सुवर्ण शमशेरले ल्याएको ‘नेपालको पहिलो बजेट’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आज मुलुकको ७३ औँ वार्षिक बजेट ल्याउँदै छन् । २००८ सालदेखि सुरु भएको नेपालको बजेट इतिहासमा अर्थमन्त्री पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय व्ययसहितको वार्षिक बजेट ल्याउँदै छन् ।
आर्थिक वर्षका लागि १९ खर्ब हाराहारी बजेट ल्याउने तयारी सरकारले गरेको बुझिएको छ । तथापि, राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बढीमा १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउन सिलिङ दिएको थियो ।
खर्च गर्ने स्रोत खुम्चिएको अवस्थामा ठुलो आकारको बजेट ल्याउन नहुने राष्ट्रिय योजना आयोग र सरकार स्वयंको समेत बुझाई हो । नियमित तर फजुल खर्च कटौती, खर्च मितव्ययिता कायम गर्दै पुँजी खर्चमा जोड दिने सरकारको यस पटकको पनि रणनीति छ ।
खास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आर्थिक वर्षको बजेटले मुलुकभित्रै तीव्र रोजगारी सिर्जना गर्ने र गरिबी घटाउने जनाएको छ । कृषि, पर्यटन, ऊर्जा र आईटीलाई मुख्य केन्द्र भागमा राखेको बजेटले आर्थिक विकासका लागि आमूल परिवर्तनको खाका कोर्ने सरकारको दाबी छ ।
यसो भन्दैगर्दा ७२ वर्ष अघिको मुलुकको पहिलो बजेट कस्तो थियो त ? आउनुस्, अर्थमन्त्री सुवर्ण शमशेरले ल्याएका त्यो ५ करोड २५ लाख रुपैयाँ बराबरको मुलुकको पहिलो बजेटलाई एकपटक हेरौँ ।
- मुलुकको पहिलो बजेट, २००८
‘भइरहेको सम्पत्तिलाई बराबरीमा ल्याई वितरण गर्नुभन्दा बढ्ता मुलुकका साधनहरूको विकास गरेर सम्पत्ति बढाउनुमा नै आर्थिक संवृद्धि रहन्छ म भन्ने मान्दछु । तर मुलुकको सम्पत्ति बढाउँदा धनी र गरिबका बिचको अन्तरलाई झन् बढ्न नदिई क्रमशः साँघुरो बनाउँदै ल्याउनुपर्छ ।’ उल्लेखित यो पंक्तिबाटै थाहा हुन्छ कि मुलुकको पहिलो बजेटले कस्तो नीति लिएको थियो ।
अर्थमन्त्री सुवर्ण शमशेरले २००८ साल माघ २१ गते मुलुकको पहिलो बजेट ल्याएका थिए । यसअघि वार्षिक बजेट ल्याउने परिपाटी थिए ।
तत्कालीन समयमा अर्थमन्त्री सुवर्ण शमशेरले कूल ५ करोड २५ लाख रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएका थिए । २००८ सालदेखि २०१२ सालसम्मका सार्वजनिक बजेटले शान्ति सुरक्षा कायम राख्न, राजस्व सङ्कलन र दैनिक प्रशासन सञ्चालनलाई नै मुख्य केन्द्रमा राखेको थियो ।
खास गरी जनताको जीवनस्तर र दैनिकीसँग मुख्य सरोकार राख्ने मुद्दालाई पहिलो प्राथमिकतामा राखेर ल्याइएको पहिलो बजेटले आर्थिक, सामाजिक तथा राजनीति नीतिलाई दरिलो बनाएको थियो ।
३९ पृष्ठ लामो पहिलो बजेट वक्तव्यको ३७ पृष्ठमा अर्थमन्त्री शमशेरले लेखेका छन्, ‘अब सरकारको आर्थिक नीतिबारे म केही भन्न चाहन्छु । जनताको जीवनस्तर उठाउनु र प्रजाको सांस्कृतिक तथा सामाजिक जीवन बेहतर पार्नु सरकारको उद्देश्य छ । यो लक्ष्य पुर्याउन सामाजिक, सांस्कृतिक, आर्थिक र शासन व्यवस्था सम्बन्धी सारा कार्यक्षेत्रलाई ढाक्ने विचारपूर्वक सम्पूर्ण कार्यक्रम मिलान गरिएको एक योजना सरकारले तयार गर्नेछ’ शमशेरले थप भनेका छन्, ‘अमिल्दो र मन नपर्दो कार्य हुन दिनेछैन । हाम्रो कार्यक्रम कुनै वादको आर्थिक विचारबाट प्रभावित नभई विल्कुल थोरै समयमा ज्यादामा ज्यादा फाइदा दिने वास्तविक नीतिको आधारमा रचिनेछ । गम्भीरतापूर्वक विचार गरेर सरकारले मिश्रित आर्थिक शोषण रोक्न साराका निमित्त समान अवसर प्रदान गर्ने र धनको न्यायसङ्गत वितरण गर्ने सरकारको निर्धारित नीति छ’ उनले भनेका थिए ।
तत्कालीन समयमा निजी क्षेत्र उद्योग तथा व्यापारलाई समेत जोड दिएको बजेटले ‘निजी उद्योग र व्यापार (प्राइभेट इन्टरपेनेरसिप) का निम्ति समेत प्रशस्त गुञ्जायस रहनेछ’ बजेट वक्तव्यमा भनिएको थियो ।
- वैदेशिक सहायताको विषयमा
तत्कालीन सरकारले बजेटमार्फत नै प्राप्त विदेशी आर्थिक तथा प्राविधिक सहयोगलाई स्विकार्ने र मुलुकको हितका लागि सोको खोजी गर्ने समेत उल्लेख गरेको छ ।
पृष्ठ ३६ मा यस बारे उल्लेख गर्दै अर्थमन्त्री शमशेरले भनेका छन्, ‘हामीले सामना गर्नुपर्ने विघ्नबाधाहरू धेरै छन् । तीमध्ये एउटा आधुनिक शासन बुझेका र विविध विभागहरूको काममा तालिम पाएका कर्मचारीहरूको अभाव हो । हामीसँग विभिन्न कामहरूका निमित्त चाहिने उच्च कोटीका विशेषज्ञ र व्यावसायिक निपूर्णता प्राप्त मानिस पनि चाहिए जति छैनन् । यसकारण हामीले भारत र अन्य देशमा तालिम पाएका मानिसहरू ल्याउने प्रयत्न गरेका छौँ र प्वाइन्ट फर प्रोग्राम (स्वीस् टेक्निकल एआईडी प्लान) कोलोम्बो इत्यादि विभिन्न अन्तर्राष्ट्रिय सहायता योजनाहरूबाट सकेसम्म फाइदा उठाउन खोजिरहेका छौँ’ बजेट वक्तव्यमा भनिएको छ ।
‘राष्ट्रको निर्माण गर्नुपर्ने भएकाले हामीलाई उकालो परेको छ । अतः आफ्ना जनताले उचित शिक्षा र तालिम नपार्दासम्म हामीले अनुभवी र तालिम पाएका मानिसहरूको अन्य मुलुकबाट सहायता माग्नु अत्यावश्यक छ’ वक्तव्यमा भनिएको छ, ‘अरू देशहरूले पनि यस्तै किसिमबाट खाँचो टारेका हुनाले तालिमी मानिसहरूको सहायता माग्नु हामीले लाज मान्नुपर्ने कारण छैन’ समेत भनिएको छ ।
अर्को समस्या भौतिक साधनहरूको (मेट्रियल सोर्सेज) छ । यद्यपि हाम्रो मुलुकमा सबै किसिमका खनिज र अरू प्राकृतिक साधनहरू यथेष्ट मात्रामा पाइन्छन् र तिनबाट ठुलो लाभ उठाउन सकिने प्रशस्त गुञ्जायस । तथापि यस्तो सोर्सेज प्रयोग गर्न कल पुर्जा सरसामान र अरू आवश्यकीय उपकरणहरूका निमित्त अरू देशको भर पर्न परेको उल्लेख गरिएको छ ।
विकास निर्माण तथा भौतिक पूर्वाधारको विकासमा २०१३ सालपछि मात्र योजनाबद्ध रूपमा लागेको नेपालले आर्थिक वर्ष २०१३/१४ देखि पञ्चवर्षीय योजनाको थालनी गरेको हो । प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा आएपछि सोही योजनाको लक्ष्य प्राप्तिका लागि बजेट व्यवस्थापनको चलन सुरु भएको हो । अहिले हामी १५औँ पञ्चवर्षीय योजना सम्पन्न गरी १६औँ पञ्चवर्षीय योजनको सुरुवातमा छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण