शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संवैधानिक नियुक्ति प्रहरण

अख्तियारसहित ५२ संवैधानिक नियुक्ति विवादबारे चार वर्षदेखि सर्वोच्चमै अल्झियो मुद्दा

अवकाश हुँदासम्म पनि फैसला नहुने डर
शुक्रबार, १८ जेठ २०८१, १९ : १३
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दा संवैधानिक इजलासमै ३ वर्षभन्दा लामो समयदेखि अल्झिएको छ ।

तत्कालै नियुक्ति हुनुपर्ने भन्दै सर्वोच्च अदालतले नै उतिबेला पेसी सार्न नपाउने आदेश गरे पनि उक्त मुद्दा सर्दै आएको छ । अन्तिम पटक २०८० मंसिर २० गते उक्त मुद्दामा सुनुवाइको पेसी तोकिएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याल संवैधानिक इजलासमा बहस हुने सम्भावना देखेर सम्पूर्ण तयारीका साथ सर्वोच्च अदालत पुगेका थिए । २०७७ सालको नियुक्तिविरुद्ध उनीसहित तत्कालीन सभामुख अग्नि सापकोटासमेतले दायर गरेको रिटमा अन्तिम सुनुवाइका लागि सबै अङ्ग पुगेकाले उनी फैसलाको आशा बोकी बहसका लागि नजिरसहित बोकेर पुगेका थिए ।

मुद्दा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो ।  तर मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भयो । 

सातामा दुई पटकमात्र पेसी तोकिने संवैधानिक इजलासमा २ नम्बरमा पेसी तोकिए पनि सुनुवाइ नभएपछि उनी निराश हुँदै फर्के ।

संविधानको व्याख्यासँग जोडिएको विवाद हेर्ने उक्त इजलासमा बुधबार र शुक्रबारमात्र पेसी तोकिन्छ ।  संवैधानिक इजलासमा करिब ४०० थान मुद्दा छन् भने सुनुवाइका लागि पेसी तोकिए पनि मुस्किलले पालो आउने गर्दछ ।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । २०७७ मंसिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।

त्यस्तै, २०७८ वैशाखमा पनि संवैधानिक परिषद्का अध्यक्ष (तत्कालीन प्रधानमन्त्री ओली) र २ सदस्य (राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा) बसेर विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । यसरी सिफारिस भएका व्यक्तिहरूले संसदीय सुनुवाइ नै नभइ नियुक्ति पाएका थिए ।

संसद्‌ विघटन गर्नु अगाडि ओलीले गरेका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । २०७७ पुस ९ देखि नै रिटहरू दायर भएका थिए । संवैधानिक निकायहरूमा भएका नियुक्तिविरुद्ध तत्कालीन सभामुख अग्नि सापकोटासहितले १५ थान रिट दायर गरेका थिए ।

ती रिटमा प्रारम्भिक सुनुवाइदेखि प्रतिवादी र वादी दुवै तर्फका लिखित जवाफसमेत पेस भइसकेका छन् । सर्वोच्च अदालत आफैँले उक्त मुद्दालाई तत्कालै किनारा गर्नू भनेर आदेश पनि दिएको थियो । तर ३ वर्षदेखि यो मुद्दा इजलासमा पेसी चढ्ने र सुनुवाइ नै नहुने हुँदै आएको छ । लामो समयदेखि संवैधानिक इजलास कहिले नबस्ने, कहिले पेसी नै नतोकिने हुँदै आएको छ ।

३२ औँ पटक पेसी, तर भएन फैसला

यो मुद्दामा अन्तिम पटक २०८० मंसिर २० गते पेसी तोकिएको थियो । उक्त दिन हेर्न नभ्याउने हुँदै स्थगित भयो । यो मुद्दा हेर्न नभ्याउने भएको यो पाँचौँ पटक थियो ।

आगामी सुनुवाइको पेसी जेठ ३० गते तोकिएको छ । उक्त दिन पालो आएमा अन्तिम सुनुवाइ हुनेछ । तर यसअघि नै दर्ता भएका पुराना मुद्दा सुनुवाइ हुन बाँकी नै रहेका कारण त्यस दिन पालो नआउन सक्ने देखिन्छ । उक्त दिन सुनुवाइ नभए फेरि कम्तीमा तीन महिनाका लागि पेसी सर्नेछ ।   

२०७४ सालको निर्वाचनका रिटहरू समेत विचाराधीन अवस्थामा संवैधानिक इजलासमा रहेकाले त्यसपछि दर्ता भएको यो मुद्दाको पालो आउन मुस्किल रहेको सर्वोच्च अदालतका अधिकारीहरूको भनाइ छ । हालसम्म यो मुद्दामा ३२ पटक पेसी तोकिएको छ भने तीन  पटक आदेश भएको छ ।

प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले सुनुवाइ गर्ने यो मुद्दामा २०७८ चैत ९ गते लिखित जवाफ मगाएर अन्तिम फैसला सुनाउने भन्दै आदेश भएको थियो । त्यसपछि एक पेसीमा निर्णयको फाइल मगाउने आदेश भएको थियो भने दोस्रोमा पनि फाइल मगाउने आदेश गरेको थियो ।

यो विवाद तीन प्रधान न्यायाधीशहरूले टुङ्गो लगाउने कोसिस गरे पनि सकेनन् । तत्कालीन समयमा चोलेन्द्र शमशेर राणा आफैँले टुङ्गोमा पुर्याउन खोजेका थिए । तर तत्कालीन समयमा उनी संलग्न भएर सुनुवाइ हुन नमिल्ने भन्दै अलग हुनुपर्ने प्रश्न उठ्यो । यो विवादले लामो समय अल्झायो । यो समस्या समाधान हुँदा राणाविरुद्ध महाभियोग दर्ता भयो । उनीपछि कामु प्रधान न्यायाधीशको रूपमा दिपककुमार कार्कीले सर्वोच्चको नेतृत्व सम्हाले । केही पेसी उनको नेतृत्वमा पनि तोकियो । तर उनी संलग्न इजलासले पनि टुङ्गोमा पुर्‍याएन । उनीपछि हरिकृष्ण कार्की प्रधान न्यायाधीशको रूपमा आए । उनको नेतृत्वमा पनि संवैधानिक इजलासमा पेसी तोकियो तर सुनुवाइ भएन । हाल विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चको नेतृत्व गरिरहेका छन् ।

श्रेष्ठको नेतृत्वमा २०८० भदौ ५ र मंसिर २० गते संवैधानिक इजलासमा पेसी तोकियो तर दुवै पटक हेर्न नभ्याउने हुँदै स्थगित भयो । अब तेस्रो पटक श्रेष्ठकै नेतृत्वमा पेसी तोकिन्छ ।

किन समयमा टुङ्गो लागेन मुद्दा ?

यो विवाद अदालतमाात्र नभई राजनीतिक दल र संवैधानिक निकायसँग पनि जोडिएकाले फैसला गर्नेभन्दा पन्छाउनेतिर गएको हुन सक्ने निवेदकहरूको आरोप छ । तत्कालीन सभामुख सापकोटा, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले तत्कालीन सरकारले संविधान मिचेको दाबी गरेर रिट दायर गरेको र संविधानको व्याख्या गर्ने अदालतले यसरी लामो समयसम्म अल्झाउन नहुने पूर्वन्यायाधीशहरूको धारणा छ । 

संविधान मिचिएको र संरक्षण गर्ने अदालतले यसमा तत्काल प्राथमिकता दिएर सुनुवाइ गर्नुपर्ने उनीहरूको तर्क छ । तर समयमा न्यायाधीश नहुँदा पनि यो मुद्दाको सुनुवाइ हुन सकेन । त्यस्तै पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता भएर निलम्बन भएका कारण पनि यो मुद्दा लामो समय रोकियो । संवैधानिक इजलासमा प्रधान न्यायाधीश अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र कामु प्रधान न्यायाधीशले न्यायालय चलाउनु पर्दा पनि यो मुद्दा लामो समयदेखि टुङ्गो लाग्न सकेन । 

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा समेत प्रश्न बाँकी नै

यो विवाद राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत जोडिएको छ । केही समय अगाडि मानव अधिकार आयोगहरूको संस्था ग्लोबल अलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटाउनका लागि यही विवादका कारण सिफारिस गरेको थियो । गानरीले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘क’ श्रेणीबाट घटुवा गर्न सिफारिस गरेको थियो ।

यद्यपि नेपालले गरेको अनुरोध स्वीकार गर्दै गानरी आफ्नो सिफारिसबाट पछि हटेको थियो । तर यो दीर्घकालीन भने होइन । गानरीले नेपाललाई एक वर्षको समय दिएको छ । एक वर्षका लागि राष्ट्रिय मानव अधिकार आयोगको स्तर खस्किनबाट जोगिएको हो । 

नेपालको राष्ट्रिय मानव अधिकार आयोग अन्तर्राष्ट्रिय रूपमै स्तर खस्किने अवस्थामा पुग्नुको पछाडि भने ओली नेतृत्वको तत्कालीन सरकारले गरेको नियुक्ति प्रमुख कारण थियो । मानव अधिकार आयोगमा संविधानले तोकेको योग्यता नपुगेका र संसदीय सुनुवाइ जस्ता पारदर्शिता अपनाउनुपर्ने प्रक्रिया पूरा नगरेका व्यक्ति नियुक्त भएको भन्दै गानरीमा उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि हुने आधार पनि भेटिएको थियो । तर सरकारले सर्वोच्चको मुद्दा फैसला भए लगत्तै पारदर्शी रूपमा अदालतको फैसला सम्मान गरेर नियुक्ति गर्ने बचन दिएको छ । सोही बचन कार्यान्वयनको आधारमा गानरीले निर्णय गर्नेछ ।

त्यस्तै अख्तियारसहित निकायको नियुक्तिलाई ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका अन्तर्राष्ट्रिय निकायले प्रश्न गरिरहेका थिए । सर्वोच्चले गर्ने फैसलाले भविष्यमा नियुक्तिको लागि निश्चित मापदण्डसमेत बनाउने रूपमा हेरिएको छ । यही कारण यो मुद्दा राष्ट्रिय रूपमामात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि हेरिएको मानव अधिकारकर्मी चरण प्रसाईंले बताए ।

मानव अधिकार आयोगसहित सम्पूर्ण राज्य संयन्त्र र प्रजातन्त्रकै बारेमा यो फैसलाको आधारमा अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि कायम राख्ने उनको बुझाइ छ । 

के थियो विवाद ?

तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७७ मंसिर ३० गते आफू अनुकूल हुनेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्यायो । सोही दिन साँझ संवैधानिक परिषद्को बैठक बोलाइयो । बैठकपछि कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस नभएको दाबी सार्वजनिक रूपमा गरियो । तर गोप्य राखिएको सो बैठकबाट भएका सिफारिसहरू पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएसँगै सार्वजनिक भयो । सोही दिन संसद् सचिवालयलाई सुनुवाइका लागि पत्र पठाइएपछि नियुक्तिका लागि सिफारिस भएको तथ्य सार्वजनिक भयो ।

सिफारिसमा परेकामध्ये ३२ जना आ–आफ्नो पदमा नियुक्त भए र कार्यभार सम्हाले भने बिहान ९ बजे नै उनीहरूलाई शपथ खुवाइएको थियो । कार्यालय समय सुरु भएपछि अदालतले रोक्ने वा विरोध हुने देखेपछि सरकारले त्यसअघि नै उनीहरूलाई शपथ खुवाएको थियो ।

अध्यादेशमार्फत् प्रधानमन्त्रीलाई सहज हुने प्रावधान राखिएको थियो । जसमा ओलीले आफूसहित अरु २ जनाको उपस्थितिमा निर्णय लिन सक्थे । मंसिर ३० मा भयो पनि त्यस्तै । तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन प्रधान न्यायाधीश राणा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष तिमिल्सिना उपस्थित भएर निर्णय गरिएको थियो ।

परिषद्को बैठकबारे सभामुख अग्निप्रसाद सापकोटाले आफूलाई जानकारी नै नदिइएको सार्वजनिक रूपमै बताइसकेका छन् । सो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासमेत अनुपस्थित थिए । नियमित प्रक्रियाबाट संसदीय सुनुवाइ हुन पाएको भए ती सिफारिसहरू अनुमोदन हुन सक्ने सम्भावना थिएन । त्यसैले प्रतिनिधि सभा विघटन हुने दिनसम्म त्यसलाई लुकाइएको थियो । मंसिर ३० गतेको बैठकपछि सञ्चार माध्यमलाई दिएको प्रतिक्रियामा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कुनै पनि नियुक्ति नभएको बताएका थिए ।

प्रतिनिधि सभा जीवित हुँदा लुकाइएको सिफारिसहरू पुस ५ मा एकाएक सार्वजनिक भएपछि गैरकानुनी कार्य भएको भन्दै आलोचना सुरु भयो । संसद्‌ सचिवालयमा जानकारी भएको ४५ दिनमा स्वतः नियुक्तिका लागि शपथ गराउन सक्ने नियमावलीको व्यवस्थालाई टेक्न सरकारले यस्तो कार्य गरेको थियो ।

यसअघि मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम मिया अन्सारीको नजिर पछ्याउँदै नियुक्तिका लागि ओली सरकारले यस्तो गरेको थियो । तत्कालीन समयमा संसदीय सुनुवाइ समितिले निर्णय लिन नसक्दा ४५ दिनपछि अन्सारी स्वतः अनुमोदित भएका थिए । तर उनको बारेमा सुनुवाइ समितिमा छलफल भने भएको थियो ।

के छ संविधानमा व्यवस्था ?

संविधानको धारा २९२ मा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था छ । अन्तरिम संविधानपछि यो व्यवस्था निरन्तर चल्दै आएको छ । उक्त धाराको उपधारा १ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुने भनिएको छ ।

त्यस्तै, धारा २९२ को उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसद्का दुवै सदनका सदस्यहरू रहने गरी संघीय कानुन बमोजिम १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने भनिएको छ । संसद् विघटन हुनुअघि नै सिफारिस भएकाले तत्कालीन अवस्थामा भएको नियुक्तिमा संविधानको उल्लङ्घन भएको संविधानका जानकारहरू बताउँछन् ।

नियुक्तिमाथि प्रश्न

संवैधानिक निकायमा यसरी भएका नियुक्तिले संविधान, संसदीय अभ्यास, कार्यविधि सबै मिचिएको र सिङ्गो प्रक्रिया असंवैधानिक रहेको कानुनविदहरूले बताउने गरेका छन् । सर्वोच्चसम्म पुगेका मुद्दामा पनि यही जिकिर गरेर नियुक्ति खारेज हुनुपर्ने माग गरिएको छ ।

संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संशोधन गरेर बहुमतका भरमा नियुक्तिको सिफारिस गर्न सकिने बनाउनु नै असंवैधानिक कदम रहेको कानुनविद्हरूको तर्क छ ।

आफूनिकट व्यक्तिलाई हतार–हतार नियुक्त गर्न ल्याइएको अध्यादेशले संविधानको भावना र मर्म नबोक्ने कानुनविद्हरू बताउँछन् । संविधानले प्रतिपक्षी दल, सभामुख र अन्य व्यक्ति परिषद्को बैठकमा उपस्थित हुनैपर्ने परिकल्पना गरेको भन्दै यसले संवैधानिक निकाय स्वतन्त्र र संवैधानिक दायित्व अनुसार चल्छन् भन्ने अपेक्षा गरिएको उनीहरूको तर्क छ । रिटमा पनि यो कुरा उठाइएको छ ।

तत्कालीन सभामुख अग्नि सापकोटाले आफूलाई समेत संलग्न नगराई गरेको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै आफैँ रिट लिएर सर्वोच्च पुगेका थिए । सभामुखले रिट दायर गरेको पहिलो पटक थियो । संवैधानिक परिषद्को बैठकमा उपस्थितका लागि समयमै जानकारी नदिएको, जानकारी नै नदिई अध्यादेश मार्फत नियुक्तिको निर्णय गर्नु गैरकानुनी भएको जिकिर गर्दै उनले सबै नियुक्ति बदर हुनुपर्ने माग गरेका थिए ।

सभामुखको रिटमा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ मगाएर संवैधानिक इजलासमा साथै राख्नका लागि पठाइएको थियो ।

संसदीय सुनुवाइ बेगर नियुक्ति

संविधानको धारा २९२ ले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी सिफारिसको संसदीय सुनुवाइ हुने व्यवस्था गरेको छ । तर पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै दुवै सदनको संयुक्त सुनुवाइ समिति (संसदीय सुनुवाइ विशेष समिति) अस्तित्वमा थिएनन् । विघटन गरिएकै दिन सार्वजनिक गरिएका ती नियुक्तिका सिफारिसको सुनुवाइ पनि त्यसपछि हुन सकेन ।

ओली नेतृत्वको तत्कालीन सरकारले भने नियमानुसार ४५ दिनसम्म सुनुवाइ हुन नसके स्वतः नियुक्ति गर्न मिल्ने तर्क अघि सारेको थियो । संघीय संसद्‌ नियमावलीको नियम २६ (२) ले सुनुवाइ समितिले ‘नियुक्तिसम्बन्धी सिफारिसको पत्र प्राप्त गरेको ४५ दिनभित्र सुनुवाइ हुन नसकेमा’ भन्ने उल्लेख गरेको छ । तर, तत्कालीन अवस्थामा सुनुवाइ समितिले सो पत्र प्राप्त नै गरेको छैन ।

योभन्दा पहिले ११ जना न्यायाधीशको सुनुवाइको कार्य पनि सुनुवाइ समिति नभएकाले ६ महिनासम्म अवरुद्ध भएको थियो । सुनुवाइ छल्न पाउने सुविधा संविधानले नदिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप