मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
चैत २९ मा खपिन्छेमा रहेको बाबुराजा अवालेको घरको भुइँ तलाको पानी ट्याङ्कीमा दुर्गाको शव फेला परेको थियो ।
बोहराका परिवार केही समय अघिसम्म सोही घरमा डेरामा बस्थे । डेरा सरेपछि छुटेको लुगा लिन जाँदा १५ वर्षका दाजुले दुर्गाको हत्या गरेका हुन् ।
डेरामा बस्न आएको अर्को परिवारले सफा गर्दा ट्याङ्कीमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार चैत ४ गते साँझ ९ बजेर ४१ मिनेटमा दाजु–बहिनी सो घरमा आफ्नो लुगा लिन जान्छन् । एक जना अधिकृतले भने, ‘दाजु–बहिनी कुरा गर्दै उक्त घर (घटनास्थल)मा गएको सीसीटीभी फुटेजमा देखिन्छ ।’
घरमा अँध्यारो थियो । लुगा उठाएर मैनबत्ती बालेर दाजु–बहिनी भुइँतलातर्फ झर्दै गर्दा मैनबत्ती निभ्छ । प्रहरी स्रोतका अनुसार मैनबत्ती दाजुले बोकेका थिए । मैनबत्ती निभेपछि बहिनीले दाजुलाई ‘किन निभाएको ?’ भनेर सोध्छिन् ।
दाजुले ‘मैनबत्ती भुइँमा खस्यो’ भनेर जवाफ दिन्छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बहिनी अगाडि र दाजु पछाडि भएर ओर्लिँदै थिए ।
मैनबत्ती निभाएको भनेर बहिनीले दाजुलाई हातले हिर्काउँछिन् । त्यसपछि त्यहीँ रहेको नाइलनको डोरीले घाँटी कसेर १५ वर्षीय किशोरले बहिनीको हत्या गरेको प्रहरीको भनाइ छ ।
पछाडिबाट बहिनीको घाँटीमा डोरी लगेर कसेको आरोपितले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । एसपी नरहरि अधिकारी भन्छन्, ‘कालो रङको नाइलनको डोरीले कसेर हत्या गरेको खुलेको छ ।’
घाँटीमा डोरीले कसेपछि दुर्गा ढलिन् । किशोर त्यहाँबाट कपडा बोकेर फर्किए । त्यसपछि उनी कृष्ण मन्दिरमा पुगे, जहाँ उनकी आमाले चिया बेचिरहेकी थिइन् । बोहरा परिवार खपिन्छेबाट नजिकै ललितपुर महानगरपालिका–१२ स्थित घरमा सरेका थिए । उनीहरूका बुवा ठमेलमा सुरक्षा गार्डको जागिर खान्छन् ।
राति घरमा गएर आमाछोरा सुते । बहिनी घर नफर्केपछि आमाले सोधखोज गरिन् । भोलिपल्ट दिनभर आरोपित डेरमै बसे । साँझ ५ बजेतिर बुवा ठमेलबाट डेरामा आए । चैत ५ मा साँझ ९ बजेतिर आरोपित किशोर डेराबाट निस्किएर साथीकहाँ गए । उनी त्यो रात साथीकोमै बसे ।
- दुई दिनपछि शव व्यवस्थापन
चैत ६ मा आरोपित बिहानै सो घरमा पुगे । बहिनी मृत अवस्थामा पल्टिरहेकी थिइन् । आरोपितले माथिल्लो तलाबाट भुइँ तलामा शवलाई ल्याएर ट्याङ्कीभित्र हाले । त्यसपछि माथिबाट पुरानो कार्पेटले छोपे । डेरा सर्दा पुरानो कार्पेट उनीहरूले नै त्यहाँ छाडेका थिए ।
ट्याङ्कीमा शव लुकाएको दुई दिनपछि उनी फेरि घटनास्थलमा गएर ढोकामा ताला लगाइदिए । घरधनी सो घरमा बस्दैनन् । डेरामा बस्न गएको अर्को परिवारलाई कोठा देखाउन खोज्दा नखुलेपछि घरधनीले फुटालेर डेरा देखाएका हुन् ।
हत्याको कारणबारे अनुसन्धान अधिकृतहरूसँग आरोपितले भनेका छन्, ‘मैले केही सोच्नै सकिनँ । बहिनी ढलेको देखेपछि मलाई आत्महत्या गर्ने सोच आयो ।’
आरोपित लागुऔषध प्रयोगकर्ता समेत हुन् । सो परिवार बझाङको सुर्मा घर भएर ललितपुरमा बस्दै आएका थियो । कक्षा २ मा पढ्ने बहिनीको ‘केयर’ गर्ने जिम्मा परिवारका सदस्यले आरोपित (कान्छो छोरा)लाई नै दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
-
डिजिटल भुक्तानी सहज बनाउन एभरेस्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
-
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा (तस्बिरहरू)
-
छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल