आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

मङ्गलबार, २५ वैशाख २०८१, १२ : ४२
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका छन् ।

आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए । सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला नै होइन भन्दै उनले त्यस विषयमा कुराकानी नभएको बताए ।

पार्टीमा भएको घटनाको विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको बताउँदै उनले पार्टीको बैठकबाट छलफल गरी अगाडि बढ्ने बताए । जसपाका प्रवक्ता मनिष सुमनले पनि सरकारलाई दिएको समर्थन कायम रहने नरहने विषयमा पार्टीले छलफल गरेर टुगों लगाउने बताए । उनले भने, ‘अध्यक्ष ज्यु आइपुग्नु भएको छ, पार्टी कार्यालयमा छलफल हुन्छ त्यसपछि कसरी अगाडि बढ्ने तय हुन्छ ।’

उनले आजै पार्टीका शीर्ष नेता तथा सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनी जनसङ्ख्या सम्बन्धी एक कार्यक्रममा भाग लिन वैशाख १५ गते अमेरिका गएका थिए । अमेरिकाबाट कतार हुँदै उनी हिजो राती काठमाडौँ आइ पुगेका छन् ।

उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए । उनी अमेरिकामा भएकै बेला वैशाख २२ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएको थियो । राईले निर्वाचन आयोगमा जसपा नामको पार्टी दर्ता गराई सकेका छन् ।

अशोक राई नेतृत्वको जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहने निर्णय गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप