लगानी सम्मेलनको होटल र इभेन्ट म्यानेजमेन्टको खर्च मात्र ३ करोड ८० लाख
काठमाडौँ । तीव्र आकाङ्क्षासहित सरकारले गरेको तेस्रो लगानी सम्मेलन सोमबार सम्पन्न भएको छ । करिब ८० देशका २ हजारभन्दा बढी व्यवसायी प्रतिनिधि सहभागी भएको भनिएको दुई दिने सम्मेलनमा अपेक्षा गरे अनुरुप खासै सफलता हात लाग्न सकेन ।
लगानी सम्मेलनकै लागि सरकारले १५४ वटा परियोजना शोकेसमा राखेको थियो । तर, केही साना तथा मझौला परियोजनाका लागि छिटफुट सम्झौता हुनबाहेक लगानी सम्मेलनमा खास महत्त्वपूर्ण परियोजनाका लागि सम्झौता हुन सकेन ।
लगानी सम्मेलनकै दौरान सरकारले कम्तीमा ४ वटा परियोजनाको लगानी विकास सम्झौता (पीडीए) गर्ने तयारी गरेको थियो । तर, अन्त्यमा एउटा पनि परियोजनाको पीडीए हुन सकेन ।
लगानी बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार सम्मेलनमा खास ६ वटा परियोजनाका लागि करिब १५ अर्ब हाराहारी विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।
होटल तथा पर्यटनको क्षेत्रमा दुई वटा परियोजनाका लागि करिब २ अर्ब ५३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा कृषि, खनिज तथा ऊर्जा (जलविद्युत) को क्षेत्रमा करिब १३ अर्ब रुपैयाँ हाराहारीको लगानी प्रतिबद्धता आएको छ ।
कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपालको हरित तथा कृषि परियोजना, खनिज र प्रविधि क्षेत्रमा ६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।
लगानी सम्मेलनकै अवसरमा चिनियाँ कम्पनी सीएन गोल्ड ड्रागन अटोबडीले नेपालमा नै विद्युतीय सवारी उत्पादनको एसेम्बलिङ प्लान्ट स्थापना गर्ने गरी ३ अर्ब रुपैयाँ लगानीको सम्झौता गरेको छ ।
यसैगरी आईटी (प्रविधि) को क्षेत्रमा लगानी गर्नेगरी भारतको योट्टा सर्भिसेसले नेपालको बीएलसी होल्डिङ प्रालिसँगको साझेदारीमा काठमाडौँमा डेटा सेन्टर बनाउने गरी सम्झौता गरेको छ । डेटा सेन्टरका लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता योट्टा कम्पनीले गरेको छ ।
यी सबै परियोजनाका लागि तेस्रो लगानी सम्मेलनमा करिब १५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको देखिन्छ ।
होटल र इभेन्ट म्यानेजमेन्टका लागि ३ करोड ८० लाख खर्च
आयोजक नेपाल सरकार (लगानी बोर्ड) ले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार सम्मेलनको होटल व्यवस्थापन तथा कार्यक्रम व्यवस्थापनका लागि मात्र करिब ३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।
होटल व्यवस्थापन (लजिङ्ग तथा फुडिङ्ग) का लागि करिब १ करोड ३६ लाख रुपैयाँ खर्च भएकोमा दुई दिनको इभेन्ट म्यानेजमेन्टका लागि २ करोड ४४ लाख रुपैयाँ खर्च भएको लगानी बोर्डका लेखा प्रमुख सूर्य भुसालले रातोपातीलाई बताए ।
सम्मेलनमा व्यवसायी प्रतिनिधिको उपस्थिति बढेसँगै होटलको खर्च थप ५० देखि ६० लाख रुपैयाँ बढ्न सक्ने उनको भनाइ छ ।
‘हामीले अनुमान गरेको उपस्थिति १२ देखि १४ सय जनाको मात्र थियो । सोही अनुसार होटलको खाना, नास्ता र लजिङ्गको अर्डर गरेका थियौँ । तर, सम्मेलनमा प्रतिनिधि व्यवसायीहरूको उपस्थिति बढ्यो । बढीमा १४ सय जनाको अनुमान गरिएकोमा १७ सय जनाभन्दा बढीको सहभागिता भयो । यसले खर्च बढेको छ’ भुसालले रातोपाटीसँग भने, ‘मोटामोटी होटलको खर्च १ करोड ३६ लाख रुपैयाँ नै भए पनि यसमा ५० देखि ६० लाख रुपैयाँ तलमाथि पर्न सक्ने हामीले अनुमान गरेका छौँ ।’
यद्यपि, यो खर्च बोर्ड (नेपाल सरकार) को भने होइन । लगानी सम्मेलनका लागि विभिन्न दातृ निकाय, साझेदार संस्था तथा निजी क्षेत्रले समेत खर्च गर्नेगरी आयोजना गरिएको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।
‘लगानी सम्मेलनका लागि बेलायती फण्ड (एफसीडीओ) ले २ करोड रुपैयाँ खर्च अनुदान दिने जनाएको थियो । यसैगरी वर्ल्ड बैंक, एडीबी लगायतले पनि लगानी सम्मेलनमा खर्च गर्नेगरी सहमति गरेका छन्,’ उपाध्यायले भने, ‘अन्य स्वदेशी निजी क्षेत्र, तिनका छाता संगठनहरूले गर्ने खर्चमा अपुग केही खर्च बोर्डले गर्छ ।’
बोर्डमार्फत नियमित खर्च (प्रशासनिक) मा २०–२५ लाख रुपैयाँ बाहेक अरू खर्च नभएको लेखा व्यवस्थापक भुसालले बताए ।
सम्मेलनका लागि ८ करोड ७९ लाख बजेट छुट्याइएको थियो
तेस्रो लगानी सम्मेलन आयोजनाका लागि सरकारले ८ करोड ७९ लाख रुपैयाँ बराबर खर्चको अनुमान गरेको थियो । अघिल्ला दुई वटा सम्मेलनहरूमा करिब ३ करोड रुपैयाँ बराबरको बजेट छुट्याइएकोमा पछिल्लो समय बढ्दो महँगी, लगानी सम्मेलनको फेरिएको मोडालिटी लगायतले थप खर्च हुने अनुमानका साथ उक्त परिमाण बराबरको खर्च छुट्याइको भुसालको भनाइ छ ।
तर, यो वर्ष प्रारम्भिक खर्चको आधारमा सम्मेलनमा करिब ४ करोड रुपैयाँ हाराहारी खर्च हुने देखिएको उनको भनाइ छ । ‘यो वर्ष सम्मेलनको होटल खर्च बाहेक अरू खर्च सोचेभन्दा पनि कम भयोभन्दा फरक पर्दैन । लगानी सम्मेलनको प्रचार प्रसारदेखि ब्यानर पम्प्लेट, विज्ञापनमा खासै खर्च नै गरिएन,’ लेखाप्रमुख भुसालले भने, ‘केही भिडियो सामग्री र प्रशासनिक खर्च बाहेक अरुमा अतिरिक्त गर्छ गरिएन । स्पोन्सर र विज्ञापन पनि यसपटक कटौती गरिएको छ । यसैले सोचेभन्दा पनि कम खर्च भयो ।’
पुरानो खर्चको शीर्षक र अनुमानका आधारमा खर्चको व्यवस्था गरिए पनि त्यसो नभएको उनले बताए । तथापि, प्रारम्भिक खर्चको अनुमान भए पनि खर्चको पूर्ण विवरण आइनसकेकाले थप विवरण भन्न नसकिने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण