शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी

बिहीबार, १३ मङ्सिर २०८१, १४ : ५२
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । फिनफण्डको लगानी फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्कले जनाएको छ । 

विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने वर्ल्डलिङ्कको भनाइ छ ।

बिहीबार आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,’ फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवाहरू बिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ ।’

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखिएको छ ।  

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिङ्कको बिस्तारले वर्ल्डलिङ्कका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने बताइएको छ । 

‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोडने हाम्रो लक्ष्यमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ’, वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने,‘हाम्रो फाइबर नेटवर्क बिस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले सहर र ग्रामीण भेग बिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ ।’

ww1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?