शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

‘द्वन्द्वपीडित महिलाहरूले अनुहार छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य होस्’

शनिबार, २६ साउन २०८१, १३ : ०४
शनिबार, २६ साउन २०८१

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ देवी खड्काले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पीडित मैत्री भएको बताएकी छिन् । 

शनिबार काठमाडौँमा आयोजित ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै नेतृ खड्काले राजनीतिक रूपमा सहमति भएर अघि बढेको विधेयकले पीडितको घाउमा मलहम लगाउने उल्लेख गर्दै समाज परिवर्तनको प्रक्रियामा इट्टा थप्ने काम गरेको बताइन् । 

उनले भनिन्, ‘अहिलेको टीआरसी सम्बन्धी विधेयक संशोधन गर्ने कार्यदलले दिएको प्रस्तावमा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाहरूमा जबरजस्ती करणी र बलात्कारका घटनाहरूलाई पनि समावेश गरिदिनुभएको छ । सजाय छुट गर्ने सन्दर्भमा गम्भीर यौनजन्य हिंसाको हकमा लागू हुने छैन भन्ने कुरा राखिदिनुभयो । महिलामाथि हुने हिंसाको मात्रै घटना होइन, सामाजिक परिवेश, पितृसत्तात्मक सोच र मूल्य मान्यताको विरुद्ध कसरी लड्ने र समाज परिवर्तनको पाइलामा इट्टा थप्ने काम दस्ताबेजले गरेको छ । द्वन्द्वपीडितको घाउमा मलहम लगाउने प्रस्ताव त्यस दस्ताबेजमा समावेश गरिएको छ । यसलाई पारित गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छाैँ।’

आफूहरू टीआरसी सम्बन्धी विधेयक अगाडि बढाउन लामो समयदेखि सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उनले अब द्वन्द्वपीडित महिलाहरूले अनुहार छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् । 

‘अब घटनामा परेर पीडित हुने महिलाहरूले अनुहार छोपेर हिँड्नुपर्दैन । पीडकहरूले अनुहार लुकाउन नपरे पनि छलेर हिँड्नुपर्ने अवस्था आयो भने समाज ठिक ठाउँमा पुग्छ’ उनले भनिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप