सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
अर्थ

साताको सेयर बजार : ११२ अंकले बढ्दा २१ अर्बभन्दा बढीको कारोबार

शनिबार, १२ जेठ २०८१, १२ : ३२
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । यो साता सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचकमा ११२.७७ अङ्कको वृद्धि आएको हो । यो साता आइतबारदेखि बुधवारसम्म मात्रै कारोबार भयो । यो साढे ५ प्रतिशतको वृद्धि हो ।

आइतबारदेखि नै उत्साहजनक वृद्धि आउँदा नेप्से परिसूचक साताभरमा २१३१ अंकमा पुगेर रोकिएको छ । गत साताको बिहीबार परिसूचक २०१८ अंकमा पुगेर रोकिएको थियो । त्यसयता निरन्तर बढेको नेप्से परिसूचक १०० अङ्कभन्दा बढीले उकालो लागेको हो ।

आइतबार ४५.६९ अंकले बढेको नेप्से सोमबार २७.५४ अंकले बढ्यो । यस्तै मङ्गलवार २३.९४ अंकले बढ्दा बुधवार १५.५४ अङ्कको वृद्धि रह्यो । यो एकै सातामा आएको उच्च अङ्कको वृद्धि हो । सबै दिन उच्च अङ्कको वृद्धि हुँदा कारोबार रकम समेत ५ अर्ब रुपैयाँभन्दा माथि रह्यो ।

आइतबार ५ अर्ब २० करोडको कारोबार हुँदा सोमबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै मंगलबार ५ अर्ब १६ करोड र बुधवार ५ अर्ब ६६ करोडको कारोबार भएको थियो । समग्रमा यो साता नेप्सेमा २१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

जबकि गत साताको ५ दिनमा १५ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो । यो साता ४ दिन मात्रै कारोबार हुँदा पनि गत साताको तुलनामा ४ अर्बभन्दा बढीको कारोबार भयो । नेप्से परिसूचक ११२ अङ्कभन्दा बढीले बढेसँगै पुँजीकरण समेत बढेको छ ।

गत साता ३२ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्से पुँजीकरण ५ प्रतिशतले बढेर ३३ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यो १ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि हो । अघिल्लो साता नेपाल राष्ट्र बैङ्कले गरेको मौद्रिक नीतिको तेस्रो समीक्षापछि नेप्सेले गति लिन थालेको छ ।

यसबाहेक ब्रोकर कमिसन घटाउन सरकारले गरेको सकारात्मक पहलले समेत बजार बढाउनका लागि योगदान दिएको जानकारहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप