शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : सरकारसँग असन्तुष्टि

‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’

चुनाव लड्ने र जित्ने मात्र उद्देश्य राखियो भने नतिजा दिँदैन ः सुरेन्द्र पाण्डे
बिहीबार, ०४ वैशाख २०८२, १० : ०५
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । देशका दुई ठुला दल मिलेर दुई तिहाइको शक्तिशाली सरकार बनाएका छन् । यसका बाबजुद पनि सरकारले अपेक्षित डेलिभरी दिन नसक्दा जनताको असन्तुष्टि सडकमा छताछुल्ल छ ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे सडकमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्न सक्नुपर्ने बताउँछन् । तर कतिपय माग पुरा गर्ने नाममा दबाबमा कानुन बनाउन भने नहुने उनको भनाई छ ।

प्रस्तुत छ रातोपाटीका लागि फणीन्द्र नेपाल उपाध्यक्ष पाण्डेसँगे गरेको कुराकानीको सम्पादित अंशः

  • सरकारसँग सडकदेखि जताततै आक्रोश र असन्तुष्टि देखिएको छ यसको कारण के हुनसक्छ ?

मानिस अगाडि बढ्न खोज्ने जाति हो । मानिस कहिल्यै सन्तुष्ट हुँदैन र सन्तुष्टिले उसको प्रगति पनि हुँदैन । त्यस कारण बढी अधिकार खोज्नु र माथि जान खोज्नु स्वाभाविक पनि हो ।

दोस्रो, अहिलेको दुनियाँमा मानिसले आफू किन पछाडि र अरू किन अगाडि भनेर तुलना पनि गर्छ त्यसका लागि सूचना प्रविधिले पनि काम गरेको छ । तेस्रो, हामी आफै राजनीतिक दल वा सरकारले यति गर्छौ र उति गर्छौ भन्ने तर भने जति गर्न नसकेको कुरा पनि जगजाहेर नै छ ।

गर्नुपर्नेले गर्न सक्ने हो होइन भनेर विचार नगरी गर्छु भन्यो भने मानिसहरूलाई ढाँट्यो भन्ने पर्छ अहिलेको समस्यामा यी सबै कुरा जेलिएका छन् । चौथो, सत्ताको चक्र पनि एकै ठाउँ स्थिर नबसेर घुमिरहने रहेछ । संसारभरको ट्रेन हेर्दा एक बेलाका क्रान्तिकारी भनिनेहरू अर्को वेला सत्ताको प्रतिनिधिका रूपमा रूपान्तरित हुने रहेछन् ।

अनि प्रतिक्रान्तिकारी भनिएकाहरू क्रान्तिकारी हुने र उनीहरूको कुरा मानिसहरूले सुन्ने क्रम हुँदो रहेछ । अर्कोतर्फ वर्ग संरचनामा पनि मार्क्सवादीहरूले वर्ग संघर्षको कुरा धेरै गर्छन्, उत्पादनका साधनमाथिको स्वामित्वलाई आधार मानेर । तर वर्ग त्यसले मात्र निर्धारण हुँदैन रहेछ । मार्क्सवादीहरूले उत्पादनका साधनमात्र हेरे, वर्ग स्ट्याटस गर्छ, पार्टीको हैसियतले गर्छ र इकोनोमी क्लास पनि हेर्नुपर्छ भनेर अर्थशास्त्री म्याक्स वेबरले भनेका छन् । सत्ता र पावरले वर्ग निर्धारण गर्छ भन्छन् उनी । त्यस कारण इकोनोमी क्लास, पावरलाई र कहिलेकाहीँ कल्चर पनि वर्गमा जोडिन्छ भन्छन् म्याक्स ।

नेपालको सन्दर्भमा उनका धेरै कुरा सही देखिन्छन् । हिजो सडकमा भएका मानिसहरू सत्तामा पुगे । उनीहरूको जीवनमा कुनै उत्पादनका काममा नलागेरै जीवनस्तर परिवर्तन भयो । त्यो परिवर्तन सत्ता र पावरले गर्‍यो । यस्तो अवस्थामा व्याख्या उत्पादनका साधनको गर्ने,हैसियत पावरको कारणले बढ्ने । सडकमा जहिले पनि उत्पादनको साधनविहीन वर्गको प्रतिनिधि हुँ भनेर वकालत गर्ने । जबकि उ आफै सत्तामा हुन्छ र विरोध आलोचना सडकले सत्तालाई गर्छ ।

त्यो आवाज सम्बोधन गर्ने सामर्थ्य केले प्रदान गर्छ ? त्यो गर्ने आर्थिक हैसियतले हो । नेपालका राजनीतिक दल र नेताहरूको एउटै मात्र धारणा सत्ताले सम्पूर्ण कुरा दिन्छ भन्ने छ ।

अहिले एउटा आलोचना हुने गरेको छ । त्यो भनेको हिजोका सडकछाप आज यस्ता भए, उस्ता भए भनेर । त्यस्तो आलोचनाका केही पार्सियल कुरा सत्य पनि छन् । किनभने त्यो हैसियत परिवर्तन भएको देखिएकै छ । उदाहरणकै लागि हिजोका पञ्चहरू आज पञ्चको हैसियतमा त छैनन् । पावरका कारणले उनीहरूको हैसियत गुमेको त सत्य हो । हिजो सडकमा आन्दोलनकारी भनिने कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल आज सरकार, सत्ता र संसद्मा छन् । तिनकै हालीमुहाली र आर्थिक हैसियत माथि उठेको छ । आर्थिक हैसियत माथि उठ्नुको कारण हो सत्ता र शक्ति । सत्ता र शक्ति क्लासको अनिवार्य अंग हुन्छ कि हुँदैन ? यसबारे नयाँ व्याख्या चाहिन्छ कि चाहिँदैन ‘सो कल्ड’ मार्क्सवादी भन्नेहरूलाई ?

झण्डै दुई तिहाइको र दुई ठुला दलको सरकारले जनअपेक्षा अनुसारको काम गरेन भनेर शिक्षक कर्मचारीदेखि डाक्टरसम्म र लघुवित्त देखि सहकारी पीडितसम्म सडकमा छन्,सरकार उनीहरूका समस्या सुनिरहेको छैन किन ?

तपाईँले भनेको एउटा कुरा हो । त्यो आवाज सम्बोधन गर्ने सामर्थ्य केले प्रदान गर्छ ? त्यो गर्ने आर्थिक हैसियतले हो । नेपालका राजनीतिक दल र नेताहरूको एउटै मात्र धारणा सत्ताले सम्पूर्ण कुरा दिन्छ भन्ने छ । सत्ताले दिन्छ कि उत्पादन पद्धतिमा परिवर्तन ल्याउनुपर्छ ? उत्पादन पद्धतिमा परिवर्तन आएन भने सत्ता र सरकारले मात्र सम्बोधन गर्न सक्दैन । अहिले नेपालको इकोनोमिक प्रोग्रेस त्यो ढंगले भएको छ त ? छैन । उत्पादनका क्षेत्रहरूमध्ये उद्योगधन्दा पनि एक हो । नेपालमा उद्योगधन्दाको विकासको अवस्था कस्तो छ ? जसले जीडीपीको योगदानमा ५ प्रतिशत भनेको त्यो पनि झरिसक्यो ।

सबभन्दा धेरै सर्भिस सेक्टरले योगदान गरेको छ । सर्भिस भनेको बस्तु र सेवाको व्यापार हो त्यो आफैमा उद्योग होइन । बस्तु र सेवाको व्यापारबाट हाम्रो जस्तो मुलुकले आर्थिक विस्तार कति गर्ने ? इम्पोर्टको राजस्वलाई हेरेर बजेट बनाएर देश चलाउनुपर्ने अवस्था छ । अनि राजश्व कम हुनेवित्तिकै कुन पैसाबाट जनताको अपेक्षा पुरा गर्नुहुन्छ ? सबभन्दा ठुलो जनसंख्याको हिस्सालाई उत्पादनमा लगाएकै छैन । ठुलो हिस्सा जुलुस र संगठन गर्नेमा छ । बहुदल आएको ३५ वर्ष भइसक्यो, सबै दलहरू सरकारमा गएका छन् उनीहरूले अब हामी नयाँ भन्ने ठाउँ पनि छैन ।

कुनै पनि पार्टीका २/३ लाख मानिस जो प्रधानमन्त्री,मन्त्री र सांसदसँग पहुँच राख्छन् उनीहरू नै चोकमा बसेर सबै बिग्रियो, सिद्धियो भनेर आफै गाली गर्छन् । आफू काम नगर्ने, गल्लीमा बसेर गाली गर्ने अनि अरूले उत्पादन गरिदिएर कसरी देश बन्छ ? यद्यपि सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न लागिरहेको छ । त्यसैका लागि संसद्को बर्खे अधिवेशन बोलाइसकेको छ ।

मैले भन्दै आएको छु नेपाल पुरेत अर्थतन्त्र भएको देश भनेर । कामचलाउ कल्चर ।
  • आम सर्वसाधारण र पेसाकर्मीहरूले राज्यसँग अपेक्षा गर्नु अस्वाभाविक हो र ?

त्यो होइन । तर हामीले धेरै मानिसहरूलाई आर्थिक सामर्थ्य वृद्धितिर लगाएनौँ र राष्ट्रिय ध्यान नै भएन । आर्थिक सामर्थ्य र संरचना भए मात्र धानिँदै जान्छ । विकासको प्याटर्न पनि आर्थिक सामर्थ्यसँग जोडिएको हुनुपर्छ । कहाँ सडक बनाउने ? कहाँ अस्पताल बनाउने ? अस्पताल बनेको छ डाक्टर छैन, सडक बनेको छ पुल छैन । स्कुल बनेको छ विद्यार्थी शिक्षक छैन । हो यस्तो विकासले इकोनोमिक्स रिटर्न दिँदैन । एकातिर विकास गरेको अनुत्पादक भइरहेको छ भने अर्कोतिर ठुलो हिस्सा मानिस उत्पादनको काममा लागेको छैन । भएको मानिस पनि देश छाडेर हिँडिसक्यो ।

  • नेपालका राजनीतिक दलहरूले विकास र राजनीति आपसमा जोड्नुको साटो कार्यकर्ता उत्पादन गर्ने कारखाना मात्र बनाउँदाको परिणाम भन्दा फरक नपर्ला नि हैन ?

हो, कार्यकर्ता उत्पादन गर्ने, चुनाव लड्ने र जित्ने मात्र उद्देश्य राखियो भने नतिजा दिँदैन । हिजो पञ्चायती व्यवस्था ढाल्न हामीले धेरै मानिसलाई कार्यकर्ता बनायौँ, तर पञ्चायत ढलेपछि उत्पादनको काममा लागेनन् जो ‘अनयुज्ड’ पङ्क्ति बन्न पुग्यो । हाम्रा धेरै पार्टीका कार्यकर्ता यस्तै हुन् । हिजो क्रान्तिमा लागे । त्यो अध्याय सकियो । अर्को काममा पनि पार्टीले लगाएन, अर्कोतिर जान पनि सक्दैनन्, भएको त्यही हो ।

  • राजनीतिक दलहरूले यसको मिहिन अध्ययन गर्न किन ढिला गरेका हुन् त ?

कुरा त हुन्छ, व्यवहारमा कार्यान्वयन भइरहेको छैन । मैले भन्दै आएको छु नेपाल पुरेत अर्थतन्त्र भएको देश भनेर । कामचलाउ कल्चर ।

  • लोकतन्त्र र गणतन्त्र भन्ने दलहरू नसुध्रने, पूर्वराजा र राजावादीहरू अस्थिरता मच्चाउन खोज्ने हो भने अस्थिरता त झन् बढ्ने देखियो नि ?

सबै पार्टीहरूमा कामचलाउ र अल्पदृष्टिले काम गरेको छ । नेपाली राजनीतिमा यो लामो समयदेखि चल्दै आएको हो । हरेक नेतालाई हेर्दा भविष्यको कुरा गर्दैन आफ्नो बाहेक अरू पुस्ताको कुनै चिन्ता छैन । देश र परिवर्तनलाई रूपान्तरण गर्न चिन्तन गर्ने नै छैन । चिन्तन गर्ने भनेको टिमले हो । एउटाले नसके अर्कोले गर्ने हो ।

प्रचण्ड प्रतिपक्ष दलको नेता हो, सरकार ढल्छ भन्नुभयो त्यो उहाँको त्यो धर्म नै हो भन्दा पनि फरक पर्दैन ।
  • शिक्षक,डाक्टर लगायत विभिन्न पेसाकर्मीका समस्या समाधानमा सरकार गम्भीर नभएको त पक्का हो नि ?

म सरकार र संसद्मा समेत नभएकाले यसबारे धेरै जानकार त छैन तर हाम्रो सचिवालय बैठकमा तपाईँले उठाएका केही विषयमा चर्चा भएको थियो । शिक्षककै हकमा वार्ता पनि भइरहेको भनिएको छ । उनीहरूका मागका बारेमा कुरा हुँदा कतिपय माग संविधानका सीमाभित्र र कतिपय संविधान भन्दा बाहिर पनि रहेकाले सबै माग अहिले नै सम्बोधन गर्न कठिनाइ रहेको देखिन्छ । जस्तो १२ कक्षासम्मको जिम्मेवारी संविधानले पालिकालाई दिएको छ तर उनीहरू संघले हेर्नुपर्छ भनिरहेका छन् । यो माग अहिलेको सरकारले अहिले नै पुरा गर्न सक्ने देखिँदैन । यो पोलिटिकल माग पनि हो । कतिपय उनीहरूले उठाएका कानुनसँग सम्बन्धित प्रश्न जायज पनि छन् । तर कानुन दबाबमा बनाउनु हुँदैन । दबाबमा बनाएका कानुनले अहिले धोका दिइरहेको अनुभव पनि हामीसँग छ ।

तर असन्तुष्टिका सवालहरूमा कति कुरा तत्काल गर्न सकिन्छ कति सकिँदैन भनेर सर्टआउट गरेर सहमति गर्नुको विकल्प छैन ।

  • सरकारप्रति कांग्रेसकै नेताहरूको असन्तुष्टि छ भने विपक्षी दलका नेता प्रचण्डले छिटै नयाँ परिस्थिति निर्माण हुँदैछ भनेर गरेको टिप्पणीलाई एमालेले कसरी विश्लेषण गरेको छ ?

ती कुरामा खासै छलफल र टिप्पणी भएको छैन । किनभने प्रचण्ड प्रतिपक्ष दलको नेता हो, सरकार ढल्छ भन्नुभयो त्यो उहाँको त्यो धर्म नै हो भन्दा पनि फरक पर्दैन । कांग्रेसभित्र पनि विभिन्न व्यक्तिले असहमति प्रकट गरेको स्वाभाविक हो । तर शेरबहादुर देउवा सहमतिमा दृढ हुनुहुन्छ । उहाँ दृढ रहेसम्म सरकार तलमाथि हुँदैन भन्ने मेरो बुझाई हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप