सहकारी पीडितको रोदन, ‘सरकार ! कि न्याय देऊ कि मारिदेऊ’
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन् ।
सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतमश्री बहुउदेश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरूलाई सरकारले बेवास्ता गरेको बताए ।
उनीहरूले ठुला सहकारी सञ्चालकले सरकारका प्रतिनिधिको मिलेमतोमा आफूहरूलाई फसाउने गरेको आरोप लगाए । पीडितले सरकार पीडितलाई न्याय दिन आलटाल गरिरहेको र यसअघि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग सरकारले गत चैतमा गरेको सम्झौताको समेत कार्यान्वयन नगरेको भन्दै आक्रोशित बने ।
सन्ध्या सहकारी पीडित कृति बस्नेतले भनिन्, ‘हामीले बचत गरेको पैसा मागेको हौँ । यसमा सरकारले पनि साथ दिएन । लड्दा लड्दा थाकिसक्यौँ । अब सरकार हाम्रो कुरा नसुन्ने नै हो भने बरु मार्दिनु ।’ उनले व्यथा सुनाउँदै थपिन ‘म ट्युमर पीडित छु, अहिले उपचार गर्ने पैसा समेत छैन । एकदम गाह्रो भएको छ । मैले सहकारीमा ६ लाख रुपैयाँ राखेको थिए । भएको सम्पत्ति नै त्यति हो । कि सरकारले मारिदियोस् कि न्याय दियोस् ।’
सन्ध्या बचत तथा ऋण सहकारको पेप्सिकोला शाखाका बचतकर्ताको तीन करोड रकम पाएका छैनन् ।
यस्तै, ओरियन्ट फाइनान्सका पीडित सञ्जय कुमार पारिकले बाबुको पेन्सनको नौ लाख रुपैयाँ सहकारीमा फसेको सुनाए । उनले पीडितहरू सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै सरकारले न्याय नदिए आफैँ रकम अपचलन गर्नेको घर भत्काउन जाने चेतावनी दिए ।
उनले भने, ‘हामी सधैँ यहाँ धाउने काम मात्रै भइरहेको छ । समस्याको हल भएको छैन । जसरी बालेनले डोजर लिएर अनधिकृत घर भत्काए त्यसैगरी जति सहकारीको पैसा खाएर बसेका छन् तिनिहरुको घर भत्काउन डोजर लिएर जान्छौ र भत्काउन सुरु गर्छौं ।’
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगरमा पीडित र पीडक पक्षबिच छलफल गर्न बैठक बोलाइए पनि सहकारी सञ्चालक पक्षका कोही नआएपछि पीडितहरू आक्रोशित बनेका हुन् ।
‘बैठक बोलाएका थिए अहिले कोही छैनन् यहाँ । पैसा नेताको डुबेको हुन्थ्यो भने घाँटी समाएर लिन्थ्यो । हामीसँग कोही छैन कसरी लिने ?’ उनले थपे, ‘कमसेकम सरकारले एउटा समिति बनाएर हाम्रा समस्या सुनिदिएको भए त हुन्थ्यो । यहाँ सबै वृद्धवृद्धा मात्रै छौँ । कसैलाई भिनाजुले फसा । कोही सालीले, कोही जेठानले फसाए । अनि हामी सबै फस्यौँ । सरकारलाई हात जोडेर बिन्ती गर्छौ जसरी भए पनि हाम्रो पैसा दिलाइदिनुस्’, पारिकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण