राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका हुन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले गर्ने काममा टेवा पुर्याउन संयन्त्रले आवश्यक सुझाव दिने गरेको भए पनि उपलब्धिमूलक काम हुन नसकेको बताए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेतआग्रह गरे ।
थापाले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । कहिले काहीँ साथीहरूलाई के लाग्छ भने संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू 'क्लियर' हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ, संयन्त्रले गर्ने होइन । नियुक्ति, सरुवा, बढुवाको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौँ भने त यो 'डेमोक्रेटिक गभर्मेन्ट' नै भएन नि ।’
महामन्त्री थापाले थपे, ‘प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौँ । तर बिँड तातेर केही नहुँदो रहेछ' ताप्के पनि तात्नुपर्ने रहेछ । हामीलाई छिटो काम चाहिएको छ । तर किन भइरहेको छैन ?’
एमाले–काँग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफू सधैँ प्रश्न गरिरहेको समेत थापाले जिकिर गरे ।
महामन्त्री थापाले कांग्रेस पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे। २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ । पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बनेका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरूलाई आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश