शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गायिका आनी ८ वर्षपछि बेलायतमा

बिहीबार, २० वैशाख २०८१, १० : १०
बिहीबार, २० वैशाख २०८१

लन्डन । गायिका तथा समाजसेवी आनी छोइङ ड्रोल्मा ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्टको लागि बेलायत आइपुगेकी छन् । मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मे ५ मा बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा आयोजना हुन गइरहेको च्यारिटी कार्यक्रममा प्रस्तुति दिन उनी बुधबार साँझ लण्ड हिथ्रो विमानस्थलमा उत्रिएकी हुन् ।

गायिका आनीका साथमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी पनि लन्डन आएका छन्। उनीहरूलाई विमानस्थलमा स्वागत गर्न च्यारिटी कन्सर्ट आयोजक मानवसेवा आश्रम बेलायत शाखाका पदाधिकारी र बेलायतस्थित नेपाली समुदायका अभियन्ताहरूले हिथ्रो विमानस्थलमा गायिका आनी र अध्यक्ष अधिकारीलाई स्वागत गरे। 

उनीहरूको स्वागतार्थ मानवसेवा आश्रम बेलायतका सहसंयोजक विक्रम भट्टराई, सचिव यादव श्रेष्ठ, कोषाध्यक्ष चन्द्र अर्याल, सल्लाहकारहरू शिवजी श्रेष्ठ र सुरेन्द्र नेपाल श्रेष्ठलगायत विमानस्थल पुगेका थिए। 

लन्डन उत्रिए लगत्तै विमानस्थलमाबाटै मानवता दर्साउन बेलायतवासी सम्पूर्ण नेपालीलाई उक्त च्यारिटी कार्यक्रममा उपस्थित हुन अपिल गरिन्। बेलायतको व्यस्त जीवनलाई मुक्ति दिलाउन आफ्नो सांगीतिक प्रस्तुतिले सहयोग पुग्ने उनले बताइन् ।

देशका विभिन्न स्थानमा रहेका अनाथारुको व्यवस्थापनका लागि आफूहरू लागिपरेको  मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कार्यक्रमबाट सङ्कलन गरिने रकम घरबार र परिवारविहीनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने जनाए ।  

अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको लेकसाइड कन्ट्री क्लबमा आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताए । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ । कार्यक्रम तयारीका लागि मानवसेवा आश्रमका सुमन बर्तौला र रुपा केसी केही साताअघि नै बेलायत आइसकेका थिए भने कन्सर्टमा लाइभ सङ्गीत प्रस्तुत गर्ने चार संगीतकर्मी पनि मंगलबार आइपुगेका छन्।

च्यारिटी कार्यक्रम सकेपछि गायिका आनीले आनी स्कटल्यान्ड, वेल्स लगायतका क्षेत्र पुगेर त्यहाँका नेपालीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी मे १९ मा नेपाल फर्किने योजना छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप