आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनमा राप्रपाको रणनीति : सके जित्ने, नसके प्रभाव देखाउने !

बिहीबार, २२ कात्तिक २०८१, १६ : १७
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्तरिक तयारीलाई तीव्र बनाएको छ । उम्मेदवार तय गर्नुअघि नै केन्द्रीय नेताहरूलाई फिल्डमा पठाएर वस्तुस्थिति बुझ्न लगाएको राप्रपाले उपनिर्वाचन हुने सबै ४४ पदमा उम्मेदवार फाइनल गरेर प्रचारप्रसारलाई तीव्रता दिन लागेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार उपनिर्वाचन हुने स्थानमा खटाइएका कमान्डरहरूले त्यहाँ पार्टीको पक्षमा माहौल बनाउने, बैठकको अध्यक्षता गर्नेदेखि सबै खालको चुनावी रणनीति बनाएर पार्टीका उम्मेदवारलाई जिताउन भूमिका खेल्नेछन् । 

राप्रपाले दोलखाको गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि कोषाध्यक्ष सोभित उप्रेती र आमन्त्रित केन्द्रीय सदस्य राजन खतिवडालाई कमान्डर तोकेको छ। यसैगरी मोरङको ग्रामथान गाउँपालिकामा महामन्त्री प्रह्लाद साह, काठमाडौँको कीर्तिपुर नगरपालिकाको कमान्डरमा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई कमान्डर तोकिएको छ । यसैगरी जाजरकोटको नलगाड नगरपालिकामा सहायक महामन्त्री शौरेन्द्र बहादुर शाह, दैलेखको महाबु गाउँपालिकामा महामन्त्री कुन्ती कुमारी शाही, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा महामन्त्री धवलशमशेर राणालाई कमान्डर तोकिएको छ । यी स्थानीय तहमध्ये स्वामीकार्तिकमा उपाध्यक्ष, कीर्तिपुरका प्रमुख, नलगाडमा उपप्रमुख, महाबुमा अध्यक्ष, गौरीशंकरमा उपाध्यक्ष र ग्रामथानमा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । यसबाहेक दुई स्थानमा जिल्ला समन्वय समिति प्रमुख र बाँकी स्थानमा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेकामा राप्रपाले सबै स्थानमा कमान्डर खटाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को कमान्डर रहेका केन्द्रीय सदस्य जनकराज पाठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन आवश्यक रणनीति बनाउनेदेखि उम्मेदवारको टुङ्गो लगाउने जस्ता कार्य भइरहेको बताए । उनका अनुसार शुक्रबार उम्मेदवार सिफारिसका लागि ककनी २ मा राप्रपाको वडा कमिटीको बैठक राखिएको छ । उक्त बैठकबाट उम्मेदवार सिफारिस गरेर जिल्ला कमिटी हुँदै केन्द्रमा पठाइने छ । केन्द्रीय निर्वाचन कमिटीले सिफारिस भएर आएका नामबारे अन्तिम निर्णय गरेर टिकट प्रदान गर्नेछ । 

राप्रपामा वडाको उम्मेदवार सिफारिस वडा र पालिकाको पालिका कमिटीले उम्मेदवार सिफारिस गरेर जिल्लामा पठाउने व्यवस्था छ । जिल्लाले केन्द्रमा पठाउने सिफारिस नामलाई केन्द्रीय निर्वाचन समितिले अनुमोदन गरेपछि उम्मेदवारी दर्ता गराउने व्यवस्था रहेको राप्रपाको भनाइ छ ।  

राप्रपाले कतिपय उपनिर्वाचन हुने स्थानबाट सिफारिस भएर आएका नामहरू फाइनल समेत गरिसकेको छ । प्रवक्ता श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकामा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छ।  अन्य केही स्थानमा पनि उम्मेदवार टुङ्गिएको र नटुङ्गिएको ठाउँमा क्रमशः सिफारिसअनुसार निर्णय हुँदै जाने उनको भनाइ छ । 

राप्रपाले २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँको शंखरापुर नगरपालिका, झापाको दमक नगरपालिका, रुपन्देहीको शिवराज नगरपालिका  र झापाको हल्दिबारी गाउँपालिकामा प्रमुख÷अध्यक्ष पदमा विजय हासिल गरेको थियो । यसैगरी झापाको भद्रपुर नगरपालिका, नवलपरासी पूर्वको रामग्राम नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा विजय हासिल गर्दा ६० हाराहारीमा वडाध्यक्ष पदमा पनि विजय हासिल गरेको थियो । त्यतबेला अध्यक्षमा भर्खरै राजेन्द्र लिङ्देन अध्यक्ष चुनिएको तथा पर्याप्त तयारीको अभावका बिच पनि सकारात्मक नतिजा ल्याइएको राप्रपाको दाबी थियो । त्यसलगत्तै सोही वर्षको मंसिरको चुनावबाट संसदीय राजनीतिमा दमदार कमब्याक गरेको राप्रपा संसदको चौथो शक्ति रहेको छ। 

 परम्परागत धार समात्ने र राजतन्त्रको मुद्दा बोकेको उक्त पार्टीले संसदीय निर्वाचनमा १४ सिट र २८ सिटमा विजय हासिल गरेको थियो । लामो समय कमल थापाको नेतृत्वमा रहेको राप्रपामा महाधिवेशनबाट लिङ्देन नेतृत्वमा आएपछि पार्टीप्रति केही आशा जगाउँदै प्रगति गर्न सफल भएका थिए । 

यद्यपि २०८० वैशाखमा भएको संघीय उपनिर्वाचनमा भने पार्टीमा खासै दमदार प्रदर्शन गर्न नसकेको राप्रपाले यो उपनिर्वाचनमा चाहिँ केही गरेर देखाउने दाबीका साथ पार्टीपंक्तिलाई परिचालन गरेको जनाएको छ । 

स्थानीय तहका रिक्त ४४ पदमध्ये २५ पदमा यसअघि कांग्रेसका उम्मेदवार निर्वाचन भएका थिए । यसैगरी नेकपा एमालेले ९ स्थानमा र माओवादी केन्द्रले  ८ स्थानमा जितेको थियो । यस्तै, जसपा नेपालले जितेको १ र स्वतन्त्र उम्मेदवारले जितेको एक स्थानीय तहमा पनि उपनिर्वाचन हुँदैछ । यी पदमा जनप्रतिनिधिको निधनसहितका विभिन्न कारणले पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । 

२०७९ को चुनावी नतिजालाई हेर्दा काठमाडौँको कीर्तिपुर नगरपालिकामा राप्रपाका पाँचौँ बनेको थियो । सो निर्वाचनमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतका साथ विजयी हुँदा चौथो बनेका राप्रपाका उम्मेदवार जितबहादुर विष्टले ५७२ मत मात्रै पाएका थिए । यस्तै मोरङको ग्रामथान गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार विजयी हुँदा राप्रपाको स्थान चौथो थियो । त्यहाँ पनि राप्रपाका उम्मेदवार पखु लाल विश्वासले मात्र ४४७ मत पाएका थिए । 

यसैगरी दैलेखको महाबु गाउँपालिकामा त राप्रपाको स्थिति दयनीय थियो । सो स्थानमा अन्तिमबाट दोस्रो भएका राप्रपाका उम्मेदवारले जम्मा १५ मत पाएका थिए । यसैगरी नलगाडको उपप्रमुख पदमा उम्मेदवार बनेकी डम्मर कुमारी बानियाले ४८ मतमात्रै पाएकी थिइन् । यसैगरी बाजुराको स्वामिकात्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा भने राप्रपाले उम्मेदवारी नै दिएको थिएन । यसबाहेक उपनिर्वाचन हुन लागेको अन्य स्थानका वडाध्यक्ष पदमा पनि राप्रपाको उल्लेख्य मत देखिँदैन । तर राप्रपाले त्यतबेला र अहिलेको अवस्था फरक रहेको भन्दै पार्टीले राम्रो गरेर देखाउने दाबी गरेको छ । प्रवक्ता श्रेष्ठले केही स्थानमा जित्ने र जित्नै नसके प्रभाव भने छाड्ने रणनीतिका साथ पार्टी मैदानमा उत्रिने बताए । 

उनले भने, ‘सबै ठाउँमा उम्मेदवारी दिन्छौँ । तुलनात्मक रूपमा पहिलाको भन्दा मत बढाउने र केही ठाउँमा जित्नेगरी नै तयारी गरिरहेका छौँ ।’ ठुला भनिएका दलहरू सत्ताको लिप्सामा रमाइरहेको तथा नयाँ भनिएका दलहरू पनि आन्तरिक समस्यामा फसेको अवस्थामा राप्रपाले आफ्नो विचार र एजेन्डाको बलमा राम्रो नतिजा ल्याउन प्रयास गर्ने श्रेष्ठको भनाइ छ । त्यसका लागि उम्मेदवारको छनोटमा पनि विशेष ध्यान दिने राप्रपाको रणनीति रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?