बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
लगानी सम्मेलन

लगानी सम्मेलनमा आयो १० अर्ब माथिको लगानी प्रतिबद्धता

होटल, ऊर्जा र आईटी क्षेत्र मुख्य आकर्षणमा
सोमबार, १७ वैशाख २०८१, २१ : ४०
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । आइतबारदेखि राजधानीमा जारी तेस्रो लगानी सम्मेलन आज सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको तेस्रो लगानी सम्मेलनमा ८० देशका २ हजार बढी व्यवसायी प्रतिनिधिहरू सहभागी भएको लगानी बोर्डले जनाएको छ । दुई दिने लगानी सम्मेलनमा १० अर्ब रुपैयाँ माथिको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आइसकेको बोर्डको भनाई छ । 

९ अर्ब १३ करोडको लगानी स्वीकृत

लगानी बोर्डका अनुसार सोमबार दिउँसोसम्म ९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भइसकेको छ । सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्झौता मध्येका तीन जना लगानीकर्तालाई लगानीको स्वीकृति पत्र समेत हस्तान्तरण गरिसकिएको जानकारी दिए । 

बोर्डका अनुसार चिनियाँ कम्पनीको लगानीमा ६ अर्ब रुपैयाँको लगानी सम्झौता तथा स्वीकृति भएको छ भने अस्ट्रेलियन लगानीकर्तामार्फत आउने ३ अर्ब रुपैयाँ र एक्लियस इनर्जी युके कम्पनीको साढे १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति भएको बोर्डले जनाएको छ । 

यसमा थप निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग होटल तथा पर्यटन, ऊर्जा, प्रविधि (आईटी) क्षेत्रमा समेत लगानी प्रतिबद्धता आएका छन् ।

कुन क्षेत्रमा कति आयो लगानी प्रतिबद्धता ?

होटल तथा पर्यटन क्षेत्रमा २ अर्ब ५३ करोडको लगानी प्रतिबद्धता

लगानी सम्मेलनको दोस्रो दिन सोमबार भएको लगानी सम्झौता अनुसार होटल तथा पर्यटन क्षेत्रमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । चिनियाँ होटल बोर को चेन होटल नेपालमा खोल्ने गरी नेपाल र चिनियाँ व्यवसायीबिच १ अर्ब ८३ करोड ६० लाख रुपैयाँ (करिब) सम्झौता भएको छ । 

यसैगरी, अस्ट्रेलियाका विज्ञ लगानीकर्ताहरूको समूहले नेपालको रमणीय पर्यटकीय नगरी रारा ताल क्षेत्रमा भव्य रिसोर्ट खोल्ने गरी ७० करोडको सम्झौता गरेको छ । 

नेपाल स्थित रारा होल्डिङ्स प्रा.लि.सँगको सहकार्यमा विज्ञ समूहले ७० करोड लागतमा करिब ८० रोपनी क्षेत्रफलमा भव्य सुविधा सम्पन्न रिसोर्ट खोल्ने जनाएकोमा व्यवसाय सञ्चालनसँगै दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी विस्तार गर्ने समेत जनाएको छ । 

तेस्रो लगानी सम्मेलनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र सचिव दीपक काफ्लेको रोहोवरमा रारा होल्डिङ्स र विज्ञ समूहबिच व्यावसायिक साझेदारीको सम्झौता (एमओयू) भएको हो । 

नेपालका तर्फबाट रारा होल्डिङ्स प्रा.लि.का म्यानेजर अभिषेक विक्रम शाह र अस्ट्रेलियाको विज्ञ लगानीकर्ताहरूको तर्फबाट प्रतिनिधि बद्री अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

कोरियन कम्पनीले नेपालको कृषि तथा हरित क्षेत्रमा ६ अर्ब लगानी गर्ने

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि र कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुप प्रालिबिच नेपालको हरित तथा कृषि, खनिज तथा प्रविधिको क्षेत्रमा लगानी गर्ने सम्झौता भएको छ । 

कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको हो । यस्तो लगानीको रकम नेपाली रु. ६ अर्ब बराबर रहेको छ । 

सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जानकारी दिएको छ । 

नेपालमा सवारी एसेम्बलिङ प्लान्ट स्थापना गर्न ३ अर्ब लगानीको सम्झौता

यसैगरी लगानी सम्मेलनकै अवसरमा चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) गरेको हो । 

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग एमओयू गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ । सम्झौताअनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल सवारी उत्पादन गर्ने छ ।

सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । यसअनुसार विराटनगरको बुढीगङ्ग्गामा १५ बिघा जमिनमा उत्पादन सुरु हुनेछ ।

डेटा सेन्टरका लागि ३ अर्ब ५० करोड लगानी सम्झौता

यसैगरी भारतको योट्टा डेटा सर्भिसेसले नेपालको बीएलसी होल्डिङ प्रा.लि.सँगको साझेदारीमा काठमाडौँमा डेटा सेन्टर बनाउने सम्झौता गरेको छ । योट्टाले बीएलसीसँगको सहकार्यमा काठमाडौँको रामकोटमा डेटा सेन्टर निर्माण गर्ने सम्झौता गरेको हो । 

बीएलसी होल्डिङकी प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डेटा सर्भिसेस सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल गुप्ताले लगानी सम्मेलनको अवसरमा व्यावसायिक साझेदारीको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाको लागत साढे तीन अर्ब रुपैयाँ बराबर हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ । 

सम्मेलन सफल : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले सम्मेलनको लक्ष्य तथा उद्देश्यमाथि सफलता हासिल गरेको दाबी गरेको छ । सम्मेलनमा भाग लिन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सफल भएको बताएका हुन् ।  

विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको जिकिर गर्दै अर्थमन्त्री पुनले यस सहभागिताले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको एक महत्त्वपूर्ण गन्तव्य भएको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप