१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
नयाँ दिल्ली । बलिउडका ‘हिरो नम्बर १’ गोविन्दा पत्नी सुनितासँग सम्बन्ध विच्छेदको हल्लाका कारण चर्चामा थिए । तर यतिबेला उनी आफ्नो एक बयानका कारण चर्चामा आएका छन् ।
हलिउड फिल्म मेकर जेम्स क्यामरुनले १८ करोड रुपैयाँमा अवतारमा मुख्य भूमिकाको लागि आफूलाई प्रस्ताव गरेको गोविन्दाले दाबी गरेका छन् । क्यामरुनलाई उक्त फिल्मको शीर्षक पनि आफैँले सुझाव दिएको पनि उनको दाबी छ ।
मुकेश खन्नासँगको कुराकानीमा गोविन्दाले भने, ‘मैले १८ करोड रुपैयाँको अफर छोडेको थिएँ र मलाई त्यो याद छ किनभने त्यो छोड्नु धेरै पीडादायी थियो ।’ अमेरिकामा आफूले एक व्यापारी सरदारजीलाई भेटेँ र उनले नै केही वर्षपछि आफूलाई जेम्स क्यामरुनसँग परिचय गराइदिएको उनको भनाइ थियो । ‘उनले मलाई जेम्ससँग फिल्म गर्न भनेका थिए । त्यसैले मैले यसबारे छलफल गर्न उनलाई डिनरमा बोलाए । मैले नै फिल्मको नाम अवतार भनेको हुँ,’ गोविन्दाले दाबी गरेका छन् ।
‘जेम्सले मलाई भने कि फिल्मको हिरो विकलाङ्ग छन्, त्यसैले मैले भनिदिए कि म यो फिल्म गर्दिन । उनले मलाई यसको लागि १८ करोड रुपैयाँ अफर गरे र ४१० दिनसम्म सुटिङ गर्नुपर्ने बताए । मैले भनेँ, ठिक छ, तर यदि मैले मेरो शरीरमा रंग लगाएँ भने, म अस्पतालमा रहनेछु,’ अझ अगाडि अभिनेताले भनेका छन् ।
गोविन्दाको यो दाबी पछि सामाजिक सञ्जालमा बहस छेडिएको छ । एक ट्विटर प्रयोगकर्ताले ‘गोविन्दा र अवतार ? यो कस्तो कनेक्शन हो ?’ भनेर प्रश्न गरेका छन् । अर्का एक जनाले अवतारमा गोविन्दालाई कल्पना गर्नुस् त भनेर भनेका छन् । अर्का एक जनाले भने खिज्याउँदै अवतार ३ मा गोविन्दा सहभागी भए भने के होला ? भनेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण