बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
खेतीपाती

धानको सुपर जोनमा चिनी मिल

विज्ञ भन्छन्–‘बाली चक्र बिग्रिएर खाद्यान्न सङ्कट निम्तिन्छ ’
बिहीबार, १० असोज २०८१, ०९ : ४४
बिहीबार, १० असोज २०८१

काठमाडौँ । सरकारी निकाय अन्त्रगतको धानको सुपर जोनमा अर्को कृषि योजना लागू हुँदा धान उत्पादन प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गतको धान सुपर जोनमा चिनी मिल स्थापना हुने भएको हो । यसले धान खेती प्रभावित हुने जानकारले बताएका छन् ।

बर्दियाको राजापुर–५ स्थित पहरीपुरमा चिनी मिल सञ्चालनका लागि संरचना तयार हुँदै छ । विगत ८ वर्षदेखि त्यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धानको सुपर जोन घोषणा गरी काम गर्दै आएको छ । तर चिनी मिल स्थापना हुने भएपछि धान खेती हुने क्षेत्रफल नै घटेको छ । 

यसअघि १२ सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुने गरेकोमा हाल यो घटेर ८ सय हेक्टर क्षेत्रफलमा खेती भइरहेको परियोजनाका अधिकारी प्रेमकुमार चौधरी बताउँछन् । ‘चिनी मिलको संरचना तयार हुन थालेपछि किसानले उखु रोप्न थालेका छन् । यसले गर्दा धानको क्षेत्रफल घटेको छ,’ उनी भन्छन्, ‘जसरी हामीले चैते धानको क्षेत्र विस्तार गर्ने योजना बनाएका थियौँ, यो योजनाले त्यो प्रभावित बनाएको छ ।’

उखु उत्पादनमा लाग्ने लागतको ७५ प्रतिशत मिलले नै दिने र २५ प्रतिशत किसानले लगाउनु पर्ने चौधरीले बताए । ‘किसानलाई मल, बीउ, जग्गा तयारी खर्चको ७५ प्रतिशत मिलले नै बेहोर्ने भनेको छ,’ उनी भन्छन्, ‘यसले गर्दा किसान झनै आकर्षित भएका छन् ।’

नेपालका तराई क्षेत्रको भूभाग धान बालीका लागि उपयुक्त मानिन्छ । यस्तो क्षेत्रमा १२ महिना नै सिँचाइ भए वर्षको दुई बाली धान र एक बाली तोरी लगायतको उत्पादन लिन सकिन्छ । यस्तै क्षेत्र हो, बार्दियाको राजापुर । यहाँ कर्णाली नदीको पानीले राजापुर सिँचाइ योजनामार्फत सामान्यतया वर्ष भरि सिँचाइ गर्न सकिने लगभग १४ हजार हेक्टर उर्वर भूमि छ । 

यहाँ लगभग ८ हजार हेक्टरमा चैते धान खेती गर्न सकिने परियोजनाले जनाएको छ । प्रतिहेक्टर न्यूनतम ४.५ मेट्रिक टनका दरले उत्पादन गणना गर्दा पनि ३६ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । सोबाट न्यूनतम २२ हजार रुपैयाँका दरले प्रति मेट्रिक टनका दरले हिसाब गर्दा लगभग ८० करोड रुपैयाँ बराबरको थप उत्पादन गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन एकाई बर्दियाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले बताए । ‘नेपालमा चामल आयातका लागि हुने खर्च लगभग ३ प्रतिशत हो,’ उनले भने, ‘यो क्षेत्रले चामल आयात प्रतिस्थापनको अलावा राजापुर क्षेत्रलाई लगभग ८० करोड रुपैयाँ बराबर थप आम्दानी दिने देखिएको थियो । तर चिनी मिल स्थापनाले प्रभावित भएको छ ।’ 

बर्दियाको राजपुर धान खेतीका लागि उपयुक्त जमिन रहेकाले यहाँ उखु खेती हुँदा खाद्य सुरक्षामा असर पर्ने देखिन्छ । तीन सिजनमा उत्पादन गर्न सकिने धान, मकै, गहुँ, आलु, तोरी लगायत बाली उत्पादन हुन नसकी खाद्य सुरक्षामा असर पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले बताए ।

पराजुलीका अनुसार उखु उत्पादन हुन १० देखि १६ महिना लाग्छ । यो समयावधिमा तीन बाली उत्पादन लिन सकिन्छ । तर उखुबाट एक उत्पादन मात्रै लिन सकिने उनी बताउँछन् । ‘वर्षदिनमा करिब एक सिजनमा बर्खे धान, तोरी र चैते धान गरी तीन बाली उत्पादन लिन सकिन्छ,’ पराजुली भन्छन्, ‘हिउँदमा गहुँ उत्पादन गरेमा धान र गहुँ बाली गरी दुई बाली लिन सकिन्छ । यसरी बर्सेनि तीन बाली उत्पादन लिने जग्गामा एक बाली मात्रै तयारी हुने देखिन्छ ।’ 

बर्दियाको राजपुर धान खेतीका लागि उपयुक्त जमिन रहेकाले यहाँ उखु खेती हुँदा खाद्य सुरक्षामा असर पर्ने देखिन्छ । तीन सिजनमा उत्पादन गर्न सकिने धान, मकै, गहुँ, आलु, तोरी लगायत बाली उत्पादन हुन नसकी खाद्य सुरक्षामा असर पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले बताए । ‘बर्दियाको राजापुर धान खेतीका लागि प्रविधिक रुपमा उपयुक्त छ, तर चिनी मिल स्थापना हुँदा यसलाई असर पर्ने देखिन्छ,’ उनी भन्छन्, ‘यसले उत्पादन प्रभावित भइ खाद्य सुरक्षामा असर पर्ने देखिन्छ ।’

अन्तर मन्त्रालयबिच कमजोर समन्वय

सरकारको राष्ट्रिय योजना सञ्चालन गरेको स्थानमा अर्को कृषि योजना सञ्चालन गर्न थालेको छ । जानकारहरू यसलाई अन्तरमन्त्रालयको समन्वयमा भएको कमजोरी देख्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ८ वर्षदेखि धानको सुपरजोन घोषणा गरी परियोजनालाई अघि सार्दै आएको छ । सो क्षेत्रमा चेतै धान उत्पादनको राम्रो सम्भावना रहेकाले यो वर्ष क्षेत्र विस्तार गर्ने योजना पनि थियो । तर त्यहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिल सञ्चालनका लागि अनुमति दिनु अन्तर मन्त्रालयको समन्वयको कमजोरी हो ।

dhan bali  (1)

यसले खाद्यान्न उत्पादनमा असर पार्नुका साथै लामो समयदेखि धानको पकेट क्षेत्र गुम्ने स्थिति सिर्जना भएको सरकोकारवालाले बताएका छन् । यसका साथै राष्ट्रिय आयोजनाले एकै ठाउँका लगानी गर्दा राज्यको मोटो रकम डुब्ने देखिएको छ । वरिष्ठ कृषि अधिकृत पराजुलीले यहाँ प्राविधिक रुपले धान बालीका लागि उपयुक्त रहेको बताए । उनले भने, ‘राजापुर क्षेत्र धानका लागि उत्कृष्ट हो । यहाँ उखु उत्पादन गर्न लाग्नु उपयुक्त होइन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप