‘कांग्रेस प्रतिपक्षी नै हो, भत्ता आयो मेरो के दोष ?’
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफ्नो दल कोशी प्रदेशमा अझै प्रमुख प्रतिपक्षी नै रहेको बताएका छन् ।
संचारमाध्याममा प्रतिपक्षीको हैसियतमा कांग्रेसले सेवा सुविधा लिइरहेको विषयमा आएको समाचारप्रति आपत्ति जनाउँदै थापाले आफ्नो दल प्रदेशमा प्रतिपक्षी नै रहेको बताएका हुन् ।
‘अहिले हामी कोशी प्रदेशमा सत्तापक्ष भएका छैनौँ । मान्छेलाई बदनाम गराउने हिसाबले समाचार आयो । एक महिनाको भत्ता नपाएर हामी मरेका छौँ र ? जनतालाई साँचो समाचार दिनुहोस् । पूर्वाग्रही ढङ्गले समाचार आयो,’ थापाले भने, ‘हामीले प्रदेशसभालाई सत्तामा जाने भनेर जनाउ दिएका छैनौँ । माओवादीबाट पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन ।’
उनले आफ्नो दलले सत्तापक्षमा सामेल हुनका लागि लिखित रूपमा प्रदेशसभालाई जानकारी दिने बताए । ‘असार १७ गते सङ्घमा गठबन्धन बनेको हो । काँग्रेस कोशीमा सत्ता पक्ष बनेको छैन । गण्डकीमा एमाले सत्ता पक्ष बनेको छैन । मलाई प्रदेशसभाले भत्ता दिन्छ भनेर याद पनि थिएन । प्रतिपक्षकै दलका नेताको हिसाबले हालिदियो । त्यसमा मेरो के दोष छ र ?,’ थापाले भने ।
यसअघि नेपाली काँग्रेसले कोशी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलको हैसियतमा अझै सेवा सुविधा लिइरहेको भन्ने समाचार प्रकाशित भएको थियो । एमाले र कांग्रेसबीच गत असार १७ गते गठबन्धन गर्ने सहमति भइसकेको छ । जसअनुसार केन्द्र र प्रदेशमा काँग्रेस सरकारमा सहभागी भइसकेको छ । आफ्नै पार्टीभित्रको गुटबन्दीको कारण सरकारमा सहभागी हुन नसकेको काँग्रेसले कोशी प्रदेशमा भने प्रमुख प्रतिपक्षीको रुपमा सेवा सुविधा लिइरहेको समाचारमा उल्लेख थियो ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वको सरकारमा सहभागी हुने भनेर सरकारलाई समर्थनसमेत दिइसकेको हुँदा कोशी प्रदेशमा आफ्नो पार्टी प्रमुख प्रतिपक्षी रहेको जिकिर गरेका थिए । काँग्रेस दलका प्रमुख सचेतक गोपाल तामाङले भने सरकारलाई समर्थन गर्ने घोषणा गरिसकेको भएपनि सरकारमा सहभागी नभएसम्मका लागि प्रमुख प्रतिपक्षको सेवा सुविधा लिन पाउने बताएका छन् ।
कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकार गत वैशाख २७ गते निर्माण भएको हो । संविधानको धारा १६८ (५) अनुसार निर्माण भएको उक्त सरकारलाई एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदले समर्थन गरेका थिए । असार १७ गते कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति भएसँगै माओवादी भने सरकारबाट गत साउन ११ गते बाहिरिइसकेको छ ।
केही दिन अगाडि सभामुख अम्बरबहादुर विष्टले प्रतिक्रिया दिँदै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता कसलाई दिने भन्ने विषयमा द्विविधा प्रकट गरेका थिए । ‘नेपाली काँग्रेसलाई सत्ता पक्षमा राख्ने कि प्रतिपक्षमा ? बसाउनु त पर्यो होला । सरकारमा पनि गएको छैन । फेरि माओवादीले पनि सरकार छोडे पनि समर्थन फिर्ता लिइसकेको अवस्था छैन । यो दुईवटा प्राविधिक कुरा हो,’ विष्टले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण