मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला दिवस

नारी दिवस र मेरो अनुभूति

शनिबार, २४ फागुन २०८१, १३ : ३०
शनिबार, २४ फागुन २०८१

नारी दिवस आउना साथ मन तरङ्गित हुन्छ । बाल्यकालमा मलाई लाग्थ्यो — यो महिलाहरूको मात्र उत्सव हो, फूल, शुभकामना र भाषणले रङ्गिने एउटा औपचारिक दिन । तर समयसँगै बुझ्दै गएँ — नारी दिवस कुनै एक दिनको उत्सव होइन, यो त महिलाहरूको अस्तित्व, अधिकार र समानताका लागि भएको लामो सङ्घर्षको प्रतीक हो ।

नेपालजस्तो पितृसत्तात्मक समाजमा जन्मिएका नाताले मैले बाल्यकालदेखि नै नारीमाथि हुने भेदभावका विविध स्वरूप देखेँ । घरभित्रको सम्पूर्ण काम गर्ने, परिवारलाई हेर्ने, रहर र इच्छा बलिदानमा चढाएर परिवारकै खुसीमा मुस्कुराउनुपर्ने नारीका भावमा डुबुल्की मार्न खोज्थेँ । हजुरआमा, आमा र भाउजूको मौनतामा म केही भेट्दिनथेँ । अनुमान मात्रै हात लाग्थे । जिज्ञासा राख्दा ठुली भएपछि आफैँ बुझ्ने प्रतिक्रियाले कहिलेकाहीँ मौनता तोडिन्थे । तर महिलाका सीमित भूमिकासँगै असीमित प्रश्न खडा हुन्थे, मनैमा — के महिलाहरूको जीवनको उद्देश्य केवल अरूको सेवा गर्नु मात्रै हो ? समाजको संरचनाले महिलालाई कहिल्यै स्वतन्त्र रूपमा बाँच्न किन दिएन ? सदैव परनिर्भर बनाएर किन राख्न खोज्यो ? के नारीलाई कुनै सपना देख्ने अधिकार छैन ?

मेरी आमाले बिहान सबेरै उठेर सबैका लागि चिया बनाउने, घर सफा गर्ने, खाना पकाउने, खेतबारीमा गएर काम गर्ने अनि साँझ फर्किएर फेरि परिवारका लागि खट्ने दिनचर्या अपनाउनुहुन्थ्यो । बुबाले बाहिर काम गरे पनि आमाले घरभित्र र बाहिर दुवै काम गर्नुहुन्थ्यो । तर जब कुरो श्रमको मूल्याङ्कनमा आउँथ्यो, सबैले बुबाको कामलाई मात्र महत्त्वपूर्ण मान्थे । आमाले गरेको कामलाई भने ‘कर्तव्य’ भनिन्थ्यो जब कि बुबाको काम ‘कमाइ’ बन्थ्यो ।

विद्यालयमा जाँदा पढिन्थ्यो— ‘छोरा होस् कि छोरी, दुवै समान हुन् ।’ तर वास्तविकतामा छोराहरूलाई घर छाडेर जहाँ जान वा रात काट्न पनि छुट थियो । छोरीहरूलाई कहाँ यस्तो सुविधा ? खेल्न, डुल्न, घर छाड्न उनीहरूको भाग्यले नदिएको भनिन्थ्यो । कसो पाइखाना जान भने अनुमति लिनुपर्ने नियम बनेनछ । विद्यालयमा पढेका कुरा समाजमा खोज्दा आफैँ बकम्फुसे बनिन्थ्यो । किताबका ज्ञान परीक्षाका लागि मात्रै उपयुक्त हुने । व्यवहारमा कतै कार्यान्वयन भएको भेटिनु जिउँदै स्वर्ग पुगिनु जस्तो । 

आजको चस्मा लगाएर हेर्दा त देखिन्छ समय बदलिएको — नेपाली महिला शिक्षादेखि व्यवसाय, राजनीति, खेलकुद, विज्ञानसम्म अगाडि बढिरहेको; राष्ट्रपति, प्रधानन्यायाधीश, प्रहरी प्रमुख, पर्वतारोहीदेखि उद्यमी महिलाहरूको उदय भएको । तर के यो परिवर्तन समाजका सबै तहसम्म पुगेको छ त ?

इतिहासका पानाहरू पल्टाउँदा थाहा हुन्छ — नारी दिवस कुनै अचानक जन्मिएको पर्व होइन । सन् १९०८ मा अमेरिकी महिलाहरूले श्रम अधिकार, समानता र मतदान अधिकारका लागि गरेको आन्दोलनको जगमा यसको सुरुवात भयो । १९१० मा जर्मनीकी समाजसेवी क्लारा जेट्किनले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव राखिन्, जसलाई १९११ देखि विभिन्न देशले स्वीकृति दिए । अन्ततः १९७७ मा संयुक्त राष्ट्रसङ्घले यसलाई औपचारिक मान्यता दियो ।

जब विश्वका महिलाहरू क्रान्तिका लागि सडकमा उत्रिरहेका थिए, नेपालका महिलाहरू कहाँ थिए ? उनीहरू घरधन्दामा हराइरहेका थिए कि, खेतबारीमा पसिना बगाइरहेका थिए वा कामको थकानले निदाइरहेका थिए । समाजले उनीहरूलाई चेतनशील नागरिक होइन, केवल कर्तव्यपरायण पात्रका रूपमा खेलाइरह्यो । शिक्षाबाट वञ्चित गरेर, अधिकारको ‘अ’ नसिकाएर, कर्तव्यका कैयौँ बोझ बाल्यकालमै बोकाएर । 

आजको चस्मा लगाएर हेर्दा त देखिन्छ समय बदलिएको — नेपाली महिला शिक्षादेखि व्यवसाय, राजनीति, खेलकुद, विज्ञानसम्म अगाडि बढिरहेको; राष्ट्रपति, प्रधानन्यायाधीश, प्रहरी प्रमुख, पर्वतारोहीदेखि उद्यमी महिलाहरूको उदय भएको । तर के यो परिवर्तन समाजका सबै तहसम्म पुगेको छ त ?

मैले आफ्नै जीवनमा भोगेका अनुभवहरू सम्झन्छु । ग्रामीण समाजमा हुर्किएको नाताले शिक्षाका लागि पनि सङ्घर्ष गर्नुपर्‍यो । छोरीलाई धेरै पढाएर के गर्नु ? अन्ततः अर्काको घर जानु नै छ भन्ने सोच हाबी थियो । स्कुल जान्थेँ, तर घर फर्केपछि घरधन्दाको चाप । भाइलाई पढ्न समय मिल्थ्यो, मलाई चाहिँ भान्सा र मेलापात अनि घाँस–दाउरा । बेलुकी थकानसँग मितेरी लगाएकी निद्रादेवीले लुट्थिन उस्तै । समाजले मलाई सम्झाउन मुख बाउँथ्यो — छोरीको शिक्षा कहाँ बन्न सुहाउँछ पहिलो प्राथमिकता ।

रोजगारीको दुनियाँमा पाइला टेकेपछि झन् स्पष्ट भयो — महिलालाई श्रममा होइन, केवल सेवा दिने भूमिकामा मात्र हेर्ने दृष्टिकोण अझै बाँकी छ । पुरुष सहकर्मीहरूभन्दा बढी मेहनत गर्दा पनि पारिश्रमिकमा धेरै क्षेत्रमा विभेद उस्तै ! महिलाको श्रमले कुन घरको खाँबो बलियो उभिएको कसले ठान्छ र ?

नेपालजस्तो पितृसत्तात्मक समाजमा जन्मिएका नाताले मैले बाल्यकालदेखि नै नारीमाथि हुने भेदभावका विविध स्वरूप देखेँ । घरभित्रको सम्पूर्ण काम गर्ने, परिवारलाई हेर्ने, रहर र इच्छा बलिदानमा चढाएर परिवारकै खुसीमा मुस्कुराउनुपर्ने नारीका भावमा डुबुल्की मार्न खोज्थेँ ।

घरमा, समाजमा, रोजगारीमा — जहाँ गए पनि महिलाहरूले समानताको खोजी गरिरहेका छन् । हराएको सियो भेटिएला तर यो लुकिरहन्छ खै कहाँ ? हिंसा, दाइजो, यौन उत्पीडन, तिरस्कार — यी समस्या अझै पनि विद्यमान छन् । मेरो साथी रमाले एक दिन सुनाइन्— ‘यौन हिंसाविरुद्ध आवाज उठाउँदा परिवार र समाजले मलाई नै दोषी देख्यो । साथीभाइ अनेक आरोप मलाई नै लगाउँछन् । आफन्त नजिक पर्दैनन् । अरूलाई छेउ पर्न दिँदैनन् । म बिग्रेकी रे । अरूलाई पनि बिगार्छु रे । म अहिले डिप्रेसनमा छु ।’ उसको पीडा सुन्दा मेरो हृदय चसक्क भयो । महिलाहरू अझै सुरक्षित छैनन्, अझै स्वतन्त्र छैनन् ।

राजनीतिक रूपमा हेर्ने हो भने, नेतृत्वमा महिलाहरूको उपस्थिति बढेको देखिए पनि उनीहरूमाथि अझै पनि दोस्रो दर्जाका पात्रलाई झैँ व्यवहार गरिन्छ । कानुनी रूपमा अधिकार भए पनि व्यवहारमा कार्यान्वयन कमजोर छ । परिवर्तनका लागि अझै धेरै लडाइँ लड्न बाँकी छ ।

नारी दिवसको सार के हो ? केवल एक दिनको उत्सव ? होइन, यो आत्मचिन्तनको दिन हो । समाजले नारीलाई कति सम्मान गर्‍यो, समान अवसर दियो, विभेद हटायो — यसको मूल्याङ्कन गर्ने दिन । नारी सशक्तीकरणको दीप जगाउने दिन ।

‘नारी सशक्तीकरण’ सुन्नेबित्तिकै तर्सने जमात पनि छन् । यो भनेको पुरुषविरोधी आन्दोलन होइन, यो त समाजको सन्तुलन हो । जब महिलाहरू उठ्छन्, समाज अगाडि बढ्छ । जब महिलालाई समान अवसर दिइन्छ, सभ्यता समुन्नत बन्छ ।

अबको युगमा नारीहरू केवल घरभित्र सीमित रहने पात्र होइनन् । उनीहरू देशको नेतृत्व गर्न सक्छन्, विश्वलाई नयाँ दिशा दिन सक्छन् । नारी दिवस केवल फूल, भाषण र उत्सवमा सीमित हुनुहुँदैन । यो दिवस महिला अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता जनाउने अवसर हुनुपर्छ ।

अब समय आएको छ — हाम्रा छोरीहरूलाई सपना देख्न दिनुपर्छ, उनीहरूलाई स्वतन्त्र आकाशमा उड्न प्रेरित गर्नुपर्छ । किनभने नारी उठ्दा मात्र समाज अगाडि बढ्छ र नारी सम्मान हुँदा मात्र सभ्यताको अस्तित्व रहन्छ ।

अबको युगमा नारीहरू केवल घरभित्र सीमित रहने पात्र होइनन् । उनीहरू देशको नेतृत्व गर्न सक्छन्, विश्वलाई नयाँ दिशा दिन सक्छन् । नारी दिवस केवल फूल, भाषण र उत्सवमा सीमित हुनुहुँदैन । यो दिवस महिला अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता जनाउने अवसर हुनुपर्छ ।

अब समय आएको छ — हाम्रा छोरीहरूलाई सपना देख्न दिनुपर्छ, उनीहरूलाई स्वतन्त्र आकाशमा उड्न प्रेरित गर्नुपर्छ । किनभने नारी उठ्दा मात्र समाज अगाडि बढ्छ र नारी सम्मान हुँदा मात्र सभ्यताको अस्तित्व रहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप