल खानले एलबीडब्लूको धरापमा पारेका थिए । १३.२ ओभरमा उनी आउट हुँदा नेपालले ७५ रन बनाएको थियो ।

Gulshan jha1

नेपालले छैटौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेलेका थिए । उनले ४० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५० रन बनाएका थिए ।

सन्दीप जोरालाई यूएईका बलर मुहम्मद फारुकले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । १४.४ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालले ८० रन बनाएको थियो । २२ वर्षीय सन्दीप जोराले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो ।

नेपालले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराएका थिए । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले ८९ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । नवौँ नम्बरमा क्रिज समाल्न आएका करण १७ रन बनाउँदै आउट भएका थिए । उनले पेभेलियन फर्किनुअघि १२ बलको सामना गरी दुई छक्का पनि हिर्काएका थिए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरेका थिए । १८.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय १६ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी १६ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्दकीले सुकुमारनद्वारा क्याच गराएका थिए । १९.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय १६ रन बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप