आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
सामाजिक सञ्जालको अँध्यारो यथार्थ

कतै तपाईं आफ्ना नानीबाबुलाई सामाजिक सञ्जालमा बेच्दै हुनुहुन्छ कि ?

सोमबार, १९ कात्तिक २०८१

संसारभरि लाखौँ मानिस अनलाइनमा छन् । उनीहरू फेसबुकमा हुन् वा युट्युबमा । इन्स्टाग्राम, स्न्यापच्याटमा वा टिकटकमै किन नहुन्, अनलाइनमै हुन्छन् । सामाजिक सञ्जालको उदयले एउटा नयाँखाले संसार वा भनौँ परिदृश्यलाई जन्माइदिएको छ ।

‘मलाई आफ्ना अनुभवहरूबारे थप कुरा भन त...’

‘यो मेरो छोरो हो । यो, साँच्चै मायालु छ । म आज निकै खुसी छु...’

सामाजिक सञ्जाल आममानिस साना नानीबाबुको भिडियो बनाएर विभिन्न भावुक कुरा लेखेर पोस्ट गरिरहेका हुन्छन् । यसलाई ‘शेयरेन्टिङ’ भनिन्छ । यो शब्द पेरेन्टिङ र शेयरिङबाट मिलेर बनेको हो । यो शब्दको अर्थ त्यस्ता आमाबुबासँग छ, जसले आफ्ना नानीबाबुको सिङ्गो जीवनलाई नै पोस्ट र ब्लगमा अनलाइन शेयर गर्ने गर्छन् । केही आमाबुबाहरू इन्फ्लुएन्सर बनेर यसैबाट पैसा कमाउने गर्छन् । तर, केटाकेटीको फोटो, भिडियो अनलाइन शेयर गर्नु खतरनाक हुन सक्छ ।

साना नानीबाबुहरूबारे धेरैभन्दा धेरै सूचना शेयर गर्दा उनीहरूको भविष्यमा गम्भीर परिणाम देखा पर्न सक्छन् ।

अमेरिकाको शिकागोमा बसोबास गर्ने २४ वर्षीय कैमको अनुभव निकै कहालिलाग्दो छ । उनी भन्छिन्, ‘यदि तपाईंलाई, केटाकेटीको फोटो–भिडियो यत्तिकै ठट्टै–ठट्टामा अनलाइन शेयर गरेका हौँ भन्ने लाग्छ भने म तपाईंहरू गलत हुनुहुन्छ भन्न चाहन्छु ।’

‘म सामाजिक सञ्जालमा आफ्नो वास्तविक नाम प्रयोग गर्दिनँ । मलाई के डर छ भने कसैले मेरो नाम गुगलमा खोज्नेछ र मलाई पछ्याउने छ । हुन सक्छ, भावी दिनहरूमा कुनै जागिर दिने मान्छेले मेरो नाम अनलाइनमा सर्च गर्नेछ र उसले ती सबै कुरा हेर्नेछ, जुन (मेरो बाल्यकाल) मेरी आमाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।’

sharenting-story-2-1-updated-65e8d9844f219‘म सानै छँदा, सामाजिक सञ्जालमा मेराबारे सबै कुरा शेयर गर्नाले साँच्चै म मानसिक रूपमा विक्षिप्त हुन पुगेँ । मलाई प्रत्येक पल डर र चिन्ताले गाँजिरहेको हुन्छ । विशेषगरी, जब म बाहिर हुन्छु । लाग्छ, कसैले मलाई पछ्याइरहेको छ । म उमेरले सानी छँदा नै यो सबै सुरु भइसकेको थियो र आजपर्यन्त ती सबै कुरा जारी छन् । म साना नानीबाबुहरूको आवाज हुँ । साना नानीबाबुहरू आफ्नो मानसिक स्वास्थ्यमा यसले पारिरहेको प्रभावबारे बोल्न सक्दैनन् तर पनि हामीले तत्काल केही गर्नै पर्नेछ’, कैम ।

उमेरले कलिला नानीबाबुहरू आफ्नो युवा अवस्थामा पुग्दासम्म उनका आमाबुबा र आफन्तहरूले ती नानीबाबुका सयौँ फोटो/भिडियो अनलाइन शेयर गरिसकेका हुन्छन् । यो रिपोर्टमा हामीले केटाकेटीको व्यक्तिगत गोपनीयतालाई मध्यनजर गरेर, उनीहरूको अनुहार प्रयोग गरेका छैनौँ ।

‘हाम्रा केटाकेटी जन्मिएसँगै, हामीले आफ्नो दैनन्दिनको जीवनलाई अनलाइन शेयर गर्ने गर्छौँ । हाम्रा फलोवरहरू खासगरी धेरैभन्दा धेरै नानीबाबुकै फोटो–भिडियो हेर्न चाहन्छन् । उनीहरू हामीले दिनभरि के गर्‍यौँ भनी हेर्न चाहन्छन् । ती फोटो–भिडियो हेरेर उनीहरू हामीलाई– नानीबाबुबारे थप देखाउनुस् न भनेर सामाजिक सञ्जालमा कमेन्ट गरिरहेका हुन्छन्,’ जेसिका ।

जेसिका थिवना सोसल मिडियामा फ्रान्सकी सबैभन्दा सफल इन्फ्लुएन्सरमध्ये एक हुन् । इन्स्टाग्राम पेजमा मात्रै उनको ६० लाख भन्दा धेरै फलोवर छन् भने स्न्यापच्याटमा ४३.७ लाख, टिकटकमा १३ लाख, युट्युवमा ११.५ लाख मानिसले उनलाई पछ्याउँछन् । उनी मोडेल र ट्राभल रिपोर्टर हुन् । र, कयौँ फेसन, कस्ट्युम तथा कस्मेटिक ब्रान्डकी मालिक हुन् । उनी आफ्नो परिवारसँगै साथ दुबईमा बस्ने गर्छिन् । जेसिका र उनका पतिले ‘शेयरेन्टिङ’लाई सफल कारोबारमा परिणत गरिसकेका छन् ।

अनलाइन भिडियोमा बोल्दै जेसिकाः

‘सबैमा शुभप्रभात ! हामी सबै ब्युँझिसकेका छौँ । म लिबेनलाई लिएर आउँछु है ।’

‘हेल्लो डार्लिङ, के छ ?’

Myrra

जेसिकाका दुई वटा बच्चा छन् । लिवेन १८ महिनाकी भइन् भने उनको दाइ मेलोन साढे तीन वर्षका भए ।

‘कहिलेकाहीँ मैले आफ्नो छोरोलाई दुई–तीन दिनसम्म स्न्यापच्याटमा नदेखाउने हो भने फलोअरहरू उसकाबारे सोध्न थाल्छन् । उनीहरू केटाकेटीलाई हेर्न चाहन्छन् । उनीहरू मेरी छोरी लिबेनले हिँडेको र बोल्न सिक्दै गरेको देख्न चाहन्छन् । त्यसैले फलोअरहरू केटाकेटीबारे थप शेयर गर्न अनुरोध गर्छन् मलाई’, जेसिका भन्छिन् ।

अनलाइन भिडियोमा बोल्दै जेसिकाः

जेसिकाः मेलोन आफ्नो जुराप खोल ।

मेलोनः तर, यो मलाई मन पर्छ ।

जेसिकाः त्यो तिमीलाई निकै ठुलो भइराछ । म अर्को ल्याइदिन्छु, यो खोल ।

जेसिकाका पतिः हुन देऊ न त ।

जेसिकाः मेलोन फुटबल खेलाडीले जस्तै ठुला जुराप लगाउन चाहन्छ । तर, म उसले त्यो जुराप फेरोस् भन्ने चाहन्छु । सधैँझैँ हामी बाहिर जानका लागि त्यसै पनि ढिला भइसकेका छौँ ।

1

‘हाम्रा केही फ्यानहरूले खास गरेर मेरा केटाकेटीका लागि बेवसाइट बनाइदिएका छन् । ‘फेन्स अफ मेलोन’ र ‘फेन्स अफ लिवेन’ । उनीहरू हामीले पोष्ट गरेको फोटो प्रयोग गर्छन् । इन्टरनेट भनेको माकुराको जालोजस्तै हो, यो जता पनि फैलिन सक्छ । तर वास्तवमा यसको सुरुवात त हामीबाटै हुन्छ ।’

‘म फ्रान्सको कारवाँमा हुर्किएँ । म घुम्नका लागि कहिल्यै बाहिर गइनँ । २४ वर्षसम्म मसँग राहादानी पनि थिएन । मलाई के विश्वास छ भने हामी कति भाग्यमानी रहेछौँ भनेर उनीहरूले पछि मनन् गर्नेछन् । हामीहरू पैसा कमाउनका लागि आफ्नो सिङ्गो जीवन अनलाइनमा प्रदर्शन गर्छौं । वास्तवमा यसैको महत्त्व छ ।’

‘मेरा केटाकेटीहरूलाई, हामीलाई सबैले अनलाइन हेरिरहेका छन् भन्ने समेत भेउ छैन । कहिलेकाहीँ उनीहरू भन्छन्– हेल्लो !, गुडनाइट ! मानौँ उनीहरू कसैसँग फोनमा कुरा गरिरहेका छन् । उनीहरूले यो सबै बुझिसकेका छैनन् । खासमा ती निकै साना छन्,’ जेसिका थिवना आफ्ना केटाकेटीबारे भन्छिन् ।

शिकागोमा बसोबास गर्ने कैमको दृष्टिकोण जेसिकाको भन्दा भिन्न छ । सामाजिक सञ्जालमा उनी कहिल्यै आफ्नो वास्तविक नाम प्रयोग गर्दिनन् ।

‘मलाई लाग्छ कुनै पनि साना नानीबाबुहरूको बाल्यकाल सामान्य र रोमाञ्चक मात्रै हुनुपर्छ । उदाहरणका लागि ड्रेसअप गर्नु, खेल्नु, साथीहरूसँग घुमघाम गर्नु, संगीत सुन्नु’, कैम ।

कैमले थाहा पाउँदासम्म उनको सिङ्गो बाल्यकाल भिडियोमा कैद गरेर अनलाइन पोस्ट गरिन्थ्यो । उनकी आमाले कैमको पूरै बाल्यकाल फेसबुकमा सार्वजनिक गरेकी छन् ।

‘मैले चिन्दै नचिनेका मानिसहरू म भएतिर आउँथे र मेरी आमाले आफ्नो फेसबुकमा पोस्ट गरेको कुनै फोटो–भिडियो हेरेर मलाई बधाइ दिन्थे । जस्तै, मेरो पिरियड । उदाहरणका लागि कुनै मान्छे मेरो नजिक आयो, उसलाई म चिन्दा पनि चिन्दिनँ । उसले मेरो नजिक आएर भन्यो– ए, तिमी त अब ठुली भइसक्यौँ, बधाइ छ है । उसको कुराले मलाई निकै असहज बनाइदियो । किनभने पहिलो पटक पिरियड हुँदा म ९ वर्षकी थिएँ । म निकै सानी थिएँ । र, मैले धेरै कुरा बुझ्न सकेकी थिइनँ तर पनि मानिसहरू के–के भनिरहन्थे ।’

2

‘मेरी आमाको पोस्टमा निकै धेरै कमेन्ट छन् । जस्तै– ओहो ! तपाईं कस्ती गज्जबकी आमा, तपाईंले आफ्ना केटाकेटीका लागि कति दुःख गर्दै हुनुहुन्छ हगि ! मेरी आमा समयसँगै सामाजिक सञ्जालकी एडिक्ट हुँदै गइन् अर्थात् लाइक, कमेन्ट, सहानुभूति र सबै ध्यान तान्नका लागि । कतिसम्म भयो भने मैले उनीसँग जति पनि राम्रो समय बिताएँ, त्यो सबै मेरा लागि नभइ सामाजिक सञ्जालमा सबैको ध्यान तान्नका लागि, त्यहाँ पोष्ट गर्ने सामग्रीका लागि हुन्थ्यो । त्यो सबै देखाएर मेरी आमा– आहा ! तपाईं कति राम्री आमा भन्ने कमेन्ट बटुल्न चाहन्थिन् । यो सबै कस्तो नक्कली महसुस हुन्छ है ।’

‘थाहा छैन, यही हो वा यसबाट हुने प्रभावले उनका आँखा सामाजिक सञ्जालका लाइक/कमेन्टले छोपिएका थिए । खोइ के हो– थाहा छैन । आजका दिन उहाँले– ए ! मलाई त्यस्तो थाहै भएन भन्न सक्नु हुन्छ । तर, उहाँलाई सबै थाहा थियो ।’

केही आमाबुबा दिन–रात आफ्नो र आफ्ना केटाकेटीको भिडियो बनाउँछन् । सामाजिक सञ्जालमा कुनै पनि व्यक्ति आफ्नै रियालिटी सोको स्टार बन्न सक्छ । तर, स्टार बन्ने होडबाजीमा मानिसहरू मानसिक रोगी बन्दै गइरहेका हुन्छन्, उदाहरणका लागिः

 

‘नानीहरू हो ! यो साँच्चै गजबको कुरा हो है, तिमीहरूले पहिलो पटक आईमाईले लगाउने ब्रा किन्दै छौ । यी ब्राहरू भिन्दा भिन्दै रङका छन् । तिम्रो लागि यो ठिक हुन्छ है ।’

(ब्रा किन्न पसल गएका अपरिचित साना नानीहरूलाई पसलले महिलाले भिडियोमा कैद गरिन् र उनको भिडियो समाजिक सञ्जालमा पोस्ट गरिदिइन् ।)

sharenting-image-scaled

‘आज डेन्टिस्टसँग जोएको भेटघाट राम्रो रह्यो । पहिलेभन्दा निकै राम्रो ।’

(रातको समयमा बच्चालाई डेन्टिस्टकोमा उपचार गराएर फर्केपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्की महिला ।)

 

‘म एक घण्टादेखि यहाँ काममा छु, अब तिमीले एक्लै सुत्ने बानी पार्नुपर्छ है ।’

(कामका सिलसिलामा घर बाहिर रहेकी अर्की महिलाले घरमा आफ्नो बच्चासँग कुरा गरेको भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै ।)

 

‘हामीले पहिलो पटक आफ्नो बच्चालाई काखमा लिँदै छौँ । पहिलो किस । पहिलो पटक काखमा लिनु । आहा ! कति प्यारो छ यो बच्चा ।’

(अस्पतालमा भर्खरै जन्मिएको शिशुलाई आमाबुबाले काखमा लिँदै गरेको भिडियो पोस्ट गर्दै ।)

 

संसारभर लाखौँ केटाकेटी अनलाइन दर्शकमाझ कठपुतलीझै बाँचिरहेका छन् । यो सबै अमेरिकामा सुरु भयो र एकै झोक्कामा संसारभर फैलियो । सामाजिक सञ्जालमा पहिलो ‘चाइल्ड स्टार’ अमेरिकाका रायन थिए । रायनकी आमाले सामाजिक सञ्जाल फेसबुकमा उनको पहिलो अनलाइन भिडियो पोस्ट गरेकी थिइन् ।

‘ओ हो ! यसले धेरै राम्रो गर्‍यो, यसलाई मैले जम्मा तीन सेकेन्डका लागिमात्र छोड्न खोजेकी थिएँ तर अहिले त यसले गज्जबै गर्‍यो । म तपाईंहरूलाई रायनले साइकल चलाउन सिकिसक्यो भनेर देखाउन चाहन्थेँ ।’, रायनकी आमा ।

 

रायन तीन वर्षकै हुँदा उनकी आमाले खेलौना छनोट गर्दै एउटा भिडियो सामाजिक सञ्जाल युट्युवमा पोस्ट गरेकी थिइन् । लगत्तै उनलाई भेटन विज्ञापन कम्पनीहरूको लाइन लाग्यो । ९ वर्षको हुँदासम्म रायनले २.७ करोड युरोभन्दा धेरै कमाउन थालिसकेका थिए ।

‘हाम्रा प्यारा दर्शकहरू, तीन करोड सस्क्राइबर पुर्‍याउनका लागि तपाईंहरूलाई धन्यवाद । तपाईंहरूको माया लाजबाव छ ।’, आफ्नी आमाको युट्युव पेजमा बोल्दै रायन ।

 

हेर्दाहेर्दै रायनकी आमा सबैभन्दा धेरै कमाइ गर्ने युट्युवर बनिन् । उनको सफलताले अन्यलाई प्रेरित गर्‍यो । त्यसैबाट प्रभावित भएर हाल कयौँ आमाबुबाहरू आफ्ना केटाकेटीलाई देखाएर पैसा कमाउने प्रयास गरिरहेका हुन्छन् ।

सानो बच्चा र महिलाको आवाजमाः

‘मेरो कति राम्रो जुत्ता छ हेर्नुस् त !

कहाँबाट लिएको ?

क्लारोसाबाट

क्लारोसा किड्स ? निकै राम्रा छन् ।

साथीहरू क्लारोसा किड्समा नयाँ राम्रा खेलौना पनि आइपुगेका छन् है ।’

 

विशेषज्ञका अनुसार इन्फ्लुएन्सर आमाबुबाहरू आफ्ना नानीबाबुको जीवनको मूल्यमा पैसा कमाउने ध्याउन्नमा छन् । केही परिवारहरू आफ्ना केटाकेटीलाई देखाएर अनलाइन साम्राज्य नै खडा गर्न भ्याउँछन् । क्लिक र फ्लोवरको चाहनामा कयौँ मानिस आफ्नो सुरुवाती लक्ष्यभन्दा धेरै पर पुग्छन् । कयौँले न्यूनतम् मानवीय सीमा नाघ्छन् । कयौँ पटक यो नानीबाबु जन्मिनु अगावै सुरु भइसक्छ ।

हामीले पेरिसमा इन्फ्लुएन्सर केली बेसीसँग कुरा गर्‍यौँ । केलीको इन्स्टाग्राममा झण्डै २२ हजार फलोअर छन् । उनी त्यतिबेला पहिलो पटक आमा बन्ने प्रक्रियामा गर्भवती थिइन् । ‘मेरो डेलिभरीको मिति डेढ महिनापछि हो । तर, लाग्छ यो दुई हप्तामै यो जन्मिन्छ होला ।’, केली ।

केलीले पेरिसमा अनलाइन फिटनेस कोचका रुपमा आफ्नो पहिचान बनाएकी छन् ।

‘म गर्भवती छु भनेर जसै मैले सार्वजनिक गरेँ, कयौँ कम्पनीहरूले मसँग सम्पर्क गरे । यो मेरा लागि पनि अचम्मको कुरा थियो । उनीहरूले मलाई कपडा, डाईपर र स्ट्रोलर दिने प्रस्तावसहित भने– केली तिमी गर्भवती छौ, तिम्रो बच्चा हुँदैछ । के तिमीलाई हामी केही उपहार दिन सक्छौँ ? मैले सोँचे यो त पागलपन हो ।’, केली ।

गर्भवती भएका कारण एकातर्फ बक्सिङ र योगा टे«निङ छोड्नु पर्‍यो भने अर्कोतर्फ गर्भवती भएकै समय नयाँ–नयाँ अवसरहरू देख्न थालिन् उनले ।

‘यस अघिसम्म म जे पनि गर्थें, त्यो सबै फिटनेसकै वरपर हुन्थ्यो । म कोर्स र लाइभ सो गर्ने गर्थें । यसलाई कसरी निरन्तरता दिने होला भन्ने सोचिबस्थेँ म । सार्वजनिक रूपमा म गर्भवती छु भनेसँगै मलाई पहिले भन्दा धेरै प्रतिक्रियाहरू आउन थाले ।’

featuredimage_sharenting

‘मैले आफ्नो गर्भावस्थाका बारेमा कुरा गर्दै भनेँ– हाम्रो परिवारमा नयाँ सदस्य आउन लागेको छ । मैले पहिलो हप्तादेखि नै यसलाई लुकाएर राख्ने प्रयास गरेकी थिएँ । आखिर तपाईंहरू सबैलाई यो भन्दै गर्दा म निकै खुसी छु । मेरो सामाजिक सञ्जालमा १६० कमेन्ट र १५ सय ९८ लाइक आयो । सामान्य रूपमा यो ३८० देखि ६०० सम्म मात्रै लाइक भइ बस्थ्यो । त्यसपछि मलाई लाग्यो– सामाजिक सञ्जालबाट फाइदा लिनु पर्छ । त्यसपछि म सामाजिक सञ्जालमा गर्भावस्थाको भिडियो पोस्ट गर्न थालेँ ।’

उता केलीका पति सामाजिक सञ्जालमा गर्भावस्थाको फोटो/भिडियो सार्वजनिक गर्ने विषयलाई गम्भीरतापूर्वक लिइरहेका छन् । उनी केलीसँग कुरा गर्दै भन्छन्ः

पतिः ‘तिमीले मलाई जति पनि सामाजिक सञ्जालका अकाउन्ट देखाएकी छौ, त्यसमा जति पनि आमाहरूले लगातार आफ्ना केटाकेटीको प्रदर्शन गरिरहेका छन्...’

केलीः म त्यस्तो केही गर्दिनँ ।

पतिः मलाई त लाग्दैन ।

केलीः होइन–होइन, विल्कुलै होइन । यदि हामीसँग कुनै राम्रो फोटो छ भने म त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चाहन्छु तिमीसँग नसोधिकनै, तनावमुक्त भएर । तर, म जे पायो त्यही पोस्ट गर्दिनँ ।

पतिः हाम्रो जीवन विज्ञापनजस्तो हुनु हुँदैन है । मैले भनेको कुरा तिमी, बुझीराखेकी छौ नि ? मेरो बच्चाको फोटो–भिडियो कुनै विज्ञापन कम्पनीले बिस्कुट वा अन्य कुरा बेच्न प्रयोग नगरोस् भन्ने चाहन्छु म । तर, केही पोस्ट सावधानीपूर्वक, छनोट गरेर गरिन्छ भने ठकै छ ।

केलीः हुन्छ । म तिमीसँग सहमत छु । तर, तिमीले यो कुरा मलाई छिटै भन्नुपर्ने हुन्छ । किनभने हिजोमात्रै अर्गानिक भिगन मिल्क कम्पनीका मान्छेसँग भेट्नु थियो । यदि तिमीलाई त्यो मन पर्दैन भने त मैले उनीहरूलाई पहिले नै भन्नु पर्‍यो नि । मलाई थाहा छ– उनीहरू मैले दुधको बोतल तयार गर्दै गरेको भिडियो सुट गर्न चाहन्छन् । तर, मलाई के पनि थाहा छ भने उनीहरूले बच्चालाई खुवाउँदै गरेको पनि सुट गर्न चाहन्छन् ।’

3

‘म केटाकेटीलाई प्रयोग गरेर त्यतिमात्रै काम गर्नेछु, जति नैतिक सीमाभित्र छ । र, जहाँ केटाकेटीका बारे धेरै कुरा भन्न नपरोस् । मेरो बच्चा सामाजिक सञ्जालमा ट्रेन्डिङ गरोस् भन्ने म चाहन्नँ । र, म उसलाई त्यस्तो कुनै काम गर्न बाध्य पार्ने छैन, जुन ऊ चाहँदैन । म केटाकेटीका लागि घातक हुन सक्ने कुनै पनि फोटो पोस्ट गर्ने छैन । मलाई के विश्वास छ भने म भावी दिनहरूमा पनि सतर्क हुनेछु । साँच्चै भन्ने हो भने मलाई यही कुराले तर्साउने गर्छ ।’, केली ।

सामाजिक सञ्जालमा पोस्ट गरिने भिडियो बनाउँदै जेसिका आफ्ना फलोवरहरूलाई भन्छिन्ः

‘मलाई थाहा छ, मेलोनलाई खोकी लाग्दा तपाईंहरू आत्तिनु हुन्छ । आमाबुबाका नाताले हामी पनि यसबारे सोच्ने गर्छौँ तर अब यसमा हामीहरू अभ्यस्त हुनै पर्छ । उसको छातीमा कफ जमेको छ कि भनेर हामीले ख्याल गरिरहेका छौँ । तपाईंहरू बारम्बार उसलाई एलर्जी, दम छ कि भनेर भनिराख्नु हुन्छ । हामीले सबै टेस्ट गराइसकेका छौँ, उसलाई सास लिन अप्ठ्यारो भए पनि कुनै ठुलो समस्या छैन । मैले तपाईंहरूसँग निकै कुरा गरेँ । तर, यो सबै थोरै नै हो ।’

 

मेलोनलाई जन्मदेखि नै सास फेर्न अप्ठ्यारो हुने गरेको छ । यसका साथै उनको खाना निल्ने नलीमा पनि समस्या छ । त्यसैले निरन्तर उनलाई मेडिकल हेरचाहको खाँचो परिरहन्छ । जेसिका प्रत्येक दिन अनलाइनमार्फत आफ्ना फलोअरलाई झण्डै सबैजसो कुरा भनिरहेकी हुन्छिन् ।

‘हामीले आफ्ना फलोअरलाई सबै कुरा भन्नै पर्छ । हाम्रा धेरै फलोअर्स छन्, त्यसैले हामी यत्तिकै हराउन मिल्दैन । नभए उनीहरूलाई नराम्रो लाग्न सक्छ । हाम्रा फलोअर घट्न सक्छन् । यदि पछि मेलोनले मेरो स्वास्थ्यका विषयमा सामाजिक सञ्जालमा सार्वजनिक किन गरेको भनेर भन्यो भने म उसलाई यो सबै मेरा लागि मानसिक र भावनात्मक कोणबाट जरुरी थियो भन्ने छु । तिम्रो भिडियो शेयर गरेर ममा साहस आयो, यसले मलाई अघि बढ्न सहयोग गर्‍यो भन्ने छु ।’

छोराको स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेपछि जेसिकाले अर्को भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिन्ः

‘हामी अहिले अस्पतालमा छौँ (भिडियोमा मेलोन खोकीबाट ग्रस्त देखिन्छ) हेरौँ डाक्टरहरूले के भन्छन् । अस्पतालमा रहेको मेलोनको मनपर्ने खेलौना उसले पाइसकेको छ । ऊ फेरि खुसी हुन थालेको छ । ओह ! मेरो पुन्टे । तर, अस्पतालमा साँच्चै धेरै समय खर्चिनु पर्छ ।’

c

जेसिकाले कस्मेटिक र केटाकेटीको उत्पादनका लागि कयौँ ब्रान्ड स्थापित गरेकी छन् । अनलाइन लोकप्रियताले उनको सफलता दर्शाउँछ ।

‘हो हामी इन्फ्लुएन्सर हौँ । हामीले आफूलाई भाग्यमानी नै ठान्नु पर्छ– हामी यस समुदायको हिस्सा हौँ । हामी आफ्नो ब्रान्ड प्रमोट गर्न सक्छौँ । आफ्ना फलोअर्सका कारण ब्रान्डलाई स्थापित गर्न सक्छौँ ।’, जेसिका भन्छिन् ।

जेसिकाले दुई वटा किताब पनि प्रकाशित गरेकी छन् । त्यसमा उनको परिवारका अप्रकाशित कथा र तस्बिर छन् ।

‘मलाई लाग्दैन, आफ्नो व्यापार स्थापित गर्न मैले केटाकेटीको प्रयोग गरिरहेकी छु । मैले उनीहरू जन्मनु अघिदेखि नै आफ्नो जीवनका विभिन्न कुरा सामाजिक सञ्जालमा शेयर गर्ने गर्थें । र, उनीहरू टाढिएपछि पनि यस्तो गरिरहने छु । तर कसलाई के थाहा– भविष्यमा के हुन्छ ?’ (हाँस्दै...), जेसिका ।

 

सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको अर्को एउटा भिडियोमा आमाले आफ्नी छोरीलाई सोध्छिन्ः

‘शेरी एउटा प्रश्न छ ।

हुन्छ, भन्नुस न ।

तिम्रो डेटिङ लाइफ कस्तो चलिराछ ?’

 

धेरै भन्दा धेरै क्लिक र फलोअर बनाउने होडमा केही आमाबुबा मानवताको सीमा रेखा नाघिरहेका हुन्छन् ।

कथित ‘चीज च्यालेन्ज’ मुद्दामा यस्तै भयो । यो अनलाइन टे«न्ड थियो । यसमा आमाबुबाले आफ्नो बच्चाको अनुहारमा चिजको एउटा टुक्रा फालेर त्यसको प्रतिक्रिया रेकर्ड गर्थे । यस्ता आमाबुबा जुनसुकै मूल्यमा धेरैभन्दा धेरैको ध्यान आफूतर्फ तान्न चाहन्छन् र यसैलाई अंग्रेजीमा ‘अटेन्सन सिकर’ भनिन्छ ।

कोही त योभन्दा पनि अघि बढेर र जानीबुझी केटाकेटीमा पर्न सक्ने नकारात्मक छापको ख्यालै नगरी अनलाइन भिडियो बनाइरहेका हुन्छन् ।

उदाहरणका लागि अमेरिकाका त्यस्तै आमाबुबाको अनलाइन भिडियो हेरौँ, जहाँ उनीहरू आफ्ना केटाकेटीमाथि चिच्याउँदै गालीगलौजको शैलीमा कराउन थाल्छन् र केटाकेटीहरू मैले गरेको होइन भनी डराएको अभिनय गर्छन् । यस्ता खाले भिडियोमा ‘डार्क म्युजिक’ को प्रयोग गरिएको हुन्छ ।

पुरुषः ‘नालायक ! तैँले यो के गरेको ? के गरेको यो ?

केटाकेटीः मैले गरेको होइन ।

महिलाः तिमीले के गरेको हो भन त ।

केटाकेटीः भगवान कसम मैले गरेको होइन । मम्मी मैले गरेको होइन ।

महिलाः हे भगवान ! (डर मिश्रित चिच्याहटको म्युजिकसहित)

Sharenting__1920x1280

अमेरिकामा यी आमाबुबाले युट्युवमा यस्ता कयौँ भिडियो अपलोड गर्नका लागि आफ्ना केटाकेटीलाई क्यामराका अघिल्तिर बारम्बार अपमानित गरे ।

पुरुषः ‘अबदेखि तैँले कुनै पैसा पाउँदैनस्, सबै बन्द ।

सानो बालकः हामीले यो गरेको होइन (केटाकेटीको चिच्याहटबिच)

पुरुषः तैँले नै गरेको होस् ।’

 

उनीहरूको युट्युव च्यानलमा साढे सात लाख सस्क्राइबर थिए । यो सबै कयौँ वर्षसम्म चलिरह्यो । तर, अन्ततः उनीहरूको भिडियोका विषयमा कसैले प्रहरीमा उजुरी परेपछि त्यसलाई बन्द गरियो र उनका दुई बच्चालाई सुधारगृहमा राख्न थालियो ।

केटाकेटीः ‘यो भिडियो हेरी सकेपछि लाइक र सस्क्राइभ गर्न नभुल्नु होला ।’

DALL·E-2024-03-02-20.02.36-Create-an-image-that-represents-the-concept-of-Sharenting-and-its-potential-risks-for-a-parenting-magazine-cover.-The-image-should-visually-depict-t

सामाजिक सञ्जालमा यी भिडियोहरू किन सेन्सर गरिएन त ? अनलाइन सिस्टम वा सामाजिक सञ्जालहरू अल्गोरिदमका आधारमा चल्छन् र युजर्सले हेर्दै गरेको सामग्रीका आधारमा थप सामग्री पस्कने गर्छन् । ‘चाइल्ड कन्टेन्ट’ ले विशेष गरेर सबै वर्ग, समूहका मानिसलाई आकर्षित गर्ने हुनाले अल्गोरिदमले यसलाई फैलाउन झनै ठुलो भूमिका खेलिरहेको हुन्छ ।

‘सामाजिक सञ्जालमा हामी एक हदसम्म अल्गोरिदमकै कठपुतली हौँ भन्दा हुन्छ । हामीले के हेर्ने, के पढ्ने भनेर उसैले तय गर्ने गर्छ । हामीलाई के विश्वास दिलाइन्छ भने हामीसँग विकल्प छन् । हामीलाई दर्जन जति भिडियो वा पोस्ट देखाइन्छ तर अल्गोरिदमले एक अरब पोस्टमध्ये एउटा छान्ने गर्छ । ऊसँग निर्णय गर्ने असीमित क्षमता छ ।’, गियूम शेस्लो ।

शेस्लो फ्रान्समा कम्प्युटर प्रोग्रामर हुन् । तीन वर्षसम्म युट्युव रेकेमेन्डेसनका लागि अल्गोरिदम सिस्टम बनाउने काम गरेका उनी हालका वर्षहरूमा युजर्सको अधिकार सुरक्षित गर्न तथा अनलाइन पारदर्शिताका लागि सङ्घर्ष गर्न आफ्नै वेबसाइट चलाइरहेका छन् ।

‘अल्गोरिदम सामाजिक सञ्जालका लागि लक्षित निर्देशको एउटा सिलसिला हो । अल्गोरिदमले तपाईंको रुचि अनुरुपको सामग्री देखाएर लामो समयसम्म तपाईंलाई अनलाइनमै बाँधिराख्न चाहन्छ । प्लेटफर्म विज्ञापनका माध्यमबाट कमाउँछन् अर्थात् तपाईं जति धेरै समय अनलाइनमा बिताउनु हुन्छ, तपाईंलाई त्यति धेरै विज्ञापन देखाइन्छ । र, उनीहरूले त्यसैबाट धेरैभन्दा धेरै पैसा कमाउँछन् ।’

‘दुई वर्ष अघि मैले युट्युवले कति कमाउँछ भनेर हिसाब निकाल्ने प्रयास गरेँ । युट्युवमा आममान्छेले बिताएको प्रत्येक घण्टाको ४ सेन्ट कमाउँछ । अनि केही वर्ष अघिमात्रै युट्युवले आफ्नो प्लेटफर्ममा मानिसले दैनिक एक विलियन घण्टा समय बिताउने गरेको बताएको थियो । अब तपाईंले एक विलियन गुणा ४ सेन्ट गर्नुस् त कति हुन्छ ? तपाईंले सोचेभन्दा यो कयौँ गुणा धेरै हुन आउँछ ।’

‘केटाकेटीलाई प्रदर्शन गरेर बनाउने भिडियोको फाइदा के हो भने त्यसले धेरै जनालाई आकर्षित गर्छ । त्यसले युवा, प्रौढ, आमा–बुवादेखि केटाकेटी सबैलाई आकर्षित गर्छ । र, त्यो पिडो फाइलबिच पनि निकै प्रख्यात छ । यस्ता भिडियोले धेरै मानिसलाई आकर्षित गर्ने भएकाले अल्गोरिदमले यसलाई झनै धेरै फैलाउँछ । यसले त्यस्ता सामाजिक सञ्जाललाई मुनाफा कमाउन सहयोगी भूमिका खेल्छ । त्यसैले यस्ता भिडियो धेरैभन्दा धेरै प्रसारित गर्नु मुनाफाखोर कम्पनीको हितमा छ । उनीहरूले यसैबाट त धेरैभन्दा धेरै पैसा कमाउँछन् ।’, शेस्लो ।

उता शिकागोमा हुर्किएकी कैम भन्छिन्, ‘म सानै उमेरदेखि नै मानिससँग टाढिन थालेकी थिएँ । कतिसम्म भने म खाना वा अन्य आवश्यक काम बाहेक कोठादेखि बाहिरै निस्कदैनथेँ र म के सोचिरहेकी छु भनेर पनि मलाई कसैले सोधेन । कि त उनीहरूलाई मेरो कुनै चासो थिएन वा उनीहरूलाई त्यस्तो कुनै कुरा गर्नै चाहँदैनथे, जुन फेसबुकमा पोस्ट गर्न लायक नहोस् । कम्तीमा मलाई त यस्तै लाग्छ ।’

‘बाल्यकालबारे मनमा कुरा खेलाउँदा म निकै दुःखी हुन्छु । म जस्तो परिस्थितिमा हुर्किएँ, वास्तवमा म त्यसको हकदार थिइनँ ।’

‘यस्ता कयौँ उदाहरण छन्, जसमा मेरी आमाले मेरो भलोका लागि भन्दा पनि फेसबुकको लाइक–कमेन्टका लागि धेरै ध्यान दिनु भयो । थाहा छैन, किन ? तर यसले मलाई धेरै दुःखी बनाउने गर्छ । अरु त अरु, उनलाई त्यसो गर्नबाट कसैले किन रोकेन भन्नेमा पनि मेरो चिन्ता छ । मैले आफ्नी आमालाई आखिर किन ? भनेर सोधेँ । किन ? त्यस्तो किन गर्नु भयो ? मेरो कुरा किन सुन्नु भएन ? मैले त्यस्तो के गरेकी थिएँ, जसका लागि मैले यस्तो भोग्नु पर्‍यो ? ...आखिर किन ?’, कैम भावुक हुँदै प्रश्न भन्छिन् ।

धेरै वर्षपछि कैमले टिकटक अकाउन्ट खोलेकी छन् । त्यहाँ उनले आफ्नो बाल्यकालमा परेको मानसिक विक्षिप्तता बारेमा अरुसँग कुरा गर्ने गर्छिन् ।

‘ठुलो हुँदै गर्दा मेरो कुनै व्यक्तिगत गोपनीयता थिएन । म जसलाई चिन्दै चिन्दैनथे, उनीहरूले समेत मेरो जीवनको निजी कुरा थाहा पाइसकेका थिए ।’, कैमसँग कुरा गर्दै एउटी पीडिताले भनिन् ।

केही बेरसम्म टोलाएर कैमले भनिन्, ‘मलाई लाग्छ, अब धेरैजनाले यसको नोक्सान र नकारात्मकताबारे गम्भीरतासाथ विचार गर्न थालेका छन् । र, यसले ममा आशा थप्ने गर्छ ।’

युरोपमा युजर्सलाई आफ्नो सबै जानकारी डिलिट गर्ने अधिकार छ । यो विशेषगरेर केटाकेटीसँग जोडिएको मामिलामा लागु हुन्छ । नेदरल्याण्डमा साईमन रुहौँफ ती वेबसाईट पत्ता लगाउने गर्छन्, जहाँ नाबालिकको फोटो गैरकानुनी रूपमा प्रयोग गर्ने गरिन्छ । उनी साइबर सुरक्षा विशेषज्ञ हुन् ।

‘यो वेबसाइटमा निकै धेरै फोटो छन् । केटाकेटीका फोटो छन् । केही उत्तेजक छन् । तर, तीमध्ये अधिकांश सामान्य तस्बिर छन्, जुन इन्स्टाग्राम प्रोफाइल, फेसबुक प्रोफाइल, युट्युव, स्न्यापच्याट वा टिकटकमा प्रयोग गर्ने गरिन्छ । मेरो नाम साईमन रुहौँफ हो । म नेदरल्याण्डमा साइबर सुरक्षा विशेषज्ञ छु । म इथिकल ह्याकर हुँ ।’

‘इथिकल ह्याकर ती व्यक्तिलाई भन्ने गरिन्छ, जो कानुनको रक्षाका लागि काम गर्छन् । यस्ता ह्याकर आममानिसलाई सहयोग गर्न चाहन्छन् । उनीहरू दुनियाँका लागि राम्रो काम गर्न चाहन्छन् ।’, साईमन ।

प्रत्येक महिना दुई करोड भिजिटर भएको एउटा रुसी वेबसाइट देखाउँदै साईमन भन्छन्– यो वेबसाईट दुनियाँमा सबैभन्दा धेरै हेरिने वेबसाइटमध्ये एक हो । यसमा जसको पनि पहुँच छ ।

‘यो वेबसाइट एउटा सामान्य इमेज होस्टिङ वेबसाइट जस्तै देखिन्छ । जसमा करोडौँ तस्बिर छन् । यस वेबसाइटमा झण्डै साढे सात करोड तस्बिर छन् । र, ती सबै छुट्टाछुट्टै क्याटोगरीमा छन् । जस्तै अटो, शहर वा जनावरहरूको तस्बिर । तर यहाँ अर्को एउटा क्याटोगरी पनि छ– केटाकेटीको । तर, यसलाई हेर्दा लाग्छ, ७५ प्रतिशत तस्बिर केटाकेटीसँग सम्बन्धित छन् । त्यसैले यसबाट वेबसाइटका मुख्य भिजिटर को हुन् भन्ने स्पष्ट हुन्छ । यो पिडो फाइल व्यक्तिहरू हुन् ।’, साईमन थप्छन् ।

यस पेजको चिल्डे«न केटोगेरीमा भर्खरै प्रकाशित गरिएको एल्बमलाई १२ मिनटमा २५ हजारभन्दा धेरै पटक हेरियो ।

‘तपाईंले इन्टरनेटमा जे पोस्ट गर्नु हुन्छ, त्यो कहिल्यै मेटिँदैन । त्यसैले तपाईंहरू स्वयं आफ्नो व्यक्तिगत गोपनीयताबारे जागरुक हुनुपर्छ । आफ्नो अनलाइन उपस्थितिबारे पनि । र, साथै आफ्ना प्रियजन र परिवारका लागि पनि । मलाई के विश्वास छ भने पत्रकारहरूले यस वेबसाइटका बारे लेख्ने छन् र प्रशासनले यस्ता वेबसाइटलाई कारबाही गर्नका लागि कदम उठाउने छ ।’, साईमन ।

उता दुबईमा जेसिका आफ्ना दुवै बच्चालाई दिनभरि विभिन्न ठाउँ घुमाएर भर्खरै फुटबल स्टेडियम आइपुगेकी छन् । स्टेडियम आए लगत्तै उनले आफ्ना फलोअरहरूलाई नयाँ अपडेट गराउँदै भनिन्ः

‘सबै राम्रै भइरहेको छ । आज केटाकेटीहरूको दिन गज्जब रह्यो । किन्डर गार्डेनपछि हामी अहिले यहाँ फुटबल खेल्न आएका छौँ, उनीहरूले अलिकति भागदौड गरे भने राति राम्रो निद्रा लाग्न सक्छ ।’

‘मलाई लाग्दैन हामीले आफ्ना केटाकेटीले फुटबल खेलेको देखाएर उनीहरूको जीवनलाई नै खतरामा पुर्‍याइरहेका छौँ । के कुरा साँचो हो भने सामाजिक सञ्जालमा केही अनौठा मान्छे पनि छन् । केही सनकीहरू छन् । तर, के गर्ने ? मलाई लाग्दैन, हामीले उनीहरूको जीवनलाई सामाजिक सञ्जालमा देखाएकै कारण उनीहरू हामीसँग रिसाउँछन् । हामी त्यस्ता आमाबुबा होइनौँ, जसले पछि ग्लानी गर्न परोस् । हामीले केही गलत गरेका छैनौँ । यदि पछि उनीहरूलाई अप्ठ्यारो हुन्छ भने उनीहरूले आफ्नो नाम फेर्दा हुन्छ । मलाई केही आपत्ति हुने छैन ।’, जेसिका ।

सामाजिक सञ्जालका आलोचक तथा यस क्षेत्रका विज्ञहरू कुनै पनि युजर्सको सामाजिक सञ्जालबाट फोटो डाउनलोड गर्ने प्रावधान अझै कठिन हुनुपर्ने मत राख्छन् । त्यस्तै डिलिट गर्ने अप्सन सजिलो बनाइनु पर्छ भन्छन् । कैम यही माग गरिरहेकी छन् ।

‘यो त निकै डरलाग्दो छ । किनभने नचिनेका मान्छेहरू पनि आफन्तले जस्तै व्यवहार गर्न थाल्छन् । कतिसम्म सम्भावना छ भने जोसुकै युजर्सले केटाकेटीको फोटो डाउनलोड गरेर आफ्नो फोनमा वालपेपर बनाउन सक्छन् । वा कम्पाईलेसन भिडियो बनाएर वा यत्तिकै ट्वीटर जस्ता अन्य सामाजिक सञ्जालमा पोष्ट गर्न सक्छन् । आम युजर्सहरू कमेन्ट गरिरहेका हुन्छन्– अँ हो ! मैले फलानोलाई फलानो पसलमा देखेको थिएँ, तर कुरा गर्न अलिक अप्ठ्यारो लागेर गरिनँ । फेरि अर्कोले त्यसैमा थप्दै भन्छ– ए ! म हुन्थे भने भेटेर हेलो भन्थेँ, कुराकानी गर्थेँ । यस्ता कयौँ उदाहरण छन् । कुनै पनि अपरिचित व्यक्तिहरू साना केटाकेटीलाई सामाजिक सञ्जालमा देखेको भरमा सम्पर्क गर्छन् ।’, कैम ।

कैमले आफ्नो कथा वासिङटन स्टेट लेजिस्लेचरलाई सुनाइन्, जसले अनलाइन इन्फ्लुएन्सरका केटाकेटीको सुरक्षाको दृष्टिकोणबाट विधेयकमाथि विचार गरिरहेको छ ।

‘मलाई यसमा गर्व छ । र, म यसमा खुसी छु कि म यसको हिस्सा बन्न पाएँ ।’, कैम भन्छिन् ।

कैमले जस्तै अन्य एक जना पीडितले पनि वासिङटन स्टेट लेजिस्लेचरलाई आफ्नो अनुभव सुनाउँदै भनिन्ः

‘म मात्रै के भन्न चाहन्छु भने आज मैले विगत तीन वर्षमा पहिलो पटक आफ्नो कानुनी नामबाट परिचय दिएँ । किनभने म आफ्नो नाम भन्न निकै डराउँछु । मैले नाम भन्नासाथ मेरो डिजिटल फुटप्रिन्ट जसमा मेरो कुनै नियन्त्रण थिएन, यत्रतत्र छ । माफ गर्नु होला, जब तपाईंले मेरो नाम गुगल गर्नु हुन्छ, मेरो पहिलो नामबाटै बिकिनी किन्दै गरेको मेरो फोटो/भिडियो आइपुग्छ । र, मलाई के डर छ भने ती तस्बिरहरू मेराविरुद्ध हतियार बन्न सक्छन् । १२ वर्षको उमेरमा मलाई एउटा अपरिचित म्यासेज आयो, उसले मलाई बाइक चलाउँदै गर्दा देखेको रहेछ । र, त्यही म्यासेजमा उसले मलाई मेरो घरसम्म पछ्याएको कुरा भन्यो । म झस्याङ्ङ भएँ ।

 

‘मलाई लाग्छ, कानुन बनाउनका लागि यो सबै बुझ्नु जरुरी छ । एउटा सिङ्गो पुस्ताले कतिसम्म भोग्नु परेको छ भनेर कानुन निर्मातालाई थाहा हुनुपर्छ । यो किन पनि जरुरी छ भने कानुन अझै इन्टरनेटसम्म पुग्न सकेको छैन । र, दुःखसाथ भन्नु पर्छ, वासिङटनमा अझै पनि यो विधेयक सदन विधेयककै रूपमा झुण्डिरहेको छ ।’

‘मैले आफ्नो कथा, आफ्नो अनुभवबारे सबैलाई भन्नु पर्छ भन्ने बाटो रोजेँ । किनभने जति बेला म यो कुरा भनिरहेकी हुन्छु, त्यतिबेला मेरो लक्ष्य केटाकेटीलाई अनलाइनमा पोस्ट गर्ने आमाबुबामाथि खनिनु हुँदैन । म वास्तवमा उहाँहरूलाई यसको गम्भीरता बुझाउन चाहन्छु । केटाकेटीको फोटो पोष्ट गर्दैमा तपाईंलाई आनन्द आउन सक्छ तर ती केटाकेटीको जीवनमा गम्भीर नकारात्मक प्रभाव परिरहेको हुन्छ ।’, कैम ।

यता पेरिसमा फिटनेस र बक्सिङ इन्फ्लुएन्सर केली आमा बनिसकेकी छन् । बच्चासँगको उनको अनलाइन व्यवसाय निकै फस्टाएको छ र फल्दै–फुल्दै गरेको उनको व्यवसायबिच उनको सङ्कल्प कतै बिलाउँदै गइरहेको छ ।

‘मैले आफैँसँग भनेकी थिएँ, मैले यस्तो–त्यस्तो गर्ने छैन तर मैले गरेँ ।’, ग्लानीपूर्ण शब्दहरूमा उनले भनिन् । ‘गर्भवती बन्नु, आमाबुबा बन्नु र आमाको जिम्मेवारी आफ्नो काँधमा लिनु साँच्चै भन्ने हो भने आफूलाई नियन्त्रणमा राख्नै गाह्रो हुँदो रहेछ । साँचो कुरा भनौँ– यो सबै घटनाबाट म निकै भावुक भएँ । विशेषगरेर मेरो आमा बन्ने चाहना । सुखद् दिनको चाहना ।’, पेरिसको आफ्नो घरमा केलीले भनिन् ।

केली आफ्नो बच्चालाई लिएर बेडमा भिडियो सुट गराउँदै छिन् र क्यामरा पर्सन उनलाई निर्देश दिइरहेको छः

‘राम्रो भएन, तिम्रो पछाडिबाट लाइट आइरहेको छ ।’

 

‘इन्स्टाग्रामका लागि मैले आफ्नो नानीलाई वस्तुका रुपमा प्रयोग गरिरहेकी छु भन्दा वास्तवमै म आफूलाई दोषीजस्तै व्यवहार गर्न थाल्छु ।’, केलीले थप ग्लानीपूर्ण शब्द ओकलिन् ।

फ्रान्सिसी महिलाले सामाजिक सञ्जालमा पहिलो फोटो पोस्ट गरेको आज ठ्याक्कै ११ वर्ष बितिसकेको छ । फोटो पोस्ट गर्दा उनले पनि आफू गर्भवती रहेको थाहा पाएकी थिइन् । आज ओरली जूलियां तीन केटाकेटीकी आमा हुन् । उनलाई सामाजिक सञ्जालमा गर्भावस्था, पारिवारिक जीवन र केटाकेटीसँग सम्बन्धित क्षेत्रको मार्केटिङ गर्नका लागि अग्रणी मानिन्छ । ओरलीका इन्स्टाग्राममा ८५ हजारभन्दा धेरै फलोअर छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना फलोअरसँग कुरा गर्दै ओरली भन्छिन्ः

‘नमस्कार है, सबैलाई । आजका लागि मैले धेरै नै योजना बनाएकी छु । आउनुस सुरु गरौँ ।’

 

‘मेरो ब्लगपोस्टमा धेरै मानिस मलाई– धेरै राम्रो !, मैले पनि यो किनेँ है, भन्दै कमेन्ट गर्थे । त्यसबाट मलाई के लाग्यो भने उनीहरूले मेरै पोस्टका कारणले किनेका होलान् । म पहिलो पटक गर्भवती हुँदा कम्पनीहरूले मलाई स्ट्रोलर दिँदा म खुसी थिए । दोस्रो पटक पाउँदा पनि खुसी नै थिएँ । त्यसपछि मैले स्ट्रोलर जम्मा गर्न छाडिदिएँ । त्यसपछि मैले कम्पनीहरूलाई आफ्नो रेट बताएँ र तपाईंहरू पैसा दिन तयार हुनुहुन्छ ? भनेर सोधेँ । उनीहरूले सकारात्मक जवाफ दिएपछि बल्ल मलाई थाहा भयो, उनीहरूका लागि मेरो पनि कुनै मूल्य छ । आखिरकार मैले पनि अर्थशास्त्र पढेकी छु । मलाई पनि बजार कसरी चल्छ भन्ने थाहा छ ।’

‘बजारले कसरी काम गर्छ भन्ने मलाई थाहा थियो । यो सबै बजार र व्यापारको हिस्सा त हो । त्यसपछि मैले यसलाई व्यापारको रूपमा अघि बढाउने निधो गरेँ । तर, मेरी साथीहरू यसमा त्यति सफल थिएनन् । मैले सोचेँ, होइन ! यसलाई राम्रो गरी अघि बढाउनु पर्छ र उनीहरूलाई महिनाको केही हजार युरो दिएर आफूले पनि यसबाट कमाइ गर्नु पर्छ । यही त व्यापार हो ।’, ओरलीले भनिन् ।

आफ्नो अफिसमा पुगेर ओरलीले सबैलाई नमस्कार भन्दै अघि बढिन् । र, हालसम्मको अपडेटबारे जान्ने प्रयास गरिन् ।

ओरलीः ‘केटाकेटीको घुम्ने योजनामाथि केही अपडेट छ ?’

स्टाफः ‘हामीले फेसन लेबर र मोडेल एजेन्सीसँग कुरा गर्‍यौँ र एउटा सम्झौतामा पुग्यौँ ।’

pexels-rodnae-productions-6849504-scaled

ओरलीले परिवारसँग जोडिएका उत्पादनमा विशेषज्ञता हासिल गरेको आफ्नै एजेन्सी खोलेकी छन् । उनीसँग यहाँ सात जना काम गर्छन् । ३० पेरेन्ट इन्फ्लुएन्सर पनि उनीसँगै काम गर्छन् ।

‘यत्तिकै ठट्टै–ठट्टामा सुरु भएको यो कामले मेरा तीन केटाकेटी र परिवारको आवश्यकता पूरा गर्छ । यो वास्तवमै धेरै राम्रो छ । मेरा पतिले आफ्नो जागिर छोडेर अहिले केटाकेटी स्याहार्ने गरी हाउस–हजबेन्डको काम गर्छन् ।’

‘हाम्रो एजेन्सीमा जोडिनका लागि तपाईंले बाल संरक्षण कानुनको पालना गर्नुपर्ने हुन्छ । मेरो छोरो पनि भिडियोमा काम गर्ने गर्छ । त्यसका लागि उसलाई हामीले पैसा तिर्नुपर्छ । ठिक त्यसैगरी, जसरी तपाईंले ठुलो विज्ञापनको फेसन सुटका लागि पैसा तिर्नुपर्छ । भलै यो काम सोसल मिडिया क्याम्पेनका लागि नै किन नहोस् । सन् १९९० मै बाल मोडेलका लागि एउटा कानुन बनाइएको थियो । त्यति बेला इन्स्टाग्राम र टिकटक नभए पनि आज यो कानुनले त्यसैगरी काम गर्छ ।’

‘कानुन अनुसार यदि कुनै केटाकेटीलाई अनुबन्ध पत्र नदिइ काममा लगाइन्छ भने तपाईंमाथि जरिवाना लाग्न सक्छ । त्यसका लागि लेबल एजेन्सी, मोडेल जो कोही जिम्मेवार हुन सक्छ । हाम्रा सबै केटाकेटीलाई अनुबन्ध गरिएको छ । र, उनीहरूलाई भुक्तान गरिन्छ । उनीहरूले पनि पैसा पाउने गर्छन् किनभने उनीहरू मेरो अनलाइन कार्यक्रमका हिस्सा हुन् । यसको मैले पैसा पाउने गर्छु, त्यसैले उसले पनि पाउने गर्छ । मेरो छोरासँग कन्ट्रयाक्ट स्लिप छ, ऊ पनि सोसल सेक्युरिटी कन्ट्रीब्युसनमा पैसा दिने गर्छ । ७९ युरो प्रतिघण्टा । साथै बिदाको भुक्तान पनि । उसको ग्रोस फिस १९५.८० युरो छ । यसमा के भनिएको छ भने उसले कमाएको पैसा १८ वर्षको नहुँदासम्म सरकारी खातामा जम्मा हुनेछ ।’, ओरलीले फ्रान्सको कानुनी प्रबन्धबारे भनिन् ।

‘यसमा कुनै बच्चा विनाअनुवन्ध भिडियो वा पोस्टमा देखियो भने त्यो गैरकानुनी हुनेछ । यस्तालाई गुप्त बालश्रम मान्ने गरिन्छ ।’ ओरलीले थपिन् ।

सन् २०२० मा फ्रान्सले एउटा कानुन पारित गरेको थियो । कानुन अनुसार इन्फ्लुएन्सरका बच्चाहरूलाई सरकारी निकायमा पञ्जीकृत गर्नुपर्छ । र, उनीहरूको कामको भुक्तान गरिनु पर्छ । केटाकेटीलाई कतिसम्म अधिकार छ भने उनका आमाबुबाले कुनै पोस्ट डिलिट गर्न मान्दैनन् भने पनि त्यो पोस्ट डिलिट गर्ने अधिकार बालबालिकामा छ ।

उता दुबईमा जेसिका खानाको टेबलमा परिवारसहित खाना खाँदै छिन् । र, सँगसँगै त्यसको छायाङ्कन पनि गरिदैँछ किनभने लगत्तै त्यसलाई उनले अनलाइनमा पोस्ट गर्ने छिन् । खाना खाँदै उनले आफ्नो छोरालाई सोध्छिन्ः

‘के तिमी ठुला केटाकेटीको स्कुल जान चाहन्छौँ ?

अहँ

तिमीले राम्रा साथी भेटाउन सक्छौँ ।

हुँदैन ।

तिमीलाई राम्रा साथी चाहिँदैन ? सायद गलफ्रेन्ड ?

चाहिँदैन ।

के चाहिन्छ तिमीलाई ?

म एक्लै बस्न चाहन्छु ।

...हामीले राम्रो खाना खायौँ । सलाद र भात ।

मलाई खुवाउनुस न ।

केटाकेटीले आज गजबै गरे । कहिले काहीँ उनीहरूले कुरा नसुन्दा थर्काउनु पर्ने हुन्छ । तर, आज त यिनीहरूले अद्भुत काम गरेका छन् ।

मिलोन तिमी सारै प्यारी छौँ ।’

‘यदि हामीले सामाजिक सञ्जाल चलाउन छाडिदिने हो भने के हुन्छ ? साँच्चै भन्ने हो भने म त्यति बेलासम्म रोकिने पक्षमा छैन, जबसम्म इन्स्टाग्राम वा स्न्यापच्याट नै बन्द हुँदैनन् । सामाजिक सञ्जाल हाम्रो जीवनको महत्त्वपूर्ण अंश बनिसकेको छ । हिजोआज जो–कोही अनलाइनमा छन् । मानिसलाई आफ्नो इच्छा अनुसार काम गर्ने स्वतन्त्रता हुनुपर्छ । हामीले प्रत्येक कुराको आलोचना गर्ने काम बन्द गर्नुपर्छ । हो, यसका पनि आफ्नै सीमा छन् तर जबसम्म तपाईं धेरै पर पुग्नु हुन्न, त्यतिबेलासम्म यसमा केही नराम्रो छैन ।’, जेसिका भन्छिन् ।

रातिबारे अपडेट दिँदै जेसिकाले आफ्ना फलोअरलाई भनिन्ः

‘गुड नाइट साथीहरू ! ऊ आफ्नो बिस्तरामा कति सानो देखिन्छ हगि ? आजको दिन अन्त्य भयो । आई लभ यु । अब हामी अफलाईन हुन्छौँ है साथीहरू । लाइट बन्द । गुडनाइट ।’

संसारभर ज–जसको बाल्यकाल सामाजिक सञ्जालमा छरपस्ट भयो, उनीहरू सबै एकबद्ध भएर आफ्नो अनुभव साझा गर्न थालेका छन् ।

‘मलाई के विश्वास छ भने तपाईंहरूले ढिलोचाँडो बुझ्नु हुनेछ र यसका परिणामहरू छिटै सतहमा देखा पर्ने छन् । तपाईंहरू जति छिटो आफ्नो कामको जिम्मेवारी लिनु हुन्छ, तपाईंले त्यति नै छिटो त्यसमा लगाम लगाउनु सक्नु हुन्छ । आफनो केटाकेटीसँग तपाईंहरूले आफ्नो सम्बन्धको गाढापना जोगाउन सक्नु हुनेछ ।’, कैम ।

सन् २०२३ मा इलिनोए राज्यमा एउटा कानुन पारित गरियो । जस अन्तर्गत इन्फ्लुएन्सर आमाबुबाले आफ्नो कमाई केटाकेटीसँग साझा गर्नुपर्ने हुन्छ । अन्य अमेरिकी राज्य पनि त्यस्तै गर्न खोज्दै छन् ।

जहाँसम्म साामाजिक सञ्जाल प्लेटफर्मको कुरा छ, तीमध्ये कसैले पनि हामीसँग कुरा गर्न मानेनन् ।

अमेरिकाको शिकागोमा कैमले आफ्नो नयाँ जीवनसाथी फेला पारेकी छन् । नदी किनारमा आफ्ना प्रेमीको हात समाउँदै उनी तालमा ताल मिलाउँदै हिँड्ने अभ्यास गर्दैछिन् । उनी भन्छिन्ः

‘मेरो जीवनको नयाँ यात्रा सुरु हुँदैछ । एलेक्स, मेरा प्रेमी हुन् । तर, यस अध्यायबारे म कसैलाई पनि सार्वजनिक रूपमा केही भन्न चाहन्न । यसलाई म आफैसँग राख्नेछु ।’

(जर्मन समाचार संस्था डीडब्ल्युले निर्माण गरेको डकुमेन्ट्री द डेन्जरर्स अफ शेयरेन्टिङ लाई नेपाली पाठक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि उपयुक्त हुने ठानेर अनुवाद गरिएको हो । भिडियो डकुमेन्ट्रको स्टोरी टेलिङ र टेक्स्ट स्टोरी टेलिङबिच भिन्नता हुने भएकाले सम्पादनसहित प्रकाशित गरिएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया