‘स्मल इज ब्युटिफुल’को अन्तर्वस्तु र नेपालमा सान्दर्भिकता
जर्मन मूलका ब्रिटिस अर्थशास्त्री ई.एफ. सुमाकरले सन् १९५५ मा तत्कालीन बर्मा (म्यान्मार) को यात्राका क्रममा ‘स्मल इज ब्युटिफुल’ अवधारणाको कल्पना गरेका थिए ।
तत्कालीन समयमा गरिब देशले उन्नत प्रविधिको प्रयोगद्वारा उत्पादकता हासिल गर्न सक्छ, तर यस्तो प्रगतिले रोजगारी वृद्धि र गरिबी न्यूनीकरणमा कुनै उपलब्धि हासिल हुन सक्दैन भन्ने उनको ठहर थियो । यही सेरोफेरो र विषयवस्तुलाई समेटेर उनले सन् १९७३ मा ‘स्मल इज ब्युटिफुल’ नामक पुस्तक प्रकाशित गरे । यस पुस्तकमा मुख्यगरी आर्थिक विकास, नवप्रवद्र्धन र सामाजिक नीतिहरूका बारेमा व्याख्या गरिएको छ ।
‘स्मल इज ब्युटिफुल’ नामक शब्द सुमाकरले आफ्ना शिक्षक लियोपोल्ड कोहरद्वारा लिखित बौद्ध दर्शनमा आधारित सिद्धान्त ‘च्याम्पियन’ वा उत्कृष्टताबाट लिएका हुन् । बौद्ध दर्शनमा यसको अर्थ आत्मनिर्भरता, व्यक्तिगत सन्तोष तथा साधारण जीवनशैली भन्ने हुन्छ । यो सिद्धान्तले ‘सानो नै सुन्दर हुन्छ’, ‘साधारण जीवन उत्तम हो’ भन्ने मान्यता राख्छ । सुमाकरले पुराना आर्थिक सिद्धान्तको आलोचना गर्दै विकेन्द्रित, पर्यावरणमैत्री र मानव केन्द्रित दृष्टिकोणमा जोड दिएका छन् ।
अधिक मुनाफा र प्रविधि केन्द्रित विकासलाई जोड दिएका खण्डमा अत्यधिक मात्रामा प्राकृतिक स्रोतहरूको दोहन हुन्छ र भविष्यमा संकट आउँछ भन्ने उनको मान्यता छ । उनको विचारमा आर्थिक गतिविधि मानिसको आवश्यकता केन्द्रित हुनुपर्छ, मुनाफा केन्द्रित होइन । यो अवधारणाले समाज र अर्थतन्त्रलाई साधारण तरिकाले सञ्चालन गर्नुपर्छ, यसो गरे मात्र दिगो विकास सम्भव छ भन्ने मान्यता राख्छ । अर्थात् यो दृष्टिकोणले बृहत् र ठुलोको सट्टा सानो र सुन्दरलाई महत्त्व दिन्छ ।
मध्यमस्तरको प्रविधिमाथि ग्रामीण क्षेत्रका गरिबहरूको पहुँच हुने भएकाले यसबाट ठुलो जनसंख्या लाभान्वित हुन्छन् भन्ने जस्ता विषय सुमाकरले प्रस्तुत गरे । उदाहरणका लागि हैजाको महामारीको समयमा पानी छान्ने फिल्टरको अभावमा सफा कपडाको पनि प्रयोग गर्न सकिन्छ ।
जुन समयमा एकातर्फ विश्वले ऊर्जा संकटको सामना गरिरहेको थियो, अर्कातर्फ वैश्विकीकरणको अवधारणा लोकप्रिय हुँदै गएको थियो, पुँजीवादले विलासी जीवनस्तर दिएको थियो, उदारवादले वायु वेगमा विचरण गरेको थियो, त्यस समयमा मध्यमस्तरको प्रविधिको आवश्यकता र प्रयोग लाभदायक हुन्छ भन्ने विचार उनले ल्याएका थिए ।
पुस्तकलाई लेखकले चार भागमा विभाजन गरी चारवटा विषयलाई प्रमुख रूपमा व्याख्या गरेका छन् ।
सुमाकरको यो अवधारणा नेपालजस्तो तेस्रो विश्वको मुलुकका लागि आज पनि सान्दर्भिक देखिन्छ । समकालीन विश्वका केही मुलुक ‘पोलिक्राइसिस’लाई सामना गर्दै ‘हाइपर ग्लोबलाइजेसन’को अवस्थामा पुगेका छन् ।
भाग १– ‘आधुनिक विश्व’ : यस भागमा सुमाकरले खासगरी पश्चिमी राष्ट्रले अपनाएको आधुनिक समाज र अर्थ–व्यवस्थाले सिर्र्जना गरेका समस्यामाथि प्रकाश पारेका छन् । पश्चिमी राष्ट्रले ठुला उद्योगमा निर्भरता बढाउँदै लगेको, उपभोक्तावाद हाबी भएको, आर्थिक वृद्धिमा मात्र केन्द्रित नीतिहरू निर्माण गरेको, मानिसहरू अनियन्त्रित रूपमा प्रविधिमाथि भर पर्दै गएको, मानवीय सम्बन्धलाई कमजोर बनाउँदै लगेको बारे प्रस्ट पार्दै आलोचना गरेका छन् । जसलाई उनी भ्रम ठान्छन् ।
उनका अनुसार, प्राविधिक उन्नति र अर्थ–व्यवस्थाको वृद्धिमा मात्र आधारित दृष्टिकोणले दीर्घकालमा मानवता र पृथ्वीलाई हानि पु¥याउँछ । आर्थिक विकासलाई मात्र ध्यान दिने हो भने प्राकृतिक स्रोतहरूको असीमित दुरुपयोग र दोहन हुन्छ । दिगो विकासको अवधारणा अपाङ्ग बन्न पुग्छ । सामाजिक असमानता बढ्छ । त्यस कारण केन्द्रीयकरण र ठुला उद्योगको सट्टा साना, मझौला, स्थानीय तथा स्वदेशी उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्ने ठान्छन् । जसका लागि केन्द्रित र ठुला उद्योगहरूको सट्टा मानव केन्द्रित र समुदायमा आधारित आर्थिक मोडललाई ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।
भाग– २ ‘स्रोत र साधन’ : प्राकृतिक स्रोतहरूको सीमितता हुने भएको हुँदा विवेकपूर्ण उपयोग गर्नुपर्छ भन्ने सन्देश सुमाकरले यस भागमा दिएका छन् ।
उनको विचारमा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्नुपर्छ, अन्यथा पर्यावरणीय सन्तुलनमा असर पर्छ, ऊर्जा संकट बढ्छ । यसको समाधानका लागि उनले वैकल्पिक ऊर्जाको आवश्यकता औँलाएका छन् । ऊर्जा स्रोतको उचित व्यवस्थापनका लागि नविकरणीय ऊर्जाको विकास र प्रयोगमा उनको जोड छ । उनले शिक्षालाई अन्य स्रोतको जननि मानेका छन् भने जमिनलाई मानवताको आधारभूत स्रोत, उद्योगलाई उत्पादन र रोजगारीको महत्त्वपूर्ण स्रोत मानेका छन् । यस्तै ऊर्जाको विवेकपूर्ण उपयोग र नविकरणीय ऊर्जाको विकास र प्रविधिको विवेकपूर्ण उपयोगमा जोड दिएका छन् ।
भाग– ३ ‘तेस्रो विश्व’ : यस भागमा विकासशील मुलुकहरूको आर्थिक र सामाजिक समस्याको समग्र विश्लेषण गरिएको छ । खासगरी पश्चिमी राष्ट्रले अपनाएको बृहत् र मुनाफा केन्द्रित अर्थ–व्यवस्थाको नक्कल वा अन्धानुकरण विकासशील राष्ट्रले गर्न नहुनेमा उनले जोड दिएका छन् ।
तेस्रो विश्वका मुलुकले आर्थिक विकासलाई मात्र प्राथमिकता नदिएर मानव केन्द्रित विकासलाई जोड दिनुपर्ने, मानव मूल्य र संस्कृतिको विशेषताहरूको संरक्षण गर्नुपर्ने, ग्रामीण क्षेत्रलाई विकासको केन्द्रबिन्दु बनाउनुपर्नेमा उनको विशेष जोड छ । यसका लागि सानो र सस्तो प्रविधिको प्रयोग गर्न उनले सुझाएका छन् । जसले गर्दा स्थानीय स्रोतको उपयोग हुने र उत्पादन लागत घट्ने हुँदा उपभोक्ताले सस्तो समान उपभोग गर्न पाउँछन्, परिणामस्वरूप ग्रामीण जीवनस्तरमा सुधार आउँछ भन्ने उनको निष्कर्ष छ ।
भाग– ४ ‘संगठन र स्वामित्व’ : लेखकले यस भागमा साना व्यावसायिक संस्थाहरूको संरचना र स्वामित्वका बारेमा विश्लेषण गरेका छन्् ।
उनका अनुसार, साना व्यावसायिक संस्थाहरूको संगठनात्मक संरचना सिधा र सरल हुनुपर्छ । जसले छिटो, लचिलो र प्रभावकारी निर्णय गर्न मद्दत गर्छ । ठुला व्यावसायिक संस्थामा धेरै र औपचारिक तह हुने भएको हुँदा निर्णय प्रक्रियामा ढिलासुस्ती ल्याउँछ । साना व्यवसायमा स्वामित्व सामान्यतया एक व्यक्ति वा थोरै सेयर सदस्यको हुने भएकाले प्रभावकारी व्यवस्थापन, निर्णयमा स्वतन्त्रता र व्यावसायिक सक्षमता उच्च हुन्छ । यसमा संरचना लचिलो हुने हुँदा परिवर्तनलाई भित्र्याउन सजिलो हुन्छ । संगठनात्मक संरचना सानो हुने हुँदा कर्मचारी र व्यवस्थापकका बिचमा दोहोरो सञ्चार हुने भएकाले सम्बन्ध राम्रो हुनुका साथै कर्मचारी स्वउत्प्रेरित हुन्छन् ।
सानो संगठनात्मक संरचनामा सिर्जनात्मक बढी हुन्छ । यसरी समग्रमा यस भागमा साना व्यवसायको संगठनात्मक संरचना, स्वामित्वका लाभका साथै चुनौतीका बारेमा चर्चा गरिएको छ । साथै सफल सञ्चालनका लागि मार्गदर्शन समेत प्रस्तुत गरिएको छ ।
यसरी अर्थशास्त्री सुमाकरले विश्व चर्चित पुस्तक ‘स्मल इज ब्युटिफुल’मा साना व्यवसायको संरचना, प्रभाव र आवश्यकताको महत्त्वलाई चित्रण गर्दै ठुला व्यवसायको चुनौतीलाई समेत उजागर गरेका छन् ।
समग्रमा सुमाकरको यो अवधारणा नेपालजस्तो तेस्रो विश्वको मुलुकका लागि आज पनि सान्दर्भिक देखिन्छ । समकालीन विश्वका केही मुलुक ‘पोलिक्राइसिस’लाई सामना गर्दै ‘हाइपर ग्लोबलाइजेसन’को अवस्थामा पुगेका छन् । विश्व प्रणालीको मानकबाट हेर्दा विश्वमा कोर मुलुकको वर्चस्व रहेको छ । यही समकालीन विश्व प्रणालीभित्रको नेपाल पेरिफेरी वा अल्पविकसित मुलुकबाट सेमिपेरिफेरी वा विकासशील मुलुकतर्फ उक्लने पाइप लाइनमा रहेको छ ।
मुलुकलाई औद्योगिकीकरण गर्नका लागि पटकपटक गरिएका लगानी सम्मेलन केवल लन्च र डिनर गोष्ठीमा मात्र सीमित भएका छन् । उल्लेख्य रूपमा लगानी भित्रिएको छैन, तर मुलुकका हिमाली र पहाडी क्षेत्रका जमिनहरू बसाइँसराइका कारण बाँझिएका छन् भने तराईका जमिन प्लटिङले करिब–करिब सिद्धिन लागेका छन् । तीव्र रूपमा सहरीकरण भएको छ । परिणाम स्वरूप कृषि उत्पादन निर्यात गर्ने मुलुक आयात गर्ने अवस्थामा पुगेको छ ।
करिब ५९ प्रतिशत जनसांख्यिक लाभ भएको मुलुकबाट अधिक जनशक्ति रोजगारीको खोजीमा दैनिक बिदेसिदै गएको छ । साना, घरेलु तथा मझौला उद्योगको विकास र संरक्षणप्रति राज्यको ध्यान पुग्न नसक्दा मध्यम आय भएका मानिस साना तथा घरेलु उद्योगमा आकर्षित हुन सकेका छैनन् । कृषि, वन, फलफुल, जडिबुटी, पशुपालन, पर्यटन, जलस्रोत जन्य उद्योगहरूप्रति राज्यका तर्फबाट लगानीमैत्री वातावरणका साथै सुविधा र संरक्षण उपलब्ध गराउनुपर्छ । यसबाट आन्तरिक स्रोत–साधनको परिचालन हुनुका साथै रोजगारी, आय र राजस्वमा समेत उल्लेख्य वृद्धि भई मुलुकको दिगो विकासमा ठोस योगदान पुग्छ ।