आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
गढीमाई बलि

गढीमाईमा यसपटक कति राँगा र बोकाको बलि दिइँदै छ ?

बिहीबार, १३ मङ्सिर २०८१, १० : २१
बिहीबार, १३ मङ्सिर २०८१

बाराको महागढीमाई नगरपालिका— ६ का राजेश यादवले यसपालि गढीमाई मन्दिरमा राँगो बलि दिँदै छन् । तीन वर्षअघि आफूहरूको छोरो जन्मेकाले उनले राँगो बलि दिन लागेका हुन् । 

‘छोरा जन्म्यो भने गढीमाईको मेलामा राँगो चढाउँछु भनेर श्रीमतीले भाकल गरेकी रहिछन् । भाकल पूरा भयो । हामीले श्रद्धापूर्वक राँगो बलि दिन लागेका हौंँ,’ उनले रातोपाटीसँग भने ।

महागढी नगरपालिकास्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच–पाँच वर्षमा एक महिने कुम्भ मेला लाग्ने गर्छ । यसपालि मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २३ गते अर्थात् सप्तमी तिथिमा राँगा बलि दिइने र २४ गते अर्थात् अष्टमी तिथिमा बोकासहित अन्य बलि दिइने यहाँका मूल पुजारी शिव चौधरी बताउँछन् । 

अव्यवस्थित रूपमा बलि दिइँदा यहाँको वातावरण प्रदूषण बनेको विषय उठाउँदै अधिवक्ता अर्जुन अर्यालसहितले पशुबलि रोक्ने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । उनीहरूको रिटमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ साउन २० गते अन्तिम फैसला सुनाउँदै चार विषयमा परमादेश र पाँच विषयमा निर्देशनात्मक आदेश गरेको थियो ।

फैसलामा ‘मानिसको आस्था, सांस्कृतिक मान्यता लगायत विविध पक्षलाई सम्बोधन गरी निश्चित समय सीमाभित्र पशु बलि प्रथा समाप्त गर्न रणनीतिक योजना तथा कार्यक्रम चरणबद्ध कार्यान्वयनमा ल्याउनू’ लगायत निर्देशनात्मक आदेश भएको थियो ।

यसपालि राँगो बलि दिन लागेका राजेश भने गढीमाई मन्दिरमा दिइने बलि कसैले चाहेर नरोकिने बताउँछन् । ‘यो बलि कालीमाताका लागि हो, कोही चाहँदैमा यो रोकिने कुरा होइन । स्वयं देवीले नै बलि मागेपछि यहाँ बलि दिन थालिएको हो,’ उनले भने, ‘त्यस कारण कालीमाताले नचाहेसम्म कुनै पनि शक्तिले बलि प्रथालाई रोक्न सक्दैन ।’ 

Gadhimai_Temple_(2)

  • किंवदन्ती 

बाराको गढीमाई मन्दिरलाई एक शक्तिपीठका रूपमा लिइन्छ । यहाँ गरेको भाकल पूरा हुने जनविश्वास रहँदै आएको छ । आफ्नो भाकल पूरा भएपछि नै यहाँ भाकल अनुरूपको बलि दिने गरिएको यस मन्दिरका मूल पूजारी चौधरी बताउँछन् । 

गढीमाई पञ्चवर्षीय मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवका अनुसार, यहाँ मन्दिर कसरी बन्यो र बलि दिने प्रचलन कसरी बस्यो भन्ने सम्बन्धमा एउटा किंवदन्ती छ ।

यसपालि राँगो बलि दिन लागेका स्थानीय राजेश यादव भन्छन्, ‘यो बलि कालीमाताका लागि हो, कोही चाहँदैमा यो रोकिने कुरा होइन । स्वयं देवीले नै बलि मागेपछि यहाँ बलि दिन थालिएको हो । त्यस कारण कालीमाताले नचाहेसम्म कुनै पनि शक्तिले बलि प्रथालाई रोक्न सक्दैन ।’

किंवदन्ती भन्छ — 

उहिले यस गाउँका भगवानदास चौधरी नामका व्यक्ति जेलमा परेका थिए । त्यहीबखत सपनामा गढीमाई माता आएर उनलाई भनिन्, ‘आफ्नो गाउँमा मलाई लैजाऊ र मेरो पूजापाठ गर, म तिमीलाई जेलबाट निकालिदिन्छु ।’ 

यस्तो सपना देखेको केही समयपछि भगवानदास जेलबाट छुटेछन् । त्यसपछि उनले मकवापुरगढीकी तुलजा भवानी अर्थात् गढीमाई माताको मन्दिरबाट त्रिशूल ल्याएर बाराको बरियारपुरमा गाडी पूजाआजा गर्न थाले । 

फेरि गढीमाता सपनामा आएर भगवानदासलाई भनिन्, ‘हरेक पाँच–पाँच वर्षमा मेरा लागि पञ्चबलि चढाउनू ।’ 

‘त्यसपछि यहाँ हरेक पाँच वर्षमा बलि दिन थालिएको हो भनिन्छ,’ नगरप्रमुख यादव भन्छन्, ‘यस्तै कथा हामीले पूर्वजबाट सुन्दै आएका हौँ ।’ 

यहाँका मूल पुजारी शिव चौधरीले आफू भगवानदास चौधरीको १०औँ पुस्ता भएको बताउँछन्, तर उनलाई यहाँ ठ्याक्कै कुन मितिमा त्रिशूल गाडियो वा मन्दिर बन्यो भन्ने थाहा छैन । 

उनका अनुसार, पञ्चबलिमा यहाँ सेतो मुसा, हाँस, कुखुरा, राँगो र बोकाको बलि दिइन्छ । मंसिर शुक्ल सप्तमी तिथिमा राँगाको बलि र अष्टमीमा बोकासहितको अन्य बलि दिइने मूल पुजारी चौधरी बताउँछन् । 

यहाँ बलि चढाइएका पशुको टाउको बेग्लै खाल्डोमा पुरिन्छ भने अन्य भागलाई समितिले स्थानीय व्यक्तिलाई बाँड्ने गर्छ । 

Gadhimai 2

  • पूजाविधि

मूल पुजारी चौधरीका अनुसार, यहाँ तान्त्रिक विधिबाट पूजा हुन्छ । गढीमाई मन्दिरको पुजा गर्नुअघि उनले आफ्नो घरमा पूजाआजा गर्छन् । ‘त्यसपछि सातवटा खप्पर लिएर ब्रह्मबाबाको मन्दिरमा गएर पूजाआजा गर्छु, जुन मन्दिर गढीमाईनजिकै छ । त्यहाँ पूजा गरेपछि ब्रह्मबाबाको त्रिशूल फेर्छु, अनि गढीमाईको मन्दिरमा एक फेरो लगाएर अर्थात् घुमेर पुनः ब्रह्मबाबाको पूजा गर्छु, त्यसपछि बलि सुरु हुन्छ ।’

उनका अनुसार, यहाँ बलि दिनका लागि आँपको काठको मौला बनाइन्छ । मौला गाडेपछि महिषासुरको पूजा हुन्छ र त्यसपछि राँगा बलि दिने क्रम सुरु हुन्छ ।

बलिप्रथाका सम्बन्धमा विश्व ज्योतिष महासंघ एसियाका उपसभापति ज्योतिष डा. पुरुषोत्तम दुबे भन्छन्, ‘काली माताले राक्षसको संहार गर्ने बेला दैत्यको संहार गर्नुभएको थियो, त्यसबेला उहाँले रगत पान गर्नुभएको थियो । यही कारण कालीमातालाई प्रशन्न गर्नका लागि बलि प्रथा सुरु भएको हो, त्यो प्रथा अहिलेसम्म चलिरहेको छ ।’

मूल पुजारी चौधरीका अनुसार, ०७२ सालको मेलामा यहाँ सात हजार ५०० राँगाको बलि दिइएको थियो । त्यसको पाँच वर्षपछि (२०७७ मा) करिब ११ हजारको संख्यामा राँगाको बलि दिइयो । यो वर्ष भने १७ हजार राँगाको बलि चढ्ने अनुमान गरिएको छ । बोका लगायत अन्य बलि बढी हुने भएकाले गणना नहुने मूल पुजारी चौधरी बताउँछन् । 

  • अदालतको आदेश र कार्यान्वयन

स्नेहाज केयरकी संस्थापक अध्यक्ष तथा पशु कल्याण अभियन्ता स्नेहा श्रेष्ठ बलिप्रथा रोक्न सचेतना अभियान चलाउनुपर्ने बताउँछिन् । 

‘यो मान्छेको विश्वास र आस्थासँग जोडिएको छ । यसले कतिपय समाजमा एकदमै जरा गाडेको छ,’ उनी भन्छिन्, ‘यद्यपि पछिल्लो समय समाज केही बुझ्ने भएको छ । यो कुप्रथा हो । भारतमा बलि निरुउत्साहित गर्न विभिन्न सचेतना फैलाइएको छ । हामीले पनि जनचेतना फैलाउने कार्य गरेका छौँ ।’ 

अदालतको फैसलामा ‘निश्चित समय सीमाभित्र पशुबलि दिने प्रथा समाप्त गर्न रणनीतिक योजना तथा कार्यक्रम तयार गरी चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउनू’ भनिए पनि गढीमाई मन्दिरमा हरेकपटक बलिको संख्यामा बढोत्तरी हुँदै गएको देखिन्छ । 

पशु बलिको सट्टा नरिवल चढाउन सकिने उनी बताउँछिन् । ‘हामी सबै प्राणी देवीकै सन्तान र सृष्टि हौँ भने देवीले प्राणीकै रगत किन खानुहुन्छ ?’ उनी भन्छिन्, ‘अर्को कुरा, मन्दिरमा बालबालिकादेखि काटमार हेर्न नसक्ने व्यक्ति वा बिरामी मानिस पनि जान्छन् । त्यसो हुँदा बलि प्रथा रोक्नुपर्छ । 

पशुबलि सम्बन्धमा अदालतको फैसला कार्यान्वयनका लागि आफूहरूले झकझकाइरहेको उनी बताउँछिन् । 

अदालतको फैसलामा ‘निश्चित समय सीमाभित्र पशुबलि दिने प्रथा समाप्त गर्न रणनीतिक योजना तथा कार्यक्रम तयार गरी चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउनू’ भनिए पनि गढीमाई मन्दिरमा हरेकपटक बलिको संख्यामा बढोत्तरी हुँदै गएको देखिन्छ । 

गढीमाई मन्दिरमा पशुबलि रोक्न माग गर्दै रिट दायर गर्ने अधिवक्ता अर्जुन अर्याल अदालतको फैसला कार्यान्वयन गर्न सरकारले जाँगर र इच्छाशक्ति नदेखाएको बताउँछन् ।

‘सर्वोच्चले राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतलाई मध्यनजर गरी फैसला सुनाएको थियो । फैसला भएको यत्रो वर्षसम्म अनुगमनका संयन्त्रदेखि कानुन बनेका छैनन्,’ उनले भने । 

‘फैसला कार्यान्वयन निर्देशनालय’का प्रवक्ता सरोजराज रेग्मी परमादेश र निर्देशनात्मक आदेश एकैपटक वा एकै दिन कार्यान्वयन हुने प्रकृतिका नभएकाले चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउँछन् । ‘फैसला भएको पहिलो वर्षदेखि हालसम्म यसमा निर्देशनालयले काम गरिरहेको छ । चरणबद्ध र क्रमिक रूपमा फैसलाको कार्यान्वयन भइरहेको छ,’ रेग्मीले भने ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी बलिप्रथा रोक्न संस्थागत प्रयास हुनुपर्ने बताउँछन् । ‘क्रूर ढंगले पशुबलि दिन नमिल्ने सर्वोच्च अदालतको फैसला छ, तर गढीमाई मन्दिरको विषय धर्म–संस्कृतिसँग जोडिएको छ,’ अधिकारी भन्छन्, ‘यहाँको बलिप्रथा रोक्नका लागि मेला लाग्नुअघि नै अभियान चलाउनुपर्छ, त्यो अभियानले मात्र गढीमाईको बलिप्रथा रोक्न सकिन्छ ।’ 

उनका अनुसार, मेला समितिले पनि बलिप्रथा रोक्ने निर्णय गरिसकेको छ, तर धर्मसँग जोडिएकाले त्यसलाई संस्थागत रूपमा व्यवस्थापन गर्न छलफल भइरहेको उनको भनाइ छ । 

‘मेलामा शान्ति सुरक्षा कायम गर्न र क्रूर ढंगले पशुको बलि नहोस् भनेर त्यसको व्यवस्थापनमा हामी लागेका छौँ,’ उनले भने । 

यता गढीमाई नगरपालिकाका मेयर यादवले भने बलिप्रथा घटाउने वा रोक्ने विषय सम्भव नरहेको बताउँछन् । ‘यो धर्म–संस्कृतिसँग र मानिसको आस्थासँग जोडिएको विषय हो, उहिलेदेखि चलिआएको प्रथा भएकाले यसमा तत्काल केही गर्न सकिने अवस्था छैन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप

छुटाउनुभयो कि ?