बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस

बिहीबार, २१ जेठ २०८३, १७ : ००
बिहीबार, २१ जेठ २०८३

सारांश

  • क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको बजारमा चरम अभाव भएको छ ।
  • कच्चा पदार्थको मूल्य वृद्धि, नेपालमा औषधिको मूल्य समायोजन नहुनु र डलर बढेका कारणले औषधिको अभाव भएको सरोकारवालाहरूले बताएका छन् ।
  • सरकारले जीवनरक्षक औषधिको आपूर्ति सुनिश्चित गर्नका लागि आयातकर्ताहरूसँग छलफल गरिरहेको छ ।

काठमाडौँ । क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको बजारमा चरम अभाव भएको छ ।   मुख्यतया: भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको बजारमा अभाव भएको हो । बर्सेनि २४ हजार भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन् । 

विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेको, नेपालमा औषधिको मूल्य समायोजन नभएको र डलर बढेका कारण पनि कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको अभाव भएको सरोकारवाला बताउँछन् । 

औषधि उत्पादक संघका महासचिव सन्तोष बरालले लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा अहिले यो समस्या निम्तिएको बताए । बरालले भने, ‘अन्तर्राष्ट्रिय बजारमा औषधिका लागि प्रयोग हुने कच्चापदार्थको मूल्य बढेको छ । यस्तै डलरको भाउ पनि बढेको छ । अहिलेसम्म ११७ थरीका औषधिको मूल्य समायोजन भयो । मूल्य समायोजन भएन भने सबै औषधिको अभाव हुन्छ ।’ 

२०७२ सालयता औषधिको मूल्य समायोजन भएको छैन । औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएकै कारण घाटामा औषधि आयात गर्न बाध्य भएको बताए । आचार्यले भने, ‘नेपाल सरकारले २०७२ सालमा ९६ प्रकृतिका औषधिको मूल्य समायोजन गरेको थियो । भारत सरकारले प्रत्येक वर्षको मार्चमा मूल्य समायोजन गर्छ । तर, नेपाल सरकारबाट ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएको अवस्था छ । त्यसैले नेपालमा सस्तो छ, भारतमा महँगो छ ।’ 

आचार्यले पछिल्लो तीन वर्षयता भारत भन्दा नेपालले सस्तोमा औषधि बिक्री गर्दै आएको बताए । आचार्यले भने, ‘औषधि बन्नलाई प्रयोग हुने कच्चा पदार्थको मूल्य आकासियो । जसले गर्दा भारतमा पनि यो औषधिको अभाव छ ।’ 

गत जेठ ८ गते औषधि आयातकर्ता र स्वास्थ्य सचिव डा. विकास देवकोटाबिच छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले संकट समाधानका लागि आयातकर्तालाई अनुरोध गरेपश्चात् बंगलादेशबाट आठ सय भाइल कार्वोप्लाटिन आयात गरिएको थियो । यो आयात गर्दा आफूहरूलाई घाटा भएको एक औषधि आयातकर्ताले बताए  । केही समय बिरामीले पुर्जा देखाएर मात्रै औषधि पाएका थिए ।

क्यान्सर उपचार लगायतका जीवन रक्षक औषधिको आपूर्तिमा देखिएको असहजताबारे बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा छलफल भएको छ । 

औषधि आयातकर्ता संघका महासचिव आचार्यले भने, ‘भारतबाट औषधि ल्यायौँ भने नेपाल र भारतबिचको भिन्नता बरावरको रकम नेपाल सरकारले बेहोर्ने नीतिगत व्यवस्था हुनुपर्छ । र, स्वचालित मूल्य प्रणाली लागु गर्नुपर्छ ।’

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले किमोथेरापीका लागि प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि अन्तर्राष्ट्रियरुपमानै अभाव भएको तर्क गरे। बज्राचार्यले भने, ‘हामीले औषधि ल्याउन आग्रह गरेका छौँ । अहिले विश्वबजारमा नै यो औषधिको अभाव छ ।’ 

वीर अस्पतालका क्लिनिकल अंकोलोजी विभागका प्रमुख प्रा.डा.विवेक आचार्यले कार्बोप्लाटिन र सिस्प्लाटिन धेरै जसो क्यान्सरमा लाग्ने औषधि रहेको बताए । आचार्यले भने, ‘पाठेघरको मुख, घाँटी, मुखको क्यान्सर लगायत धेरै क्यान्सरको उपचारमा यो औषधिको उपयोग हुन्छ । एकदमै बेसिक औषधि हो ।’

राजधानीको एक अस्पतालको फार्मेसीमा औषधि लिन पुगेका एक बिरामीले आफूले औषधि पाउनै नसकेको बताए ।  उनले भने, ‘अहिलेसम्म किमोथेरापी गर्न चाहिने औषधि पाउन सकेको छैन । पाएपनि कालोबजारीमा किन्न बाध्य हुनुपर्ने अवस्था छ ।’ यो समस्या समाधानमा सरकारले तदारुकता देखाउनु पर्ने उनले जोड दिए । 

यसैबिच बुधबार पनि क्यान्सरविरुद्ध प्रयोग हुने औषधि लगायत विषयमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागबिच छलफल भएको छ । 

मन्त्रालयले जीवनरक्षक औषधि आयात गर्न अनुमति पाएका आयातकर्ताहरूको सूची, जीवनरक्षक औषधिको विगत तीन वर्षको आयातको परिमाण र ती औषधिहरूको वार्षिक खपत दरको विस्तृत विवरण समेत माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले विश्व बजारमा नै औषधिको मूल्य बढेकाले बजारमा औषधिको अभाव सृजना हुन नदिन विज्ञहरूसँग छलफल भइरहेको बताए । 

अधिकारीले भने, ‘विश्वव्यापी रूपमा खनिज पदार्थको मूल्य बढ्यो । औषधि उपलब्ध कसरी गराउन भन्ने विषयमा छलफल जारी छ ।’ उनले मूल्य समायोजनको विषयमा पनि विज्ञहरुकै सुझावका आधारमा मन्त्रालयले आवश्यक गर्ने प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप