आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय
कला

नवीनाको ‘इकोज फ्रम द ल्यान्ड अफ मेमोरिज’ अर्थात् ओखलढुङ्गाको प्रतिध्वनि

आइतबार, २७ साउन २०८१, ०७ : ३०
आइतबार, २७ साउन २०८१

नवीनाले पहाडी वास्तुकला अर्थात्  आफ्नी बज्यैको परिवेशलाई आफ्ना चित्रमा ल्याएकी छन् । बुढी बज्यैले भन्ने कथा, लोकगाथा, उनले बाँचेको जीवन, परम्परा वा संस्कृति आदि नवीनाका कलामा आएको आभास हुन्छ । 

‘इकोज फ्रम द ल्यान्ड अफ मेमोरिज’ नाम दिएर भर्खरै (जुलाई १३ देखि २८ सम्म) युवा कलाकार नवीना सुनुवारको प्रिन्ट मेकिङका काम (श्वैत–श्याम उडकट) प्रदर्शन गरियो, लाजिम्पाटस्थित तक्पा ग्यालरीमा । 

पुख्र्यौली थलो ओखलढुङ्गाका सम्झनाहरू नवीनाका काममा प्रतिध्वनित भएका छन् । 

IMG_20240713_151254__01 (1)

यस प्रदर्शनीको औपचारिक शुभारम्भ गरिएन । हामी ७० नाघेका दुई कलाकार (राधेश्याम मुल्मी र म) समयमै पुगेका रहेछौँ । हामीलाई विधिवत् रुपमा स्वागत गरेपछि नवीनाले आफ्ना कामहरू देखाइनन् मात्रै, धेरथोर व्याख्या पनि गरिन् । उनले हामीलाई अघिल्तिर लगाएपछि उपस्थित भावक, दर्शक तथा कलाकारले प्रदर्शनीको शुभारम्भ भएको ठानेको हुनुपर्छ । युवा कलाकारका यस्ता सोलो प्रदर्शनीहरूको फरक ढंगले शुभारम्भ हुनु पछिल्लो समय स्वाभाविक भइसकेको छ ।

हामीले सबैजसो कलालाई नियाल्यौँ । हामीले कला अवलोकन गरिरहँदा उपस्थित युवा कलाकारको सानो जत्थाबिच कला अवलोकन गर्दै खासखुस कुराकानी भएको सुनिन्थ्यो । यसबाहेक कलाको थप चर्चा गरिएन । प्रदर्शित कलाबारे त्यहाँ दस्ताबेज केही थिएनन्, त्यसैले पनि चर्चा–परिचर्चाको माहोल बनेन । सहजै बुझिने मूर्त चित्रहरू भएकाले पनि त्यति छलफल नभएको हुन सक्छ । 

हिजोआजका कला प्रदर्शनीमा कलाकृति डिस्प्लेको प्रकृतिमा बढी मात्रामा देखिन्छन् । कलाकार स्वयं र कला ग्यालरीका सञ्चालक आदिमा औपचारिक कार्यक्रमको मोह घटेको छ । कलाको चर्चा र विश्लेषणबाट अचेल टाढा बस्न खोजेको देखिन्छ । बरु कलाको व्यवसायका लागि आकर्षक वातावरण बनाउन सबैजसो तल्लीन हुने गरेको देखिन्छ । अचेल भित्तामा चित्र टाँगिन्छन्, अवलोकनका लागि दर्शक आउँछन्, बिक्रीका लागि राखिएका कलालाई कतिपयले किन्छन् पनि । यसबाहेक कलाकारहरूबिच भेटघाट र गफगाफको संयोग मिल्छ, चिसो–तातो खान्छन् । यसपल्ट यही भयो । 

  • झ्यालबाट सुरु भएको कथात्मक–कला 

एउटा पुरानो घरको कलात्मक झ्याल, जो स्थानीय लसिलो माटोको गारोमा टाँसिएर धमिलो गरी बसेको देखिन्छ । यसबाहेक चित्रपटमा अरु चिज झट्ट देखिँदैनन् । तेर्साे सपाट होरिजन्टल रेखाहरूका कारण उनका चित्र झट्ट हेर्दा अमूर्त भएको दृष्टि–भ्रम हुन्छ । यद्यपि अलि परबाट हेर्दा उनका चित्र पूर्णतः यथार्थतामा वशीभूत भएका देखिन्छन् । 

अन्य कति चित्रहरूमा यस्तै भर्टिकल लाइनहरू देखिन्छन् । मात्र काला–सेता रंग अनि स्वाभाविक रेखाका रेसा बन्दा चित्रमा घाम–छायाको प्रभाव परेको देखिन्छ । यस्तो प्रभावलाई धेरै टाढा पारेर यथार्थ झल्काउने उनका चित्र अति विस्तारमा कुँदिएका देखिन्छन् । १९औँ शताब्दीको मध्यतिरका प्रभाववादी चित्रमा घाम–छायाको विषय मूल रूपमा उठाइएको थियो ।

उनका चित्रले चहलपहलविनाको सुनसान आभास गराउँछन् । जीवजन्तु कतै नदेखिँदा निर्जीव विषयको उठान पनि उनको खास विशेषता बन्न गएको छ । यथार्थ दृश्यावलोकन भए पनि उनका चित्र यथार्थवादी होइनन् । बरु थोरै कन्सेप्चुयल आर्टतर्फ ढल्कँदा उनका सिर्जना एक तमासका देखिन्छन् । चित्रमा आएको झ्यालले धेरै पुरानो समय वा स्मृतितिर बगाएको आभास हुन्छ । 

पहिले दुःखसुखले बनाएको घरको झ्यालमा केही न केही कला कुदिएकै हुन्थे । अहिलेको आधुनिक भाषामा यसलाई ‘इन्टेरियर डेकोरेसन’ भन्ने गर्दछौँ ।

झ्यालबाट भित्र वा बाहिर भए भाँतीमा अन्य चित्र आएका छन् । थुन्से, डोका, मकैका घोँगा, ढोका आदिमा कलात्मकता देखिन्छ । कलाकारले तिनै परिदृश्यलाई पुनः अलग्ग संयोजनमा चम्किलो बनाएर ल्याएकी छन् । यही युनिक कलागत संरचनाले उनका चित्रमा थुप्रै कथा–व्यथा त्यसै उम्लिरहेको जस्तो देखिन्छ । अझ भनौँ सिंगो ओखलढुङ्गाकै परम्परा र आन्तरिक सुगन्धलाई उनले आफ्ना कलामा उतारेकी छन् । 

अर्को चित्र छ, घरभित्रका माटाका खुड्किलाहरू, मात्र माटाका खुड्किलाहरू अन्य केही देखिन्न, यसको संरचना अझ अचम्मको छ । चित्रपटमा सम्पूर्णता खोज्नेका लागि यो चित्र अद्भुत लाग्नेछ । 

हिजोआज विशेषतः युवा कलाकारले आफ्नो विगतका स्मरणलाई कलाको विषय बनाउने एक प्रकारको प्रचलनजस्तो भएको छ । हजुरबा–हजुरआमाले प्रयोग गर्ने विभिन्न सामग्रीलाई कलाको विषयवस्तु बनाउन आजका युवा कलाकार बढी इच्छुक देखिन थालेका छन् । 

नवीनाले पहाडी वास्तुकला अर्थात्  आफ्नी बज्यैको परिवेशलाई आफ्ना चित्रमा ल्याएकी छन् । कलाकारले देखिएका वस्तुलाई मात्र समेट्दैनन्, आफूमा आएका विचारलाई समेत समेट्न खोज्छन् । यसले गर्दा नवीनाका कला स्वाभाविक हुँदाहँुदै पनि अलिकता अस्वाभाविक देखिन गएको छ । यस्तायस्तै वैचारिक अवधारणा, विचारलाई यथार्थ रूपमा उनले आफ्नो कलामा पस्किँदा देखिन गएको प्रकृति थोरै अनौठो पनि लाग्छ । 

बुढी बज्यैले भन्ने कथा, लोकगाथा, उनले बाँचेको जीवन, परम्परा वा संस्कृति आदि नवीनाका कलामा आएको आभास हुन्छ । यसर्थ उनका चित्रहरू भाव र भावना होइनन्, अवस्थाले जन्माएको विचारहरूको अभिव्यक्ति हुन् । यस कारण पनि उनका चित्र सरल सामान्य देखिन्छन् । छानी–छानी पात्रलाई क्यानभासमा ओराल्दा, संयोजन वा संगठित गर्दा बन्न गएको वैकल्पिक कलाको गुणहरूलाई उनका कलामा सहजै छाम्न सकिन्छ । आजको वैकल्पिक कला भनेको कलामार्फत अभिव्यक्ति दिनु वा दुखेसो पोख्नु मात्रै होइन, अनुभवबाट विचार निर्माण गरी चित्रद्वारा सकारात्मक परिवर्तनका लािग वकालत गर्नु हो । 

IMG_20240728_121409 (1)

आफ्ना चित्रबारे नवीना भन्छिन्, ‘मेरो गाउँमा छाएको शून्यता, वा खाली घरहरू र बाँझा खेतबारीहरू एकातिर छन्, अर्कोतिर यी चित्रले त्यसमै भरीपना वा जीवन ब्युँझाउने कोसिस गरेका छन् ।’

सामान्य आँखाले झट्ट हेर्दा उनका चित्र आम मान्छेले सहजै बुझ्न वा महसुस गर्न सक्छन् जस्तो लाग्छ, त्यसो हुँदा यी चित्रको व्याख्या किन आवश्यक पर्‍यो र भन्ने पनि लाग्छ । 

झ्यालमा ओछ्याइको सुकुल, त्यससँगै बसेको कुकुर, झुन्ड्याइएका मकैका घोँगा आदिले उनको कलामा स्थानीयता र  मौलिकता झल्कन्छन् । त्यस कारण यी कला अवलोकन गर्ने भावकले पनि अपनत्व महसुस गर्छन् । 

झट्ट हेर्दा उनका कलामा निख्खर श्वेत–श्याम प्रिन्ट मेकिङका कामहरू देखिन्छन् । कलाको यो विधामा काम गर्दा प्रविधिले बढी मात्रामा थिच्ने गर्छ । कलाकारकै अनुसार पनि एउटा चित्र बनाउन उनलाई एक महिना लाग्यो रे । केमिकल, मेटल प्लेट अनि मेसिन (प्रिन्ट मेकिङ मेसिन), कागज र मसीहरूसँग खेल्दाखेल्दै एउटा चित्र निकाल्न दिन वा रात बितेको पत्तै हुँदैन । निरन्तर ध्यानमग्न भएर सचेतना र दक्षताका साथ काममा लाग्नुपर्छ । काम गर्दै जाँदा आफ्नो भावनामा चोट लागे पनि तत्क्षणै अभिव्यक्त गरिहाल्छु भन्न पाइँदैन । निरन्तर मिहिनेत गरिरहनुपर्ने अनि खर्चालु विधा भएकाले यसमा लाग्ने कलाकार कम देखिन्छन् ।

तीन देशका कला एकै ठाउँमा 
यही बिचमा (जुलाई २४–२८ सम्म) भारतको एउटा सानो कला समूह ‘स्प्रेड विङ्ग्स’ले नेपाल आर्ट काउन्सिलमा तीनवटा राष्ट्रका महिला कलाकारको कलाहरूलाई समेटेर एउटा सामूहिक कला प्रदर्शनीको आयोजना गर्‍यो । नेपालबाट २३, बंगलादेशबाट १२ र भारतबाट २० कलाकार यस कला प्रदर्शनीमा सम्मिलित भए । यस प्रदर्शनीमा समसामयिक कलाकारका चित्र समावेश भएका थिए । त्यसो हुँदा ठाउँ विशेषका वस्तु, दृश्य अनि कलाकारको भाव–भावना हरेकजसो चित्रमा समावेश भएको देखिन्थ्यो । बंगलादेशी कलाकार उम्मे हबिबा एउटा युुनिक विषयका साथ देखापरेकी थिइन् । उनको चित्रमा चहकिला राता र हरिया रङमाथि फूलहरूले सजाइएको रिक्सा युनिक लाग्थ्यो । उनका अन्य अमूर्त कलामा पनि रिक्साले प्रवेश पाएको छ । ढाकालाई रिक्साको सहर भन्ने प्रचलन पनि छ । यस्तै, लुब्ना हबिबका अमूर्त कलाभित्र पनि दृश्य एउटा ढंगले प्रकट भएको देखिन्थ्यो । उनको लोककलाभित्र पनि रिक्साले विषयगत रूपमा ठाउँ पाएको छ । एकताका बंगलादेशमा ‘रिक्सा आर्ट मुभमेन्ट’ भनेर समसमायिक कलामा कला आन्दोलन नै भएको थियो । बङ्गलादेशकै तास्लिमा अख्तर मिशु स्वैरकाल्पनिकताले भरिएको चित्र संरचनामा लयात्मक ढंगले देखापरेकी थिइन् । कलालाई थप सिँगार्ने उपक्रम पनि देखापर्दा उनका चित्र बेग्लै आकर्षक देखिएका थिए ।  यता नेपालबाट सरिता देवी मण्डलका मिथिला कला, प्रतिभा पोखरेलको फ्लो, शरोजा खड्गीका व्यक्तिचित्रहरू, आर्य राजभण्डारीका हाथी पनि आकर्षक नै देखिन्छन् ।  यसबाहेक नेपालबाट चाँदनी बज्राचार्य, सालिनी पाण्डे,  राखी कर्ण, सुभद्री सुब्बा, हिमानी प्रधान, शुष्मा श्रेष्ठ, श्रेया हाडा श्रेष्ठ, गंगा सुवेदी, अनुराधा थापा, यशोधा लम्साल, बन्दना कनक, सरला श्रेष्ठ, जुनुमाली श्रेष्ठ, मनरा प्रजापति, ज्योति के सापकोटा, सुुस्मिता जिमी आदिका चित्र थिए ।  भारतका देवीका शाहका पारदर्शी फूलहरू लगायत बुद्धका व्यक्तिचित्र, घोडा, मठ–मन्दिर, चौँरी अनेकौँ काल्पनिकताले भरिएका चित्र राखिएका थिए । मूर्त कलाहरूले नै तीनवटै कक्ष भरिएको देखिन्छ । ती कुनै प्रतिनिधि कलाहरू होइनन्, यस कारण राष्ट्रलाई प्रतिनिधित्व गर्ने कला त्यहाँ देखिएनन् । यद्यपि तीनवटा छिमेकी राष्ट्रका कला एकै ठाउँमा जम्मा हुनुलाई सुन्दर संयोग मान्नैपर्छ  ।  नेपालको लालित्य कला जागरण, बंगलादेशको गुड्डी अनि भारतको स्प्रेड विङ्ग्सको संयुक्त प्रयास र समन्वयताले यो प्रदर्शनी सम्भव भएको हो ।  हिजोआज यस्ता अन्तर्राष्ट्रिय भनिने कला प्रदर्शनी निकै हुने गरेका छन् । छिमेक देश घुम्न पाइने, आउँदा अलि साना साइजका कला बोकेर आउन सकिने हुँदा हामीकहाँ युवा कलाकार मिलेर यस्ता खाले कला प्रदर्शनी गर्ने होडबाजी भएको देखिन्छ ।  तीनवटा अलग–अलग कक्षमा भएको तीन राष्ट्रका अलग–अलग कलालाई तुलनात्मक रूपमा हेर्ने यो एक अवसर पनि थियो । कलाको विषय, शैली, पद्धति, टेक्निक आदिमाथि छलफल पनि गर्न सकिने हुँदा यो प्रदर्शनीको खास महत्त्व छ ।  यहाँ प्रदर्शित सबैजसो कला पश्चिमी अंकन पद्धतिको हुँदा एक–अर्कालाई बुझ्न र बुझाउन समस्या थिएन । अर्को कुरा आधुनिक कलाको प्रारम्भिक चरणलाई नै पक्रेर सबैले काम गरेकाले यहाँ तीन प्रकारका चित्र बढी मात्रामा देखिए— १) ल्यान्ड स्केप । २) पोट्रेट  र ३) सामान्य रचना (कम्पोजिसन) । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप