शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपालमा पहिलोपटक टेबलटेनिसको अन्तिम चरणको ओलम्पिक छनोट प्रतियोगिता

राखेप र ओलम्पिक कमिटीबाट सहयोगको आश्वासन मात्र
आइतबार, २३ वैशाख २०८१, १६ : ४०
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ ।  यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलकुदका लागि टेबलटेनिसको अन्तिम चरणको ‘दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता’ नेपालमा सञ्चालन हुने भएको छ । छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म आयोजना हुनेछ ।

छनोट प्रतियोगिताबाट एकजना पुरुष र एकजना महिला खेलाडी सिधै पेरिस ओलम्पिकका लागि छनोट हुने जानकारी आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । कुनै पनि खेलको अन्तिम चरणको ओलम्पिक छनोट प्रतियोगिता नेपालमा आयोजना हुन लागेको यो पहिलोपटक हो । 

छनोट प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहने छ । छनोट प्रतियोगितामा प्रत्येक राष्ट्रबाट पुरुषतर्फ दुई र महिलातर्फ दुईजना खेलाडीको सहभागिता रहने छ ।

छनोट प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । टेबलटेनिस खेलको इतिहासमै पहिलो पटक नेपालमा ओलम्पिक छनोट प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ संयोग कपाली र सान्टु श्रेष्ठले सहभागिता जनाउने छन् ।

महिलातर्फ नेपालबाट नविता श्रेष्ठ र ईभाना थापाले प्रतियोगितामा सहभागिता जनाउने छन् । संयोग र सान्टु हाल प्रशिक्षणका क्रममा नेपाल वाहिर छन् । यसपटक छनोट चरण पार गर्दै नेपाली टेबलटेनिस खेलाडीले ओलम्पिक खेल्ने सम्भावना बलियो रहेको जानकारी प्रमुख प्रशिक्षक राजेन्द्र कपालीले दिए ।

दक्षिण एसियाली छनोट प्रतियोगितामा यसपटक भारतको भने सहभागिता रहने छैन । भारतीय खेलाडी यसअघि नै वरीयताका आधारमा पेरिस ओलम्पिकमा छनोट भइसकेकाले नेपाली खेलाडीका लागि यो छनोट प्रतियोगिता उपयुक्त अवसर भएको जानकारी दक्षिण एसियाली छनोट प्रतियोगिताका निर्देशक तेजेन्द्रसिंह महराले दिए । 

छनोट प्रतियोगितामा भारतको अनुपस्थितिमा नेपालका लागि श्रीलंकाली खेलाडी सबैभन्दा ठुलो चुनौति बन्न सक्छन् । नेपाली तेक्वान्दो खेलाडीले मात्र हालसम्म छनोट चरण पार गर्दै ओलम्पिक खेलकुदमा सहभागिता जनाउन सकेका छन् ।  छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगिना बैद्य हुन् । यस्तो उपलब्धि हासिल गर्ने दोस्रो नेपाली खेलाडी तेक्वान्दोका दीपक बिष्ट हुन् । अन्य खेलाडीले भने वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता जनाउँदै आएका छन् । 

प्रतियोगितालाई ‘नेपाली घर’ होटलले सहयोग गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । यस विषयमा नेपाली घर र आयोजकबिच प्रायोजन सम्झौता पनि भएको छ । आइतबार नै नेपाली घरका तर्फबाट सञ्चालन प्रबन्धक सुजन तण्डुकार र आयोजकको तर्फबाट प्रतियोगिता निर्देशक महराले सम्झौतापत्र आदान–प्रदान गरे ।

प्रायोजन सम्झौता अनुसार, नेपाली घरले प्रतियोगितामा सहभागी खेलाडीका लागि खाना र बसोबासको सुविधा उपलब्ध गराउने छ । ‘ओलम्पिक छनोटजस्तो महत्वपूर्ण प्रतियोगितालाई सहयोग गर्न पाउँदा खसी लागेको छ,’ नेपाली घरका तण्डुकारले भने ।  यसका अतिरिक्त समाजसेवी सुमन खड्गीले पनि प्रतियोगितामा सहयोग गर्ने आयोजकले जनाएको छ । 

टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट हालसम्म कुनै आर्थिक सहयोग प्राप्त नभएको टेबलटेनिसका एक पदाधिकारीले बताए । 

‘हामी यति ठुलो र महत्वपूर्ण प्रतियोगिता आयोजना गर्ने तयारीमा छौँ । यो प्रतियोगिता आयोजनाको अधिकार पाउन पनि हामीले निकै ठुलो परिश्रम गर्नु परेको थियो । तर, राखेप र ओलम्पिक कमिटीबाट हामीले कुनै सहयोग पाएका छैनौँ । नेपाली खेलकुदका यी प्रमुख निकायबाट हामीले निराशाजनक जवाफ पाएका छौँ,’ ती अधिकारीले रातोपाटीसँगको कुराकानीमा भने । 

राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबाट सहयोग नपाएपछि प्रतियोगिताका लागि आर्थिक स्रोत जुटाउन समस्या परिरहेको उनले बताए । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप