अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरी गाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको खानी तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ ।
घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढङ्गले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औँल्याएको हो ।
बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरी गाउँमा लापरबाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ । भूगर्भविद् कृष्ण पाण्डेले दिएको जानकारीअनुसार, जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिंकहोल बनेको हो ।
विभागका भूगर्भविद् डा.नारायण अधिकारीको नेतृत्वमा गरिएको अध्ययन अनुसार, जमिन भासिएको ठाउँको केन्द्रमा कम्तीमा ११ मिटर गहिरो सिङ्कहोल देखिएको छ । अध्ययनले जमिन मुनिबाट निरन्तर सिल्ट मिश्रित पानी निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको चेतावनी दिएको छ । ‘कमजोर जमिनले माथिको लोड धान्न नसक्दा जमिन भासिएको हो,’ पाण्डेले भने ।
यसअघि खानी तथा भूगर्भ विभागले २०६२ सालमै तयार गरेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा पनि गैरीगाउँ क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चित्रित गरिएको अधिकारीले बताए । विभागको पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, पुराना प्रतिवेदन र वैज्ञानिक परीक्षणको आधारमा जमिन भासिएको पुष्टि गरेको उनले बताए ।
भासिएर बेपत्ता भएको बोलेरो गाडी भेटिएन
१९ वैशाखमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमास्थित भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना४च ४८३३ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) एक्कासि जमिन भासिएर बेपत्ता भएको थियो । उक्त गाडी अहिलेसम्म फेला परेको छैन ।
गाडीको अगाडी पट्टीको पाङ्ग्रा धसिएपछि निकाल्ने क्रममा एक्कासि जमिन नै थर्किएर गाडी भासिएको थियो । गाडीका चालक हरेराम राई र सहचालक भने भागेर बच्न सफल भएका थिए ।
यसअघि खानी तथा भूगर्भ विभागबाट भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले दुई दिनसम्म गाडी भासिएको ठाउँको अध्ययन गरेका थिए । घटनास्थलको जमिन र त्यस वरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भन्दै भूगर्वविद्हरुको टोली काठमाडौँ फकिर्एको थियो ।
२३ र २४ वैशाख दुई दिन भूगर्भविद् अधिकारी नेतृत्वको टोलीले भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । भूगर्भविद्हरूको टोलीले गाडी भासिएको स्थानको भूबनोट निकै कमजोर र तरलता युक्त रहेको निष्कर्ष निकालेका थिए ।
अध्ययनपछि भूगर्भविद् डा.अधिकारीको टोलीले उक्त क्षेत्रमा निर्माण कार्य गर्नुअघि भूगर्भीय परीक्षणको आवश्यकता देखाएको बताएका थिए । विशेषगरी माछा पोखरी, कुलो, सिँचाइ प्रणाली र बोरिङ जस्ता संरचनाहरूका कारण जमिन थप कमजोर हुने भएकाले भूगर्भको अध्ययन अनिवार्य रहेको उनको भनाई थियो ।
यसैबिच हेटौँडा उपमहानगरपालिकाले उक्त स्थानलाई सुरक्षित राखेको छ । थप कुनै जोखिम नहोस् भन्ने उद्देश्यले उक्त क्षेत्रलाई हाल शील गरिएको हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । ‘गाडी निकाल्ने प्रयासपछि जोखिम देखिएकाले सो क्षेत्रलाई तत्काल सिलबन्दी गरिएको छ,’ उनले भने, ‘घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र जमिन थप भासिन नदिन सावधानी अपनाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
‘राम प्यारी’मा यम र दीपाको रोमान्स
-
कसरी सम्भव भयो खगराज नै संसदीय दलको नेता बन्ने सहमति ?
-
पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा अभिनन्दन