सिस्नेरी घटनाका आफन्तको आक्रोश : ‘एन्फाले हाम्रा छोराछोरी मार्न फुटबल एकेडेमी चलाएको हो ?’
काठमाडौँ । सिस्नेरी फुटबल एकेडेमीका किशोर खेलाडीहरुको निधन भएको ४५ औँ दिनको पुण्यतिथिमा सोमबार ललितपुरको कुपण्डोलमा श्रृद्धाञ्जली सभाको आयोजना गरियो । श्रृद्धाञ्जली सभा ‘हाम्रो अभियानः नेपाली फुटबलमा आमुल परिवर्तन’ नामक संस्थाको उपत्यका समन्वय समितिले आयोजना गरेको हो ।
श्रृद्धाञ्जली सभामा निधन भएका किशोर खेलाडीहरुको आफन्त, आयोजक संस्थाका पदाधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान र पूर्वपदाधिकारी, विभिन्न क्लबका पदाधिकारी, पूर्व र वर्तमान फुटबल खेलाडी, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले गत असोजमा पहिरोमा परी जीवन गुमाउने किशोर खेलाडीहरुको तस्बिरमा पुष्प गुच्छा चढाएर श्रृद्धाञ्जली अर्पण गरेका थिए । गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना किशोर खेलाडीको निधन भएको थियो ।
उक्त घटनामा मृत्यु भएका ६ जना बाल फुटबल खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आयार्च, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको निधन भएको थियो । श्रृद्धाञ्जली सभामा पहिरोमा परी जीवन गुमाउने किशोर खेलाडीका आफन्तहरुले आफ्नो धारणा पनि राखेका थिए ।
अधिकांश आफन्तले एन्फाको वर्तमान नेतृत्वको कमजोरीका कारण उक्त घटना भएको आरोप लगाएका थिए । आफन्तहरुले घटनापछि पनि एन्फा नेतृत्वले मृतकका परिवारलाई पीडा थोपर्ने काम गर्दै आएको दुःखेसो पनि पोखे । मृतक खेलाडीका आफन्तहरुले घटनाको निष्पक्ष छानबिन गरिनु पर्ने माग पनि राखेका थिए ।
कार्यक्रममा एन्फाका पूर्वअध्यक्ष गणेश थापा, एन्फाको वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहलगायतले मृतक किशोर खेलाडीहरुप्रति श्रृद्धाञ्जली अर्पण गर्दै शोक मन्तब्य ब्यक्त गरेका थिए । उनीहरुले पनि घटनाको निष्पक्ष छानबिन हुनु पर्ने धारणा ब्यक्त गरेका थिए ।
उक्त घटनामा जीवन गुमाउने सर्लाहीका किशोर खेलाडी आदित्य बलम्पाखीका आफन्त भरत थापाले घटनापछि पनि एन्फाको वर्तमान नेतृत्वले शोकाकुल परिवारजनलाई थप आहत बनाउने काम गरेको बताए । उनले मृतक खेलाडीहरुको शव बुझ्न पनि आफूहरुले सास्ती खेप्नु परेको गुनासो गरे ।
‘एन्फाको कमजोरीका कारण त्यो घटना भएको हो । हामीले आफ्ना प्रियलाई त गुमायौँ । त्यसपछि शव बुझ्न समेत हामीलाई एन्फा नेतृत्वले निकै सास्ती दियो । हामीले शव बुझ्नका लागि चक्का जामसमेत गर्नु पर्यो,’ उनले भने ।
उनले वर्तमान एन्फाले ब्यवस्थित तरिकाले एकेडेमी सञ्चालन नगरेका कारण यस्तो दुःखद घटना भएको आरोप पनि लगाए । ‘एन्फाले एकेडेमी किन चलाएको ? देशका लागि क्षमतावान खेलाडी उत्पादन गर्न कि हाम्रा छोराछोरी मार्नका लागि ?,’ थापाले प्रश्न गरे, ‘के बाल खेलाडीका लागि फुटबल एकेडेमी सञ्चालन गर्न सिस्नेरी उपयुक्त स्थल थियो ? एन्फा नेतृत्वले यस विषयमा गहन स्थलगत अध्ययन गरेको थियो ? सुविधासम्पन्न स्थानमा किन एकेडेमी सञ्चालन गरिएन ?’