सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट

सोमबार, १५ असार २०८३, १० : ४२
सोमबार, १५ असार २०८३

सारांश

  • स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहरपछि मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ ।
  • उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिब ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ ।
  • डढेलोको जोखिम बढेपछि हुस्काबाट करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र बार्सिलोना नजिकै १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ ।

स्पेन । स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठुलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ । 

हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिब ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । यसका साथै उत्तर–पश्चिमी क्षेत्र एल बिएर्जो र जारागोजा प्रान्तका विभिन्न स्थानहरूमा पनि डढेलो सक्रिय रहेको छ । कतिपय स्थानमा चट्याङका कारण डढेलो सुरु भएको पुष्टि भएको छ ।

डढेलोको जोखिम बढेपछि हुस्काबाट करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यस्तै, बार्सिलोना नजिकैको टियाना, सान्त फोस्ट डे क्याम्पसेन्टेलेस, मार्टोरेलेस र सान्ता मारिया डे मार्टोरेलेस क्षेत्रमा डढेलो र धुवाँका कारण करिब १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ । 

बार्सिलोना नजिकैको क्षेत्रमा जानाजानी डढेलो लगाएको आशंकामा क्याटलन प्रहरी (मोजोस डिक्वेग्रा) ले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

यस वर्षको पहिलो तातो लहरका कारण स्पेनका कतिपय क्षेत्रमा जुन महिनाकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । बिल्बाओमा ४३ डिग्री सेल्सियस र दक्षिणी प्रान्त जाएनमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो । यो सप्ताहबाट पुनः गर्मी बढ्ने मौसमविद्हरूको पूर्वानुमान छ । आगामी साताको सुरुवातमा राजधानी म्याड्रिडको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप