रास्वपाको अलमल यात्रा
वैकल्पिक राजनीतिका रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला ‘रानो हराएको मौरी’जस्तो भएको छ ।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौ–धौ परिरहेको छ । पार्टी सभापतिको पक्राउपछि आन्दोलनरत पार्टी पंक्तिले सभापतिको बचाउबाहेक उप–निर्वाचनमा कतिपय स्थानमा उम्मेदवार समेत नपाएको अवस्था देखिन्छ भने पार्टीले सदनमा भए–गरेका विषय र अन्य कुनै मुद्दा एजेन्डामा ठोस निर्णय गर्न सकिरहेको छैन ।
रवि लामिछाने नै पार्टी र पार्टी नै रवि लामिछाने भएजस्तो अनुभूति हुने गरी देखिएको आन्दोलनले खासै अर्थ राखेन र आन्दोलनको स्वरूप बदल्ने संकेत पनि गरे । यद्यपि आन्दोलनमा सोचेजस्तो जनसहभागिता तथा जनसमर्थन नजुटेपछि आन्दोलनको उपादेयता सकिएको छ ।
हाम्रो देशको राजनीतिका दलका प्रायः नेता सम्पत्तिको मोहमा अधिक फसेका छन् । राजनीतिलाई धन आर्जनको बाटो, कुर्सीलाई शक्ति र मन्त्रालयलाई कुबेरको घर ठान्ने मनोविज्ञानले नेताहरू दिनानुदिन जनताको दृष्टिकोणबाट अपमानित हुँदै छन् भने जनतासापेक्ष रूपमा दुःखी जीवन बाँच्न थालेका छन् ।
केही दशकअघिको राजनीतिमा फर्कियौँ भने कृष्णप्रसाद भट्टराई (किसुनजी) विश्वेश्वरप्रसाद कोइराला (बीपी) मदन भण्डारी, प्रदीप गिरी, उज्वल थापा आदि नेताहरूले सम्मानित राजनीतिक जीवन बाँचेर गएको इतिहास पढ्न सकिन्छ, तर वर्तमानमा आजका नेताहरूले जनताको हृदयमा त्यो सम्मानित स्थान बनाउन सक्लान् ? यो महत्त्वपूर्ण हो ।
- गोयबल्स शैलीमा रास्वपा
‘गोयबल्स शैली’ वा ‘गोयबल्स नीति’ प्रचारबाजी अवधारणा हो । यस अवधारणा विशेष रूपमा नाजी जर्मनीका प्रचारमन्त्री जोसेफ गोयबल्सका नामसँग जोडिएको छ । यो शैली वा अवधारणाको मुख्य सूत्र भनेको झुटलाई सत्य साबित गर्नु हो । एक झुटलाई हजारौँपटक सत्य हो भन्दै बारम्बार दोहोर्याइयो र आन्दोलन चर्काइयो भने झुटलाई पनि नागरिकले सत्य मान्न थाल्नेछ भन्ने मान्यता गोयबल्स शैलीले राख्छ । रास्वपा अहिले सभापति बचाउमा गोयबल्स शैलीको बाटोमा हिँडेको देखिन्छ ।
रवि लामिछाने नै पार्टी र पार्टी नै रवि लामिछाने भएजस्तो अनुभूति हुने गरी देखिएको आन्दोलनले खासै अर्थ राखेन र आन्दोलनको स्वरूप बदल्ने संकेत पनि गरे । यद्यपि आन्दोलनमा सोचेजस्तो जनसहभागिता तथा जनसमर्थन नजुटेपछि आन्दोलनको उपादेयता सकिएको छ ।
गोयबल्स शैलीले विचार र विश्वास निर्माणमा प्रचारको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ भनेर मानेको हुन्छ । सडक आन्दोलनबाट नागरिकको ध्यानाकर्षण गर्न होस्, वा प्रचारका माध्यमबाट छापा, रेडियो, टीभी, सामाजिक सञ्जाल लगायत माध्यमबाट गलत मिथकलाई सही ढंगबाट प्रस्तुत गर्न यो शैलीको प्रयोग नेपाली राजनीतिक पार्टीहरूमा मूल एजेन्डाका रूपमा स्थापित बनेको छ ।
लोकप्रियतावाद, प्रचारवाद वा स्टन्टबाज शैलीका अगाडि नागरिक द्विविधामा पर्न सक्छन्, कुन सत्य र कुन झुट हो भन्ने नछुट्ट्याउन पनि सक्छन् । यो शैलीले सत्यतामा उभिन सक्ने सुसंस्कृत राजनीतिक जगलाई भत्काउने कोसिस मात्रै गर्दैन, राजनीतिक संस्कार निर्माणका लागि बाधक समेत बन्छ । कतै रास्वपाले रविको बचाउमा यस्तै कु–संस्कारयुक्त राजनीति त गर्दै छैन ?
- वैकल्पिक राजनीतिक
‘वैकल्पिक राजनीति’का नाममा हामीकहाँ विगत एक दशकदेखि अनेक नामका पार्टीले अनेक अभ्यास गरेको देखिन्छ तर कसैले पनि यसलाई पुष्टि गर्न सकेको देखिँदैन । सबैले उल्टै ‘वैकल्पिक राजनीति’ भन्ने शब्दावलीलाई नै रंगहीन, अनाकर्षक तुल्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई वैकल्पिक शक्ति दाबी गरे पनि नेतृत्वको चारित्रिक गुणका कारण ऊ वैकल्पिक हुन सक्दैन ।
वैकल्पिक पार्टी राजनीतिकर्मीले निर्वाचित विपक्षी दलका सम्मानित नेतालाई ‘तँ–तेरो’जस्ता तुच्छ भाषाशैली प्रयोग गर्न र गणतन्त्रलाई सराप्दै अराजक अभिव्यक्ति दिन सुहाउँदैन । उसले आन्दोलनलाई रचनात्मक रूपले प्रस्तुत गर्न सक्छ । जस्तै : सडकमा देशको संविधान पढेर पनि आन्दोलन गर्न सकिन्छ ।
वैकल्पिक राजनीति गर्ने दलको विचारधारा, दर्शन र कार्यशैली परम्परागत राजनीतिभन्दा फरक हुनुपर्छ । फरक मात्र भएर पुग्दैन, सिङ्गो देशलाई रूपान्तरण गर्ने साहस राख्नुपर्छ । नियमित प्रक्रियामा परिवर्तन त केही नगरे पनि हुन्छ । रूपान्तरण गर्ने एजेन्डा, मूल्य–मान्यता, नेतृत्व र कार्यशैली पृथक् हुनुपर्छ । वैकल्पिक राजनीति गर्ने दल मुद्दा केन्द्रित र मूल्य–मान्यता केन्द्रित हुनुपर्छ । नागरिकले संरचनात्मक परिवर्तनसँगै शासन पद्धतिमा सुधार खोजेका छन् । रास्वपाले भने आफ्नो सभापति पक्राउ पर्नुअघि सहकारी पीडितलाई चिनेको थिएन, सभापति पक्राउ प्रकरणलगत्तै ऊ सडक आन्दोलनमा त गयो, तर जो–कोहीले पनि यसको कारण बुझ््न सक्छ ।
- राजनीतिमा सतिप्रथा
देशको राजनीतिक व्यवस्था परिवर्तनका क्रममा ज्यान दिनेहरू सहिद भएका छन् र हुन्छन् तर पटकपटक विभिन्न प्रकरणमा समातिएका एक व्यक्तिका लागि ज्यान दिने, जेल जाने कुरा राजनीतिक दृष्टिकोणले सतिप्रथा (यो प्रथा नेपालमा १९७७ असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ)को सुरुवात मनिष झाले गरेका छन् ।
आफ्ना सभापति बचाउका लागि ज्यान दिन तयार उनको अभिव्यक्ति झट्ट सुन्दा आश्चर्यजनक मात्र होइन, सती प्रथाको निरन्तरता जस्तै लाग्छ । यतिखेर प्रश्न उठेको छ— वैकल्पिक राजनीति गरेर रास्वपा प्रवेश गरेका विराजभक्त श्रेष्ठ, पुकार बम, गणेश कार्की, तोसिमा र सुमनाहरूले वैकल्पिक राजनीति गर्लान् या मनिष झाकै लाइनमा वैचारिक सतीलाई निरन्तरता देलान् ?
- लोकतान्त्रिक निर्णय
लोकतन्त्रका लागि राजनीतिक दलहरूसँगै नागरिक पनि उत्तिकै बलियो हुनुपर्छ । अन्यथा दलहरू बलियो बने भने नागरिकका अधिकार संकुचित हुन्छन् र अधिनायकवाद झाँगिने खतरा रहन्छ भनिन्छ ।
लोकतान्त्रिक पार्टीमा कार्यकर्ताहरू जनताजस्तै हुन्, उनीहरू सार्वभौम हुन्छन् । रास्वपामा कार्यकर्तालाई उर्दी जारी गरिन्छ कि तिमीहरू आन्दोलनमा अनिवार्य सहभागी हुनु । प्रहरीसँग मुठभेडका लागि तयारी रहन निर्देशन गर्नु र ह्विप जारी गर्नु कहाँको लोकतान्त्रिक निर्णय हो ? उनीहरूको सार्वभौम अधिकार खोसिएन ?
यता हामीले परम्परागत भनेका पार्टीको कुरा गर्दा एमालेमा ओलीविरुद्ध भीम रावल, माओवादीमा प्रचण्डविरुद्ध जनार्दन र काङ्ग्रेसमा देउवाविरुद्ध गगन वैचारिक रूपमा उभिएकै हुन्, उनीहरूको मतलाई सम्मान गरिएको थियो । अझै लोकतान्त्रिक पार्टीमा झनै फरक–फरक मत आउँछन्, त्यो स्वाभाविक हुन्छ, तर रास्वपामा महामन्त्री डा. मुकुल ढकालले ल्याएको दस्ताबेज सभापतिविरुद्ध भएको मात्रै भनिएन, ढकाललाई पदमुक्त नै गरियो, यसले रास्वपामा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित भएको देखाउँदैन । यद्यपि रास्वपाका केही नेताले मुकुल र उनको दस्ताबेज ठिक थियो भन्ने निष्कर्षमा पुगेका छन्, त्यो सुखद हो । रास्वपा सच्चियोस्, नसकियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण