किसानलाई तत्काल राहत दिन सांसदहरूको माग
काठमाडौँ । बाढी पहिरोबाट क्षति ब्यहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् । कृषि समितिको बैठकमा बाढी पहिरोबाट भएको कृषि उपज र पशुवस्तुको क्षति किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदले माग गरेका हुन् ।
सांसद विरेन्द महतोले बैठकमा सयौँ हेक्टर बाली भित्राउने समयमा नष्ट भएको बताए । उनले सरकारले तत्काल राहत उपलब्ध गराउन आग्रह गरे । ‘घर भित्र्याउने बाली नष्ट भएको छ,’ उनले भने, ‘तत्काल राहत दिन के छ ? बजेट नभए आकस्मिक बजेट ल्याउनुपर्छ । किसानलाई पहिलो फेज, दोस्रो फेज गरेर राहत उपलब्ध गराउनु पर्छ ।’ उनले तीनै तहको सरकार समन्वय गरेर किसानको खातामा राहत सिधै पठाउन आग्रह गरे । सरकारले हरेक वर्ष आउने विपद्को तयारी सरकारले किन नगरेको भन्दै उनले प्रश्न गरे ।
सांसद भानुभक्त जोशीले कृषि पशु व्यवसायमा संकट आइपरेकाले मन्त्रालय जिम्मेवार बन्नु पर्ने बताए । ‘मान्छेलाई बाच्नुभन्दा मरेको भए हुने रहेछ भन्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘यसमा हामी गम्भीर हुनुपर्छ ।’
सांसद वीर बहादुर बलायरले किसानले पीडा भोगिरहेको समयमा सरकारले कार्य नगरेको आरोप लगाएका छन् । ‘प्रेक्डिक्सन हुँदाहुँदै ठुलो क्षति भएको छ,’ उनले भने, ‘यसमा सरकारले आत्मालोचना गर्नुपर्छ । ठूलो क्षति भयो । सरकारको संयन्त्रले खासै काम गरेन ।’
बलायरले कृषिका ठुला फर्महरूले बीमा गरेपनि सरकारले भुक्तानी दिन नसकेको बताए । ‘ठुलठुला फर्महरूले बीमा गरेका छन् । सानाहरूले गरेका छैनन्,’ उनले भने, ‘सरकारले बीमाको पैसा समयमा दिन नचाहने अनि यस्तो प्रकोपमा टाउको दुखाउने, यो समस्या सरकार आफैँले ल्याएको हो ।’
‘चाहेजति राहत दिन सक्ने अवस्था छैन’
बाढी पहिरोका कारण कृषि क्षेत्रमा भएको क्षतिको राहत दिन सक्ने अवस्था नरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले बताएकी छन् । ‘नोक्सानी कसरी राहत गर्ने, पलायन कसरी रोक्ने भनेर काम गर्नुपर्ने छ । राहतको प्याकेज क्षतिपूर्ति कसलाई कति दिने भन्ने छ । चाहेजति राहत दिन सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘जसको क्षति भएको दाबी छ वा गर्नुहुन्छ त्यसलाई भेरिफाइ हामीले यहाँबाट गर्न सकिँदैन । यो पनि समस्या छ ।’
उनले राहत दिँदा वास्तविक पीडितको विवरण नरहेकाले सो राहत उपलब्ध गराउन समस्या आएको बताइन् । ‘राहत दिने बेलामा को पीडित हो भनेर यकिन विवरण आउन समस्या भएको छ,’ उनले भनिन्, ‘ यसमा सचेत छौँ । हामीसँग डाटा आएको छ , पूर्णरूपमा आएको छैन , हामीसँग आउने क्रम जारी छ ।’
शिवाकोटीले अहिले ७७ जिल्लाकै किसानलाई लागि धान नकाट्न र पशुपछि मरेर महामारी फैलिनेबारे सूचित गरिएको बताइन् । बैंठकमा उनले कृषि बीमा भुक्तानीका लागि २ अर्ब ६ करोड बजेट विनियोजन भएको बताइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले विपदबाट के–कति भूमि नोक्सानी भएको भनेर तथ्यांक नरहेको बताए । ‘यो मन्त्रालय स्थापना भएपछि हालसम्म विपदबाट कति भूमि नोक्सानी भयो त्यसको तथ्यांक छैन,’ उनले भने, ‘उपलब्ध स्रोत साधन प्रयोग गरेर यसको तथ्यांक संकलन गर्नेछौँ ।’ भट्टले नापीको तथ्यांक लिन सहज नरहेको बताए ।
करिब ६ अर्ब अन्नबालीमा नोक्सान
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो बाढी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् ।
कृषि समितिको बैठकमा उनले बाढीले कृषकलाई ठुलो क्षति पुर्याएको बताए । ‘नोक्सानी भएका किसानहरू पीडाले रोइरहनुभएको छ । दसैँ कसरी मनाउने, हामीले के प्राप्त गर्छौं भन्दै सरकारलाई प्रश्न गरिरहनुभएको छ’, उनले भने ।
पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टरमा धानवाली नष्ट भई ३ अर्ब ५० करोड बराबरको क्षति भएको छ । सो क्षतिको विवरण सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट सङ्कलन गरिएको छ ।
यस्तै, १३ सय हेक्टरको अलैँची नष्ट भई ७० करोड रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयले जनाएको छ । सो क्षति खोटाङ जिल्लाको हो । पर्सामा ८५ हेक्टर क्षेत्रफलको उखुमा क्षति भएको छ । सो क्षेत्रमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीको १ अर्ब १३ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशु गोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छीको मृत्यु भएको छ । यो क्षति पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लाको रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, रौतहट जिल्लाको २२ हेक्टर फलफूल बगैँचामा क्षति भएको छ । यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालीमा नष्ट भएको मन्त्रालयको तथ्याङ्क छ ।
बाढी पहिरोका कारणले २ वटा कोल्डस्टोरमा क्षति पुगेको छ । कृषि मन्त्रालय र मातहतका कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको क्षति भएको तथ्याङ्क छ । सो संरचना लालवन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुरको रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
कृषि मन्त्रालयले अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा जारी रहेको जनाएको छ ।