सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक गतिरोध हटाउन के गर्ने ?

शुक्रबार, २८ वैशाख २०८१, १० : ३९
शुक्रबार, २८ वैशाख २०८१

जब कुनै पनि देशमा शासकले आफ्नै किसिमले शासन गर्न खोज्छन्, उनीहरूले आफ्ना शासकीय संविधान, कानुन, नियम बनाएर शासितलाई त्यस नियम अन्तर्गत राख्न खोज्छन्, जुन नियमले केही मुठीभर शासकलाई संविधानभन्दा माथि राख्छन् । 

शासकले जब जनहितका पक्षमा काम गर्दैन, स्वेच्छाचारी हुन्छ र राजनीतिलाई आफू अनुकूल बनाउँछ, शासित जनता त्यस्तो परिस्थितिमा रहन इन्कार गर्छन् । राजनीतिक, आर्थिक अधिकार कुण्ठित भएपछि त्यहाँ राजनीतिक गतिरोध पैदा हुन्छ । त्यो गतिरोध राजनीतिक रूपमा मात्र सीमित रहँदैन, त्यसको विस्तार दार्शनिक, वैचारिक, सामाजिक, सांस्कृतिक र जीवनका हरेक पक्षसम्म फैलन्छ । त्यसले शोषक र शासकबिच द्वन्द्व पैदा गर्छ, जुन शान्तिपूर्ण वा सशस्त्र दुवै रूपमा अभिव्यक्त हुन्छन् । 

संसारको इतिहास यसरी नै निर्माण भएको छ । राजनीतिक गतिरोध विस्तारित भयो भने एउटा सत्ता फालिने र अर्को सत्ता स्थापित हुन जान्छ । त्यस्तो राजनीतिक गतिरोधमा विदेशी शक्ति सम्मिलित भयो भने देश विलय हुने सम्भावना रहन्छ । 

शासकीय स्वरूपमा राजनीतिक पक्ष मुख्य हुन्छ, त्यसअन्तर्गत आर्थिक–सामाजिक, सांस्कृतिक कुरा पर्छन् । यी सबै अवयवलाई दर्शनले निर्धारण गर्छ । दर्शन कहिल्यै पनि निष्पक्ष र निरपेक्ष दुवै हुँदैन, त्यसले शोषक वर्ग वा शोषित वर्गको सेवा गर्छ । 

राणाशासनमा स्थायित्वको कुरा गरिए पनि दरबारभित्रै काटमार, हत्या–हिंसा र आपसी झगडा थियो । उनीहरूले आफूहरूलाई नियम तथा कानुनभन्दा माथि ठान्थे, यो अवस्थामा नेपाली जनता बस्न चाहेनन् । एकतन्त्रीय कुलीन शासकीय स्वरूपले जनता र राणाशासनबिच राजनीतिक गतिरोध पैदा भयो । जनतालाई अधिकार दिन नचाहेकाले राणाहरूले सन् १९५० को असमान सन्धि गरे, जसको कुप्रभाव नेपाललाई अहिलेसम्म परिरहेको छ । 

राणाशासनविरुद्ध सशस्त्र सङ्घर्षमा कांग्रेस उत्रे पनि अन्ततः दिल्ली सम्झौताबाट राणाशासनको अन्त्य भयो । विडम्बना ! अर्को खोरबाट शक्तिहीन राजतन्त्र शक्तिका साथ बाहिर आयो । कांग्रेस पार्टीमा बीपी गुट र मातृका गुट बने । टंकप्रसाद गुट, डिल्लीरमण गुट, क्रान्तिकारीहरूको हत्या आदि कारण देश लोकतान्त्रिक रूपमा अगाडि बढिरहेको थिएन । त्यही राजनीतिक अस्थिरताका कारण त्रिभुवनले घोषणा गरेको संविधानसभा कार्यान्वयन भएन । राजनीतिक दलहरू विरोधमा निस्कने परिस्थिति थिएन । नेकपालाई २००८–२०१३ सम्म प्रतिबन्ध लगाइयो । फेरि पनि राजनीतिक अधिकारलाई यथेष्ट रूपमा प्रयोग गर्न दिइएन । 
त्रिभुवनपछि राजा बनेका महेन्द्रले २०१५ मा संसद्को चुनाव गराए, तर संविधान राजा आफैँद्वारा बनाइएको थियो । त्यसमा देशको सुरक्षा, विद्रोह वा गाथगादी ताकेमा मृत्युदण्ड वा आजीवन कारावास सजाय थियो । राजाले जुनसुकै बेला पनि सुरक्षा कानुन अनुसार जेल चलान वा राज्य विरुद्धको क्रियाकलाप गरेकाले संसद विघटन गर्न सक्थे । 

२०१७ सालमा महत्त्वाकाङ्क्षी राजा महेन्द्रले त्यही घटना घटाए । नेताहरू जेल परे, संसदीय व्यवस्था प्रतिबन्धित भयो । एक दलीय पञ्चायती व्यवस्था लागु भयो । राजनीतिक अस्थिरताका बिच केही कांग्रेस, कम्युनिस्ट र स्वतन्त्र भन्ने व्यक्तिहरू धमाधम राजालाई सच्चा देशभक्त भनेर पञ्चायत प्रवेश गरे । राजाको त्यो प्रतिगमन पनि देशमा शान्तिसुरक्षा, अमनचयन राष्ट्र र राष्ट्रियतालाई मूल मुद्दा बनाएर अगाडि आएको थियो । 
राजतन्त्रलाई लोकप्रिय बनाउन कपडा कारखाना, सिमेन्ट कारखाना, रबर उद्योग कारखाना, जुत्ता कारखाना, कृषि औजार कारखाना, इँटा–टायल कारखाना, कागज कारखाना, नेसनल ट्रेडिङ कम्पनी, साझा प्रकाशन, जनक शिक्षा सामग्री खोलिए जसले कुनै न कुनै रूपमा जनतालाई राहत र काम दिएको थियो । राजतन्त्रले त्यसबापत केही सहानुभूति पाए पनि जनताका राजनीतिक अधिकार कुण्ठित भएका थिए । 
राजनीतिक अधिकार, विचारको स्वतन्त्रताको अधिकारबाट वञ्चित जनता कहिले खुला र कहिले भूमिगत सङ्घर्ष देखिन थाले । जनताका आकाङ्क्षालाई दमन गर्न खोजियो । हामीले बुझ्नुपर्ने कुरा के हो भने विकासका काम तानाशाही व्यवस्थामा पनि हुँदै जान्छन् किनभने उनीहरूले त्यही विकास र प्रगति देखाएर सत्ताको स्थायित्व चाहन्छन्, तर वस्तुगत परिस्थिति शोषणमूलक समाजका विरुद्ध गएका कुरालाई शासकले बुझ्न सक्तैनन् । 

प्रत्यक्ष राष्ट्रपतीय पद्धति, प्रदेश मुख्यमन्त्री पनि प्रत्यक्ष, गैरसांसदको मन्त्री मण्डल, आत्मनिर्णयको अधिकारबाहेक प्रदेशलाई अधिकार सम्पन्न, प्रत्यक्षबाट निर्वाचितको प्रतिनिधिसभा र समानुपातिकतर्फबाट माथिल्लो सदन, स्वतन्त्र असंग्लग्न परराष्ट्र नीति, औद्योगिकीकरण आदिबाट राजनीतिक गतिरोध हटाउन सकिन्छ ।


पञ्चायतभित्र पनि गुट–उपगुट थियो । दरबारियाहरू आफ्ना स्वार्थका लागि विभाजित थिए । राजतन्त्रलाई अझ बलियो बनाएर जनता र देशमाथि शासन गर्ने असीमित चाहनाले राजतन्त्रलाई अलोकप्रिय बनाउँदै थियो । जेलभित्र र बाहिरका नेताले पञ्चायतविरोधी आन्दोलन सञ्चालन गरेका थिए । 

पञ्चायतमा पनि यति राजनीतिक अस्थिरता थियो कि राजाको इच्छामा प्रधानमन्त्री नियुक्ति र पदच्युत गरिन्थ्यो । त्यो राजनीतिक व्यवस्थामा पनि मन्त्री मण्डलको विघटन र निर्माण भइरहन्थ्यो । त्यहीभित्र राजनीतिक गतिरोध थियो । गुट–उपगुट र दरबारभित्रकै अनमेलले पञ्चायत आफैँ धराशायी हुँदै थियो । तैपनि जनताका शान्तिपूर्ण जनआन्दोलन दबाइएकै थिए । त्यही अवसर पारेर कांग्रेस–वाममोर्चा मिलेर शान्तिपूर्ण जनआन्दोलन सुरु गरे । 

आन्दोलन सुरु गर्नुअघि आन्दोलनको समर्थनमा भारतीय नेता काठमाडौँ बोलाइएका थिए, तर भारतले वीरेन्द्रलाई एउटा ‘ननपेपर’ पठाएको थियो, जसमा नेपालले सुरक्षा र परराष्ट्र भारतलाई दिए पञ्चायत धानिन्छ भन्ने थियो रे ! जेहोस् २०४६ मा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था कायम भयो । संविधान बन्यो, संसदीय चुनाव भयो । नेपाली कांग्रेस ठुलो दल बन्यो र सरकार बनायो । एमाले दोस्रो दल बन्यो । 
फेरि कांग्रेसभित्रै छत्तीसे–चौहत्तरे बन्यो । उनीहरूकै बिचमा द्वन्द्व बढेर गयो । एमालेले पनि करिब दुई महिनासम्म मदन भण्डारीको हत्याको कुरा लिएर संसद् अवरुद्ध ग¥यो । राजनीतिक गतिरोध घट्नुको सट्टा बढ्दै गयो । गिरिजाले एकल अधिक बहुमत ल्याउने निर्णयका साथ संसद् विघटन गरी निर्वाचनमा जाने घोषणा गरे, तर निर्वाचनमा एमाले ठुलो दल बन्यो । कांग्रेसको समर्थनमा एमालेको अल्पमतको सरकार बन्यो । त्यस दलले पनि विकास, निर्माण र राजनीतिक स्थायित्वभन्दा वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊ लगायत अरु लोकप्रिय नारा अगाडि सा¥यो । नेतृत्वको गलत चिन्तनका कारण जसरी कोशी–गण्डक परियोजना २००७ पछि सजिलै भारतलाई बुझाइयो, त्यसरी नै सत्ता पक्ष र प्रतिपक्ष भएर महाकाली भारतलाई बुझाए, नेपालका आन्दोलनलाई भारतले समर्थन गरेबापत । 

कांग्रेसका पालामा उदारवादका नाममा उद्योगहरू कौडीको मूल्यमा बेचिए । राजनीतिक अस्थिरता यस्तो थियो कि कांग्रेसले सूर्यबहादुर थापालाई र एमालेले लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाए । प्रजातन्त्रवादी र साम्यवादीको त्यो अनौठो प्रतिगमनको बाटो पनि देखियो । राजनीतिक स्थिरता झनै बल्झँदै गयो, किनभने माओवादीहरू ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाले राजनीतिक समस्या समाधान हुँदैन’ भनेर सशस्त्र सङ्घर्षबाट मात्र सम्भव हुने बताएर जनवादी क्रान्ति गर्न हिँडे । 
२०५२ फागुन १ गतेबाट माओवादीले जनयुद्ध सुरु गर्‍याे । उत्पीडित जनसमुदाय, वर्ग, लिङ्ग, दलित र समाजका हरेक अङ्ग जनयुद्धमा आकर्षित भए । सानो हतियारबाट सुरु गरिएको जनयुद्धले विशाल रूप लियो र हतियारबद्ध सेनाको निर्माण गर्‍याे । हजारौँ सहिद भए, हजारौँ घाइते तथा बेपत्ता भए । सरकारले सङ्घर्ष नियन्त्रण गर्न सकेन । 
जनयुद्धप्रति सहानुभूति राख्ने संस्था, दल वा व्यक्तिले युद्धलाई यस कारण समर्थन गरेका थिए कि अब शान्ति स्थापना हुन्छ र राजनीतिक गतिरोध अन्त्य हुन्छ । राजा वीरेन्द्रको वंशनाश भएपछि राजतन्त्रको औचित्य समाप्त भइसकेको थियो । तथापि ज्ञानेन्द्रले राजतन्त्रको अन्तिम लहरो समातिरहेका थिए । जनयुद्ध दमन गर्ने ज्ञानेन्द्रको योजना त्यसबेला असफल भयो, जब राजनीतिक सत्ता हातमा लिएर सात दल र माओवादी दुवै शक्तिलाई एकैचोटि आक्रमण गर्ने नीति उनले लिए ।

भारतमा माओवादीलाई संरक्षण दिनु र उसलाई आतङ्ककारी घोषणा गर्नु भारतीय चाल थियो । माओवादीलाई भारतले आफ्नो पक्षमा लिइसकेको थियो सर्त यो थियो कि राजतन्त्रलाई फाल्ने, भारतीय वैधानिक कम्युनिस्ट (जस्तै ः प्रकाश कारत, सीताराम यचुरी आदि)सँग मात्र सम्बन्ध कायम गर्ने र भारतीय सुरक्षालाई चुनौती नदिने भन्ने थियो । माओवादी पनि युद्धबाट थाकिसकेको थियो । त्यो गोलचक्करबाट निस्कन बाटो खोजेको माओवादीले दिल्लीमा भारतद्वारा तयार पारिएको बाह्रबुँदे सहमतिलाई स्वीकार ग¥यो । माओवादीको अब भारत दुश्मन रहेन । सात दल माओवादी संयुक्त शक्तिलाई तह लगाउन भारतबाहेक पश्चिमाहरू पनि लागेका थिए । त्यस प्रयासलाई जनताले किन समर्थन गरेका थिए भने त्यसबाट राजनीतिक गतिरोध हट्नेछ । 

बाह्रबुँदे सहमति अनुसार सात दल तथा माओवादीले शान्तिपूर्ण आन्दोलनलाई तीव्रता दिए । भारतीय दूत करनसिंह आन्दोलनलाई समन गर्न काठमाडौँ आएका थिए । वैशाख ८ गते सम्झौताका लागि राजाले विद्रोहीलाई वक्तव्यमार्फत सम्झौताका लागि बोलाए । विद्रोहीहरू त्यो वक्तव्यबाट सन्तुष्ट भएनन् । सङ्घर्ष अझ अगाडि बढ्यो । 

ज्ञानेन्द्रले वैशाख ११ गते अर्को वक्तव्यमार्फत विघटित संसद्को पुनस्र्थापना र जनताको नासो जनतालाई दिएँ भनेर बताए । राजनीतिक अस्थिरताको अन्त्य हुनेछ भन्ने जनताले आशा गरेका थिए । १२० सिट जितेको माओवादीले राजनीतिक गतिरोध हटाउनुको सट्टा नियम, कानुन नबदलीकन प्रधानसेनापतिलाई कारबाही ग¥यो । सर्वोच्चको प्रधान न्यायाधीश बनाइए । जनताले त्यस परिघटनालाई स्थायी सरकार र जनताका समस्या समाधान हुनेछन् भन्ने अर्थमा बुझे । युद्धरत माओवादीहरू, जो बलिदान दिन तयार थिए र दिए पनि, २०६२/६३ को आन्दोलनलाई अचुक अस्त्र ठाने । व्यवस्था मात्र होइन अवस्थाको पनि परिवर्तन चाहेका जनतालाई त्यही सङ्घीय गणतन्त्र नै जनवादी क्रान्ति सम्पन्न भएको बताइयो । तर शोषित, उत्पीडित, महिला, दलित, अपाङ्ग, सहिद परिवार र बेपत्ताको अवस्था बदलिएन । दक्षिणपन्थी अवसरवादी बाटो समातेको आरोप लगाएर माओवादीबाट धेरै घटक जन्मे । केही सच्चा क्रान्तिकारीहरू माओवादीको सत्ता मोहबाट परिचित हुँदै गए । संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्षरत माओवादी नेतृत्व त्यही संसदीय खेलमा रमाइरहेको छ । 

निर्वाचन प्रणाली अनुसार समानुपातिक समावेशीबाट कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्तैन । त्यसकारण सरकार बनाउनका लागि साना दलहरूको महत्त्व ह्वात्तै बढेको छ । बहुमत नहुँदा साना दलहरूले खोँचे थापेर प्रमको दाबी गर्ने, मुख्यमन्त्री दाबी गर्ने प्रवृत्तिले राजनीतिक अस्थिरता जन्मने गरेको छ । 

जनताले दिएको मतमाथि साना दलहरूको क्रियाकलापले देशलाई विकास, समृद्धि र शासकीय स्वरूपलाई अरु भद्दा बनाइएको छ । विकास निर्माण, उद्योग, स्वास्थ्य, शिक्षा, रोजगारीका कुरा पछाडि परेका छन् । 
गठबन्धन कहिले तोडिने हो सायद प्रम वा विपक्षका नेता अनभिज्ञ छन् । गठबन्धन कुनै सिद्धान्त, विचार र राजनीतिक कुरा होइन, बरु सत्तामा टिकिरहने गलत राजनीतिक प्रवृत्ति हो । अपराधले डामिएका दल वा व्यक्तिहरूको ढाकछोप गरेर गठबन्धनलाई बचाउन जस्तोसुकै निरर्थक प्रयास भइरहेको छ । २०७९ पछि प्रचण्डले तीनपटकसम्म विश्वासको मत लिनु भनेको फेरबदल र उथलपुथलले देशको राजनीतिक स्थायित्व हुन सक्तैन । प्रत्येक क्षेत्र राजनीतिक प्रभावबाट प्रेरित देखिन्छन् । सर्वोच्चको कोशीको निर्णय गण्डकीमा लागु हुन्न, त्यहाँको निर्णयमा राजनीतिक गन्ध आउँछ । नजिरले भने काम गर्न सकेको देखिन्न । 

जबसम्म स्वतन्त्र न्यायालय हुन्न राजनीतिक कोर्स पनि जटिलतातिर जाने पक्का छ । स्वतन्त्र परराष्ट्र नीति अवलम्बन नगरी चीन, भारत वा अन्य मुलुकसँगको सम्बन्धलाई राजनीतिक रूपमा प्रयोग गर्नु देश र जनताका पक्षमा हँुदैन । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता राजनीतिक दलालीका कारण सङ्कटमा छ । विशेष गरेर भारतसँगको सम्बन्धलाई नेपालका सत्ताधारीहरू विशेष रूपमा हेर्छन् । भारत जाँदा पुच्छर लुकाएर जाने नेतृत्व फर्कंदा पुच्छर ठाडो पारेर फर्कन्छ र भन्छ— आफ्नो दल र सरकारप्रति भारतको समर्थन छ, तर भारतले नेपाललाई सधैँ ब्रिटिस औपनिवेशिक चस्माले हेर्नै गर्छ । 

सीमा विवाद (मूलतः कालापानी)बारे भारतीय हस्तक्षेपलाई नेपालले कुरै उठाउन सक्तैन । जनताबाट भारतीय हस्तक्षेपको विरोध गरे भने त्यसैलाई भारतको विरोध वा ‘राष्ट्रवाद’ भन्ने गरिन्छ । नेपालमा भएको अस्थिर राजनीतिक र भारतीय स्वार्थका कारण भारत सधैँ नेपालमाथि हाबी हँुदै आएको छ । डा. भेषबहादुर थापाका अनुसार भारतीयहरू हाम्रा सबै नेताहरूको जन्मकुण्डली लिएर बसेका हुन्छन् । त्यसकारण नेपाल सधैँ राजनीतिक गतिरोधबाट गुज्रिरहेको छ । गतिरोध अन्त्यका लागि दलहरूले निम्न कार्य गर्न आवश्यक देखिन्छ । 

१) प्रत्यक्ष राष्ट्रपतीय पद्धति ।
२) प्रदेश मुख्यमन्त्री पनि प्रत्यक्ष । 
३) गैरसांसदको मन्त्री मण्डल ।
४) आत्मनिर्णयको अधिकारबाहेक प्रदेशलाई अधिकार सम्पन्न गर्ने ।
५) प्रत्यक्षबाट निर्वाचितको प्रतिनिधिसभा र समानुपातिकतर्फबाट माथिल्लो सदन बनाउने ।
६) स्वतन्त्र असंग्लग्न परराष्ट्र नीति अपनाउने ।
७) देशलाई औद्योगिकीकरण गर्ने ।
८) स्वतन्त्र न्यायपालिका ।
९) राष्ट्रियतालाई सर्वोपरि राख्ने ।
१०) स्थानीय प्रमुखदेखि प्रमसम्मको सम्पत्तिको छानबिन गर्ने । 
११) भ्रष्ट, तस्कर, ठग, जनविरोधीलाई कानुनी कारबाही गर्ने ।
१२) भूमिहीनलाई आवश्यक जमिन दिने ।
१३) जनजीवीकाको ग्यारेन्टी ।
१४) परराष्ट्र नीतिमा समानता । 
१५) बेरोजगारलाई रोजगारी । 
१६) विद्युत्को उपयोग देशभित्रै गर्ने र जलस्रोतबाट फाइदा लिने ।
१७) विदेशी चलखेल रोक्ने आदि ।
यी माथि दर्शाइएका बुँदा समेत लागु गरिएमा राजनीतिक गतिरोध हट्ने सम्भावना क्षितिजमा देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भुबहादुर अधिकारी
शम्भुबहादुर अधिकारी
लेखकबाट थप